–सूर्या थापा
विश्वभरी ८ मार्चको दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस प्रत्येक वर्ष मनाउने प्रचलन छ । यसलाई पछ्याउँदै नेपालमा पनि मनाउँदै आएको इतिहास छ । यो दिवस मनाउनको आप्mनै किसिमको ऐतिहासिक महत्व छ । विश्वका क्रान्तिकारी आन्दोलन इतिहासमा अमेरिकाको क्रान्ति आन्दोलन र फेन्च क्रान्तिको महान् योगदान रहेको छ । अमेरिकाले १७७५–८५ सम्मको क्रान्तिको बेला संविधानसभाको निर्माण गर्ने क्रममा संविधानमा महिला स्वतन्त्रता सम्बन्धी सवाल पेश गर्नको लागि उठेको थियो भने १७७९ मा फेन्च क्रान्तिको बेला क्रान्तिकारी महिला क्लव खोलेका थिए । यसको मकसद भनेको महिलाप्रति असमानता, शोषण, दमन र उत्पीडनको विरुद्ध संगठित रुपमा आवाज बुलन्द गर्नको लागि क्रान्तिकारी महिलाहरुको एउटै र पहिलो संगठन यही क्लव थियो । इंग्ल्याण्डका चार्टिस्टकारले १८३८ मा आफ्नो घोषणापत्रमा मताधिकारको विषयलाई सामेल गर्ने जमर्को गरेका थिए । ८ मार्च १८४७ मा न्यूयोर्कमा कामको घण्टा कम गर्ने, तलबमा वृद्धि गर्ने, गार्मेन्ट कारखानामा काम गर्ने महिलाहरुले भोग्नु परेको अमानवीय अवस्थालाई सुधार ल्याउने लगायतका विविध विषयमा संघर्ष शुरु गरेका थिए । ती संघर्षशील महिलाहरुलाई लाठीचार्ज गरेर आन्दोलन दबाउने प्रयत्न गरे तापनि न्यायपूर्ण आन्दोलनको अजय भूमिकालाई कसैबाट पनि समाप्त पार्न सकिदैनथ्यो । त्यस सिलसिलामा १८४८ मा न्यूयोर्कमा कामको घण्टा कम गर्ने, तलब वृद्धि गर्ने, गार्मेन्ट कारखानामा काम गर्ने महिलाहरुको अमानवीय क्रुर अवस्थालाई सुधार गर्ने आदि विविध विषयमा संघर्ष शुरु गरेका थिए । ती संघर्षशील महिलाहरुमाथि पनि लाठीचार्ज गरेर आन्दोलन दबाउन प्रयत्न गरियो तर पनि न्यायपूर्ण आन्दोलनको अजय भूमिकालाई कसैबाट पनि समाप्त पार्न त्यस सिलसिलामा १८४८ मा न्यूयोर्कमा सम्पन्न पहिलो नागरिक अधिकार सम्बन्धी कांग्रेसले महिलाको लागि पूर्ण कानुनी स्वतन्त्रता, शैक्षिक र व्यवसायिक अवसर, मतदानको अधिकारको मागको घोषणापत्र जारी गरेको थियो । ८ मार्च १८५७ मा न्यूयोर्कमा गार्मेन्ट र कपडा उद्योगमा मजदुरहरुले उपरोक्त मागलाई लिएर संघर्ष गरेका थिए । त्यस्तै गरेर महिलाको समानता र स्वतन्त्रताको पक्षमा, श्रमिक महिलाहरुको कामको अवधि कम गर्ने, ज्यालामा वृद्धि गर्नुपर्ने, मतदानको अधिकार, विवाह र सम्बन्ध विच्छेदको स्वतन्त्रता, सम्पत्तिमा समान अधिकार हुनुपर्ने, गर्भपतनको स्वतन्त्रता स्थापित हुनुपर्ने तथा महिलामाथि हुने सम्पूर्ण (घरेलु, सामाजिक हिंसा र महिला बेचविखन, वेश्यावृत्ति, बालविवाह र अनमेल विवाह आदि थुपै्र थुप्रै विषयहरुविरुद्धको संघर्ष गर्नका लागि माक्र्सवादी, लेनिनवादी शक्तिहरु अगाडि बढिरहेका थिए । त्यस क्रममा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनद्वारा पहलकदमी गर्ने शुरु भयो । फलस्वरुप १९१० मा कोपनहेगनमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय महिला अधिवेशनमा महिला नेतृ क्लाराजेटकिनले संगठित रुपमा आन्दोलन शुरु गरेको र महिला हकहितका पक्षमा त्यसलाई केन्द्रविन्दु मानेर संघर्ष संचालित हुँदै आएको दिन ८ मार्चलार्ई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रुपमा मनाउने प्रस्ताव राखेकी थिइन र सो प्रस्ताव स्वीकृत भएपछि उक्त दिनलाई विश्वभरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने रुपमा स्थापित भएको हो र त्यही दिवस मनाउने विश्वभरी परम्परा बस्यो ।
विश्वमा महिला आन्दोलनले केही हदसम्म सफलता र उपलब्धी हासिल भएको कारणले नेपालमा पनि त्यसको असर सकारात्मक भयो साथसाथै २००७ र २०४६ सालको परिवर्तनपछि नेपालका प्रगतिशील वामपन्थी महिलाहरुको संगठित रुपमा गौरवमय इतिहासलाई अगाडि बढाउन संघर्षरत रहे । त्यो दौरानमा पनि शासन व्यवस्थामा रहेका सरकारबाट अवरोध गर्ने, कहिलेकांही त गिरफ्तार पनि गर्ने काम भयो तर पनि अविरल रुपमा प्रत्येक वर्ष ८ मार्चको दिन प्रगतिशील महिला संगठनहरुले यसलाई आन्दोलनको रुपमा मनाउन निरन्तरता दिने प्रयत्न भइराखेको छ ।
यथार्थमा भन्ने हो भने अहिले पनि विश्वका कतिपय राष्ट्रहरुमा नेपाल लगायत देशहरुमा महिला मुक्ति आन्दोलनले सार्थकता पाउन सकिरहेको अवस्था छैन । आन्दोलनबाट केही परिवर्तनको संकेत भए पनि व्यवहारमा सार्थकता पाउन वा कानुनमा मात्र सीमित रहने गरेको छ । नेपाली महिलाहरुको अवस्था अझै पनि दोस्रो नागरिकको रुपमा व्यवहार गर्ने गरिएको हामी पाउँछौं । सामाजिक, आर्थिक, सांस्कृतिकका साथै राजनैतिक शोषणबाट मुक्त हुन सकिरहेको अवस्था छैन । अहिले आएर पनि कतिपय धार्मिक कट्टरवादी राष्ट्रहरुमा महिलामाथि हुने गरेका ज्यादतीहरुबारे यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ । हालै अफगानिस्तान र इरानमा महिला अधिकारमाथि अमानवीय हतकण्डा अपनाइरहेको हामी पाउँछौं । महिलाहरुको नैसर्गिक अधिकारमाथि धावा बोलिराखेका छन् । एक पछि अर्को क्रुर व्यवहार प्रदर्शन भइरहेको छ । साथै तालिवान सरकारले महिलाहरुलाई शिक्षाबाट बञ्चित गर्ने, विभिन्न सार्वजनिक स्थलमा जानबाट प्रतिबन्ध लगाउने आदि हर्कत गरेको हामी सुन्छौं । यसको मुख्य कारण भनेको हिजावको प्रयोग उपयुक्त तरिकाले नगरेको भन्ने आरोपमा धार्मिक कट्टरताको व्यवहार प्रदर्शन गरिरहेको छ । कतिपय महिलाहरुलाई गिरफ्तार गर्ने, हिरासतमै यातना दिने साथै मृत्यदण्ड समेत दिएको समाचारमा आएको छ । यसको विरुद्धमा त्यहाँका महिलाहरु विरोधमा उत्रिराखेका छन् । प्रदर्शनमा बुर्कालाई जलाउने काम समेत महिलाहरुले गरेका छन् । यस्तो अवस्थामा देशभित्र र बाहिरको वस्तुस्थिति नियाल्ने हो भने महिलाहरुलाई यो वा त्यो बहानामा न्यायिक अधिकारबाट बंचित गर्ने, मानवीय मूल्य मान्यतामा आधारित सम्पूर्ण न्यूनतम हकअधिकारबाट पनि वंचित गराउने खेल भइरहेको छ । उक्त ज्यादतीको विरुद्ध आवाज बुलन्द गर्नुपर्ने आजको तड्कारो आवश्यकता बनेर आएको छ । साथै यो क्रुरता र अमानवीय व्यवहारका साथै कानुनको घोर भत्र्सना गर्नुपर्ने आवश्यकता विश्वभरी बढेर आएको छ । हालै इरानी महिलालाई जेलमा राखेर यातना दिने साथसाथै हिरासतमै २२ वर्षीय छात्राको मृत्यु भएको समाचारमा आएको छ । सो को विरोधमा आन्दोलनमा उत्रेका हजारौं संख्यामा महिलालाई दमन गर्नका साथै मृत्युवरण पनि भएको हामीलाई सुन्नमा आएको छ । सो कदमको विरुद्धमा हामी हाम्रो संगठन अखिल नेपाल महिला संघ लगायत अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल महिला संघले संयुक्त रुपमा विरोधपत्रमा हस्ताक्षर गरी दिल्लीस्थित इरानी राजदुतावासमा पठाएका छौं । उक्त विरोधपत्रमा विभिन्न ४ मागहरु पनि समावेश गरिएको छ । (१) आन्दोलनमाथिको दमन बन्द गरिनुपर्ने । (२) आन्दोलनमा घाइते भएका र मृत्युदण्ड र हत्या गरिएको परिवारलाई क्षतिपूर्ति र राहतको व्यवस्था हुनुपर्ने । (३) इरान सरकारले लागु गरेको पोशाकबारे पुनर्विचार गरी महिलाहरुको इच्छानुसार पोशाक पहिरन पाउने स्वतन्त्रता हुन पर्दछ । (४) संयुक्त राष्ट्रसंघको सदस्यको नाताले संयुक्त राष्ट्रले सूचिकृत गरेको मानव अधिकारलाई पालना गर्नुपर्दछ ।
यो बीचमा हामीले देशको बस्तुस्थितिलाई पनि नियाल्नु पर्ने देखिन्छ । देशको अहिलेको अवस्था भनेको अस्थिर र घातक परिस्थिति निम्ताएको परिदृश्य देखिन्छ । मंसिर ४ गतेको आम निर्वाचनपछि विभिन्न अप्राकृतिक गठबन्धनको परिस्थिति बनेको छ । एक आपसमा कुनै सैद्धान्तिक मूल्यमान्यता, मानवीय आचरण र नैतिकताको मूल्य मान्यतामा आधारित गठबन्धन थिएन । खाली विशुद्ध व्यक्तिगत, दलगत स्वार्थमा आधारित राजनैतिक दलहरुको चरित्र देखा परेको छ । देश र जनतालाई केन्द्रविन्दु राखेर भन्दा पनि व्यक्तिगत र दलले फाइदा पाउने हिसावले शक्ति केन्द्रको खेलाडी भएर राजनीति अगाडि बढेको देखिन्छ । शासन व्यवस्था सामन्त, नोकरशाही तथा दलाल पुँजीपति वर्गको प्रतिनिधित्व भएको कारणले जनताप्रति उत्तरदायी नभई दलाली गर्ने र उनीहरुको स्वार्थपूर्ति गर्नेतिर अग्रसर हुने र जनतालाई केन्द्र विन्दु बनाउने भन्दा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा शक्ति केन्द्रद्वारा परिचालित खटनपटनमा आधारित हुने भएकोले त्यही स्वार्थले काम गरेको छ । एकातिर भने अर्कोतिर देशमा हत्या, हिंसा, महिला माथिको बलात्कार र हत्या दिनहुँ तीब्रतर रुपमा अगाडि बढिरहेको हामी पाउँछौं । अपराधीको सही पहिचान र उपचार शुन्य भएको छ । जनताहरु सामान्य हक अधिकारबाट पनि बंचित हुनु परेको छ । देश र जनतालाई सवल र उनीहरुको न्यूनतम आवश्यकता पूर्ति गर्नेतिर ध्यान पटक्कै गएको हामी पाउँदैनौं ।
अतः जबसम्म जनउत्तरदायी सरकारको स्थापना तथा नयाँ जनवादी व्यवस्थाको स्थापना नभएसम्म यो देश र यहाँका जनताको आफ्नो आधारभूत आवश्यकता परिपूर्ति हुन सक्दैन । त्यसकारण जनतालाई सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनैतिक समस्याबाट मुक्ति पाउनको साथै पुरुष सरह समान महिला अधिकारको प्राप्तिको लागि कडा संघर्ष गर्नुपर्ने आजको आवश्यकता छ । त्यसकारण हामीले प्रत्येक वर्ष मनाउने गरेको ८ मार्चको दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनको सान्दर्भिकता र सार्थकता हुनेछ ।