बिप्लव र चिरन ःदलाल संसदीय पूँजीवादी यात्रामा एक रथका दुई पाङ्ग्रा

–लक्ष्मण उप्रेती

१.प्रस्तावना
नेपालको कम्युनिस्ट आन्दोलन आज एउटा गम्भीर वैचारिक द्वन्द्व र दिशाहीनताको मोडमा उभिएको छ। विगतका क्रान्तिकारी सहयात्रीहरूबीचको दूरी, एकता र विभाजनको बहस, र संसदीय व्यवस्थासँगको सम्बन्धका प्रश्नहरूले आन्दोलनको भविष्य नै अन्धाधुन्ध बनेको छ।

यही सन्दर्भमा, महासचिव कमरेड बिप्लवलाई सम्बोधित चिरन पुनको एउटा पत्र सार्वजनिक भएको छ, जसमा बृहत कम्युनिस्ट एकताको आह्वान गरिएको छ। तर सो पत्र र त्यसप्रति गरिएको टिप्पणीले हाम्रो ध्यान आकर्षित गरेकोछ । किनभने त्यसभित्र आजको नेपाली क्रान्तिकारी आन्दोलनको मुख्य अन्तर्विरोध , अर्थात् क्रान्ति र संशोधनवादबीचको संघर्ष स्पष्ट देखिन्छ।

२. पत्रको सार र राजनीतिक सन्देश
पत्रमा चिरनद्वारा विगतका १३ वर्षको सहकार्यको स्मरण गरिएको छ र १४औं वर्षमा प्रवेश गर्ने क्रममा“ बृहत कम्युनिस्ट एकताको ” आवश्यकता औंल्याइएको छ। लेखकले भन्न खोजेका छन्, विभाजित कम्युनिस्टहरू फेरि एक हुन सके भने मात्रै नेपाली समाजवाद र साम्यवाद सम्भव छ।
तर यस्ता अपिलहरू, वैचारिक विश्लेषण बिना, वर्गीय दृष्टिकोण बिना र संशोधनवादी प्रयोगको समीक्षा बिना गरिएको खण्डमा, उनीहरूले क्रान्तिकारी पुनर्संरचना होइन, भ्रमको पुनरावृत्ति मात्र जन्माउँनेछन्।

३. बिप्लवको बाटोमा चिरनको यात्रा
विगतमा बिप्लवले सशस्त्र संघर्ष र भूमिगत आन्दोलनमार्फत नयाँ प्रकारको क्रान्तिको सम्भावना खोजेका थिए। तर पछि “ शान्तिपूर्ण राजनीतिक समाधान ”को नाममा खुला राजनीतिमा प्रवेश गर्दा, त्यो यात्रा क्रमशः दलाल पूजीवादी संसदीय व्यवस्थासँग अन्तरक्रिया र सम्झौता गर्ने बाटोमा परिणत भयो। यही बाटो आज चिरन पुनले स्पष्ट र दृढतापूर्वक तय गरे।
उनले संसदीय भूमिकामा आफूलाई समायोजित गर्न र अन्ततः पूँजीवादी सत्ताको सेवकत्व ग्रहणको यत्रा तर्फ पाइला बढाए। यस दृष्टिले बिप्लवले बाटो खने, चिरनले त्यो बाटोमा यात्रा तय गरे। फरक केवल व्यक्तिको स्तर, तर दिशा एउटै , दलाल संसदीय पूँजीवादी व्यवस्थाको अङ्कमालमा प्रवेश नै हो।

बिप्लव अझै “ क्रान्तिकारी ” नाम र छविभित्र बाँधिएका छन्, तर राजनीतिक अभ्यासले उनलाई सोही प्रणालीको परिधिभित्र बन्धक बनाएको छ। यो स्थिति क्रान्तिकारी र संसदवाद बीचको अन्तर्विरोधात्मक संक्रमण हो, जहाँ विचार अझै बाँकी छ, तर व्यवहार दलाल पूँजीवाद मापदण्डमा ढल्किसकेको छ।

४. वर्गीय दृष्टिबाट ‘एकता ’ को पुनर्परिभाषा
आज धेरैजसो राजनीतिक शक्ति “ बृहत कम्युनिस्ट एकता ”को नारा लगाइरहेका छन्। तर प्रश्न उठ्छ, कसको एकता? कुन वर्गको हितमा? यदि त्यो एकता संसदीय व्यवस्था स्वीकार गर्ने, पूँजीवादी सत्ताको सीमाभित्रै सत्ता–हिस्सेदारी गर्ने उद्देश्यमा केन्द्रित छ भने, त्यो एकता क्रान्तिको मृत्युपत्र हो। क्रान्तिकारी एकता भनेको, वर्गसंघर्षको मार्गमा उभिएको, जनयुद्धरजनबिद्रोह र जनसत्ता निर्माणको ऐतिहासिक अनुभवबाट निर्देशित, संशोधनवाद र अवसरवादविरुद्ध दृढ मोर्चाको एकता हो। यसकारण, “ एकता ”भन्दा पहिले
“ सैद्धान्तिक स्पष्टता ” आवश्यक हुन्छ।
स्पष्टता बिना गरिएको एकता केवल दलाल पूँजीवादको राजनीतिक स्थायित्वको साधन बन्छ।

५. वैचारिक मूल्याङ्कनः संशोधनवादको नयाँ रूप
विप्लव–चिरन प्रवृत्ति नेपाली कम्युनिस्ट आन्दोलनमा संशोधनवादको नयाँ रूप हो। यो प्रवृत्तिले जनयुद्धको ऐतिहासिक उपलब्धिलाई “ राजनीतिक सहमति ”को आवरणमा पतन गराउन खोज्यो।
यो रूप अन्ततः क्रान्तिकारी विचारको निष्क्रिय पुनःसंस्कारमा सीमित भयो। संशोधनवाद सधैं क्रान्तिको नाममा सुरु हुन्छ, तर अन्त्यमा क्रान्तिविरुद्धको नतिजामा टुंगिन्छ। आज पनि यही क्रम दोहोरिँदैछ , नाम “ क्रान्तिकारी ”, व्यवहार “ संसदवादी ”, नारा “ समाजवाद ”, अभ्यास “ पूँजीवाद ”।

६. निष्कर्ष ः एकता होइन,पुनर्जागरणको वैचारिक आधार

आजको परिस्थिति बृहत एकताको मात्र होइन, बृहत वैचारिक पुनर्जागरणको पनि हो। क्रान्तिकारी आन्दोलनले आफ्नो इतिहासबाट पाठ लिनुपर्छ, जहाँ बिप्लव र चिरन दुबै उदाहरण हुन् कि यिनिहरु इतिहासका अनुसरण होइन, सचेतताको पाठशाला हुन। वर्गसंघर्षको ऐतिहासिक धारा पुनः सुरु गर्न, संसदीय भ्रमबाट टाढा रहँदै,क्रान्तिकारी सिद्धान्त, संगठन र नेतृत्वको नयाँ निर्माण अनिवार्य छ। यही हो आजको राजनीतिक दिशा र संगठनात्मक कार्यदिशाको मूल सन्देश, “सैद्धान्तिक स्पष्टता बिनाको एकता सम्भव छैन, सिद्धान्त बिना क्रान्ति सम्भव छैन।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित