अहिले देशभरका नर्सहरुले कार्तिक ४ गतेदेखि आन्दोनल गरिरहेका छन् । स्वास्थ्य क्षेत्रको अग्रस्थानमा रहेर निरन्तर रात दिन सेवामा खट्ने निजी स्वास्थ्य संस्थाका नर्सहरुले सरकारी सरह तलबको माग गर्दै आन्दोलन गरिरहेका छन् । नेपाल नर्सिङ संघको आयोजनामा शूरु गरिएको आन्दोलन देशभर जारी छ । यो आन्दोलनले अस्पतालहरुमा स्वास्थ्य उपचारमा असजिलो हुँदै आएको छ ।
नर्सहरु चिकित्सकले दिएको सल्लाह र निर्देशन बमोजिम अस्पतालहरुमा काम गर्ने स्वास्थ्य कर्मी हुन् । अस्पतालमा विरामी र उनका आफन्तीका नजिकका मान्छे हुन्,अस्पतालमा भर्ना भएका विरामीहरुको हरेक स्वास्थ्य अवस्थाको नजिकबाट जानकारी लिने र उचित सल्लाह सुझाव दिने नर्सहरु नै हुन् । बिरामीहरुको हर अवस्थामा सेवामा खट्ने नर्सहरु हुन् । नर्सहरु आफ्नो जस्तोसुकै अवस्था भए पनि बिरामीहरुलाई उचित रेखदेख, स्याहार सुसारमा निरन्तर क्रियाशील भएका हुन्छन् । उनीहरुले आफ्नो सुविधा केही नहेरेर समेत खटिएका हुन्छन् । घर,परिवार,आफन्ती केही नभनेर खट्ने नर्सहरुको तलबमा असमानता रहेको छ । उनीहरुले पाउने सेवा सुविधा आवश्यकता अनुसार हुन सकेको छैन । देशभरका निजी अस्पतालहरुमा क्रियाशील नर्सहरुले निकै कम तलबमा काम गर्नु पर्ने बाध्यता छ । तलबमा रेहको असमानता हटाउन सरकारले पटक पटक पहल गरे पनि प्रभावकारी हुन सबेको छैन । नर्सहरुले उचित तलब नपाउँदा उनीहरुलाई काम गर्न पनि असहज हुँदै आएको छ ।
उनीहरुले सरकारी सरह तलबमान कायम गर, नर्सहरुको श्रम शोषण बन्द गर, विदेश पलायन बाध्यता हो, उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति गर, नर्सिङ तहमा भएको असमानता बन्द गर, हाम्रो श्रमको मूल्य देऊ,असमानता हैन न्याय देऊ भन्ने जस्ता प्लेकार्डहरु बोकेर अस्पतालहरुमा प्रदर्शन जारी राखेका छन् । नेपालका नर्सहरुले दैनिक रुपमा धेरै बिरामीहरुको रेखदेख गर्नु पर्ने हुन्छ । उनीहरुले सके पनि नसके पनि निरन्तररुपमा सेवामा खटिएका हुन्छन् तर पनि उनीहरुले उचित पारिश्रमिक भने पाउन सकेका हुँदैनन् । सरकारी सरह तलब हुने पर्ने हो । उनीहरुलाई सबै सुविधाको उपलब्ध गराएर उनीहरुले सेवा गर्ने अवसर दिनु पर्ने हो तर हुन सकेको छैन । देशभरका निजी अस्पतालहरुले नर्सहरुको निकै श्रम शोषण गरेका भन्ने समाचार आइरहन्छन् । कतिसम्म भन्दा मासिक १२, १४ हजारमा नर्सहरुलाई काम गर्न बाध्य पारिएका पनि छ । यो अवस्थामा नर्सहरु दिनहुँ जसो विदेशी कामको खोजीमा अन्य देशहरुमा पलायन हुनु पर्ने बाध्यता सिर्जना भएको छ ।
नेपालमा थोरै रकममा काम गर्नु पर्ने बाध्यता सबै क्षेत्रको कामदारहरुलाई छ । नर्सहरुको पनि अवस्था सोही अनुसारको भएको छ । सरकारले तोकेको न्यूनतम पारिश्रमिक श्रम ऐन २०७४ अनुसार १९हजार ५ सय ५० रुपियाँ छ तर सबै स्थानमा सबै मजदुरहरुले त्यो स्केलमा पारिश्रमिक पाउँदैनन् । नर्सहरुको पनि अवस्था त्यही नै हो । सरकारले नर्सहरुको पारिश्रमिक ३४ हजार ७ सय ३० रुपिया तोकेको भए पनि निजी अस्पतालहरुले त्यो सरकारी सरहको तलब दिँदैनन् । निजी अस्पतालहरुले आन्दोलन गरेमा काम बाट नै निकालिदिने डर धम्की दिने जस्ता काम गर्दै आएका हुन्छन् । अहिले पनि निजी अस्पताल सन्चालकहरुको संस्थाले सरकारी सरह तलब दिन नसकिने बताएको छ ।
तलब सरकारी सरह हुनु पर्ने भन्दै आन्दोलनरत नर्सहरुको मागलाई ध्यान दिँदै सरकारले २०८१ मंसिर २७ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै निजी अस्पताल, प्रतिष्ठान,मेडिकल कलेज,सामुदायिक अस्पताललाई सरकारी सरह न्यूनतम पारिश्रमिक र सेवा सुविधा नघट्ने गरी लागू गर्न परिपत्र गरेको भए पनि निजी अस्पतालहरुले त्यो परिपत्रलाई वेवास्ता गर्दै आएका छन् ।
नेपालमा नर्सहरुको कामको उचित मूल्याङ्कन नभएको भन्दै नर्सहरु विदेश पलायन भइरहेका,हुनु पर्ने बाध्यता सिर्जना भइरहेको छ ।
नेपाल नर्सिङ संघले अस्पताल संचालकसँग २०८२ कार्तिक १५ गते सहमति गरेपनि त्यो नमानेर नर्सहरुले आन्दोलनलाई अगाडि बढाएका छन् । आन्दोलनलाई अस्पतालको विश्वसनीयता समेत बिरामीको उपचारमा निरन्तर रुपमा खटिने नर्सहरुको काममा भर पर्दछ । त्यसरी खटिने नर्सहरुले उचित सेवा सुविधा नपाएर समानताको माग गर्दै आन्दोलन गर्नु पर्ने भनेको निकै दुःखद पक्ष हो । यो वा त्यो बहानामा उनीहरुको आन्दोलनलाई बेवास्ता गर्नु, माग पूरा गर्न नसकिने भन्दै पन्छाउनु वा टार्न खोज्नु हुँदैन । उनीहरुको समानताको माग पूरा गर्न सम्बन्धित निकायले तत्कालै ध्यान दिनु पर्दछ । यदि न्यायोचित र समान तलबमानको व्यवस्था गरेमा अध्ययन गर्दै गरेका नर्सहरुलाई पनि देशमा नै रोजगारी र अवसर छ भनेर हौसला मिल्न सक्छ ।
आन्दोलनरत नर्सहरुको माग
Comments

