– गोविन्द सिंह थापा
७ नोभेम्बर १९७९ का दिन अखिल भारत नेपाली एकता समाजको स्थापना भएको थियो । आज स्थापना दिवसका दिन म अखिल भारत नेपाली एकता समाजका संस्थापक साथीहरूको स्मरण गर्न चाहन्छु । अखिल भारत नेपाली एकता समाजको हामी ७ जना संस्थापकहरू हौँ।
म बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा कर्मचारी थिएँ । म कर्मचारी भएकै बेलामा मोहनविक्रम सिंहले जागिर छोड्नुपर्यो, पार्टीमा होल टाइमर भएर काम गर्नुपर्यो भनिरहनु हुन्थ्यो । मलाई पञ्चायतको विरोध गर्यो भनेर सरकारले वारेन्ट जारी गरेको थियो । यसै वारेन्ट,उसै वारेन्ट भनेर म पनि अब पार्टीमा होल टाइमर नै हुनुपर्छ भन्ने मानसिकता बनाएँ र म एकता समाज स्थापनाको उद्देश्यले मलाई पार्टीको योजना अन्तर्गत नै बनारस जान भनियो र म बनारस पुगे । बनारसको एउटा धर्मशालामा जम्मा भएर हामीले एकता समाज गठन गरेका थियौं। त्यस अवसरमा मोहनजी पनि पुग्नुभएको थियो।त्यसबेला पार्टीको महामन्त्री भक्त बहादुर श्रेष्ठ हुनुहुन्थ्यो । त्यही भेलाबाट एउटा घोषणा पत्र जारी गरेका थियौं ।
समाजको संस्थापक सभापतिको रुपमा म गोविन्द सिंह थापा बने । एकता समाजको सभापति भइसकेपछि म पुरै भारतव्यापी रुपमा संगठन निर्माण कार्यमा पार्टीको योजना अनुसारपुरै होलटाइमर भएर भारतव्यापी रूपमा संगठन विस्तार अभियानमा हिँडे। १० वर्षसम्म म भारतमा होलटाइमरको रुपमा काम गरे। भारतमा एकता समाजको जिम्मेवारी बोकेर काम गर्नुभन्दा पहिले म त्यसरी भारतमा गई संगठनको काम गरेको थिएन । त्यो मेरो पहिलो अनुभव थियो तैपनि सबै खालका अप्ठ्याराहरु सहदै हामीले संगठनमा काम गरियो।
संस्थापक उपसभापति रामचन्द्र पौडेल हुनुहुन्थ्यो। उहाँले पान्डीचेरीको एउटा कम्पनीमा काम गर्नुहुन्थ्यो । उहाँको घर बाग्लुङ थियो । बनारसको एकता समाज स्थापनाको कार्यक्रममा उहाँ पाण्डेचेरीबाट जानुभएको थियो भएको । उहाँ लडाकु स्वभावको मान्छे हुनुहुन्थ्यो। भारतमा नोकरी सकिएपछि उहाँ नेपालको चितवन आएर बस्नुभएको थियो । केही वर्ष पहिले उहाँको मृत्यु भयो। संस्थापक मन्त्री पदम राना हुनुहुन्थ्यो। उहाँको नेपालको घर स्याङ्जा थियो । उहाले फरिदाबादमा एउटा स्कुलमा चौकीदारको रुपमा काम गर्नुहुन्थ्यो । उहाँ जनजाति हुनुहुन्थ्यो । पछि उहाँ माओवादीमा आबद्ध हुनुभएको थियो र केही वर्ष पहिले उहाँको स्याङ्जा आफ्नै गाउँमा मृत्यु भयो। मृत्युको बेला उहाँ बाबुरामले नेतृत्व गरेको पार्टीसँग सम्बन्धित हुनुहुन्थ्यो।
संस्थापक उपमंत्री दण्डपाणी न्यौपाने हुनुहुन्थ्यो । उहाँलाई गोरखपुरबाट प्रतिनिधित्व गराइएको थियो । नेपालमा उहाँको घर चितवन थियो । पछि उहाँ माओवादीले सञ्चालन गरेको जनयुद्धमा क्रियाशील हुनुहुन्थ्यो र सेनाले उहाँलाई बेपत्ता बनाएको थियो। उहाँको जागिर भएको मलाई सम्झना छैन। उहाँ एकता समाजमा दत्तचित्तका साथ लागिपर्ने मान्छे हुनुहुन्थ्यो।एकता समाजको स्थापनाका बेला सचिवलाई मन्त्री र उपसचिवलाई उपमन्त्री भन्ने चलन थियो।
संस्थापक सदस्य राजु नेपालीले दिल्लीको पञ्चहिल पार्कको एउटा कोठीमा काम गरेको मलाई सम्झना छ। उहाँको घर अर्घाखाँचीको अर्घा गाउँ पञ्चायत थियो।अत्यन्त क्रियाशील हुने मान्छे हो उहाँ। जहाँ भएपनि निरन्तर क्रियाशील भइरहने उहाँको बानी छ एकता समाजमा उहाँले राम्रो योगदान पुर्याउनु भएको थियो। उहाँले पछिल्लो अवधिमा बाबुरामको पार्टीमा काम गर्नु भएको छ। संस्थापक सदस्य दुर्गा शर्माले चेन्नैबाट प्रतिनिधित्व गर्नुभएको थियो। उहाँको घर बाग्लुङ हो। उहाँ पछिल्लो अवधिमा बुटवलभन्दा पश्चिमतिर एउटा गाउँमा बस्नुहुन्थ्यो र उहाँको पनि मृत्यु भइसक्यो। अर्का संस्थापक सदस्य रतनबहादुर हुनुहुन्थ्यो। उहाँलाई कलकत्ताबाट कमिटीमा राखिएको थियो। तर स्थापनाका बेलामा उहाँ उपस्थित हुनुभएको थिएन। पछि पनि मैले उहाँलाई कहिल्यै भेट्न पाएन । संस्थापक मध्ये अहिले राजु नेपाली र म मात्र जीवित छौं ।
समाजले आफ्नो स्थापना काल देखिनै भारतमा लाखौं नेपाली मजदूरहरूको पक्षमा काम गरेको गौरवमय ईतिहास छ। अखिल भारत नेपाली एकता समाजको प्रथम अखिल भारत सम्मेलन ५ – ७ सितंबर १९८२ मा दिल्लीको निलकण्ठ भवनमा भएको थियो । सम्मेलनले सभापतिमा गोविंद सिंह थापा र महासचिवमा विजय शर्मालाइ निर्वाचित गरेको थियो। भारतमा हामीले जसलाई विजय शर्मा भन्दथ्यौ उहाँ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वर्तमान महासचिव सीपी गजुरेल गौरव हुनुहुन्छ। समयक्रममा अखिल भारत नेपाली एकता समाजमा विभाजन भयो। दिल्लीमा सम्मेलन गर्नेलाई दिल्ली पक्ष र कलकत्तामा सम्मेलन गर्नेलाई कलकत्ते पक्ष भनियो । कलकते पक्षको नेतृत्व विजय शर्माले गर्नुभएको थियो भने दिल्ली पक्षको नेतृत्व मैले गरेको थिएँ । समयले अहिले हामीलाई फेरि एउटै पार्टीमा एकै ठाउँमा ल्याइ पुर्याएको छ ।
संगठन निर्माण र विस्तार भन्ने कुरा एकजनाले मात्र गरेर हुने कुरा होइन। अवश्य पनि व्यक्तिको क्रियाशीलता चाहिन्छ तर टिममा भएका सबै साथीहरूको मेहनतले नै संगठन निर्माण हुने हो । जो संस्थापक साथीहरू हुनुहुन्थ्यो उहाँहरूको क्रियाशीलताका कारणले गर्दा हामी सबैको मेहनतले गर्दा भारतव्यापी रुपमा संगठन निर्माण भएको थियो। हामीले वेश्यालयबाट भागेका नेपाली महिलाहरू ,कोठीमा ठगिएका नेपाली दाजुभाईहरु ,कारखानामा ठगिएका दाजुभाईहरु अलपत्र परेका नेपालीहरूको उद्धार यी सबै सामाजिक सेवाका कामहरु पनि गरेका कारणले संगठन जनताको माझमा फैलिएको हो । समय बदलिएको छ तैपनि जनतासँग भिजेर जनताको दुःख सुखमा साथ दिएर मात्रै संगठन निर्माण हुन सक्छ । म अहिले अखिल भारत नेपाली एकता समाजको नेतृत्वमा रहेका , त्यसका विभिन्न तह र पदमा रहेका साथीहरुलाई फेरि पनि जनतासँग जोडिन , जनताको सुखदुखको साथी बन्नको निम्ति अनुरोध गर्न चाहन्छु ।

