शान्ति र विकासको लागि विश्व विज्ञान दिवस

– नरेन्द्रबहादुर थापा
आज २०८२ साल कार्तिक २४ गते तदनुसार १० नोभेम्बर , सन् २०२५,शान्ति र विकासको लागि २५औं विश्व विज्ञान दिवस । प्रत्येक वर्ष नोभेम्बर १० तारिखमा विश्वभर शान्ति र विकासकोलागि विश्व विज्ञान दिवस मनाइन्छ। सन् २००१ मा युनेस्कोले सुरु गरेको यो दिवसको उद्देश्य विज्ञानलाई मानव कल्याण, सामाजिक न्याय र दिगो विकाससँग जोड्नु हो। यस दिवसले वैज्ञानिक चेतना, अनुसन्धान र प्रवर्तनलाई विश्व शान्ति र मानवताका सेवामा समर्पित गर्न प्रेरणा दिन्छ।
विकास र मानव सभ्यताको उन्नति विज्ञान हो ।विज्ञान मानव सभ्यताको मेरुदण्ड नै हो। आगोको प्रयोगदेखि आजको कृत्रिम बुद्धिमत्तासम्म विज्ञानले मानव जीवनलाई रूपान्तरण गरेको छ। औद्योगिक क्रान्ति ,सूचना प्रविधि ,औषधि, कृषि ,यातायात र अन्तरिक्ष अनुसन्धान सबै विज्ञानका उपहार हुन्। हरेक खोज र हरेक आविष्कारले जीवनलाई सहज, सुरक्षित र उत्पादक बनाएको छ।
शान्तिका लागि वातावरण तयार गर्ने विज्ञान हो । विज्ञान केवल प्राविधिक विकासका लागि होइन, शान्ति र सह(अस्तित्वका लागि पनि माध्यम हो। विज्ञानले राष्ट्रहरूबीच संवाद, सहयोग र साझेदारीको ढोका खोल्दछ। उदाहरणका रुपमा(अन्तरिक्ष अनुसन्धान, जलवायु परिवर्तन, निरीक्षण र एकताले विश्वलाई जोडेको छ । वैज्ञानिक अनुसन्धान निष्पक्ष हुन्छ । जात, धर्म ,राजनीति वा सीमा नहेरी यही निष्पक्षता नै विश्व शान्तिको आधार हो।

विकास र दिगोपनाका लागि पनि विज्ञान नै हो ।आजको युग दिगो विकासको युग हो। शुद्ध ऊर्जा, जलस्रोत संरक्षण, जैविक कृषि ,वातावरणीय सन्तुलन र स्वास्थ्य सेवामा सुधार सबै वैज्ञानिक योगदान हुन्। वैज्ञानिक अनुसन्धानले हामीलाई भविष्यका चुनौतीहरु जस्तैः जलवायु संकट रोग, भोकमरी र गरिबी समाधान गर्न दिशा देखाइरहेको छ।
विज्ञान र समाजबीचको सम्बन्ध जोडिएको हुन्छ ।विज्ञान जनतासँग जोडिनु जरुरी छ। विज्ञान विद्यालयमा मात्र होइन, समाजमा पनि फैलिनुपर्छ । वैज्ञानिक सोंच ,तथ्यमा आधारित निर्णय र विवेकपूर्ण चेतनाले मात्र राष्ट्रलाई विकसित र स्थिर बनाउँछ। त्यसैले विज्ञानलाई जनतासम्म र जनतालाई विज्ञानसम्म पुर्‍याउनु यो दिवसको सन्देश हो ।
अन्त्यमा , शान्ति र विकासका लागि विश्व विज्ञान दिवसले हामीलाई सम्झाउँछ । विज्ञान केवल प्रयोगशालामा सीमित नभई मानवता, शान्ति र समृद्धिको साझा बाटो हो। जब विज्ञान नैतिकता र मानवतासँग जोडिन्छ, तब मात्र संसारमा स्थायी शान्ति र दिगो विकास सम्भव हुन्छ ।
सन्देशः विज्ञानको ज्ञान सबैका लागि हो ,यसलाई साझा गरौं र शान्ति र विकासको आधार बनाउँ।
शान्ति र विकासको लागि २५औं विश्व विज्ञान दिवसको सबैलाई शुभकामना !
मिति ः२०८२ कार्तिक २४ गते

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित