हाँक साप्ताहिकको प्रेरणा र महत्व

–गुणनीधि आचार्य

आजभन्दा करिव ४० वर्ष पहिला देखि म नेपालको कम्युनिस्ट आन्दोलनसँग जोडिएको छु । नेकपा (मसाल) को सांस्कृतिक मोर्चा रक्तिम सांस्कृतिक अभियानका गीत र नृत्यबाट प्रभावित भएर रक्तिममै आबद्ध भएर काम गरें । मेरा दाजुहरु पनि पार्टीमा काम गर्नु हुन्थ्यो । जीवन शर्मा हाम्रो घरतिर आउनु हुन्थ्यो । र हाँक पत्रिका पनि जान्थ्यो । पत्रिकामा लेखिएका कुराले हामीलाई उत्साहित बनाउँथ्यो । २०३९ सालदेखि कलाकारको रुपमा काम गर्र्दै जाँदा २०४४ सालमा अनेरास्ववियु (छैठौं) बागलुङ जिल्ला सदस्यको रुपमा काम गरें । हाँकलाई बुझ्ने र विभिन्न कठिनाईको सामना गर्दै अध्ययन गर्ने मौका पाएको थिएँ ।
त्यति बेला पत्रिकालाई पंचेहरुले लुकाउने र जलाउने गर्दथे । तर हामीले भूमिगत रुपमा अध्ययन गरिन्थ्यो । त्यो पत्रिकाबाट नै राष्ट्रिय, अन्तर्राष्ट्रिय गतिविधि बुझिन्थ्यो । तमाम खालका समाजमा भएका अन्याय, अत्याचार, शोषण, दमन, विसंगति र विकृतिहरुको भण्डाफोर गर्नुपर्छ भन्ने र त्यही प्रकारका गतिविधिअनुसार अघि बढ्न हाँक मार्फत् सिक्ने गरिन्थ्यो ।
२०६५ देखि बाँकेमा हाँकको प्रतिनिधि भएर मैले काम गर्दै आएको छु । बाँकेमा अहिलेसम्म निरन्तर जनताको बीचमा हाँक पुगेको छ र सम्पूर्ण जनता, पाठक, विज्ञापनदाताहरुले हाँकलाई महत्वपूर्ण रुपमा लिइराखेका छन् । हाँक पत्रिकाले देश, जनता, जनजीविकाको पक्षमा निडर र सम्झौताहीन रुपमा प्रकाशन गरिरहेकोले हामी लगायत सम्पूर्ण जनताले निकै मन पराएकोले यस पत्रिका हाल ४२ वर्ष पूरा गरी ४३ औं वर्षमा प्रवेश गरेको हो । ४३ औं वर्षमा प्रवेश गरेको सुखद उपक्षमा हाँक साप्ताहिकको उज्ज्वल भविष्यको कामना गर्दछु र सबै देशभक्त जनताले अघि बढी महत्वका साथ ग्रहण गर्नुने छ भन्ने आशा व्यक्त गर्दछु ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित