फागुन २५,काठमाडौं । आज सम्पन्न राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका छन् । पौडेलले ३३ हजार ८०२ मतभार पाएका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले पौडेललाई मत दिएका हुन् । पौडेलका प्रतिद्वन्द्वी उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाएका छन् ।
संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ सांसदहरुले मतदान गरेका हुन् नेपाल मजदुर किसान पार्टीका १ जनाले मतदानमा सहभागिता जनाएनन् । नेपाली कांग्रेसका चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका वर्षमान पुन उपचारका क्रममा मुलुक बाहिर रहेकाले मतदानमा सहभागी भएनन् ।
कांग्रेसबाट निर्वाचित भई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका टेकबहादुर गुरुङ निलम्बित अवस्थामा रहेकाले मतदान गर्न पाएनन् । मतदाता नामावलीमा नाम भए पनि फौजदारी मुद्दाका अभियुक्त एमालेका लक्ष्मी महतो कोइरी पनि राष्ट्रपति निर्वाचनमा मतदान गर्न आएनन् । रामचन्द्र पौडेल गणतन्त्र नेपालका तेस्रो राष्ट्रपति हुन् । यस भन्दा पहिले रामबरण यादव र विद्यादेवी भण्डारी नेपालका राष्ट्रपति भएका थिए ।
रामचन्द्र पौडेल नेपालको नयाँ राष्ट्रपति

Comments