देशमा बढ्दो मदिरा प्रयोग

अहिले देशमा मदिरा सेवन अत्यधिक बढेको छ । मदिरा सेवनमा युवा,वृद्ध,महिला पुरुष सबै संलग्न भएको देखिन्छ । घरेलु उत्पादक नेपाल भित्रकै उद्योगबाट उत्पादित र विदेशी तीनै प्रकारका मदिरा सेवन बढ्दो छ । सहज पहुँचका कारण मदिराको असर बढ्दो छ । मदिराको सेवनले सेवनकर्ताहरुको ज्यानै गएको, अस्पतालमा उपचाररत रहेको जस्ता समाचारहरु आउने गरेका छन् ।
मदिरा सेवनले रोगहरु लाग्न नदिने, थोरै सेवन गर्दा शरिरलाई कुनै हानी नगर्ने ,डाक्टरहरु पनि मदिरा सेवनकालगि सुझाव दिन्छन्,नखाने हो भने बन्यो त किन? भन्ने जस्ता कुराहरु गर्दै मदिरा सेवनलाई सही भएको ठह¥याउँदै मदिरा सेवन गर्नु ठीक हो भन्ने गरेको पाइन्छ ।
मदिरा परम्परागत रुपमा, कुनै जात समुदाय विशेषको खास कुरा हो भन्ने गरिन्छ र त्यसलाई उपयोग गर्नु परम्परागत जातिगत रुपले सही हो पनि भन्ने गरिन्छ ।
विगतमा मदिरा विरोधी अभियान चलाउने, मदिरा नष्ट गर्ने अभियानहरु टोल छिमेकबाट नै चलाउने गरिएका थिए । अहिले मदिराको बिक्री वितरणमा कुनै रोकटोक छैन । यो गलत हो भनेर भन्ने कुरा ओझेल पर्दै गएको छ । मदिरा सेवन व्यक्तिगत विषय हो भन्दै बेवास्ता गरिन्छ । स्थानीय स्तरबाट समेत मदिरालाई ब्राण्डिङ गर्नु पर्छ भन्दै निर्णय अभियानहरु चल्ने गरेका छन् ।
मदिरा सेवनले सामाजिक सुरक्षा खलबलिने,घरेलु हिंसा बढ्ने–आर्थिक र व्यक्तिगत जीवनको विकासमा बाधा पर्ने हुन्छ । घर परिवारमा असन्तुष्टि,परिवारको शिक्षा तथा मानसिक स्वास्थ्यमा असर पर्दछ । त्यस्तै मदिराको सेवनबाट सेवन कर्ताको स्वास्थ्यमा गम्भीर समस्याहरु सिर्जना हुन्छ । जस्तैः स्नायु तथा मनोरोग, छारेरोग बढ्ने तथा बौद्धिक क्षमतामा ह्रास हुने–रक्तचाप बढ्नुका साथै रगतमा चिल्लो पदार्थको मात्रा बढ्नुका साथै मोटोपना हुने–कलेजो,मुटु र पेटसम्बन्धी तथा मानसिक रोग, विभिन्न अङ्गहरुको क्यान्सर,कमलपित्त, ग्यासटाइटिस,पेट तथा आन्द्रामा घाउ हुने–गर्भवती महिलाले मदिराको सेवन गरेमा बच्चा जन्माउँदा जटिलता आउने, जन्मेको बच्चा शारीरिक र मानसिक रूपमा सुस्त र रोगी हुने तथा गर्भपतन हुने जस्ता स्वास्थ्य समस्या हुन्छ । अहिले मदिराको सेवनबाट बिरामी हुनेहरुको संख्या अत्यधिक छ । मदिराको सेवनका कारण थुप्रै मानिसहरू अकाल मै मृत्युको मुखमा परेका छन् ।
भनिन्छ कुनै देशको अवस्थालाई बिगार्नु छ भने त्यो देशका जनताहरुलाई बिगार्नु पर्दछ । जनताको काँधमा नै त्यो देशको भविष्य हुन्छ । जनताहरु बिग्रेपछि देश बिग्रन समय लाग्दैन । आज जनता मदिरामा भुलिरहँदा भोलि देशको अवस्था के हुने भन्ने चिन्ता छ । कसैलाई बिगार्नु परेमा मादक पदार्थमा भुल्याइदिएर आफु अनुकूल गर्न सजिलो हुन्छ । देश र जनताको अहित चाहनेहरुले यो विधिको प्रयोग गरेका हुन सक्छन् । सरकारले लोपोन्मुख जाति, वृद्ध, एकल महिला लगायतको शीर्षकमा सामाजिक सुरक्षा भत्ता छुट्टाउने गरेको छ । सामाजिक सुरक्षा भत्तालाई दुरुपयोग गरेर मदिरा सवेन गरी उमेर छँदै मृत्युवरण गरेका, समाजमा विकृति फैलिने गरेका समाजमा यत्रतत्र उदाहरण देखिएका छन् । सामाजिक सुरक्षा भत्ताले समाजमा उत्पीडित, वृद्ध र किनारीकृत समुदायलाई रामै्र हित गरेको छ । तर त्यस भत्तालाई मदिरा सेवनमा दुरुपयोग भइरहेको कुरालाई रोक्न के गर्न सकिन्छ ? के यो पनि हाम्रो सामाजिक सरोकारको विषय बन्नु पर्दैन र ?
मदिरा प्रयोग, नियन्त्रण गर्न सबैको ध्यान जानु पर्ने आवश्यकता छ । परिवार,समाज र देशले मदिरा प्रयोगलाई नियन्त्रण गर्न अल्पकालीन र दीर्घकालीन योजनाहरु बनाएर कार्यान्वयन गर्नु पर्दछ । परिवारमा मदिराको नकारात्मक असरबारे छलफल चलाउनु पर्दछ । जो जो सेवनमा लागिसकेका छन् उनीहरुलाई छुटाउन उचित उपायहरु अपनाउनु पर्दछ । मदिराको कुलतमा फसिसकेकाहरुको पुनस्र्थापनाको कामलाई प्रभावकारी बनाउनु पर्दछ । विदेशी मदिरा उपयोगलाई न्यूनिकरण गर्न भन्सार करलाई सक्दो वृद्धि गर्नुपर्दछ । मदिरा उत्पादनबाट अन्तशुल्क (कर) प्राप्तिको लागि कमसल खालका मदिरा उत्पादन गर्न दिने नीतिमा पुनर्विचार गर्नुपर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित