– दिपक पौडेल, संयोजक, अखिल (छैटौं) राष्ट्रिय भेला आयोजक समिति-
० तपाईको संयोजकत्वमा भर्खरै अखिल (छैटौं) राष्ट्रिय भेला आयोजक समिति गठन भएछ ।अ अअखिल (छैटौं) अहिले के गर्दैछ?
–नेकपा मसालले क्रान्तिकारी बाटो छोडेर दक्षिणपन्थी बाटो समाती संसदीय भ्रष्ट व्यवस्थामा हिस्सेदार बनेपछि त्यसको प्रभाव विद्यार्थी संगठनमा प¥यो । संगठनको नेतृत्वले विद्यार्थी संगठनलाई पार्टीले लिएको संशोधनवादी धारमा अगाडि बढाउने प्रयत्न गर्यो । हामी अखिल( छैठौं) को क्रान्तिकारी र गौरवमय इतिहासलाई विर्सेर गलत बाटोमा हिड्न सकेनौं । वर्तमान व्यवस्थाले समाधान गर्न नसक्ने शैक्षिक मुद्दाहरु अलपत्र छोडेर सरकारी लाभमा विचारको लिलाम बिक्री गर्न सकेनौं, त्यसकारण अखिल (छैठौं) को क्रान्तिकारी इतिहासलाई न्याय दिन र सशक्त क्रान्तिकारी विद्यार्थी आन्दोलन विकास गर्न अखिल (छैटौं) पुनर्गठन गरी अगाडि बढ्ने निर्यण गरेका छौं । गत माघमा भएको प्रशिक्षणात्मक भेलाले २०८० जेष्ठ मसान्तसम्म विशेष राष्ट्रिय सम्मेलन गर्ने योजना बनाएको छ । अहिले स्कुल, क्याम्पस, गाउँ, नगरहरुका भेला गर्ने, जिल्ला सम्मेलन वा भेला गर्ने कार्यक्रम तय गरेर उक्त काममा लागेका छौं ।
० २०७९ मा तपाईको सङ्गठनमा विभाजन आयो । यो घटनाले अखिल (छैटौं) जुट्न जानेको छैन फुट्न मात्र जानेको छ भन्ने कुरा पुष्टि गर्दैन र ?
–अखिल छैटौं को इतिहास टुटफुट, गठन पुनर्गठन हुँदै अगाडि बढेको छ । व्यक्तिगत लाभ हानी र टक्करका कारण हुने फुटलाई सही मान्न सकिन्न । राजनैतिक सैद्धान्तिक रुपमा फरक परेपछि र अन्तरसंघर्षको स्वच्छ वातावरण नभएपछि संगठन विभाजन हुनुलाई स्वभाविक र सकारात्मक नै मान्न पर्दछ । क्रान्तिकारी विद्यार्थी आन्दोलनको विकास गर्ने समयमा प्रतिक्रियावादी संगठनसँगको गठबन्धन हामीलाई सही लागेन र क्रान्तिकारी विद्यार्थी आन्दोलन संगठित गर्ने योजनाका साथ अगाडि बढिरहेका छौं । क्रान्तिकारी संगठनहरुको एकताको महत्व हाम्रा कामहरुले पुष्टि गर्र्दै जानेछ । फुट परस्त को ? को सही ? को गलत ? कुराले पुष्टि गरेर मात्र पुग्दैन ।
० तपाईहरुले जनवादी शिक्षाको नारा लगाउन लागेको वर्षौं भयो । कहिले प्राप्त हुन्छ जनवादी शिक्षा ? के हुन्छन् त्यसका विशेषताहरु ?
–यो दलाल पुँजीपतिहरुको व्यवस्था हो । सामन्तवाद, दलाल पुँजीवादमा रुपान्तरण हुँदै गइरहेको छ । दलालहरु सबै क्षेत्रमा दलाली गरेर पैसा कमाउन खोज्दछन् । शिक्षा क्षेत्र दलालको मुख्य पैसा कमाउने ठाउँ बनेको छ । शिक्षा क्षेत्रलाई दलालहरुको हातबाट मुक्त गर्न र साम्राज्यवादी हस्तक्षेप अन्त्य गर्न दलाल पुँजीवादको अन्त्य हुन जरुरी हुन्छ । सबै परिस्थितिको मुल्यांकन गर्दा दलाल पुँजीवादको अन्त्य गर्न जनताको व्यापक आन्दोलन आवश्यक पर्छ । चुनावी प्रकृयाद्वारा त्यो सम्भव छैन । जनवादी व्यवस्था जनताको आन्दोलनद्वारा स्थापना गर्ने पुँजीवादी व्यवस्था नै हो । त्यो व्यवस्थाले मात्र जनवादी शिक्षाको व्यवस्था गर्न सक्छ । नयाँ जनवादी व्यवस्थाले राष्ट्रिय अर्थतन्त्रको विकास गर्नेगरी शिक्षा नीति निर्धारण गर्छ । देशका साधन श्रोतको परिचालन गरि उत्पादन बढाउने उद्देश्य अनुरुप पाठ्यक्रम तैयार गर्छ । शिक्षालाई श्रम र सीपसँग जोडेर अगाडि बढाउँछ र उत्पादित जनशक्ति राष्ट्र निर्माणमा लगाउने काम गर्छ । यस प्रकारको शिक्षा नीतिले बेरोजगारी समस्या समाधान गर्छ । हामीले भन्दै आएको जनवादी शिक्षा जनवादी व्यवस्थामा सम्भव हुने हुँदा विद्यार्थीहरुले शैक्षिक मुद्दाका साथसाथै राजनैतिक मुद्दा समेत उठाउनु पर्ने हुन्छ । क्रान्तिकारी संगठनको एकता र सहकार्यले मात्र हामीले जनवादी आन्दोलन उठान गर्न सकिन्छ, अब हामीले त्यो दिशामा कार्यक्रम केन्द्रिकृत गर्नु पर्दछ ।
० शिक्षा प्राप्त गरेर समाज र देशका निम्ति केही गरौं भन्दा पनि विदेश कसरी जाने भन्ने भावना विद्यार्थीहरुमा विकास भइरहेको छ । एउटा विद्यार्थी नेताको आँखाबाट हेर्दा यसबारे के भन्नु हुन्छ ?
–विद्यार्थीहरुमा कसरी विदेश जाने भन्ने भावनाको विकास कसरी भयो ? यसको मुख्य दोषी को ? गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको छ । समग्रमा देशको राजनैतिक अवस्था, शैक्षिक नीतिका कारण नेपालमा केही गर्न सकिन्न भन्ने भावनाको विकास भएको छ । यसको सम्पूर्ण जिम्मा शासक दलहरुले लिनु पर्दछ । नेपालमा कस्ता जनशक्ति कति चाहिएको छ र उक्त जनशक्ति कसरी तैयार पार्ने ? त्यसको कुनै योजना राज्यसँग छैन । युवाहरूलाई बिक्री गरेर शासन चलाउने भ्रष्टहरुलाई त्यसको चिन्तापनि छैन । देशका साधन श्रोत परिचालन गर्ने भन्दा पनि बिक्रि गरेर कसरी कमिसन खाने भनेर दलालहरुले राष्ट्रिय सहमति गरेका हुन्छन् । साधन श्रोतले सम्पन्न मुलुकलाई मगन्ते बनाउने भ्रष्ट शासकका विरुद्ध सम्पूर्ण विद्यार्थी एक बन्नुपर्ने अवस्था छ । विद्यार्थीहरुमा विकसित विदेश जाने मानसिकतामा परिवर्तन गरेर विदेश जानुपर्ने परिस्थिति निर्माण गर्ने तत्वलाई चिनाउने, बुझाउने र त्यसका विरुद्ध संगठित संघर्ष गर्ने भावनाको विकास अहिलेको आवश्यकता हो, क्रान्तिकारी विद्यार्थी संगठनले त्यस कुरामा ध्यान दिनु पर्दछ ।
० स्ववियु निर्वाचन नजिकिँदैछ । निर्वाचनको प्रतिष्पर्धा कसरी गर्दै हुनुहुन्छ ?
–हामी अहिले संगठन पुनः निर्माणको अवस्थामा छौं । निर्वाचन सम्बन्धी सम्पूर्ण तयारी समेत गर्न सकिरहेका छैनौं । सम्भव भएका क्याम्पसहरुमा उम्मेदवारी दिएर संगठनको प्रचारप्रसार गर्ने योजनाका कामहरु अगाडि बढाइएको छ । क्रान्तिकारी विद्यार्थी संगठनहरु (बैद्य र वहुमत पक्ष) सँग सहकार्य गरेर निर्वाचनमा जाने निर्णय भएको छ । संयुक्त घोषणापत्र तयार गरिरहेका छौं । कतिपय क्याम्पसमा अखिल छैटौं (क्रान्तिकारी) संयुक्त, कतिपय क्याम्पसमा अखिल क्रान्तिकारी संयुक्त, प्रगतिशील विद्यार्थी संगठन, लगायतको नाममा र कतिपय क्याम्पसमा स्वतन्त्र उम्मेदवारी दिने तयारी भइरहेको छ । भ्रष्ट संसदीय व्यवस्थाका विरुद्धमा, प्रगतिशील सोचाइ राख्ने विद्यार्थीहरुले संयुक्त प्यानल बनाएर जाने योजनामा छौं ।
० स्ववियु निर्वाचनमा तपाईको सङ्गठनलाई नै किन मतदान गर्ने ?
–शिक्षा क्षेत्रमा देखिएका मुख्य समस्या शैक्षिक निजीकरण, व्यापारिकरण र अवैज्ञानिक पाठ्यक्रम नै हो । साधारण सुधारले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान हुन सक्दैन । शासक दलहरुका विद्यार्थी संगठनले साधारण सुधारका मुद्दाहरु उठाउने राजनीतिक नैतिकता समेत गुमाएका छन् । शासन सत्तामा रहने शैक्षिक सुधारमा माखो नमार्ने सरकारी विद्यार्थी संगठनले विद्यार्थीका बीचमा कुनै शैक्षिक कुरा गर्ने हिम्मत राख्दैनन् । सत्ताको आडमा, पैसाको बलमा विद्यार्थीलाई प्रभावमा पार्ने उनीहरूको योजना छ । परीक्षा पास हुन छ कि छैन ? भनेर विद्यार्थीलाई थर्काउने, प्रलोभनमा पार्ने गरेको समेत समाचार प्राप्त भएको छ । निर्वाचनमा आर्थिक चलखेल समेत शुरु भएको देखिन्छ । सबै प्रकारका दबाब, प्रलोभन, सामन्ती मानसिकतासँग हामीले वैचारिक अस्त्रले भीषण लडाइँ लड्नुपर्ने हुन्छ । विद्यार्थीमा छलिने बानीको विकास भएको छ, त्यसलाई तोड्न पर्दछ । बेरोजगार उत्पादन गर्ने असमान शिक्षा नीतिको अन्त गरी वैज्ञानिक, व्यवहारिक, श्रमसँग जोडिएको सीपमूलक शैक्षिक व्यवस्था निर्माण गर्न अखिल (छैटौं) सहितका सच्चा क्रान्तिकारी विद्यार्थी संगठनहरुलाई भोट दिनुको कुनै विकल्प छैन ।
० हाँक साप्ताहिक मार्फत थप केही भन्नु छ कि ?
–हाँक साप्ताहिकको स्थापनाकालदेखि देश, जनता र परिवर्तनको पक्षमा निरन्तर काम गरेको गौरवमय इतिहास छ । हाँक साप्ताहिकलाई थप सशक्त र व्यवस्थित बनाएर निरन्तर जनताको बीचमा वैचारिक खुराक प्रदान गरिरहनेमा विश्वास व्यक्त गर्दछौं । अखिल (छैटौं) का विचार प्रचारप्रसार गर्ने अवसर दिएकोमा धन्यवाद दिन चाहन्छु ।