फागुन २८, काठमाडौं । चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि २७ गते परेको उम्मेदवारीमा सत्ता गठबन्धनकै तीन जना र नेकपा एमालेबाट एक गरी चार जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका राम सहायप्रसाद यादव, प्रमिला कुमारी यादव जनमत पार्टीको ममता झाले उम्मेदवारी दिएका थिए भने नेकपा एमालेका उपाध्यक्ष अष्ट लक्ष्मी शाक्यको उम्मेदवारी परेको छ । आज ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ भने प्रमिला कुमारी यादवको उम्मेदवारी फिर्ता हुने पनि अनुमान गरिएको छ ।
यसैबीच कानुन व्यवसायी महिलाहरुले उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने माग राख्दै निर्वाचन अधिकृतको कार्यालयलाई ध्यान आकर्षण गराएका छन् । उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने, राष्ट्रपति र उपराष्ट्रपति दुवैमा महिला प्रतिनिधि नहुनु भनेको संविधान, लोकतन्त्र र समावेशिताकै उपहास हुने विश्लेषकहरु बताउँछन् । राष्ट्रपति पुरुष भइसकेको अवस्थामा उपराष्ट्रपति महिला हुनुपर्ने, महिलालाई प्रतिनिधित्व गराउन दलहरु प्रतिबद्ध हुनपर्नेमा पुरुषको पनि उम्मेदवारी पर्नु महिलाहरु प्रति, महिला प्रतिनिधित्व प्रति सबै उदासीन रहेको बुझ्न गाह्रो पर्दैन ।