फागुन ३०, सिमरा । बाराको डुमरावानाका साना किसान सहकारी संस्थाका शेयर सदस्यहरुले सहकारीका संचालकहरुको अनियमितता विरुद्ध संघर्ष गरेका छन् । गत पौष १६ गते सहकारीको साधारण सभा भएको थियो । साधारण सभामा ९५ प्रतिशत महिला सदस्यहरु छन् । साधारण सभामा प्रस्तुत गरिएको लेखा प्रतिवेदन पारित नभएपछि अधिकांश महिलाहरु र पुरुष सदस्यहरुले समेत साधारण सभा बहिष्कार गरेका थिए । सहकारीको नियम र प्रक्रिया पूरा नगरी प्रदिप सिंह बराल अहिले अध्यक्ष बनेका छन् ।
२६ औं साधारण सभा अवैधानिक भएको भन्दै असन्तुष्ट सदस्यहरुले वीरगञ्ज उच्च अदालतमा रिट दायर गरेका छन् । त्यस सम्बन्धमा जानकारी गराउन साधारण सदस्यहरु नारायण क्षेत्री, मुक्ति क्षेत्री र निर्मला केसीले फागुन २७ गते एक पत्रकार सम्मेलनगरी अदालतमा रिट दायरा गर्नुको कारण स्पष्ट गरेका थिए । पत्रकार सम्मेलनमा ४० भन्दा बढी शेयर सदस्यहरु पनि उपस्थित थिए ।
साना किसान सहकारी का शेयर सदस्यहरुद्वारा सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी संस्थाको २६औं साधारण सभा वैधानिक नभएको हुंदा विशेष साधारण सभाको माग गरी उच्च अदालत बीरगंजमा रिट निवेदन दर्ता गराएको जानकारी गराएका छन, रिट निबेदन गर्नु पर्ने कारणहरु निम्न बताइएको छ ः
“१) २६औं साधरण सभामा संस्थाको निर्बाचन समितिले निर्वाचन गरेको भनेको छ उक्त कथित निर्वाचन सहकारी ऐन को दफा ४१ को (१) दुफा ४२ को उपदफा (१),दफा १३६ को १ र संस्थाको विनियम ०७६ को दफा ३२ को १ वमोजिम निर्वाचन गराउनु पर्नेमा सो अनुसार निर्वाचन गरिएको छैन, निर्वाचनका कुनै प्रक्रिया न अपनाइ संञ्चालक समिति घोषणा गरिएको छ ।
२) सहकारी ऐन २०७४ को दफा ४१ अनुसार सञ्चालक समितिको कार्यकाल पूरा नभएको ।
३) सहकारी ऐन बिपरीत सञ्चालक समितिको ब्यक्तिले नातेदारलाइ ठेक्का दिलाइ सिमरा संस्था निर्माणमा २५लाख ४४हजार संस्थालाइ नोक्सानी गराएको ।
४) कानुनले तोकेको समयभित्र लेखा परिक्षण प्रतिवेदन दाखिला नगरेकोले संस्थालाइ १लाख ४ हजार नोक्सानी गराएको ।
५) सञ्चालक समितिको गलत निर्णयको कारण अदालतको आदेश बमोजिम कर्मचारी पुन वहाली गर्दा संस्थालाइ १२ लाख ७० हजार नोक्सानी गराएको ।
६)२०७६ माघ देखि २०७८ अषाढ सम्ममा खाद्य उद्योगमा करिब १करोड २० लाख १०हजार नोक्सानी गराएको । ७) सञ्चालक समितिको गलत कार्यशैलीको कारण शेयर सदस्य लाभांश १३ प्रतिशतबाट घटेर ९ प्रतिशत मात्र कायम गरिएको छ । ८) करिब ९५ प्रतिशत महिला शेयर सदस्य रहेको संस्थामा २६ बर्ष देखि जाल, झेल, षडयन्त्र गरी महिलालाई नेतृत्वमा आउन नदिई पुरुष मात्र नेतृत्वमा हावी भइरहेको ।
यसरी हाल स्वघोषित सञ्चालक समितिका नेतृत्वबाट विगत देखि नै संस्थालाई हानी नोक्सानी गराइरहेकोमा त्यसको आलोचना गर्ने शेयर सदस्यहरुको चरित्र हत्या गरी भ्रामक समाचार भिडियो पोष्ट गरेको, शेयर सदस्यलाई गलत लाञ्छना लगाई अन्र्तवार्ता दिएको, जिल्ला प्रहरी कार्यालय बारामा मैंले सहकारी ऐन, नियम, विपरीत कार्य गरेको हुं भनी स्वीकार गरी माफी मागी कागज गरेको छ हेर्न अनुरोध गर्दछौं । त्यसकारण स्वघोषित सञ्चालक समितिले आम शेयर सदस्यहरुको हितमा काम नगर्ने भएकोले विशेष साधारण सभाको माग गरी, निर्वाचन गराई नियमानुसार सञ्चालक समिति चयन गरियोस् भन्ने माग राखी रिट निबेदन दर्ता गरिएको जानकारी गराउदछौं ।”
उक्त सहकारीमा ८ हजार भन्दा बढी शेयर सदस्यहरु संचालकहरुले पदको दुरुपयोग गर्दै रकम हिनामिना गरिएको बताइएको छ ।