–रामबहादुर बुढा
स्थान परिचय
‘ताप्ले’ नाम गरेको भोटे राजा र ‘जोङ’ किल्लाबाट ताप्लेजुङ नाम रहन गएको एउटा भनाइ छ । लिम्बु भाषामा ‘ताप’ भनेको फैलिएको ‘लि’ भनेको गुलेली र ‘चङ’ भनेको टुप्पो भन्ने हुन्छ । गुलेलीको टुप्पो जस्तो आकारतिर फैलिएको भन्ने अर्थमा ताप्लेचङबाट ताप्लेजुङ भएको हो भन्ने अर्को भनाइ छ । यस जिल्लाको कुल क्षेत्रफल ३,६४६ वर्ग किलोमिटर छ । यो जिल्ला समुद्री सतहदेखि ७७७ मिटर कावेली दोभान देखि ८,५८६ मिटर कञ्चनजङ्गाको चुचुरो सम्म पर्दछ। कञ्चनजङ्गा हिमाल विश्वकै तेस्रो अग्लो हिमाल हो। क्षेत्रफलका हिसाबले ताप्लेजुङ जिल्ला नेपालको तेस्रो ठूलो जिल्ला हो ।अहिले ताप्लेजुङ जिल्लाको राजनीतिक क्षेत्र विभाजन एक प्रतिनिधि सभा निर्वाचन क्षेत्र ,दुईवटा प्रदेश सभा निर्वाचन क्षेत्र र ९ गाउँपालिका तथा १ नगरपालिका स्थानीय तह रहेको छ । यसको उत्तरमा चीनको स्वशासित प्रदेश तिब्बत , दक्षिणमा नेपालको तेह्रथुम र पाँचथर जिल्ला, पूर्वमा भारतको सिक्किम र पश्चिममा नेपालको संखुवासभा जिल्ला पर्दछ । गुराँसको राजधानी मिल्के ,कञ्चनजङ्गा र कुम्भकर्ण जस्ता हिमनदीहरू यहाँ छन् । यहाँको मुख्य नदी तमोर र कावेली हुन् । (जिल्ला वस्तुगत विवरण ताप्लेजुङ, स्थानीय तह अनुसार, २०७५ ,प्रकाशक– तथ्याङ्क कार्यालय पाँचथर) २०७८ को राष्ट्रिय जनगणना अनुसार ताप्लेजुङ जिल्लाको कुल जनसङ्ख्या १ लाख २० हजार ५ सय ९० रहेको छ। यहाँको सबैभन्दा ठूलो जनसङ्ख्या लिम्बु जातिको रहेको छ। लिम्बु ३८प्रतिशत, शेर्पा २६प्रतिशत, क्षेत्री ५प्रतिशत, ब्राह्मण ३ प्रतिशत लगायतका जातिहरू छन्। यहाँ ३५प्रतिशत लिम्बु, २५प्रतिशत शेर्पा२३ प्रतिशत, नेपाली ४प्रतिशत, गुरुङ २प्रतिशत, राई १ प्रतिशत र मगर १ प्रतिशत मातृषीहरु रहेको देखिन्छ ।
कम्युनिस्ट आन्दोलनको उर्वर भूमि
नेपालको कम्युनिस्ट आन्दोलनमा ताप्लेजुङ जिल्ला उर्वरभूमि रहँदै आएको छ। नेकपा (माले) का संस्थापक महासचिव सीपी मैनाली झापा जिल्लाका भएपनि उनको पुर्ख्यौली घर ताप्लेजुङ हो । २०२८ सालको ऐतिहासिक झापा विद्रोहका विद्रोही नेता राधाकृष्ण मैनाली जो सीपी मैनालीका दाजु हुन् र झापाबाट राजनीति गरेको भएपनि उनको पुर्खेउली घर ताप्लेजुङ हो । नेकपा (एमाले) का पूर्व महासचिव मदन भण्डारीको घर मोरङको इटहरा भएपनि पुर्खेउली घर ताप्लेजुङको साँघु हो । हरि नेपाल र चन्द्रबहादुर पुरी जो ताप्लेजुङमा राजनीति गर्दथे, उनीहरुलाई पञ्चायती व्यवस्थाले संखुवासभामा हत्या गरेको थियो । विद्यार्थी आन्दोलनको इतिहासमा २०३६ सालमा अनेरास्ववियु विभाजन भएर पाँचौं र छैठौं बनेको थियो। विभाजित अनेरास्ववियुको पाँचौं राष्ट्रिय सम्मेलनका अर्थात् पाँचौं पक्षका पहिलो अध्यक्ष टंक कार्की ताप्लेजुङका नै हुन् । नेकपा एमालेबाट प्रतिनिधि सभामा निर्वाचित र वर्तमान प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे ताप्लेजुङ जिल्लाकै हुन् । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलोपटक विद्यावारिधि गर्ने व्यक्ति सुरेन्द्र केसी ताप्लेजुङकै हुन्। नेपालको कम्युनिष्ट आन्दोलनका चर्चित पात्रहरू नन्दकुमार प्रसाई, भरत कुमार श्रेष्ठ, सुशीला श्रेष्ठ लगायतका नेताहरु ताप्लेजुङ भूमिका उत्पादन हुन् ।
कम्युनिस्ट पार्टीको स्थापना
२०१८ साल भन्दा पहिले ताप्लेजुङ धनकुटा जिल्ला अन्तर्गत पर्दथ्यो । त्यसैले २०१८ सालभन्दा पहिलेको ताप्लेजुङ जिल्लाको कम्युनिष्ट पार्टीको इतिहास धनकुटा जिल्लासँग नै सम्बन्धित छ। भानुभक्त सिटौला (२०५८) लाई उद्यृत गर्दै लेखक राजेश्वर थापाले लेखेका छन्–२००८ सालमा नेपाल कम्युनिस्ट पार्टीको धनकुटा एरिया कमिटीको गठन भएको र त्यस कमिटीको सचिव यज्ञ प्रशाद अधिकारी थिए। त्यसको दुई वर्षपछि अर्थात् २०१० सालमा धनकुटा जिल्ला कमिटीको गठन भयो । जसको सचिवमा निलम श्रेष्ठ थिए। २०११ सालमा तेहथुमको सावला भन्ने ठाउँमा प्रथम धनकुटा जिल्ला सम्मेलन सम्पन्न भयो । त्यस जिल्ला सम्मेलनबाट निलम श्रेष्ठ नै सचिव भएका थिए। प्रथम धनकुटा जिल्ला सम्मेलनमा ताप्लेजुङबाट पनि प्रतिनिधित्व भएको थियो । तर त्यहाँ को उपस्थित भएका थिए त भन्ने कुरा चाहिँ स्पष्ट छैन । २०१५ सालमा तेह«थुमको साबलामा नै दोस्रो धनकुटा जिल्ला सम्पन्न भएको थियो । यिस सम्मेलनले सचिव निलम श्रेष्ठलाई नै छानेको थियो । २०१६ साल असोजमा नेकपा धनकुटाको प्रशिक्षण कार्यक्रम तेह्रथुमको म्याग्लुङमा सम्पन्न भएको थियो । प्रशिक्षण कार्यक्रममा केन्द्रबाट तुलसीलाल अमात्य उपस्थित भएका थिए । प्रशिक्षण कार्यक्रममा ताप्लेजुङबाट कृष्णकुमार श्रेष्ठ र गंगा दाहालले भाग लिएका थिए।
नेकपा एमाले ताप्लेजुङ जिल्लाको पाँचौं जिल्ला अधिवेशन २०५१ द्वारा पारित राजनीतिक प्रतिवेदनमा भनिएको छ, “२०१७ सालमा बल्लभ मणि दाहाल र विष्णुकुमार तुम्बा हाम्फेको उपस्थितिमा प्रथम पल्ट नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी ताप्लेजुङ गठन गरिएको थियो । त्यसको सचिवमा नामखोल्याङका दिवाकर खतिवडा र सदस्यहरु दिवाकर बराल, प्रजापति काफ्ले, लक्ष्मी अधिकारी, टुङ्ग प्रसाद दाहाल, टीकादत्त भट्टराई, नरध्वज थापा, यमकान्त भट्टराई लगायत १७ जना थिए।” तर नेकपा एमाले ताप्लेजुङको छैठौँ जिल्ला अधिवेशन २०५५ बाट पारित राजनीतिक प्रतिवेदनमा सबै सदस्यहरूको नामावली पाँचौं जिल्ला अधिवेशनले पारित गरेकै यथोचित राखिएको छ तर सचिव दिवाकर खतिवडाको सट्टा रुद्रकुमार शाक्यको अध्यक्षतामा कमिटी गठन गरिएको भनिएको छ। शिव दाहाल (२०६३) ले भने संखुवासभा मादीका बल्लभमणि दाहालबाट २०१६ सालमा गङ्गाप्रसाद दाहाल सचिव रहेको ताप्लेजुङ जिल्ला कमिटी गठन भएको र त्यसमा दिवाकर खतिवडा, यमकान्त भट्टराई, लक्ष्मी अधिकारी ,निर्दोष थापा, यज्ञप्रसाद बराल , रुद्रबहादुर शाक्य, चक्रबहादुर भण्डारी लगायत रहेको लेखेका छन् । लेखक राजेश्वर थापाले अरु कुनै व्यक्तिबाट प्राप्त भएको जानकारी जो उनको टिपोटमा राखेका थिए , यस प्रकार छ, २०१७ सालमा ताप्लेजुङमा गठन भएको भनिएको पार्टीमा दिवाकर बराल आनन्द दाहाल गङ्गा दाहाल मेघनाथ अधिकारी टिकादत्त भट्टराई नरध्वज थापा लक्ष्मी अधिकारी प्रजापति काफ्ले तुङ्गप्रसाद दाहाल रुद्र शाक्य यमकान्त भट्टराई, पोष्टबहादुर कार्की, कृष्णप्रसाद दाहाल, चन्द्रबहादुर खड्का,यज्ञप्रसाद बराल, नन्दराम भट्टराई रहेका छन् । प्रजापति काफ्ले (२०७६) ले भनेका छन्, “मैले २०१७ सालमा संखुवासभा मादी बस्ने बल्लभमणि दाहालसँग सम्पर्क गरी उहाँको संलग्नतामा फुङ्लिङ ७ बस्ने गंगा दाहालको १७ जनाको कमिटी गठन गरी ताप्लेजुङमा कम्युनिष्ट पार्टी सञ्चालन सुरु गरिएको हो ।” लेखक राजेश्वर थापाले ताप्लेजुङका पुराना कम्युनिस्ट नेता नन्दकुमार प्रसाईको भनाइलाई उदृत गर्दै लेखेका छन्,“२०१३ सालअघि हालको ताप्लेजुङ जिल्लामा कम्युनिस्ट पार्टीको संगठन थिएन। अस्तित्व इतिहास नै पाइँदैन। बरु २०१३ सालमा स्थापना भएको फेडेरेसन नै त्यो पहिलो ताप्लेजुङको कम्युनिस्ट संगठनको विजारोपण थियो । जसमा म नन्दकुमार प्रसाई, पर्वतमान, नरप्रसाद हाङपाङ लगायत थियौँ। ” (राजेश्वर थापा,२०८२,ताप्लेजुङमा बाम आन्दोलनको अद्योपान्त) माथि उल्लेखित विवरणहरू हेर्दा ताप्लेजुङमा कहिले कम्युनिस्ट पार्टीको स्थापना भयो र त्यसको संस्थापक सचिव को थिए भन्ने बारेमा निकै विवाद भएको देखिन्छ। एउटा कुरा के स्पष्ट छ भने ताप्लेजुङ जिल्ला २०१८ साल भन्दा पहिले धनकुटा जिल्ला अन्तर्गत नै पर्ने हुँदा त्यहाँको जिल्ला पार्टीको इतिहास धनकुटा जिल्लाअन्तर्गतको इतिहास हो। माथिको विवरणबाट १६–१७ सालमा त्यहाँ कमिटी गठन भएको र कम्युनिष्ट पार्टीको गतिविधि भएको भन्ने कुरा देखिन्छ तर १८ साल भन्दा पहिले ताप्लेजुङ छुट्टै जिल्ला भइ नसकेको हुँदा त्यहाँ कमिटी गठन भएको हुनसक्छ तर त्यो धनकुटा जिल्ला अन्तरगतको कमिटी हुनु पर्छ ।
पूर्वकोशी प्रान्तीय कमिटी अन्तर्गतको ताप्लेजुङ जिल्ला
तत्कालीन नेपाल कम्युनिस्ट पार्टीले पूर्वकोशी प्रान्तीय कमिटी निर्माण गरेको थियो। २०१९ सालमा बनारसमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशन पछि पुष्पलाल र तुलसीलालका बीचमा पार्टीभित्रको अन्तरसघर्ष तीव्र बनेर गयो र २०२२ देखि आआफ्नै संगठनहरू बन्न थाले । तर मनमोहन अधिकारीको सल्लाह सुझावमा पूर्व कोर्डिनेसन कमिटी पुष्पलाल र तुलसीलाल दुवै पक्षतिर नलागिकन २०२५ सालतिर केन्द्रीय समितिबाट अलग भएको घोषणा गर्यो र भरत मोहन अधिकारीको नेतृत्वमा पूर्व कोशी कोर्डिनेसन कमिटी पुनर्गठन गरियो। भरतमोहन अधिकारीले आफ्नो पुस्तक “मेरो जीवन यात्रा केही सम्झनाहरू, २०६४” मा अखिल नेपाल विद्यार्थी फेडरेसनमा काम गरेका र अध्ययन पुरा गरेका विभिन्न विद्यार्थीहरूलाई पार्टीको योजना अन्तर्गत विभिन्न जिल्लामा शिक्षक बनाएर पठाइएको र ती शिक्षकहरुले पूर्वी नेपालमा वामपन्थी आन्दोलन, वामपन्थ विचार फैलाउनमा महत्वपूर्ण योगदान पुराएको उल्लेख गरेका छन् । जसमध्ये नन्द परसाईलाई ताप्लेजुङ पठाइएको बताइएको छ। (हेर्नुस् –अधिकारीद्वारा लिखित पुस्तक पृष्ठ ९५ ) नन्दकुमार प्रसाईले २०२६ सालमा ताप्लेजुङ स्थित भानु पब्लिक हाइस्कुलको प्र. अ. भएर काम गर्नुभएको थियो । प्रसाईले ताप्लेजुङ जिल्लाका युवा, विद्यार्थी, शिक्षकहरुलाई जागरुक बनाएर आन्दोलित गर्ने काम गरेका थिए । नन्दकुमार प्रसाईको पहलमा २०२७ सालतिर पूर्वकोशी प्रान्तीय कमिटी अन्तर्गत ताप्लेजुङ जिल्ला कमिटी गठन भयो , जसमा सचिव अम्बिका सावा, सदस्यहरू नन्दकुमार प्रसाई, ओम कृष्ण सिटौला, कैलाश मादेन, दिवाकर बराल , लक्ष्मी अधिकारी र महेन्द्र भुजेल थिए । त्यतिबेला उनले नेतृत्व गरेको आन्दोलनको बारेमा चिनिया रेडियो नेपाली कार्यक्रममा प्रसारण हुने गरेको थियो । शिक्षक र विद्यार्थीहरूलाई आन्दोलनमा उतारेको भनेर उनलाई २०२८ सालमा गिरफ्तार गरी काठमाडौँ पुर्याइएको थियो ।
मालेधार
२०२८ र २९ सालको झापा विद्रोहलाई पञ्चायती व्यवस्थाले दमन गर्यो । झापामा विद्रोहीहरु करिब ७ जनाको हत्या, सयौ जनाको गिरफ्तारी र ५०० जना भन्दा बढीलाई मुद्दा लगाइए , कैयौँ जेलमा थिए भने केही देश छोडेर ज्यान जोगाउन प्रवासतिर गएका थिए। त्यस स्थितिमा पूर्वी नेपालमा कम्युनिस्ट आन्दोलनमा एउटा निराशाको अवस्था आएको थियो। त्यसको प्रभाव ताप्लेजुङ जिल्लामा पनि परेको थियो । कम्युनिस्ट पार्टीका नेतृत्व तहमा रहेका व्यक्तिहरू पञ्चायत प्रवेश गरिरहेका थिए। अम्बिका सावा जिल्ला पञ्चायत सदस्य बने, दिल्ली घिमिरे साँघु गाउँ पञ्चायतको उपप्रधान पञ्च बने। २०३३ साल वैशाखमा रत्न कुमार वान्तवा सचिव, हरि नेपाल, कुलप्रसाद उप्रेती सदस्य रहेको अखिल नेपाल कम्युनिस्ट कोर्डिनेसन कमिटी अन्तर्गत उत्तरपूर्वी क्षेत्रीय कमिटी गठन गरिएको थियो । त्यस कमिटीले इलाम, पाँचथर, ताप्लेजुङ र संखुवासभाको जिम्मेवारी पाएको थियो । २०३३ साल जेष्ठ १५ गते ठूलो गाउँ मजुवामा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोर्डिनेसन ताप्लेजुङ जिल्ला कमिटी गठन गरिएको थियो। भेलाले सर्वसम्मत रूपमा दिल्लीजंग मादेन सचिव, भरतकुमार श्रेष्ठ र हरि नेपाललाई सदस्य चयन गरेको थियो । त्यस कमिटीले ताप्लेजुङ जिल्लामा गोप्यरूपमा पार्टीका प्रकाशनहरुलाई प्रचारप्रसार गर्ने र संगठन निर्माण गर्ने अभियान चलाएको थियो । २०३५ साल पौष ११ गते मोरङको इटहरामा नेकपा (माले)को गठन भएको थियो । त्यसपछि नेकपा (माले) अन्तर्गत २०३५ साल चैत्र २८ देखि २०३६ साल वैशाख २ गतेसम्म नेकपा (माले)को प्रथम ताप्लेजुङ जिल्ला सम्मेलन भएको थियो। त्यस सम्मेलनबाट हरि नेपाल सचिव, संखुवासभा चैनपुरका बासु शाक्य उपसचिव, सदस्यहरूमा कुलप्रसाद उप्रेती, देउमान कुँवर, सिंह बहादुर इङ्ग वारम,तेह्रथुमका इन्द्र डाँगी संखुवासभाका चन्द्रबहादुर पुरी रहेको ताप्लेजुङ जिल्ला कमिटी गठन भएको थियो। प्रथम जिल्ला सम्मेलनपछि सात दिनसम्म बसेको जिल्ला कमिटीको बैठकमा केन्द्रीय नेता अमृत बोहराको उपस्थिति थियो । त्यस बैठकमा जान हिँडेका नेकपा (माले)का केन्द्रीय सदस्य रत्न कुमार वान्तवा २०३५ साल चैत्र २७ गते प्रहरीले हत्या गरेको थियो । काठमाडौँबाट इलाम हुँदै ताप्लेजुङसँगै फर्किएकी सुशीला श्रेष्ठ भने भागेर बाँच्न सफल भएकी थिइन् । वान्तवाको हत्यापछि इलाम जिल्लाको सचिव र उत्तरपूर्वी क्षेत्रिय कमिटीको समेत सचिवको जिम्मेवारी सम्हाल्न केन्द्रबाट प्रदीप नेपाललाई पठाइएको थियो। जसमा हरिनेपाल र कुलप्रसाद उप्रेती पनि रहेको उत्तरपूर्वी क्षेत्री कमिटी गठन गरिएको थियो ।(राजेश्वर थापा, उही ,पृष्ठ १००–१२०)
नेकपा (माले) ताप्लेजुङ जिल्लाका दुईजना जिल्ला सदस्य महत्वपूर्ण व्यक्तिहरू पार्टीका सिलसिलामा संखुवासभा पुगेको बेला २०३६ साल पौष १३ गतेका दिन हरि नेपाल र चन्द्रबहादुर पुरीलाई प्रहरीहरुले संखुवा सभामै हत्या गरेका थिए।
२०३७ साल पौष २० देखि २३ सम्म नेकपा मालेको दोस्रो जिल्ला सम्मेलन ताप्लेजुङको साब्लाखुमा सम्पन्न भएको थियो। त्यस सम्मेलनले कुलप्रसाद उप्रेती सचिव , सिंह बहादुर इवारम उपसचिव, देवराज घिमिरे र ओम ओझा सदस्य लगायत रहेका थिए । २०४१ साल वैशाखमा नेकपा (माले ) ताप्लेजुङको सीकैंचामा तेस्रो जिल्ला सम्मेलन भएको थियो। जुन सम्मेलनबाट कुलप्रसाद उप्रेती सचिव, ओम ओझा , डमरु बल्लभ अधिकारी, गणेश कामबाङ र सुरेन्द्र कार्की लगायत रहेका थिए ।
चौथो महाधिवेशन धार
चौथो महाधिवेशन धारमा काम गरेका ताप्लेजुङका पुराना नेता नन्दकुमार प्रसाई हुन्। उनी ताप्लेजुङबाटै २०२८ सालमा गिरफ्तार भएका थिए । उनलाई इलाम, झापा हुँदै काठमाडौँ ल्याइएको थियो । जेलबाट रिहाई भएपनि उनलाई काठमाडौँ उपत्यका छोड्न नपाइने प्रशासनको निर्देशन थियो । तर २०३१ सालमा भारतमा भएको नेकपाको चौथो महाधिवेशनमा भाग लिन भूमिगत रुपमा काठमाडौँबाट भागेर उनी बनारस पुगेका थिए ।पछि उनले कृष्णदास श्रेष्ठले नेतृत्व गरेको नेकपा (मालेमा) काम गरेका थिए । पछि उनी नेकपा (मा .के.) मा आबद्ध भए ।
माओवादी जनयुद्ध
माओवादी जनयुद्ध चौथो महाधिवेशन धारबाट विकास भएको एउटा पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले सञ्चालन गरेको थियो । २०५२ सालदेखि २०६२ सम्म जनयुद्धको प्रभाव ताप्लेजुङ जिल्लामा पनि परेको थियो।
नेपाल सरकारको २०७९ फागुन १५ गतेको मन्त्रिपरिषदकोनिर्णयलाई सार्वजनिक गर्ने उद्देश्यले २०७९ साल फागुन २९ गतेको नेपाल राजपत्रमा जनयुद्धमा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली प्रकाशित गरिएको छ। उक्त राज पत्रमा जनयुद्ध शब्द प्रयोग नगरिकन सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिहरूको सूची भनिएको छ। उक्त राजपत्रमा दिइएको सूचीमा ताप्लेजुङका १५० जना शहीदहरूको नामावली सूचीकृत गरिएको छ। यस सूचीबाट पनि स्पष्ट हुन्छ कि माओवादी जनयुद्धका क्रममा ताप्लेजुङबाट पनि ठूलो संख्यामा बलिदान भएको थियो
भोटको राजनीति
२०१५ सालमा ताप्लेजुङ जिल्ला धनकुटा जिल्ला अन्तर्गत पर्दथ्यो । त्यसबेला कम्युनिस्ट पार्टीको तर्फबाट निर्वाचनमा उठ्ने उम्मेदवारको बारेमा विवाद भएको पाइन्छ। २०३७ सालको जनमत संग्रहमा तत्कालीन नेकपा मालेले बहिष्कार गरेको हुँदा ताप्लेजुङ जिल्लामा बहिष्कारको प्रभाव परेको थियो । २०४२ को स्थानीय निर्वाचनलाई नेकपा मालेले उपयोग गरेको हुँदा ताप्लेजुङ जिल्लामा नौ जना प्रधानपञ्च र दुईजना उपप्रधानपञ्चले जनपक्षीय उम्मेदवारको तर्फबाट जितेका थिए। २०४३ सालको राष्ट्रिय पञ्चायतको निर्वाचनमा तत्कालीन नेकपा मालेले जनपक्षीय उम्मेदवारको रुपमा अम्बिका सावालाई खडा गरेको थियो। पराजय भएपनि उनले सम्मानजनक मत प्राप्त गरेका थिए ।
।

