– सीमा नेपाली-
“म्याम तपाइ के थरी ?” म पूर्वको एउटा जिल्लामा जाँदा धेरै पटक सोधिएको प्रश्न यही थियो । यो प्रश्न मलाई धेरै जनाले सोध्नुभयो । जो बच्चादेखि प्रौढ उमेर समुहको हुनुहुन्थ्यो । मैले कुनै बेला आफ्नो थर “नेपाली” हो भनेर स्पष्ट जवाफ दिएँ भने, कुनै बेला मैले मेरो थर नेपाली हो भनेर भनिन । मैले यो ठाउँ अथवा यो गाउँ जाने बाटो बताइदिनुस् न भनेर सोध्दा त्यहाँ पनि थर सोध्नुहुन्थ्यो, त्यहाँ मैले थर भन्नुपर्ने आवश्यक पनि थिएन । त्यहाँ थरको के सम्बन्ध ? पहिला त थरसँग त्यति धेरै चासो किन होला थाहा भएन । पछि थाहा भयो नयाँ मान्छे भेट्यो कि थर सोध्ने । केही दिन पछि त जसले मलाई थर सोध्नुहुन्छ उहाँहरुलाई नै प्रतिप्रश्न गर्न थाले “तपाइहरुले भेट हुने वित्तिकै थर किन सोध्नुहुन्छ, जहाँ जान्छु पहिला थर सोध्नुहुन्छ, थरमा त्यस्तो के कुरा छ” भनेर सोध्दा यतिकै सोधेको भनेर जवाफ दिनुहुन्थ्यो । पछि थरसँगै जात थाहा हुने भएर होला थर सोध्ने भन्ने लाग्यो । त्यस्तो होइन भने थरसँग त्यति धेरै चासो किन लिनुपर्ने हुन्छ र । अनि म सँगै जानु भएको दिदीले पनि आफ्नो थर यो भनेर भन्नुहुन्न जात थाहा हुन्छ भन्नुभयो ।
हामी एउटा अध्ययनको कामको लागि पूर्व गएका थियौँ केही समय त्यही बस्नुपर्ने थियो । यदि जात थाहा भयो भने गाउँमा बस्ने ठाउँ नपाइने हो कि भन्ने लाग्थ्यो । तर जुन घरमा हामी बस्यौँ उहाँहरुले कहिले थर सोध्नु भएन । थर सोधिहाले के भन्ने सही बताउने कि अर्कै बताउने भन्ने कुरामा दोधारमा थियौं । मलाई हामी जात खुल्ने जे थर लेख्छौँ त्यही भन्नुपर्छ भन्ने लाग्थ्यो दिदीले थर अर्कै भन्नुपर्छ भन्नुुहुन्थ्यो । हो जातकै कारण हामीले आफ्नो थर भन्न पनि सहज थिएन । जात थाहा पाए घरमा बस्न नदिने हो कि, केही भन्ने हो कि, फेरि अर्को ठाउँ बस्न जानुपर्ने हो कि, अनि काम गर्न समस्या आउने हो कि भन्ने लाग्थ्यो । एक हप्ता पछि हामी मेरो एकदम मिल्ने बहिनीको (पहिला एउटै पार्टीमा काम गर्ने एकदम नजिकको) घरमा बस्यौ । त्यहाँ हामीलाई केही समस्या हुने कुरा भएन । धेरै दिन त्यही बसेर काम गर्यौं । बहिनी अनि उनको श्रीमान राजनीति बुझेको लामो समय पार्टीमा काम गर्नुभएको थियो । बहिनी जनजाति अनि ब्राहमणसँग बिहे गरेको थर र जातमा चासो थिएन । बहिनीले पनि कसैले थर सोधे आफ्नो थर भन्नुपर्छ केही हँुदैन भन्थिइन् । मलाई आफ्नो जात खुल्ने थर भन्नुपर्छ भन्ने लाग्थ्यो । अहिले पनि आफ्नो जात खुल्ने थर भन्नुपर्छ भन्ने लाग्छ । तर मसँग जानु भएको दिदीले थर अनि जात भन्नुहँुदैन भन्ने यही कुरामा हाम्रो राम्रो बहस हुन्थ्यो । यो भन्दा पहिला मैले थरको बारेमा त्यति चासो दिदैनथे । कही गए थर सोध्ने मान्छे कम हुन्थे, अहिले धेरै जनाले थर सोधेको कारण यसको बारेमा अझ चासो लागेको हो ।
यो थरको विषयमा केही वर्षदेखि दलितहरुले आफ्नो जात नखुल्ने थर लेख्नुपर्छ भनेर थर परिवर्तन गर्दै आएको पनि देखियो । थर परिवर्तन गर्न चाहानेहरुले दलितहरुले दलित आयोगले सिफारिस गरेका थरहरु मध्ये कुनै पनि थर परिवर्तन गर्न पाउने व्यवस्था पनि गरेको छ । सरकारले २०५२ देखि नै दलितहरुले सम्मान जनक थर राख्न पाउने भनेर लेखिएको छ । सर्वोच्च अदालतले २०६३ जेठ १ गते दलितलाई अन्य नागरिक सरह थर राखेर नागरिकता बनाउने व्यस्था गर्न परमादेश पनि दियो । दलित भनेर हेपेपछि थर परिवर्तन गर्नेहरुको संख्या बढ्दै गएको पनि छ । दलितले थर फेर्न पाउनु पर्छ तर थर परिवर्तनले विभेद अन्त्य हुन्छ भन्ने होइन भनेर संसद मै सांसद आशाकुमारी विकले संसद र विषयगत समितिमा पनि बोल्दै आएको सुनिन्थ्यो । त्यसै गरी लेखक मेखराज परियारले आफ्नो लेखमा थर फेर्न पाउनु पर्छ भनेर लेख्नु भएको छ । जात खुलाउने थर प्रयोगमा परिवर्नन जरुरी भएको बताउनु भएको छ । लेखक तथा राजनीतिज्ञ आहुतिले आफ्नो लेखमा थरको बारेमा लेख्नु भएको छ । थर भनेको पारिवारिक परिचय हो । पितृसत्तात्मक परिपाटीका कारण थर यथार्थमा पुरुष वंशजको रुपमा एक पुस्ताबाट अर्को पुस्तामा जाने गरेको छ । त्यसको निरन्तरता हो तर अहिले दलितहरुलाई जात ढाँटे भन्ने आरोप पनि छ । एक ठाउँमा लुकाउन सकिन्छ तर चिनेको ठाउँमा कसरी ढाट्ने यो जातको हो भन्ने थाहा भइहाल्छ । जात खुलाउने थर भन्दा ठूलो अपमान र असजिलो झेल्नुपर्ने हुनाले जात नखुल्ने थर परिवर्तन गरेको हो तर अन्ततः जात त खुलेरै छाड्छ भनेर आफ्नो विचार राख्नु भएको छ । जात थाहा पाएर अपमान हुन नपरोस् भनेर यो जात खुल्ने थरलाई परिवर्तन गरेर अरु थर राखेको पाइन्छ । थर परिवर्तनले जात थाहा नहोस् अनि विभेद नहोस भन्ने हो । तर थर परिवर्तन दीर्घकालीन रुपमा विभेद अन्त्य गर्ने बाटो भने होइन जात थाहा पाएपछि विभेद हुन्छ । मेरो भाइले पनि “नेपाली”बाट “नेपाल” थर लेखेको छ, उसलाई नेपाल के जात हो भनेर नयाँ ठाउँमा कसैले प्रश्न गर्दैनन् । तर गाउँमा थर परिवर्तन गरे पनि जात थाहा छ विभेद गर्छन् । व्यवहारिक रुपमा सजिलो होला तर थर परिवर्तनले मात्र दलित समुदायमाथि हुने विभेद अन्त्य हुँदैन । नयाँ ठाउँमा मात्र विभेद नहोस् भन्ने मात्र होइन आफ्नो ठाउँमा पनि विभेद हुन हुँदैन । कुनै पनि समाजमा वा ठाउँमा विभेद हुनुहँुदैन । हामीले चाहेको समाज कस्तो हो भने हामी जात खुल्ने यो थरको भन्दा पनि सम्मानजनक व्यवहार होस् । हामी यो जातको हँु भन्दा पनि सम्मानजनक व्यवहार होस् भन्ने हो । यसको लागि सोच परिवतन गर्नुपर्छ । सोंच परिवर्तन गरे विभेद अन्त्य हुन्छ भन्ने हो । सोंच कसरी परिवर्तन गर्ने भन्ने कुरा महत्वपूर्ण कुरा हो । सोंच शिक्षाले परिवर्तन गर्छ कि ? आर्थिक विकासले परिवर्तन गर्छ कि ? संस्कारले परिवर्तन गर्छ कि ? कानुनले परिवर्तन गर्छ कि ? यो विषयमा सबैले ध्यान दिन जरुरी देखिन्छ । साेंच परिवर्तन गर्न राज्यले बनाएका कानुनलाई कार्यान्वयनमा विशेष ध्यान दिनुपर्छ । एउटा व्यक्ति, परिवार, समाज, सरकारी निकायहरु, स्थानीय तह, राजनीतिक दल, संघ संस्था, सबै तह तप्काबाट लाग्नुपर्छ । साेंच परिवर्तन गर्न सकियो भने हामीले सार्की, कामी, दमाई लेख्दा पनि फरक पर्दैन र जात खुल्ने थर भन्दा पनि विभेद हुँदैन भने कसैले हामीलाई थर सोध्दा भन्न अप्ठ्यारो मान्नु पर्ने स्थिति हँुदैन ।
नेपालमा बस्ने अरु जातकोले मात्र थर सोध्छन् विभेद गर्छन् भन्ने होइन रहेछ । अमेरिकाको कैलिफोर्नियामा बस्ने शिक्षित मान्छे, आर्थिक रुपमा सम्पन्न मान्छे अझै पनि जातको कुरामा अल्झिएर बसेका छन् सुन्दा अचम्म लाग्यो । विदेशमा पनि विभेद गर्छन् भन्ने कुरा सुनेको थिए यो यथार्थ रहेछ । हामी पूर्वबाट काठमाडौं फर्कदै गर्दा एउटै गाडीमा आउनु भएको एक जना दाइसँग कुरा भयो । गाडी रोकेको बेला बहिनी चिया पिउन आउनु भन्नुभयो, म र दिदी भएर गयाँै, अनि चिया पिउँदै कुरा ग¥याँै । हामीले सोध्याँै, “दाई तपाई कहाँ गएर आउनु भयो” उहाँले भन्नुभयो, “म अमेरिकाको कैलिफोर्नियामा बस्छु अहिले म सिक्किम घुमेर आएँ अनि जग्गा किन्नु थियो, पूर्वी तराई पनि गए त्यहाँ अलि गर्मी लाग्यो तर धरान मन प¥यो, एक ठाउँमा जग्गा पनि हेरे एकदम मन परेको थियो तर किनेन” अनि हामीले किन किन्नु भएन त भन्याँै, एकदम मुख बिगारेर घृणाको भावले भन्नुभयो “छिमेकी दमाइ, कामी रहेछन् त्यस्तो दमाइ, कामी छिमेकी भएको ठाउँमा कसरी जग्गा किन्नु भन्नुभयो”, म केही बोलिन मलाई हाँसो लाग्यो अमेरिका बस्ने मान्छेको सोँच सुनेर के भन्नु के नभन्नु भन्ने लाग्यो धेरै बहस गर्ने समय पनि थिएन । अनि दिदीले भन्नुभयो– “कैलिफोर्नियामा तपाइको नजिक दमाइ, कामी बस्दैनन् ?” त्यो दाइले भन्नुभयो, “छैनन् हामी अपार्टमेन्टमा बस्छाँै । त्यहाँ सबै जनजाति मात्र छौ” उहाँलाई मैले जातको कुरा गरेर मलाई पनि यो प्रश्न सोध्यो भन्ने महशुस भएन । अनि मलाई तपाई चौधरी हो भन्नुभयो, मैले हो भने अनि दिदी हाँस्नुभयो । दिदीलाई सार्की भन्छ कि भन्ने लागेको थियो होला । सकेसम्म जात नभने हुन्थ्यो भन्ने दिदीलाई लाग्थ्यो । त्यसैले मैले जात भनिन तर मलाई जात भन्न गाह्रो अप्ठ्यारो थिएन । दाइले हामीलाई सहानुभूति देखाउँदै, “तपाईहरु ड्राइभरसँगैका सिटमा बस्नु भएछ त्यहाँ बस्नु हुँदैन केही नराम्रो घटना भयो भने अगाडिको सिटमा बसेकोलाई बढी असर गर्छ, अगाडि कहिले बस्नु हँुदैन । आज आउँदा बिरालोले बाटो काटेको थियो राम्रो हुँदैन भन्छन्” भन्नुभयो । मैले भने, “हामी यस्तो अन्धविश्वास कुरामा विश्वास गर्दैनौ केही हँुदैन ।” अनि त्यो दाई बोल्नु भएन ।
दलित समुदायप्रति त्यति नराम्रो सोँच राख्ने मान्छेले त्यस्तो अन्धविवास कुरामा विश्वास गर्ने नै भयो । म दलित हुँ भनेको भए त्यो सहानुभूति हुने थियो कि नाई थाहा भएन । जातको कुरा सुनेपछि मलाई त्यो सहानुभुति दिनुको अर्थ लागेन । दिदीलाई पनि बहस गर्न मन थियो । मलाई पनि आफ्नो जात भनेर बहस गर्न मन थियो तर गाडी हिंड्ने बेला भयो अनि हामी गाडीमा बस्यौं । गाडीभित्र अघिपछिको सिटमा बसेर बहस गर्ने कुरा भएन । अरु यात्रुहरु पनि थिए । मलाई मान्छेको सोंच देखेर अचम्म लाग्यो । कैलिफोर्नियामा बस्ने, शिक्षित, आर्थिक रुपमा सम्पन्न भएर नहुने रहेछ भन्ने लाग्यो । कस्तो पारिवारिक वातावरणमा हुर्केको छ, कस्ता समाजमा बसेको छ । त्यसले पनि सोंचमा फरक पार्दछ सबैको सोंच त्यस्तो हँुदैन तर अझै पनि केही त्यस्तो सोंच राख्ने मान्छेहरु विदेशमा छन् । यहाँ पनि छन् सोंच परिवर्तन गर्नुपर्छ । थर परिवर्तन गर्न पाइन्छ तर त्यो मात्र विभेद कम गर्ने माध्यम होइन सोच परिवर्तन गर्न लाग्नुपर्छ ।