–नरेन्द्र बहादुर थापा
जनताको सम्पत्ति लुट्नेहरूका विरुद्ध अब निर्णायक प्रतिरोधको समय आएको छ। प्रत्येक वर्ष जस्तै यस वर्ष पनि ९ डिसेम्बरका दिन अन्तर्राष्ट्रिय भ्रष्टाचार दिवस मनाइँदै छ । तर प्रश्न यत्रतत्र उत्तिकै छ– के हाम्रो समाज, हाम्रो राज्य, हाम्रो शासन, यथार्थमा भ्रष्टाचारमुक्त हुँदैछ त ? वा भ्रष्टाचार नै शक्ति केन्द्रहरूको प्रमुख अघोषित नीति जस्तै बन्दै गएको छ ?
भ्रष्टाचार कुनै व्यक्तिगत अनैतिकता मात्र होइन । यो व्यवस्थागत रोग हो । सामन्ती, दलाल गठबन्धन, ठेक्का , कमिसन प्रणाली, प्रशासनिक अख्तियारको सञ्जाल, दल – व्यापारी गठजोड र अन्तर्राष्ट्रिय शक्ति केन्द्रसँगको मिलेमतोमाथि नै भ्रष्टाचारको विशाल महल उभिएको छ ।
भ्रष्टाचारले राज्यको मेरुदण्ड भङ्ग गरिदिएको छ, विकासलाई बोझ बनाइदिएको छ र जनताको अधिकार खोसिरहेको छ। जनजीवनमा पर्ने प्रभाव झनै भयावह छ – मूल्यवृद्धि, बेरोजगारी, स्वास्थ्य र शिक्षामा पहुँचको असमानता, दैनिकीको असुरक्षा र राजनीतिक नेतृत्वप्रति गहिरो अविश्वास छ ।
भ्रष्टाचार किन हुन्छ ? र कसले पाल्छ ?भन्ने प्रश्नको उत्तरमा भ्रष्टाचार कुनै आकस्मिक घटना होइन, यो लाभमा आधारित शोषणकारी राज्य संरचनाको अनिवार्य उत्पादन हो। जब राजनीति व्यावसायिकृत हुन्छ, राज्य सत्ता, ठेक्का र कमिसनको मिसिन बनाइन्छ ,जनता होइन विदेशी शक्ति र ठूला पुँजीपति निर्णयकर्ताको कुर्सीमा बस्छन् । त्यसबाट नयाँ नयाँ भ्रष्टाचारहरू जन्मिनु स्वाभाविक हुन्छ ।
दुई चार जनाको भ्रष्टाचार होइन, पुरै तह र स्तरमा नीतिगत , संस्थागत , योजनागत , बजेटगत र प्रशासनिक भ्रष्टाचार मूल समस्या हो। भ्रष्टाचार विरोधी नारालाई पनि कतिपयले सत्ताको व्यापारिक औजार बनाइदिएका छन् । जनताको नजरमा अहिलेको मूख्य प्रश्न के छ भने आज जनताले स्पष्ट रूपमा सोधिरहेका छन् कि भ्रस्टाचारको जरो उखेलेर जनमुखी शासन ल्याउने कि त्यसकै संरक्षण गरेर देशलाई अन्धकारमा धकेल्ने ? यो प्रश्न जवाफविहीन बनाउन केही पनि बाँकी छैन । देशको समृद्धि रोकिएको छ । युवाहरू पलायन छन् । नागरिक सेवाहरु कागजराजमा सीमित छन् , अदालत र अनुसन्धानका निकायहरू दलगत कब्जामा छन्। जनताको कर ,ठेक्का, मनपरीमा विलय हुँदै गएको छ। यही यथार्थले आजको भ्रष्टाचार विरोधी दिवसलाई औपचारिक दिवस होइन, प्रतिरोधको दिन बनाइदिएको छ। भ्रष्टाचारसँगको लडाई –नारा होइन, संस्थागत रूपान्तरण चाहिन्छ ।
भ्रष्टाचारसँगको संरचनाले दुई बाटो देखाउँछ–
१. सतही सुधार
रिपोर्ट बनाउने केही अनुहार कारबाही गर्ने, केही भाषण गर्ने, यिनले कहिल्यै पनि संरचना बदल्दैनन् । आजसम्म यहीँबाट केही परिवर्तन आएन,न पछि नै आउँछ।
२. संरचनागत रूपान्तरण
राज्यको अङ्गहरूको जननियन्त्रण, सार्वजनिक स्रोत र साधनको सामूहिक पारदर्शिता, अर्थतन्त्रको स्वाधीनता, ठेक्का र कमिसन प्रणालीको अन्त्य, जनअभियोजन संयन्त्र र जनताको प्रत्यक्ष सहभागितामा नीति निर्माण( यिनै हुन् यसका मूल उपायहरु ।
भ्रष्टाचार मुक्त समाजका लागि सत्ता परिवर्तन मात्र होइन, बव्यवस्था परिवर्तन अपरिहार्य छ।
अबको बाटो जनताको जागरण र निर्णायक प्रतिरोध ।
अन्तर्राष्ट्रिय भ्रष्टाचार दिवसले हामीलाई स्मरण गराउँछ– भ्रष्टाचार विरुद्धको लडाई केही मानिसको होइन, सम्पूर्ण जनताको साझा ऐतिहासिक दायित्व हो।
– जनताले प्रश्न गर्नुपर्नेछ कि कर त हामी तिर्छौं तर सेवा किन पाउँदैनौंरुू
– युवाले माग गर्नुपर्नेछ कि ूअवसर किन भ्रष्ट दलालहरूको भागबण्डामा सीमित छ ?
– समाजले पहिचान गर्नुपर्नेछकि शोषणकारी केन्द्रको सुरक्षा गर्नेहरू कोको हुन् ?
भ्रष्टाचारको जरो उखेल्ने हो भने जनताले आफूभित्रको डर मेटाउनु पर्दछ, त्यसको पक्षमा उभिनुपर्छ र परिवर्तनकारी विकल्पलाई सुदृढ बनाउनै पर्छ।
निष्कर्ष
भ्रष्टाचार विरुद्धको सङ्घर्ष नयाँ समाज निर्माणको आधार ।
भ्रष्टाचार कुनै एक देशको मात्र समस्या होइन, यो सत्तापुँजी दलाल गठबन्धनद्वारा वैश्विक अन्यायको हिस्सा हो । त्यसैले आजको दिन नौ डिसेम्बरलाई हामी सबैका लागि चेतना, प्रतिरोध र विकल्प निर्माणको दिन हो।
भ्रष्टाचार विरुद्धको सङ्घर्ष भनेको समानता, स्वाधीनता, पारदर्शिता र जनसत्ता स्थापना गर्ने ऐतिहासिक मार्ग हो। जुन दिन जनता उठ्छन् त्यो दिन भ्रष्टाचारको पहाड पनि धर्मराउन बाध्य हुन्छ।
मिति –२०८२ मंसिर २३गते

