मशालद्वारा रासायनिक मल अनुदान कटौतीको विरोध

चैत्र १, बुटवल । सरकारले रासायनिक मल अनुदान कटौतीको विरोधमा नेकपा (मशाल) रुपन्देहीले संघर्ष गर्न किसानहरुसित आह्वान गरेको छ । नेकपा (मशाल) रुपन्देहीका प्रवक्ता बाबुराम आचार्यले आज एक वक्तव्य जारी गरी सो आह्वान गरेका हुन् । वक्रव्यमा आचार्यले सरकारसित सरकारको उक्त निर्णय फिर्ता लिन समेत माग गरेका छन् ।

नेपाल कृषि प्रधान देश हो । तर नेपाली युवाहरु श्रम बजारको खोजीमा विदेश पलायन हुँदा गाउँका जग्गाहरु बाँझिएका छन् । वर्षेनी खर्बौं रुपैयाँको अन्न नेपालले आयात गर्नु परेको छ । नेपाल खाद्यमा परनिर्भर बन्दै गएको अवस्थामा उत्पादन बृद्धिमा जोड दिन सरकारले कृषि अनुदानमा बृद्धि गर्न जरुरी रहेका बेला रासायनिक मलमा अनुदान कटौती गर्नु निन्दनीय कार्य हो । यस सम्बन्धमा मशाल रुपन्देहीका प्रवक्ता बाबुराम आचार्यको वक्तव्यमा भनिएको छ, “रासायनिक मलको अनुदानमा भएको कटौती प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यस वर्षको माघ २० गते चितवनका किसानले तरकारी सडकमै फाले, त्यस लगत्तै झापाका कुखुरा ब्यवसायीले जीउँदो कुखुरा र अण्डा नै सडकमा फालेर साङ्केतिक बिरोध जनाए । उपरोक्त ती दुइ घटना प्रतिनिधिमुलक घटना हुन । देशैभर किसानहरुले उत्पादन, जिबिका र आफ्नो भविस्यका लागि माटोसँग कति कठिन संघर्ष गर्नुपरेको छ ? कल्पना मात्रै गरौं त सरकार ! समयमा बिउ, मल र सिंचाइको अभावका बाबजुद जेनतेन भएको उत्पादन विदेशी उत्पादनको छायाँमा मुर्झाएर हराउँछ ।

किसानका पीडामाथि पीडा थपिएकै छन् । यस्तो जान्दाजान्दै तिनै किसानको अभिभावक यो सरकारले आफ्ना जनताको घाँटी थिचेर मरणासन्न हुने गरि निर्णय लिदै छ । विषादी परिक्षणको प्रस्ताव मन्त्री परिषदबाट फिर्ता गरेर भारतीयहरुलाई खुशीको बहार प्रदान गरेको एक महिना नबित्दै पुनः नेपाली किसानका विरुद्ध उभिएको छ प्रचण्ड सरकार । यो सरकारले आफ्नो आम्दानी र खर्चको सन्तुलन मिलाउने एवं अमेरिकी डलरसँगको अनुपातमा नेपाली रुपियाँको विनिमय दरमा आएको गिरावट देखाउँदै हिजो सोमबार निर्णय गरेर गत वर्षहरुमा मलमा दिँदै आएको अनुदान ७०.८२ प्रतिशतबाट घटाएर ५९ प्रतिशतमा झारेको छ । झन पछि झन लाचार बन्दै छ प्रचण्ड सरकार । किसान निरउपाय छन् भन्दैमा किसानको ढाड सेक्न पाइन्छ ? भारतीय विषादी युक्त तरकारी निर्वाध रुपमा नेपाल भित्रउन दिने निर्णय गरेर सत्ताका लागि नेपाली जनताको स्वास्थ्यसँग सौदाबाजी गरेको महिना दिन नबित्दै यो सरकार किसान र कृषि प्रति यति बिध्न अत्याचारी किन बन्दै छ ?

यो सरकार किसान, मजदुर र आम जनताको सरकार होइन भन्ने कुरा बारम्बार पुष्टि हुँदै आएको छ सोही कुराको निरन्तरता हो यो निर्णय ।

अहिले अन्तर्राष्ट्रिय रुपमा रासायनिक मलको मुल्य घटेको छ । तैपनि यो सरकारले नेपाली किसानका हितहरुका विरुद्धमा जुन निर्णय लिएको छ यो निर्णयबाट फिर्ता हुन हाम्रो पार्टीले सरकारसँग जोडदार माग गर्दछ ।

अतः यो निर्णय देशैभरिका सम्पूर्ण किसान र रुपन्देहीका ६ लाख ७१ हजार ३ सय भन्दा बढी किसानहरुका विरुद्धमा छ । यसप्रकारको सरकारी रबैयाका विरुद्धमा आन्दोलनका लागि हाम्रो पार्टी आम उपभोक्ता र किसानहरुसँग हार्दिक अपिल गर्दछ ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित