सन् १९८० को २३ मा दरखास्त हाली १९८० कै जुन १ तारिखमा गंगा पौडेलले अखिल भारत नेपाली एकता समाजको सदस्यता प्राप्त गरेका थिए । १९७९ नोभेम्बर ७ मा एकता समाजको स्थापना भएको थियो । त्यसको झण्डै एक वर्षपछि गंगा पौडेल त्यो संगठनमा जोडिएको तथ्यलाई हेर्दा उनी एकता समाजको प्रारम्भिक कालदेखि नै संलग्न भएको थाहा हुन्छ । त्यसको पाँच महिनापछि १९८० नोभेम्बर ७ मा मद्रासको चेटपेट नगर समितिको सचिव, १९८२ सेप्टेम्बर ५,६ र ७ मा नयाँ दिल्लीमा सम्पन्न अखिल भारत नेपाली एकता समाजको प्रथम अखिल भारत सम्मेलनमा उनी मद्रासबाट पर्यवेक्षकको रुपमा सहभागी भएका थिए । १९८५ डिसेम्बर १० देखि १४ सम्म दिल्लीमा सम्पन्न भएको अभानेएस दोस्रो अखिल भारत सम्मेलनमा मद्रासबाट प्रतिनिधिको रुपमा सहभागी, १९८९ नोभेम्बर १३ देखि १६ सम्म कानपुरमा सम्पन्न अभानेएसको तेस्रो अखिल भारत सम्मेलनमा केन्द्रीय सदस्य, १९९५ फेबु्रअरी १५ देखि १९ सम्म नयाँ दिल्लीमा सम्पन्न अभानेएसको चौथो अखिल भारत सम्मेलनबाट केन्द्रीय कोषाध्यक्ष, २००२ फेब्रुअरी १० देखि १३ सम्म हैदरावादमा सम्पन्न अभानेएसको पाँचौं अखिल भारत सम्मेलनबाट महासचिवमा निर्वाचित भएका थिए । यद्यपि १९९६ देखि नै पौडेलले महासचिवको जिम्मेवारी सम्हालेका थिए । २००९ सेप्टेम्बर १२ देखि १५ सम्म हरियाणा राज्यको फरिदावादमा सम्पन्न अभानेएसको छैटौं अखिल भारत सम्मेलनबाट केन्द्रीय सल्लाहकार, छैठौं अखिल भारत सम्मेलन हुनुभन्दा पहिले उनी संगठनको जिम्माले नेपाल आएका थिए । भारतका २४ वटा राज्यका कैयौं शहर र ग्रामिण क्षेत्रमा पुगेका थिए । भारतमा काम गर्दाका अनुभवलाई संकलन गरेर उनले “प्रवास डायरी” शीर्षकको पुस्तक लेखेका छन् ।
०६३ मा सम्पन्न मसालको सातौं महाधिवेशनबाट उनी मसालको केन्द्रीय सदस्य बने । लामो समय मसालको केन्द्रीय कार्यालय व्यवस्थापन र संचालनमा पौडेलको महत्वपूर्ण भूमिका रहेको थियो । २०७६ को आठौं महाधिवेशनबाट पनि उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए । अल्पमतमाथि गरिएको विभेद, अन्याय, झुटो आरोप देखेपछि उनले २०७६ सालको केन्द्रीय समितिको बैठकपछि केन्द्रीय समितिबाट राजीनामा दिएर तल्लो कमिटीमा रहने भनेका थिए । तल्लो कमिटीमा बसेर पार्टी नेतृत्वको स्वेच्छाचारिता विरुद्ध संघर्ष गर्दा उनलाई पनि पार्टीबाट निस्काशन गरे तर औपचारिक जानकारी दिएनन् । काशीराम पौडेल र जालपादेवी पौडेलको कोखमा वि.सं. २०१५ माघ ८ गते जन्मिएका गंगा पौडेलको जन्मस्थान साविकको देवीस्थान–२ फलेवास पर्वत हो । हाल नवलपुर गैंडाकोटमा बस्दै आएका पौडेलको सरस्वती पौडेलसित २०४३ मा विवाह भएको थियो । गंगा चार दाजुभाई र दुई दिदी मध्ये कान्छो भाई हुन् । गंगा र सरस्वतीका एक छोरा र एक छोरी छन्–निर्मल र रोशनी । यसपटक हाँक साप्ताहिकले गंगा पौडेलसित गरेको कुराकानी निम्न अनुसार रहेको छ :
० एकता समाजबाट राजनीतिक यात्रा शुरु गर्नु भयो, महासचिवसम्मको जिम्मेवारी पाउनु भयो । भारतमा त्यतिबेलाको संगठन र तपाईको भूमिका कस्तो रह्यो ? अहिले एकता समाजको स्थिति कस्तो छ ?
–सन् १९७६ मा विगतको मद्रास हालको चेन्नै (जुन तामिलनाडु राज्यको राजधानी पर्दछ) मा कामको सिलसिलामा पुगेँ । १९८० मा मैले त्यहाँ अखिल भारत नेपाली एकता समाज सामाजिक संगठन भेटे र म त्यसमा संलग्न भएर काम गर्न सुरु गरे । त्यतिबेला चेन्नैमा नेपालीहरुको बाक्लो उपस्थिति थियो । चेन्नैका औद्योगिक क्षेत्र, होटल, कोठी, सरकारी तथा अर्ध सरकारी कार्यालय, उद्योगहरुमा जताततै प्रायः नेपालीहरूले चौकीदारी गर्ने गर्दथेँ । सुरुका केही वर्षहरुमा म आफै पनि सेक्युरिटी गार्डमा कार्यरत थिएँ । त्यसै सिलसिलामा आफ्नो यक्तिगत कामका साथ साथै सामाजिक संगठनको काम गर्ने अवसर जुर्यो । अखिल भारत नेपाली एकता समाजमा आबद्ध भएर संगठनको विधि विधान, घोषणापत्र र संगठनात्मक पद्धति अनुरूप काम गर्ने इच्छा प्रकट भयो । भारतमा हेपिएका, ठगिएका, लुटिएका, बलात्कृत भएका, दुर्घटनामा परी मृत्यु भएका, प्राकृतिक प्रकोपबाट प्रभावित भएका, बेचिएका, अन्यायमा परेका, असहाय भएका हत्या भएका, नेपालीको पक्षमा संगठनका क्रियाशील सदस्यहरुको सक्रियतामा नेपालीहरुलाई उद्धार गर्ने कामहरु भए । त्यति मात्र होइन नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलनमा पनि उल्लेखीनय योगदान भएका छन् । ती सबै प्रकारका काममा मेरो आफ्नो पनि योगदान र भूमिका रहेको छ भन्ने लाग्दछ । यसै सन्दर्भमा एकता समाजको चार दशकसम्मको सम्पूर्ण गतिविधि यो छोटो अन्तरवार्तामा उल्लेख गर्न त संभव नहोला । किनभने संगठनको माध्यमबाट लाखौं प्रवासी नेपालीका समस्या समाधान गर्ने काम भएका छन् ।
भारतमा एकता समाज गठन गर्नुको मूल उद्देश्य नेपालीहरुमा भएका गलल कृयाकलापलाई सच्चाउन र सैद्धान्तिक, राजनीतिक, व्यवहारिक विषयमा चेतना दिन, आफूहरुमाथि भएका अन्याय, अत्याचार, व्यभिचारका विरुद्ध संगठित रुपमा संघर्ष गर्नका लागि प्रेरणा दिने र नेपालको वामपन्थी आन्दोलन र मुलतः तत्कालिन ने.क.पा. हालको ने.का.पा. (मशाल) को राजनीतिक उद्देश्यलाई पनि प्रत्यक्ष, परोक्ष्य रुपमा सहयोग पु¥याउने नै थियो । नेपालको राजनीतिक इतिहासमा भारतस्थित नेपालीको महत्वपूर्ण योगदान रहँदै आएको छ । राणाकालदेखि नै प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका रहँदै आएका छन् । भारतमा गएका नेपालीले केवल आर्थिक उपार्जन गर्न मात्र होइन, आफ्नो सामाजिक र सांस्कृतिक उत्थान गर्ने तथा राजनीतिक चेतना उठाउने काम पनि गर्ने गरेका छन् । चाहे पंचायती तानाशाही व्यवस्थाका विरुद्ध होस् वा निरंकुश राजतन्त्रका विरुद्धमा भारतस्थित नेपालीहरुको उल्लेखनीय योगदान रहेको छ । पंचायती ब्यवस्था विरुद्धको आन्दोलन बाहेक भारतमा अरु पनि आन्दोलन भएका थिए । जस्तै संविधान सभाको चुनाव र राष्ट्रियताका पक्षमा र संघीयताका विरुद्धको आन्दोलन । त्यसप्रकारका आन्दोलन केवल भारतमा मात्र सीमित रहेको थिएन । भारतबाट अखिल भारत नेपाली एकता समाज (जसको नाम पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज राखियो) का सयौं कार्यकर्ता नेपालमा पनि आएर आन्दोलनमा सहयोग पुर्याएका थिए । त्यसमा स्वयं म पनि उपस्थित हुने गरेको थिएँ । शुरुमा एकता समाजको त्यसप्रकारको आन्दोलनको प्रकृति प्रजातान्त्रिक प्रकारको थियो । तर पछि त्यसले वामपन्थी आन्दोलनका रुपमा विकाश गर्दै गयो ।
रह्यो संगठनको अवस्थाः १९८९ मा बनारसबाट स्थापना भएको संगठनले दु्रतगतिमा विकास गर्दै गयो । शुरुका दिनहरूमा नै संगठनले गति लिदैं गयो । संगठनमा आबद्ध कार्यकर्ताहरु मध्ये दर्जनौ कार्यशील टीमले भारतव्यापी आ–आफ्ना क्षेत्रहरुमा नेतृत्व प्रदान गर्ने काम भए । दिल्ली, पंजाव, कलकत्ता, दक्षिण भारत, उडीसा, उत्तर प्रदेश लगायतका विभिन्न मेघा शहर तथा राज्यहरुमा एकता समाजका गतिविधिहरु व्यापक हुँदै गए । संगठनलाई व्यापकता दिनमा स्थापना कालका संस्थापक सभापति गोविन्द सिंह थापा, विजय शर्मा (सि.पी. गजुरेल) लगायतका नेताहरुको महत्वपूर्ण योगदान रहेको छ ।
थापाजीको नेतृत्व पछि डिलाराम आचार्य, गिरीधारीलाल न्यौपाने, मित्रलाल शर्मा लगायतका हामी दर्जनौं नेताहरु र हजारौं सदस्यहरुको भूमिका छ । एकता समाजका नेता, कार्यकर्ताहरुमा एक प्रकारको उर्जा, जोश, जाँगर र फलामे अनुशासन स्थापित भएको थियो । भारतव्यापी नेपालीहरुलाई भैपरि आउने तमाम प्रकारका समस्याहरूमा सहयोग पु¥याउने, उद्धार गर्ने, न्याय दिलाउनेमा एकता समाज भारतस्थित नेपालीहरुको अभिभावकको रुपमा स्थापित भएको थियो । कहिंकतै नेपालीहरु प्रति घटना, दुर्घटना, गारो, सारो, अप्ठ्यारो जे भए तापनि समाजका नेता, कार्यकर्ता तुरुन्तै घटना स्थल वा सम्बन्धित ठाउँमा पुग्ने गर्दथे ।
सामन्तवादी चिन्तन, रुढीवादले ग्रस्त, शिक्षाको अभाव, र विभिन्न प्रकारका आचरण भएका, रहनसहन, भाषा शैली भएका हिमाल, पहाड र तराईमा जन्मे हुर्केका नेपालीहरुलाई एकताको सूत्रमा बाँध्ने कुरा चानचुने थिएन । एकता समाजमा आबद्ध गर्नका लागि उनीहरुका दुःख, कष्ट, घटना, परी घटनामा निरन्तर सहयोगी बन्न पर्दथ्यो । त्यति मात्र नभएर उनीहरुको चेतनाको स्तर उठाउन, सद्भाव बढाउन र स्वास्थ्य तथा मनोरञ्जनका लागि खेलकुद, सांस्कृतिक कार्यक्रम, सामुहिक रुपमा चाडपर्व मनाउने, देउसी भैलो, तिजी कार्यक्रम, अन्तरक्रियात्मक कार्यक्रम, प्रशिक्षण लगायतका गतिविधिहरु गर्ने गरिन्थ्यो । भारतस्थित नेपालीहरुलाई एकता समाजको विधान घोषणा–पत्र पढाउन, नैतिकता, अनुशासन, राम्रो आचरणका कुरा सिकाउने, आत्मआलोचना र आलोचनाको पद्धतिबाट उनीहरुमा भए गरेका गल्ती कमजोरी र दुव्र्यसनीहरुलाई हटाउन प्रयत्न गर्ने । सभा, सम्मेलन, बैठक, अन्तरक्रियात्मक, मनोरञ्जनात्मक कार्यक्रमहरु गरी एकता समाजप्रति आकर्षण गराउने जस्ता अति महत्वपूर्ण कामहरु हुने गर्दथे । नेपालीहरुलाई सामाजिक गतिविधिमा मात्र नभएर राजनीतिक चेतनाको आधार तयार गर्नका लागि विभिन्न प्रगतिशील पुस्तक पत्रिकाहरु प्रकाशन र वितरणमा जोड दिने गरिन्थ्यो ।
सन् १९७९ देखि २०१० सम्म एकता समाजमा एक प्रकारको गतिशिलता, नेता कार्यकर्ताहरुको सक्रियता, समर्पण तीब्ररुपमा अगाडि बढेको थियो । त्यसपछिका दिनहरुमा एकता समाजका गतिविधिहरुमा कमी आएको छ । बेला–बेलामा समाजमा भएका टुटफुट र नेता कार्यकर्ताहरुमा देखा परेको उपभोक्तावादी चिन्तन, नेपालको राजनीतिक अस्थिरता आफूलाई सच्चा क्रान्तिकारी कम्युनिष्ट बताउने नेताहरूको चरित्र, प्रवृत्ति, व्यवहार र उनीहरुले पार्टीलाई दक्षिणपन्थी दलदलमा घुचेट्दै गएको कारण भारतमा अहिले मूल प्रवाहका सचेत नेता, कार्यकर्ताहरुले विद्रोहको बाटो समाएका छन् । उनीहरु भारतमा चौकीदारी गर्ने, भाँडा माझ्ने, कुल्ली काम गरेर पनि नेपालमा आमूल परीवर्तन चाहन्थे र आमुल परिवर्तनकारी संवाहकलाई सहयोग पु¥याउँदै आएका थिए । ने.क.पा.(मसाल) ले उक्त पार्टीले क्रान्तिकारी विचार र पथ परित्याग गरी ने.क.पा .एमाले र माओवादी केन्द्रको पथ अनुशरण गर्न लाग्यो । त्यसपछि भारतमा क्रान्तिकारी विचार भएका सयांै कार्यकर्ताहरुले मूल प्रवाह एकता समाजबाट विद्रोह गरेर हाल अखिल भारत नेपाली एकता समाजको स्थापना गरेका छन् ।
० भारतबाट नेपाल आएपछि मसालको केन्द्रीय कार्यालयको भूमिकामा रहनु भयो । कस्तो अनुभव प्राप्त गर्नुभयो ?
–सन् १९८० देखि २००६ सम्म भारतमै अल्पकालीन र पूर्णकालीन कार्यकर्ताको रुपमा काम गरें । जतिबेला मलाई पार्टीले देश भित्रै पार्टीको काम गर्नको लागि आह्वान ग¥यो म लगत्तै देशभित्र आएँ । सुरुका दिनहरूमा करिव १ वर्ष जति पार्टीले मलाई तत्कालिन नवलपरासी जिल्लाको इन्चार्जको रुपमा जिम्मा दियो । म जति समय नवलपरासीमा रहे सक्रिय रूपमा पार्टीको काम गरे । त्यसपछि २०६४ सालमा पार्टीले मलाई केन्द्रीय कार्यालयमा कार्यालय सचिव र कोषाध्यक्षको जिम्मा दियो । म केन्द्रीय कार्यालयमा गएपछि स्थापना गरिएको पार्टी प्रशिक्षण केन्द्र (पार्टी स्कूल) व्यवस्थापकको जिम्मा थपियो । यी सबै कामहरु मैले कुशलतापूर्वक सम्पादन गरें भन्ने लाग्छ ।
म केन्द्रीय कार्यालयमा जानु भन्दा अगाडिको कार्यालयको व्यवस्थापन र आर्थिक व्यवस्थापन कस्तो थियो र म गैसके पछिको अवस्था कस्तो रह्यो भन्ने कुरा त्यतिबेलाका सि.सि.एम. साथीहरु पूर्ण जानकार हुनुहुन्छ । मैले यहाँ वर्णन गर्न पर्ने आवश्यकता ठान्दिन । करिव सात वर्ष जति म केन्द्रीय कार्यालयमा काम गरें त्यसपछि मलाई हाँक साप्ताहिक पत्रिका व्यवस्थापनको जिम्मा दिइयो । त्यसको एक वर्षपछि निर्माण कार्य रोकिएको अपुरा काम पूरा गर्नका लागि बुटवलस्थित पार्टी भवन निर्माणको जिम्मा दिइयो । करीब १४ महिनामा भवन निर्माणको काम सम्पन्न भयो । त्यसपछि मलाई बाग्लुङ्ग जिल्ला पार्टीको इन्चार्ज बनाइयो । र म डेढ वर्ष त्यहाँको इन्चार्जको रुपमा काम गरें त्यसपछि पार्टीभित्र दुईलाइनको संघर्ष शुरु भयो । मलाई बाग्लुङबाट हटाएर फेरि हाँक साप्ताहिक पत्रिकाको व्यवस्थापनमा फर्काइयो । तर म जहाँ रहे तापनि कुशलतापूर्वक कार्य सम्पादन गर्ने गरेँ । मैले भारत देखि नेपालसम्म पार्टीको जिम्मेवारी कहिंकतै चुकेको पनि छैन । पार्टीको आठौं महाधिवेसन कालमा मैले अल्पमतपक्षको विचारमा सहमत भएपछि पार्टीको खास भूमिकाहरुबाट भूमिकाविहीन गराइयो । आठौँ महाधिवेसनबाट म केन्द्रीय समितिमा निर्वाचित भएता पनि आठौँ महाधिवेशन पछिको चौथो केन्द्रीय समितिको बैठक पछि मैले केन्द्रीय समितिमा नबस्ने जिल्लाको कुनै तहमा बसेर काम गर्ने भनी केन्द्रीय समितिबाट राजीनामा दिएको थिएँ । तर पार्टीले मलाई जिल्लाको सेलसम्म पनि राख्न चाहेन । पछि त पार्टीबाट निस्काशन ग¥यो भन्ने कुरा अनौपचारिक रूपमा थाहा पाएँ । फरक विचार राखेकै कारण मेरो ४२ वर्षको पार्टी जीवनलाई कमरेड एम. वि. ले समाप्त गरी दिए । म जस्ता अन्य कयौं नेता कार्यकर्ताहरुलाई मतभेद कै कारणले एम.वि.ले पार्टीबाट निष्कासन गरेका दृष्टान्तहरु त अनगिन्ती छन् ।
० तपाई मसालको आठौं महाधिवेशन २०७६ मा पनि निर्वाचित केन्द्रीय सदस्य हुनुहुन्थ्यो । तपाईले केन्द्रीय समितिबाट किन राजीनामा दिनु भयो ?
–मैले राजीनामा दिनको मुख्य कारण भनेको संविधानसभाको निर्वाचन पछि पार्टीले अख्तियार गरेको कार्य दिशा जुन संसदीय चुनावलाई रणनीतिक रूपमा स्थापित गर्दै गयो । जनवादी क्रान्तिको सपनामाथि पार्टी नेतृत्वबाट विश्वासघात गरेको महशुस मलाई भयो । अन्य कुरा नेतृत्वको कार्यशैलीमा गम्भीर प्रकारका समस्याहरू रहे । नेतृत्वमा रहेको हठ, तानाशाही प्रवृत्ति, पार्टीभित्र गुट बनाएर रमाउन चाहने, आत्म प्रशंसा, आत्मरतिका कुरा गरेर क्रान्तिकारी आन्दोलनलाई होल्ड गर्ने, कुटील चालबाजी गर्ने, आफूभन्दा अरु कसैलाई माक्र्सवादी नदेख्ने, जीवनभरी अन्य वामपन्थीहरूलाई तिखो प्रहार गर्ने, आफूले कुनै विकल्प तथा योजना प्रस्तुत गर्न नसक्ने, भिजनरी नभएर सिजनरी कुरा मात्र गर्ने, फरक विचारलाई सम्मान र समायोजन गरेर जान नसक्ने, सिद्धान्त र व्यवहारलाई ठिक उल्टो ढंगबाट प्रयोग गर्ने । चुनावलाई उपयोग गर्ने बेला बहिष्कार गर्ने, बहिष्कार गर्ने बेला उपयोग गर्ने । ठोस स्थितिको ठोस विश्लेषण गर्न नसक्ने, फरक विचार राख्नेलाई शत्रु ठान्ने, आर्थिक पारदर्शिता कायम नगर्ने, कार्यकर्ताहरुको रेखदेख र सही मूल्याङ्कन गर्न नसक्ने, चाकडी चाप्लुसी गर्नेलाई निकट र अन्यलाई टाढाको सम्झने, यस्ता तमाम प्रकारका कार्यशैली नेतृत्वमा मूलतः एमवि सिंहमा पाएँ । यी विभिन्न कारणबाट मैले राजीनामा दिएको हुँ । मैले राजीनामा किन दिए भन्ने बारे तेह्र पृष्ठको पत्र केन्द्रीय कार्यालयमा नै दर्ता गरेको छु । उक्त पत्रमा पार्टीभित्रका कैयौं आन्तरिक सवाल पनि मैले उठाएको छु । ती सबै कुरा मैले यो अन्तर्वार्तामा अहिले नै उल्लेख गर्दिन । समय परिस्थिति अनुकूल हेरेर मैले त्यो पत्र पनि सार्वजनिक गर्ने दिन आउला ।
० तपाईं भारतको संगठन मात्र नभएर तेस्रो मुलुकमा स्थापित अन्तर्राष्ट्रिय नेपाली एकता समाजको इन्चार्ज र अध्यक्ष समेत भएर काम गर्नु भयो तपाई नेपालमा रहेर विदेशको संगठनमा कसरी काम गर्न सम्भव भयो ?
– भारतमा अखिल भारत नेपाली एकता समाजमा जम्मा छब्बिस वर्ष काम गरेको रहेछु । त्यसभित्र देशभित्रका प्रत्येक आन्दोलन र पार्टीका अभियानहरुमा सहभागी तथा कतिपय पार्टीका आन्तरिक अभियानमा त नेतृत्व नै गर्ने गरेको छु । त्यस बारेमा मैले लेखेको “प्रवास डायरी” पुस्तकमा विस्तृत रूपमा उल्लेख गरेको छु । भारत बाहेक विभिन्न मूलुक जस्तैः खाडी, यूरोप, जापान, मलेसिया, हङकङ लगायतका देशहरुमा स्थापित संगठन र अन्तर्राष्ट्रिय नेपाली एकता समाजसँग पनि मेरो सम्पर्क र सम्बन्ध जोडिएको छ । चौथो अन्तर्राष्ट्रिय भेलाले मलाई अन्तर्राष्ट्रिय नेपाली एकता समाजको अध्यक्षको जिम्मा दिएको थियो । आर्थिक अभाव, प्राविधिक र भौगोलिक दुरी टाढा भएका कारण तेस्रो मुलुकहरुमा स्थापित संगठनहरुमा भौतिक रुपमा उपस्थित हुन नसकेता पनि मेरो कार्यकालमा म सबै देशहरुमा रहेका संगठनका नेताहरुसँग मेरो जीवित फोन सम्पर्क, आवश्यक सुझाव, सल्लाह, नीति, निर्देशन गर्ने कामहरु भए । अन्तर्राष्ट्रिय नेपाली एकता समाजको प्रधान कार्यालय काठमाडांैबाट संचालन गरिएको थियो । कार्यालयमा सचिवको व्यवस्था गरिएको थियो । संगठनको आर्थिक कोषलाई पारदर्शी गराइएको थियो । प्रवास अथवा तेश्रो मुलुकमा रहेका नेपालीहरुका विभिन्न प्रकारका समस्या जस्तैः दुर्घटनामा परी मृत्यु हुने परिवारका सदस्यहरुलाई क्षतिपूर्ति दिलाउने काम काठमाण्डौंबाट जे जति गर्न सम्भव थियो ती काम हामी गरेका थियाँै । मेन पावरबाट हुने ठगि, विदेशमा रहेका साथीहरुका परिवार बिरामी परेको अवस्थामा काठमाण्डौंस्थित हस्पिटलहरूमा भेट गर्ने, डाक्टरहरुसँग परामर्श गर्ने जस्ता कामहरुमा सहयोग पु¥याउने कामहरु भएका थिए । बेलाबखतमा नेपालबाट पार्टीका शीर्र्षस्थ नेताहरु पनि विदेश जाने त्यहाँका साथीहरुलाई जम्मा पार्ने र बैठक, भेला, सम्मेलनमा सहभागी हुने कामहरु पनि हुने गरेका छन् । म स्वयं पनि कतार र दुबईमा सम्मेलन र प्रशिक्षणको काममा पुगेको थिएँ ।
० वर्तमान नेपालको राजनीतिक परिस्थितिलाई कसरी बुझ्नु भएको छ ? हालै ने.क.पा.(मशाल), ने.क.पा. (क्रान्तीकारी माओवादी) र ने. क.पा. (बहुमत) बीच पार्टी एकता सम्बन्धी विषयमा छलफल चलेको छ भन्ने सुनिएको छ यसलाई कसरी हेर्नु भएको छ ?
–नेपालको भू–राजनीतिक परिस्थितिका कारण यहाँकोे राजनीतिक अवस्था अत्यन्त तरल र अस्थिर प्रकारको छ । ठूला दलका नेताहरु विदेशी शक्तिका गोटी भएका छन् । यिनीहरु, भारत, चीन र अमेरिकाको कठपुतली हुन् । कहिले विस्तारवादको प्रभाव त कहिले साम्राज्यवादी शक्तिहरुको प्रभावमा देशको राज्यसत्ता संचालित हुँदै आएको छ । भारत, चीन लगायत अमेरिकन जासुसहरु नेपालमा अड्डा जमाएर बसेका छन् । देशको चौथो अंगको रूपमा मानिने ठूला घरानाका मिडिया हाउसहरु पनि विदेशी शक्ति केन्द्रको इसारामा नाँच्ने गर्दछन् । देशमा भ्रष्टाचार र महंगी दिन प्रति दिन बढिरहेको छ । देश दलाल पूँजीपति वर्ग र विचौलीयाहरुको चंगूलमा फसेको छ । देशमा स्थापित उद्योगधन्दा कलकारखाना कौडीको भाउमा विदेशीहरुलाई बिक्री भैसकेका छन् । नेपालको जलश्रोत भारतले कब्जा गरेको छ । नेपाली भूमि अतिक्रमण भएको छ । विदेशी पूँजीको आयात बढेको छ । देशमा रोजगारको व्यवस्था नभएको कारण यहाँको दक्ष जनशक्ति दैनिक २००० को हाराहारीमा विदेशतिर जाने काम निरन्तर चलिरहेको छ । यो देश रेमिटान्सको भरमा विदेशीहरुको अनुदान, सहायता र जनतालाई ढाड सेक्ने गरी लगाएको करबाट कछुवाको गतिमा अगाडि बढेको अवस्था छ । गणतन्त्र आएर मुलुकको अवस्थामा परिवर्तन हुन सकेन केवल नेताहरुको अवस्थामा मात्र परिवर्तन भयो ।
नेपाल कृषि प्रधान देश भनिन्छ कृषकलाई मल, विउ, सिचाईको राम्रो प्रबन्ध हुन सकेको छैन । उद्योगधन्दाको त धेरै परको कुरा भयो । नेताहरु भ्रष्टचारमा चुर्लुमा डुबेका छन् । बिचौलिया र उपल्लो ओहदाका कर्मचारीहरुले देशका नेताहरूलाई फनफनी घुमाइदिन्छन् । नेताहरुलाई राज्य संचालनमा असहयोग गर्दछन् र असफल बनाइदिन्छन् । कर्मचारीतन्त्र मध्येको एउटा खतरनाक तप्काले देशको राज्य व्यवस्थालाई ध्वस्त पार्दै लगेको छ । उपल्लो ओहदाका केही कर्मचारी भ्रष्टाचारमा लिप्त छन् । देशमा आफूलाई अब्बल दर्जाका भनिने उद्योग पति, बैंकिङ्ग सेक्टरका कर्पाेरेटहरुले देशको अर्थतन्त्रलाई नयाँ ढंगबाट शोषण गरिरहेका छन् । देशभित्रको आर्थिकलाई विदेशमा लगेर आफ्नो भविष्य सुरक्षित गरेका छन् । दिन प्रतिदिन यो देशलाई खोक्रो पार्दै लगेका छन् । मुलुकमा आर्थिक सुचकांक गिर्दाे अवस्थामा छ । अब त मुलुकले अर्थतन्त्रलाई धान्न सक्ने अवस्थामा छैन । पटक पटक सरकार परिवर्तन, सत्ताको चलखेल, विदेशीहरुको हस्तक्षेप अब मुलुकले धान्न, सक्तैन । अब नेपाली जनताले बुर्जुवा संसदीय गणतन्त्रको विकल्प नयाँ जनवादी व्यवस्थाको खोजीमा जाने बाहेकको अर्को विकल्प म देख्दिन । नयाँ जनवादी व्यवस्था स्थापनाका लागि मुलुकले गरिब, किसान सुकुम्बासी, मध्यम वर्गका शोषित, उत्पीडित जनता निशस्त्र र आवश्यकता अनुसार शसस्त्र संघर्षको तयारीमा जुट्नै पर्दछ । इतिहासले नेपाल र नेपाली जनतालाई त्यही ठाउँमा उभिन बाध्य बनाउनेछ । दलाल पुँजीवादको अन्त्य गर्न पुरानो संरचना पुरै ध्वस्त नगरी आमूल परिवर्तन हुने छैन । यो युगको चाहना र आवश्यकता हो ।
त्यसैले अब यो देशमा आफूलाई सच्चा क्रान्तिकारी कम्युनिष्ट भन्नेहरू जो संसदवादमा नफसेका गैर संसदवादी कम्युनिष्टहरुले यो देशको राजनीतिक आन्दोलनको नेतृत्व गर्न सक्नु पर्दछ । गैर संसदवादी, कम्युनिष्टहरुले यो देशको राजनीतिक आन्दोलनको नेतृत्व गर्न सक्नु पर्दछ । गैर संसदवादी कम्युनिष्टहरुको ध्रुर्विकरण तथा एकता आजको आवश्यकता हो ।
अहिले ने.क.पा. (मशाल) ने. क.पा. (क्रान्तिकारी माओवादी) र ने.क.पा. (बहुमत) बीच पार्टी एकीकरण सम्बन्धी राजनैतिक, सैद्धान्तिक र सांगठनिक विषयमा छलफल भएको कुरा विभिन्न संचार माध्यममा आएका छन् । यो सकारात्मक छ । सफल होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु । यति मात्र हैन अन्य छरिएर रहेका विभिन्न व्यक्ति वा समूहहरु जो माक्र्सवादी, लेनिनवादीहरु छन् । उनीहरुसँग पनि छलफल, बहस गरी विचार, सिद्धान्त, संगठनात्मक पद्धतिमा मिलन विन्दु खोजेर सहकार्य गर्नु पर्दछ । एकताका आधारहरु खोज्न ढिला गर्नु हुँदैन । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास बारम्बार टुटफुट र कतिपय अवस्थामा एकता पनि हुने गरेको छ । कतिपय कम्युनिष्टहरुको एकता भएर पनि उनीहरू संसदवादमा चुर्लुम्म डुबिसकेको अवस्था छ भने कतिपय कम्युनिष्टहरू संसदीय दलदलबाट बचेको अवस्था पनि छ । संंसदीय व्यवस्थालाई उपयोग गर्ने कुरा कार्यनीतिक प्रश्न हो तर यहाँ त कार्यनीतिक प्रश्नलाई रणनीति बनाइयो । यो नै कम्युनिष्ट आन्दोलनको इतिहासमा बिडम्वना भएको छ ।
यहाँसम्म आइपुग्दा सच्चा क्रान्तिकारी कम्युनिष्ट घटकहरुले धेरै हण्डर, ठक्कर यातना र पीडाहरु भोग्दै आएको अवस्था छ । अब त बेलैमा सुझबुझ पुर्याएर अगाडि बढ्नु पर्ने हो । त्यो कुरा समयले नै बताउने छ ।
० अन्त्यमा हाँक साप्ताहिकलाई केही भन्नु छ की ?
– चालिस वर्ष पुरानो इतिहाँस बोकेको “हाँक साप्ताहिक” पत्रिका को बारेमा भन्नु पर्दा नेपालका अन्य साप्ताहिक पत्रिका मध्ये यसको छुट्टै महत्व र पहिचान छ । पंचायत कालबाट स्थापित यो पत्रिकाले समाजमा भएका अन्याय, अत्याचार, भ्रष्टाचार, कुरीति वेथितिका विरुद्धमा आवाज उठाउँदै आएको कुरा सर्वविदितै छ । शहीद शोभाखर धनन्जय (शरोज शर्मा)ले स्थापित गरेको “हाँक साप्ताहिक” आफ्नो इतिहासको काल खण्डमा विभिन्न आरोह, अवरोह पार गर्दै अहिले चालिस वर्षमा प्रवेश गरेको छ । का. शरोज शर्मा पार्टी संगठनका काममा दिल्लीमा गएको बेला हाँक पत्रिकालाई वितरण गर्ने क्रममा उनलाई त्यहाँका असामाजिक तत्वबाट हत्या गरियो । शरोजको देहान्त पछि यो पत्रिका संचालनको जिम्मा पार्टीले क. गोविन्दसिंह थापालाई दिएर थापा यो पत्रिकाका प्रधान सम्पादक तथा प्रकाशक भए । तीन दशक भन्दा बढी समय थापाको जिम्मामा चलेको पत्रिकालाई मोहनविक्रम सिंहले पत्रिकालाई अब एक व्यक्तिबाट हैन प्रा.लि. बनाउने अथवा ३ जनाको नाममा दर्ता गर्ने भन्ने प्रस्ताव पार्टीमा पेश गरे पछि पार्टीले त्यो प्रस्तावलाई स्वीकार ग¥यो । करिव एक वर्षजति त्यो निर्णय कागजमा मात्रै सीमित रह्यो । त्यस पछि पार्टीको आठौँ महाधिवेशनको सिलसिला सुरु भयो । आठौँ महाधिवेशन कालमा पार्टीमा दुइ लाइनको संघर्ष चल्यो । उक्त संघर्ष अत्यन्त अस्वस्थ र पेचिलो बन्दै गयो । अस्वस्थ प्रतिस्पर्धाका बीचबाट महाधिवेशन सम्पन्न भयो । त्यसपछि हाँक सम्बन्धी पहिला भएको निर्णय अनुसार प्रा.लि. मा दर्ता गर्नको लागि पार्टीले क. गोविन्द सिंहसँग कुरा गरे पछि थापाले हाँकलाई अहिलेसम्म जसरी चलेको छ यसलाई त्यसैगरी चलाउने कुरामा अडान राखे पछि गोविन्द सिंहलाई पार्टीबाट निष्कासन गर्ने काम गरियो । पार्टीभित्र चलेको अन्तरसंघर्षमा गोविन्द सिंह थापाले भिन्न विचारलाई समर्थन गरेका कारण उक्त अन्तरविरोधको असर र प्रभाव हाँक पत्रिकामा पर्न गएको कुरा सत्य हो । गोविन्द सिंहले पार्टीको सम्पत्ति हाँक पत्रिका कब्जा गरे भनेर मोहन विक्रम लगायत बहुमत पक्षबाट विष बमन गरियो । मोहन विक्रमले अलपत्र पारेको पत्रिकालाई केही साथीहरुले प्रकाशन गर्ने जमर्को गर्नु भयो । प्रकाशन गर्ने टिम र पत्रिका वितरक, र पाठकहरूलाई समेत पार्टीबाट निष्काशन गरियो । यसरी समग्रमा – हाँक साप्ताहिक प्रतिकियावादी पुनर्उत्थानवादी शक्तिहरु र उग्रवामपन्थी तथा पार्टी भित्रका दक्षिणपन्थी अवसरवादमा विरुद्ध लगातार आवाज उठाउँदै आएको छ । यो पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।