यही माघ १ गते विहानीको समय थियो, माघे सक्रान्तिको उपलक्ष्यमा सिन्धुपाल्चोक जिल्ला पिस्कर गाउँ अन्तर्गत महादेवस्थानमा मेला गर्न गएका हजारौं जनमानसको भेलामा प्रदर्शित जनपक्षीय लोक सांस्कृतिक कार्यक्रमलाई निहुँ पारी काठमाडौंबाट डि.एस.पि.को नेतृत्वमा गएका र स्थानीय समेत गरी जम्मा १५० जना सशस्त्र प्रहरीहरुले चारैतिर घेरा हाली सयौं गोलीको पर्राहरुले उपस्थित जनसमूहलाई भुट्न पुगे ।
यो सरकारी प्रशासन प्रहरी स्थानीय सामन्त र फटाहा पञ्चेहरुको साँठगाँठ केन्द्रदेखि नै निर्देशित भई ठूलो षडयन्त्रले उक्त गोली काण्ड हुन गएको छ । आजको देशको भलाई, स्वतन्त्रता र अधिकांश जनहितको भावना लिएका सिधासाधा जनतालाई कथित उग्रवादी एवं अराष्ट्रिय तत्वको संज्ञा दिंदै राइफल र बन्दुकको ट्रिगर दबाई यो हत्यारो जनविरोधी फासिष्ट पञ्चे सरकारले त्यस घटना स्थलमा पत्रकारहरुलाई समेत जान नदिई आफ्नो कायरताले भरिपूर्ण भएको नांगो अनुहार देशभरि देखाइरहेको छ ।
आज देश विकरालस्थितिबाट गुज्रँदो छ । यहाँ गाई, गधा, गलैचा, गाँजा चरेस, बोइङ इत्यादी काण्डैकाण्ड गरी देशको सर्वस्व विदेशी बैंकमा थुपारी रातारात लाखौं करोडौंको मालिक बन्नेहरु देशभक्तको नामबाट सम्मानित छन् । तर अन्य दमन र उत्पीडनको विरोध गर्दै न्याय, समानता, प्रगति र शोषण मुक्त समाजका निर्माणको लागि कार्यरत सम्पूर्ण देशप्रेमी नेपाली जनसमूहलाई गोलीले भुटिन्छ । जेलमा सडाइन्छ । यातना शिविरमा पु¥याईन्छ । विदेश लखेटिन्छ । उग्रवादी एवं अराष्ट्रिय तत्वको आरोप लगाइन्छ । एकातिर देशभित्र यस्तो विकट स्थिति जनसमूहबीच छ भने अर्कोतिर विदेशीहरुबीच नेपाल शान्ति क्षेत्रको लागि प्रख्यात छ भन्दै भाषण छाँटिन्छ ।
उक्त पिस्कर हत्याकाण्डमा तिर्थात बुढाबुढी, बालकहरु, गर्र्भीणी आमाहरु एवं हजारौं किसान,मजदुर, युवक, विद्यार्थीहरुको रमाइलो जमघटमा सयौं गोली दागी पन्ध्र जना भन्दा बढी मारिएको, पचासौंजना मरणासन्न, सयौं व्यक्ति घाइते , दुईजना पत्रकारहरु समातिएको,सयौं व्यक्तिहरु समातिएको, सयौं व्यक्तिहरुलाई वारेन्ट जारी गरिएको र सम्पूर्ण क्षेत्रमा कडा कफ्र्यू लगाइएको छ । जनताको सम्पत्तिमाथि जनविरोधी नाइके र भोटे कुकुरहरुको रजाई छ । त्यहाँ स्वेत आतंक व्याप्त छ । गाउँघरमा शून्यताको वातावरण छ ।
२०३५÷३६ सालको भुकम्पबाट मरणासन्न स्थितिमा पुगेको यो खुनी सरकार केही वर्ष बाँच्ने जाल बुन्न लगाई बच्न पुग्यो । सिंहले जंगल छोड्ने बेलामा देखाउने क्रियाकलाप जनसमूहसम्म पु¥याउँदै छ । यस रक्त पिपासु सरकारले यस देशका स्वाभिमानी देशप्रेमी युवकहरु आजाद, फणिन्द्र, शिवप्रसाद, टंक भूसाल, बसन्त भट्टराईको साथै २०३५÷३६ सालको काण्डमा तमाम देशभक्त विद्यार्थीहरु एवं जनताहरुको निर्ममतापू्र्वक हत्या गरेको छ । आज देशमा यस फासिस्ट सरकारद्वारा रचिएका सम्पूर्ण काण्डहरु मध्ये भयानक यो पिसकर हत्याकाण्डको विरोधमा आवाज बुलन्द गर्नु सम्पूर्ण विद्यार्थी, शिक्षक, व्यापारी, पत्रकार, किसान, मजदुर, वकिलहरुको परम कर्तव्य हो ।
अ.ने.रा.स्व.वि.य. कपिलवस्तु जिल्ला समिति
(अ.ने.रा.स्व.वि.यु. कपिलवस्तु जिल्ला समितिको यो वक्तव्य हाँक साप्ताहिक वर्ष १, अंक १६, २०४० फागुन ३ मा प्रकाशित भएको थियो )
अनेरास्ववियु जिल्ला समितिको वक्तव्यः पिस्कर हत्याकाण्ड सरकारको नांगो नाँच
Comments

