चैत्र ३, काठमाडौं । उपराष्ट्रपतिको निर्वाचन आज सम्पन्न भएको छ । निर्वाचन पश्चात् आज मतगणना सुरु भएको छ । मतगणना अहिले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा दुई स्थानमा सुरु भएको हो ।
मतगणनापछि आजै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका छन् ।
नयाँ उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टी नेपालका रामसहायप्रसाद यादव, नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झा उम्मेदवार छन् । जनता समाजवादीको प्रमिला कुमारीले उम्मेदवारी फिर्ता लिएकी थिइन । उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने व्यवस्था छ ।
निर्वाचनमा सङ्घीय संसद्का ३ सय ३२ र प्रदेशसभाका ५ सय ५० सांसद मतदाता छन् । सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ कायम छ ।