सन्दर्भ सभामुख,राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव : मसालको नीति प्रतिक्रियावाद प्रति लम्पसारवाद !

चैत्र- ४, काठमाडौँ । गत मंसिर ४ गते संघीय संसद र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको थियो। निर्वाचित सांसदहरुले प्रतिनिधि सभाको सभामुख, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित गरिसकेका छन् ।

तीन वटै चुनावमा मोहन विक्रम सिंहले नेतृत्व गरेको मसालको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाले उसकै शब्दमा प्रतिक्रियावादीहरुलाई मतदान गरेको छ । तीन वटै चुनावमा प्रतिक्रियावादीको सेवा गरेर मसालले प्रतिक्रियावाद प्रतिको उसको लम्पसारवादी नीतिलाई पुष्टि गरेको छ।

प्रधानमन्त्रीको चुनावमा माओवादी केन्द्रका नेता प्रचण्डले काङ्ग्रेसी गठबन्धन छाडेर एमाले, राप्रपा, रास्वपा, जनमत सहितको सहयोगमा प्रधानमन्त्री बने । नेपाली काङ्ग्रेसले उम्मेदवार समेत उठाउन सकेन । बागलुङमा चुनाव अवधिभरी काङ्ग्रेसीहरुसित नाँच्दै हिँडेका चित्रबहादुर केसी प्रधानमन्त्रीको चुनावमा कांग्रेसी गठबन्धनको प्रधानमन्त्रीलाई भोट हाल्न फुरुङ्फुरुङ फुर्किएका थिए । अचानक प्रचण्डले काङ्ग्रेसी गठबन्धन तोडेर एमालेको सहयोगमा प्रधानमन्त्री बन्ने भए पछि मोहन बिक्रम र चित्रबहादुरको प्रतिक्रियावादीहरु सितको मोह राम्रै सित सडकमा छर्पस्ट भएको थियो। काङ्ग्रेसी गठबन्धनलाई भोट हाल्न नपाए पछि संसदमा चित्र बहादुरको क्रन्दन र बिलाप हेर्न लायक थियो। त्यस पछि सभामुखको चुनाबमा काङ्रेसले उम्मेदवार खडा गर्यो। काँग्रेसलाई भोट हाल्न पाइने भयो भनेर चित्र बहादुरको आङमा थोरै घाम लागे ।उनले भने “छातीमा मुड्की ठोकेर कांग्रेसलाई भोट हालिन्छ ।”

प्रधानमन्त्री चुनाबमा काङ्ग्रेसी गठबन्धनलाई भोट हाल्न नपाएको उनलाई थोरै राहत मिल्यो। केसीको काँग्रेस प्रतिको निर्लिप्तता देखेर स्वयं जनमोर्चाकै कतिपय कार्यकर्ताहरु लाजले भुतुक्कै भए । केसीको त्यो हालतलाई व्यंग्य गर्दै एक जना जनमोर्चा कार्यकर्ताले फेस बुक स्टाटसमा लेखेका थिए, “धेरै जोडले छाति नहानौ, मुटु फुट्ला मुटु।”

राष्ट्रपतिको चुनावमा काङ्ग्रेसी गठबन्धनका काङ्ग्रेस नेता रामचन्द्र पौडेल र उपराष्ट्रपतिको चुनावमा सोही गठबन्धनकै जसपाका नेता राम सहाय यादवलाई जनमोर्चाले मतदान गर्यो। काङ्ग्रेस र मधेसबादी पार्टीलाई मसालले आफ्नो आठौं महाधिवेशनबाट प्रतिक्रियावादी पार्टी भनेको थियो। प्रतिक्रियावादीहरुलाई मतदान गर्न पाएकोमा मोहन बिक्रम र चित्रबहादुर के सी अहिले हर्ष विभोर छन् ।

मसालको आठौं महाधिवेशनबाट पारित राजनीतिक प्रतिवदनमा नेपाली काङ्रेस बारे लेखिएकोछ, ” ने.का . सामन्त र दलाल नोकरशाही पुजीपति वर्गको पार्टी हो । ती वर्गहरु नयाँ जनवादी क्रान्तिका दुश्मन शक्तिहरु हुन् ।” मधेशवादी पार्टीहरुबारे आठौं महाधिवेशनको दस्ताबेजमा लेखिएकोछ, ” मधेसवादीहरुको गठन नेपालमा भारतीय साम्राज्यवादी उद्देश्य पूरा गर्न नै भएकोहो। उनीहरुले सर्बप्रथम तराईलाई नेपालबाट पृथक गराउन चाहन्छन् । त्यसरी उनीहरुको मुख्य उद्देश्य राष्ट्रिय बिखण्डन हो।” त्यसरी मसालले दस्ताबेज एकातिर र व्यवहार अर्कोतिर गरिरहेका छन् ।

प्रतिक्रियावाद प्रतिको लम्पसारवादी नीतिलाई सही सावित गर्न अर्को कुनै पक्षलाई एउटा आरोप लगाउने मोहन बिक्रमको पुरानो तरिका हो। २०६५ सालमा गणतन्त्रको पहिलो राष्ट्रपतिमा काङ्ग्रेसका रामबरण यादबलाई जनमोर्चाले मत दिएको थियो। माओवादीले उठाएको उम्मेदवार रामराजा सिंहलाई भारतको एजेन्ट भनेर रामबरण यादबलाई जनमोर्चाले मतदान गरेको थियो। त्यति बेला पनि काङ्ग्रेसलाई मत दिने बारेमा मसाल भित्रबाट कार्यकर्ताहरुले विरोध गरेकाथिए । तर पछि संविधान बन्ने बेलामा रामबरणले भारतलाई सहयोग पुग्ने भूमिका खेलेको सबैलाई थाहा छ । प्रचण्डको भाषामा यसपालि भारतको लागि “कम्फोर्टेबल” सरकार बनेकोछ । “जता काफल पाक्यो उतै चरी नाच्यो” मसालको नीति कतिसम्म चल्छ पर्खेर हेर्नू पर्ने राजनीतिक समीक्षकहरुको भनाइ छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित