२०२६ फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलले संयुक्त रुपमा आक्रमण गरेका छन् । आक्रमणमा परी इरानका सर्वोच्च नेता आयातोल्ला खामेनी सहित उच्च पदस्थ अधिकारीहरुको मृत्यु हुन पुगेको छ । त्यसको जवाफी कारवाहीमा इरानले अमेरिकी नियोगहरु रहेका खाडी क्षेत्रका स्थानहरुमा कारबाही शुरु गरेको छ । इरानमाथिको हमला अझै केही हप्ता लम्बिन सक्ने अमेरिकाले बताएको छ भने इरानले आत्म रक्षाकोलागि आफुहरुले जुनसुकै कारबाही पनि जारी राख्ने बताएको छ । इरानले जवाफी कारबाहीमा साउदी,कतार,कुवेत युएइ बहराइन ओमान र इराकमा रहेका बेसक्याम्पमा निशाना बनाएको छ । विमानस्थल, आवासीय भवन होटेल बन्दरगाह साथै तेलखानीहरुमा आक्रमण गरेको छ । यो अवस्थामा नेपालीहरुको प्रमुख श्रम गन्तव्यको रुपमा रहेको खाडी क्षेत्रका देशहरु कतार,साउदीअरब ,संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, ओमान सहित मध्यपूर्वका देशहरुमा नेपालीहरु श्रम गर्न गएका छन् । नेपालको अर्थतन्त्रमा यी देशहरुबाट आएको रेमिट्यान्सले ठूलो योगदान पु¥याउँदै आएको छ ।
परराष्ट्र मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार हाल मध्य पूर्वका विभिन्न १२ देशमा गरी १७ लाख २९ हजार २८८ नेपाली नागरिक कार्यरत तथा बसोबास गर्दै आएका छन्। इजरायलमा ६५ सय नेपाली कार्यरत रहेको जनाइएको छ । इजिप्टमा ५ सय, लेवननमा १५सय , इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली रहेको मन्त्रालयको विवरण रहेको छ । इरानमाथिको अमेरिकी इजरेली आक्रमणले क्षेत्रीयद्वन्द्व तथा लामो समयसम्म क्षेत्रीय अस्थिरता बढ्न सक्ने र विश्व नै तेस्रो विश्व युद्ध समेत हुन सक्ने अनुमानहरु आइरहेका छन् ।
वर्षौंदेखि इजरायल– प्यालेस्टाइन द्वन्द्व जारी छ । इरानमाथिको अमेरिकी र इजरायल युद्ध शुरु भएको छ । इजरायलले यमन र लेवनानमाथि पनि आक्रमण जारी राखेको छ । यसले युद्धको जोखिम र क्षेत्रीय अस्थिरतालाई बढाउने देखिन्छ । यो अवस्थामा खाडी तथा मध्यपूर्वका देशमा रहेका नेपालीहरूको सुरक्षालाई लिएर आम नेपालीहरुमा चासोचिन्ता बढेको छ । आफन्तीसँग सम्पर्कमा रहेका नेपालीहरुले डर र त्रासमा बाँच्नु परेको बताएका छन् । संयुक्त अरब इमिरेट्समा इरानले गरेको ड्रोन आक्रमणमा परी गोरखा जिल्ला, भिमसेन थापा गाउँपालिका ७ बोर्लाङस्थित ठाटीका दिवश श्रेष्ठको निधन भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल सरकारको मन्त्री परिषदको बैठकले मध्यपूर्वमा विकसित घटनाक्रम र त्यहाँ कार्यरत नेपाली नागरिकको अवस्थाबारे छलफल गरेको छ ।
इरानमाथि अमेरिकी इजरायली आक्रमण पछि सरकारले सम्बन्धित देशहरुमा रहेका दूतावासहरु मार्फत नेपालीहरुलाई घर भित्रै रहन र सम्बन्धित देशहरुमा सम्बन्धित सरकारहरुले सुरक्षाबारे दिएका निर्देशनहरुलाई अक्षरशः पालना गर्न एक अर्काको र दूतावासको सम्पर्कमा रहन र कुनै खालको समस्या भएमा तुरुन्त दूतावास अथवा तत विषय हेर्ने निकायसँग सम्पर्क गर्न सबै नेपालीहरुलाई अनुरोध गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगले विज्ञप्ति जारी गर्दै आफ्ना नागरिकको सुरक्षा संरक्षण र आवश्यकता अनुसार उद्धार गर्नु राज्यको दायित्व भित्र पर्ने भन्दै सरकारले तथ्याङ्क संकलन गर्ने र जानकारी लिने जोखिममा रहेकाहरुलाई उद्धार गर्नकालागि पहलकदमी लिन आह्वान गरेको छ ।
युद्धको अवस्था हेर्दा यति मै दुवै पक्ष सन्तुष्ट भएको देखिँदैन । वेलायतले इरानमाथि आक्रमण गर्न आफ्नो सैनिक वेसक्याम्पहरु अमेरिकालाई प्रयोग गर्न दिने बताएको छ । युद्ध अझै लम्बिने संकेतहरु देखिइरहेका छन् । युद्धविराम नहुँदासम्म कुन स्केलमा आक्रमण हुने हो भन्ने कोही कसैलाई थाहा हुने कुरा हुँदैन । आफ्ना देशका नागरिकहरु दोहोरो आक्रमणमा मारिने वा घाइते हुने अवस्था आउन नदिन सरकारले विशेष ध्यान पु¥याउन जरुरी छ । नेपालीहरुको अनाहकमा जीउ जानबाट बचाउन सरकारले जुनसुकै विधिहरु अपनाएर भए पनि उद्धार गर्नु पर्दछ । सरकारले यो वा त्यो बहाना बनाएर कुनै पनि वेवास्ता गर्नु हुँदैन ।
खाडी क्षेत्रमा कार्यरत नेपालीहरुको जीवनरक्षाको प्रश्न
Comments

