चेन्नई । अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समितिका सदस्य धनिश्वर शर्मालाई १९ मार्च २०२३ का दिन एक कार्यक्रमको आयोजना गरी सम्मान सहित विदाई गरिएको छ।
विदाई कार्यक्रममा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय महासचिव महेन्द्र बस्यालले उहाँबारे चर्चा गर्दै भन्नु भयाे – “कमरेड धनिश्वर शर्माको जन्म २०२२ सालमा जैमिनी नगरपालिका-८ छिस्ति फुर्केसल्ला, बाग्लुङमा भएको थियो। हाल उहाँ गैडाकोट नगरपालिका वार्ड १३, नवलपुर जिल्लामा बसाइ सराइ गर्नु भएको छ । उहाँले लामो समय भारतमा जागिर गर्नुभयाे । १९८८ मा हैदराबादमा काम गर्ने दौरानमा एकता समाजसित जाेडिनु भएकाे थियाे । एकता समाजका पूर्व महासचिव कमरेड खगेस्वर शर्माले उहाँलाई एकता समाजकाे सदस्यता प्रदान गर्नुभएकाे थियाे । त्यस पछि चेन्नईमा सरूवा भई लगातार एरिया र नगर समितिका महत्वपूर्ण पदमा रहेर संगठन निर्माणमा योगदान दिईरहनु भएकाे छ । अहिले उहाँ यहाँबाट विदाई भएर नेपाल जाँदै हुनुहुन्छ। उहाँले अहिलेसम्म संगठन निर्माणमा दिएको योगदानलाई एकता समाजले उच्च मूल्यांकन गर्दै भविष्यमा अझ कटिबद्ध भएर देश तथा जनताकाे पक्षमा काम गर्नुहुनेछ ।”
कार्यक्रममा आसन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । धनिश्वर शर्मालाई प्रमुख अतिथि महेन्द्र बस्यालले माल्यार्पण र अविर, क्षेत्रीय महिला सदस्यहरू देवी रिजाल र माया थापाले दोसल्ला ओढाईदिनु भएकाे थियाे भने उपस्थित जनसमुदायले अविर लगार सम्मान गर्नु भएको थियो।
विदाई कार्यक्रममा शुभकामना मन्तव्य राख्नेहरूमा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय महासचिव महेन्द्र बस्याल, केन्द्रीय सदस्य हेमराज रिजाल, रन बहादुर थापा, हाँकका पत्रकार राजु अधिकारी, महिला क्षेत्रीय सदस्य माया थापा, महिला विभाग इन्चार्ज देवी रिजाल, नगर सदस्यहरू मैना अधिकारी, प्रेम थापा, भिम बहादुर थापा, दिल कुमार नेपाली, होमनाथ पौडेल र सुर्य पौडेल हुनुहुन्थ्याे ।
चेन्नै पश्चिम नगर समितिले आयोजना गरेको उक्त विदाई कार्यक्रमको अध्यक्षता नगर सदस्य मोहराज शर्मा, स्वागत नगर सदस्य उमानाथ ढकाल, संचालन नगर सह सचिव गंगा थापाले गर्नु भएको थियो भने अन्त्यमा धनिश्वर शर्माले धन्यवाद सहितको मन्तव्य राख्नु भएको थियो ।