काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले प्रधानमन्त्री भएपछि संसद्बाट दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो ।
प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकबाट उहाँले विश्वासको मत लिनुहुने संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतैक्यता हुन नसकेपछि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही व्यवस्थाअनुरुप प्रधानमन्त्रीले यही चैत १२ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्ने हुन्छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल गत पुस १० प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रधानमन्त्री दाहालले पहिलोपटक गत पुस २७ गते सदनबाट ९९ प्रतिशतभन्दा बढी विश्वासको मत प्राप्त गर्नुभएको थियो । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा पछिल्लो समय तयार भएको गठबन्धनले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सहमति भइसकेको छ ।
Comments