तपाईंको क्याम्पसमा स्ववियु निर्वाचन कहिले हुँदैछ ?
– सुदूर पश्चिम विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा चैत्र ८ गते चुनाव हुँदैछ । मैले अध्ययन गर्ने क्यामपस पनि सुदूर पश्चिम विश्वविद्यालय अन्तरगत पर्ने भएकाले ८ गते नै निर्वाचन हुँदैछ।
सुदूर पश्चिम विश्वविद्यालयअन्तर्गत कति क्याम्पसहरू छन् ?
– १६ वटा छन् ।
तपाईं को क्याम्पसका विद्यार्थी मतदाता सङ्ख्या कति हो ?
– १ हजार १ सय ७१ मतदाता सङ्ख्या छ।
तपाईंको क्याम्पसको फेसबुक पेज हेर्दा अहिले स्ववियु निर्वाचनमा ५ वटा प्यानल रहेछन् । एक, नेबिसङ्घ, माओवादी सम्बद्ध क्रान्तिकारी, मसाल सम्बद्ध छैठौँको प्यानल, दुई, स्वतन्त्रको प्यानल, तीन अखिल क्रान्तिकारी संयुक्त प्यानल जसलाई अखिल छैटौँको पनि समर्थन छ र चार, स्वतन्त्र विद्यार्थी समूह र पाँच, एमाले सम्बद्ध अनेरास्ववियुको प्यानल । मुख्य प्रतिस्पर्धा कुन–कुन प्यानलको बिचमा हुने सम्भावना छ ?
– हामी विद्यार्थीहरूको बिचमा राम्रैसित घुलमिल छौँ । विद्यार्थीका जायज एजेन्डा पनि उठाएका छौँ । विद्यार्थीहरूले हाम्रो अखिल (क्रान्तिकारी) संयुक्तको प्यानललाई विजय गराउनेछन् भन्ने लाग्छ ।
सुदूर पश्चिम विश्वविद्यालयअन्तर्गतका ५ वटा क्याम्पसमा स्ववियु स्थगित भएको खबर छ । कतै तपाईंको क्याम्प्समा पनि स्थगित हुँदै त छैन ?
– छैन । चैत्र ८ गते नै चुनाव हुन्छ ।
क्याम्पसमा स्ववियु सभापतिको उम्मेदवार बन्नु भएकोछ । कस्तो महसुस गर्नु भएको छ ?
– खुसी लागेकोछ । स्ववियु निर्वाचनको सन्दर्भ पारेर धेरै विद्यार्थी साथीहरूको बिचमा आफ्नो प्यानलकोतर्फबाट कुरा राख्न पाइएकोछ । लामोसमयदेखि चुनाव हुन नसकिरहेको अवस्थामा चुनाव हुनु पनि खुसीको कुरा हो ।
के–के मुद्दाहरू उठाउनु भएकोछ चुनावमा ?
–केन्द्रीय संयुक्त घोषणा–पत्रमा उल्लेखित हाम्रा राजनीतिक एवम् शैक्षिक एजेन्डाहरूलाई विद्यार्थीहरूका बिचमा लिएर गएका छौँ । विश्वविद्यालयमा राजनीतिक भागबन्डा रोकिनु पर्दछ । क्षमतावानहरूलाई विश्वविद्यालय र क्याम्पसमा स्थान दिइनुपर्दछ । बेलैमा परीक्षाको रिजल्ट दिनुपर्दछ । क्याम्पसमा स्वच्छ शैक्षिक वातावरण हुनुपर्दछ । क्याम्पसमा गुण्डागर्दी बन्द गरिनुपर्दछ । शैक्षिक क्यालेन्डर समय सापेक्ष बनाइनुपर्दछ । छात्रवास, छात्रवृत्तिमा पार्दर्शीता अपनाइनु पर्दछ । विद्यार्थीसित प्रत्यक्ष जोडिएका यी विभिन्न मागहरू र हाम्रा एजेण्डाहरू बोकेर विद्यार्थीहरूका बिचमा गएकाछौँ ।
यहाँको आफ्नो क्याम्पससित सम्बन्धित के–के एजेण्डा उठाउनु भएको छ ?
– यहाँ छात्रवासको व्यवस्था छैन । छात्रबासको व्यवस्था हुनुपर्दछ । पुस्तकालयमा आवश्यक पुस्तकहरूको अभाव छ । आवश्यक पुस्तकको व्यवस्था हुनुपर्दछ । विश्वव्यापी मापदण्ड अनुरूपको स्यालेवसको व्यवस्था हुनुपर्दछ र बेलैमा उपलब्ध गराइनुपर्दछ । हाम्रो क्याम्पसमा वीएलएलवीको फेकल्टी थपिनुपर्दछ । इन्जिनियरिङ र वन विज्ञान पनि थपिनुपर्दछ। क्याम्पसको नजिकै शुक्लाफाँटा राष्ट्रिय निकुन्ज भएकाले वन विज्ञान पढेको विद्यार्थीलाई प्राक्टिकल गर्न सजिलो हुने छ ।
विद्यार्थीहरूको कस्तो प्रतिकृया पाउनु भएकोछ ?
– २०६५ पछि स्ववियु निर्वाचन हुँदैछ । खुसी लागेकोछ। सकारात्मक रेस्पोन्स विद्यार्थीहरूबाट पाएका छौ ।
अन्त्यमा थप केही छ कि ?
– हामीले स्वतन्त्र विद्यार्थी युनियनलाई शैक्षिक विकृति विरुद्ध, राष्ट्रियता रक्षाको पक्षमा सङ्घर्ष गर्ने माध्यम र क्याम्पसका विद्यार्थीहरू सबैको साझा मन्चको रूपमा विकास गर्न चाहन्छौँ । हामीप्रति विश्वास गरेर अखिल (क्रान्तिकारी) संयुक्तको प्यानललाई अत्यधिक मत दिई विजय गराउनु हुन सम्पूर्ण विद्यार्थी साथीहरूसित अनुरोध गर्दछौँ।
अन्तर्वार्ता (हाँक प्रतिनिधि)