–कृष्णप्रसाद भुसाल
२०७९ असोज २९ गते शनिबार, झिसमिसे उज्यालो मै म र चरा अनुसन्धानकर्ता भाईहरु नहकुल भुसाल र प्रकाश भट्टराई गुल्मीको मालिका गाँउपालिकाको अर्खावाङ्गबाट मदाने लेकको उकालो लाग्यौं । नेपालका १० संरक्षित वन मध्येको एक मदाने संरक्षित वन चरा तथा जैविक विविधता र पानीका मुहानको लागि चर्चित छ जहाँ नेपाल पन्छी संरक्षण संघले विगत सात वर्षदेखि संरक्षण, सचेतना अभियान र जिविकोपार्जनमा काम गरिरहेको छ । हाम्रो उद्देश्य भने मदाने सँगै जोडिएको र संरक्षित वन बनाउन प्रस्तावित गरिएको प्यूठान जिल्लाको गौमुखी वन क्षेत्रमा चरा अवलोकन गर्नु थियो । त्यसैले हामी सकेसम्म उकालो छिटै काटने मेसोमा थियौ । तर चराका चिरबिर आवाज, बथान र उडानले हामीलाई अलमलाउँथ्यो । चरा देखेपछि हाम्रा पाइला सुस्ताईहाल्थे । नेपाल पन्छी संरक्षण संघको अध्यन प्रतिवेदनमा मदाने संरक्षित वन क्षेत्रमा २६४ प्रजातिका चरा पाईने उल्लेख थियो तर हाम्रो त्यस अध्ययन भ्रमण पश्चात् छ प्रजातिका नयाँ चरा थपिएर कुल २७० प्रजातिका चरा त्यस क्षेत्रबाट अभिलेख भएका छन् । करिव १९०० मिटरबाट सुरु भएको हाम्रो यात्रा करिव २७०० मिटरको मदाने लेकको चुलीमा पुग्दा मध्यान्ह भैसकेको थियो । संयोगवस त्यसदिन मदानेमा भुसालको भाकल पुजा रहिछ र सौभाग्वस हामी भुसाल र भट्टराई परेछौ । त्यहाँको पुजा प्रसाद भुसाल र भट्टराईले मात्र खान पाउने रहिछ । अग्रजहरुसँगको भेट, अनुभव श्रावण र प्रसाद ग्रहण अविश्मरणीय नै रह्यो । उहाँहरुसँग विदा भएर छिटो छिटो गौमुखी तिरको यात्रामा निस्कियौ ।
प्युठान जिल्लाको सुदूर उत्तरमा अवस्थीत गौमुखी गाँउपालिका र त्यसको पनि उत्तरी भु–भागमामा अवस्थित गौमुखीको बारेमा त्यस क्षेत्रको अग्रज राजनीतिज्ञ तथा बौद्धिक व्यत्तित्व राम बहादुर बुढाबाट धेरै पटक सुनेको थिए । राम बहादुर बुढाले सप्रेम उपहार दिनुभएको उहाँको पुस्तक ‘पर्यटकीय स्थल गौमुखी र आसपासका सांस्कृतिक पक्ष’ पढेपछि र त्यस क्षेत्रमा गिद्धको बासस्थान पनि भएको जानाकारी पाएपछि त्यहाँ पुग्ने हुटहुटी लागिरहेको थियो । यसपालीको दशै र तिहार बीचको बिदालाई सदुपयोग गरियो । चरा र अन्य जैविक विविधता, भौगोलिक बनावट, पानीका मुहान तथा स्थानीय रहनसहन र संस्कृतिमा अनुपम गौमुखी वन क्षेत्रको पूर्वमा गुल्मीको मदाने संरक्षित वन र उत्तरमा बागलुङको निसीखोला गाउँपालिकाको वन क्षेत्र पर्छ । यहाँको जैविक तथा साँस्कृतिक पक्ष अध्ययन, अनुसन्धानको अभावमा ओझेलमा परेको छ ।
मदाने चुलीबाट पश्चिीम तर्फ ढल्कदो सूर्यलाई पछ्याउँदै गौमुखीतिर लाग्यांै । अर्खा गाउँको शिरानमा रहेको जंगलमा दर्जनौं प्रजातिका चराहरु अवलोकन गर्न पाउँदा धन्य भयौँ । एक जोडी विश्वमै दुर्लभ सेतो गिद्ध नजिकै बाटे उडे, मनै फुरुङ्ग भयो । नेपाल पन्छी संरक्षण संघका विज्ञ हिरुलाल डंगौराले मुस्ताङबाट कर्याङ्कुरुङ सारस पास भएको जानाकारी दिदै फोन गर्नुभयो । जाडोयामको सुरुवातसँगै कर्याङ्कुरुङ सारस मंगोलियाबाट बसाईसरी नेपालको बाटो हुदै भारत तर्फ जान्छन । मुस्ताङको कालिगण्डकी खोचबाट नेपाल प्रवेश गर्ने कर्याङ्कुरुङ सारस गुल्मी–प्युठानको आकाश हुँदै दक्षिण पश्चिम जाने हुँदा हिरुलालले हामीलाई खबर गर्नुभएको थियो । बच्चाबेला मालचरी/तालचरी पनि भनिने कर्याङ्कुरुङ सारसका बथान खुबै देखिन्थे तर अचेल ति दृश्य दुर्लभ भएका छन् । जंगलमा भएकोले हामीले कर्याङ्कुरुङ सारसको हुल देख्न सकेनौ तर त्यहाको स्थानीयहरु सँग बुझ्दा करीब ७० को संख्यामा कर्याङ्कुरुङ सारस गौमुखीको दुईबैनी लेक कटी गएको जानाकारी पाईयो ।
सुर्यले नाँगी लेकको नेटो काट्नै लाग्दा गौमुखी गाँउपालीका वार्ड नं. १, अर्खा गाउँमा पुग्यौ । स्लेट ढुङ्गाले छाएका घरहरु दशैको छेलोमा कमेरो र रातोमाटोले पोतिएर चम्किएका छन । बारीमा कोदोका बाला झुलेका छन्, बतासीभरी मकैका झोताहरु भुन्डिएका छन् । त्यसरी बाहिरै मकै राखेको मैले कतै देखेको थिइन सायद त्यस क्षेत्रमा बाँदरको समस्या नभएकोले त्यसरी भण्डारण गरिएको हुनुपर्छ । आँगनमा साना साना नाीनहरु गीत सुनाउँदै आफ्ना भाइबैनीहरुलाई फकाउँदै छन, युवा र प्रौढहरु मेलामै ब्यस्त छन । दुरबिन र क्यामेरा बोकेका नयाँ अनुहार हामीलाई देखेर स्थानीय दिदी बहिनीहरु लजाउँदै तर्किन्छन । हामीहरु गाउँमै बास बस्न ‘सेते साहु’ नामले परीचित निमलाल बुढामगरको घर खोज्दै पुग्यौ । आमाले उसिनेको इसकुस र भटमास टक्रयाउनुभयो । गौमुखी र बाइसमूलको झरना सामुन्नेमा हेर्दै, बास बस्न चिरबिराई रहेका चराका आवाज सुन्दै आगनमा पलेटी कसेर तातो चिया र उसीनेको इसकुस र भटमास खाँदाको आनन्द शब्दमा बयान गर्नै सकिन्न । सदभाव र प्रेमपूर्वक सपरिवार सँगै बसेर घिउले झानेको कोदोको ढिडो र कुखुराको भालेको झोल सम्झँदा अहिले पनि मुखै रसाउँछ । बुढामगरको संस्कार, संस्कृति, रहनसहन सँगै गौमुखीको सामाजिक, आर्थिक र राजनीतिक अवस्था, समस्या तथा चुनौती र विकास तथा पर्यावरण संरक्षणका विषयमा निमलाल बुढामगर सँग मध्यरातसम्म गन्थन मन्थन गर्यौं । हालसम्मको ६८ जिल्लाको भ्रमणमा अर्खाको त्यो बसाई मेरोलागि अविश्मरणीय रह्यो ।
भोलिपल्ट बिहानै पँयुपाटा झरेर गौमुखी तर्फ लाग्यो । चरा हेर्दै जाँदा ढिला भयो, गौमुखी नजिकैको गाँउमा पुगेर केही खान पाइएला कि भनेर एक घरमा सोध्यौं । उहाँहरुले आफ्नो लागि पकाउनु भएको मकैको आटो र दुध खान दिनुभयो । त्यो आत्मीय माया र हार्दिकता बिरलै भटिन्छ अझ भनौ गौमुखीमा मात्र भेटिन्छ । मध्यान्हतिर गौमुखी पुग्याँै । प्युठान र त्यस आसपासका जिल्लाहरुमा तीर्थस्थलको रुपमा परिचित गौमुखी भौगोलिक, जैविक र पर्यटकीय हिसाबले झनै अनुपम रहिछ । माझधारातिरबाट झरेको घुस्टुङ खोला र उत्तर–पश्चिमतिरबाट झरेको दाद्र खोलाको दोभानको छेवमै पूर्वपट्टि गौमुखीको गुफा छ । गुफा आसपासमा दर्जनौ प्राकृतिक झरना छन तिनैमा सुर्यका किरण ठोक्किएर इन्द्रेणी परेको छ । करिव ४५ फिट लम्बाई, १८ फिट चौडाई र २० फिट उचाईको गौमुखी गुफा नै त्यस क्षेत्रको प्रमुख आर्कषण हो । पानीको बहाव बढी भएकोले हामीभित्र पस्न सकेनौ । गौमुखीको पारीपट्टि उत्तर–पश्चिमको तिर्छाङ्गाको भिरमा आहार खाएर गुडँमा फर्कदै गरेका हिमाली गिद्ध र हाडफोर गिद्धलाई हेर्दै घण्टौ बितायौ । त्यस क्षेत्रमा हिमाली गिद्धका ११ वटा गुँड पत्ता लगायौ । हाल लोपोन्मुख बन्दै गएका गिद्धका गुँड भेटिनु अन्तर्राष्ट्रिय महत्वको विषय पनि हो । गौमुखीको पाखातर्पm मरिसेको जंगलमा दर्जनौं प्रजातिका चराहरु देख्दा हामी दङ्ग प¥यौं ।
तीन दिनसम्म गौमुखी वन क्षेत्रमा गरिएको चरा सर्वेक्षणमा ११२ प्रजातिका चरा अवलोकन गर्न सफल भयौ । ती मध्ये ४७ प्रजातिका चराहरु संरक्षण महत्वका प्रजाति छन् । छ प्रजातिका राष्ट्रियरुपमा संकटापन्न चराका प्रजाति त्यस क्षेत्रबाट अभिलेख भएका छन् । विश्वमै दुर्लभ अतिसंकटापन्न सुन गिद्ध र संकटापन्न सेतो गिद्ध त्यस ठाउँमा पाइनु गौरवको कुरा हो । त्यसैगरी संकटको नजिक रहेका हिमाली र हाडफोर गिद्धको बासस्थान हुनुले पनि गौमुखी क्षेत्रको अन्तर्राष्ट्रिय महत्वलाई दर्शाउँछ । नेपाल सरकारले संरक्षित पन्छीको सुचिमा राखेको दुर्लभ चिर कालिज पनि गौमुखी नजिकैको क्षेत्रबाट अभिलेख भएको छ जुन गौमुखीमा खर्यान र भिरमा पाइने सम्भावना छ । कालिकण्ठे राजचिचिल्कोटे र वनचाहार जस्ता अत्यन्तै सिमीत भु–भागमा मात्र पाइने चरा गौमुखीबाट अभिलेख भएका छन् । त्यसैले गौमुखी चरा तथा जैविक विविधताका हिसाबले पनि अन्तर्राष्ट्रिय महत्व बोकेको क्षेत्र हो ।
हामीहरु आफ्नै व्यक्तिगत खर्चमा गएको हुनाले लामो समयसम्म बसेर सबै क्षेत्र समेटी त्यहाँका चरा, अन्य वन्यजन्तु र सांस्कृतिक पक्षहरुको अध्ययन, अनुसन्धान गर्न सकेनौं । विभिन्न मौसम अनुसार अध्ययन गरियो भने अवश्य पनि त्यस क्षेत्रबाट धेरै प्रजातिका चराहरु अभिलेख गर्न सकिन्छ । गौमुखीमा स्वच्छ हावा लिँदै, मनोरम दृश्यावोलकन गर्दै, चराको चिरबिर आवाज सुन्दै उकाली ओराली हिडाई हिड्नको लागि ‘हाइकिङ’ तथा ‘ट्रेकिङ्ग’ प्रचुर सम्भावना छ । प्रकृति मात्र होइन त्यहाँको भुगोल, समाज, संस्कृति र जनजीवन बुझ्न तथा सिक्न पनि यो ठाउँ एक उपयुक्त गन्तब्य बन्न सक्छ । प्राकृतिक, सांस्कृतिक, पुरातात्विक, धार्मिक, ऐतिहासिक सम्पदाका साथै जैविक विविधतामा अनुपम गौमुखी मध्यपहाडी क्षेत्रको वन, वन्यजन्तु, वातावरण र सामाजिक अध्ययनको क्षेत्रमा रुची राख्नेहरुका लागि खुला प्राकृतिक विश्वविद्यालय हो ।
यति हुँदाहुँदै पनि गौमुखी अध्ययन, अनुसन्धानको अभाव, प्रचार प्रसार तथा प्रर्बद्धनको अभावमा ओझेलमा परेको छ । २०७२ सालमा गौमुखी संरक्षित वन बनाउन प्रस्ताव गरिएको भएपनि अहिलेसम्म त्यसले मूर्त रुप लिन सकेको छैन । चराहरु मान्छे देख्यो कि तर्सिन्थे, यसले त्यस क्षेत्रमा चोरी शिकार व्याप्त रहेको संकेत गर्दछ । रातीमा बन्दुक पडकेका आवाजहरु प्नि सुनिन्थे । स्वभाविक रुपमा देशको बदलिदो संरचनामा स्थानीय सरकार स्वायत्त र शक्ति सम्पन्न भएको वर्तमान अवस्थामा प्राकृतिक सम्पदा, जैविक विविधता तथा तिनको समग्र पारिस्थितिकीय प्रणालीको संरक्षण, व्यवस्थापन र दिगो सदुपयोगका अभ्यास, कार्यक्रम, रणनीतिहरु तिनको अपनत्व तथा कार्यावन्यनको जिम्मेवारी स्थानीय तहको क्षेत्राधिकार भित्र आएको छ । यसको मतलव स्थानीय पर्यावरण, जलस्रोत, जंगल, संरक्षण महत्वका वन्यजन्तु, तिनको बासस्थान र समग्र जैविक विविधता संरक्षणको आधारभुत तह स्थानीय सरकार र समुदाय नै हुन । प्राकृतिक स्रोत र साधानको जानाकार र हकदार स्थानीय समुदाय र सरकार भएपनि त्यस सम्बन्धी विषयगत र गहिरो ज्ञानको कमि छ । गौमुखीको हकमा पनि यही अवस्था देखिन्छ । यस अवस्थामा केन्द्र तथा प्रदेशका सरकार, संरक्षण निकाय, विज्ञ, संरक्षण संस्थाहरु र संरक्षणकर्मीहरुसँग समन्वय तथा सहजीकरण गरेर थप अनुसन्धान, संरक्षण तथा प्रबद्र्धनमा लाग्नुपर्छ । देशको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेका कृषि, पर्यटन, जलस्रोत, उद्योग आदि र तिनको आधारस्तम्भ वन क्षेत्रको संरक्षण र सन्तुलित उपयोगमा स्थानीय तह र त्यसको नेतृत्व बेलैमा चनाखो भएर अघि बढनु पर्ने देखिन्छ । अन्यथा गौमुखी सधै ओझेलमा परिरहने छ ।
(लेखक पन्छी संरक्षण नेपालमा गिद्ध संरक्षण कार्यक्रमका पूर्व मेनेजर र अहिले आईयुसिएन, एसएससी बर्डका अधिकारी हुन)