काठमाडाै । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलामा आयोजित यस वर्षको घोडेजात्रा कार्यक्रम सम्पन्न भएको छ । त्यस अवसरमा घोडा दौडका अतिरिक्त विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रम प्रस्तुत गरियो ।
समारोहमा राष्ट्रपति पौडेलले म्युजिकल राइड र शो–जम्प खेलमा प्रथम र द्वितीय हुने प्रतियोगीलाई पुरस्कार प्रदान गर्नुभयो । शो–जम्पतर्फ सहसेनानी राजेश श्रेष्ठ प्रथम तथा सिपाही रामशरण न्यौपाने द्वितीय हुनुभयो भने म्युजिकल राइडतर्फ सहसेनानी रोजिना महत प्रथम र सहसेनानी सफलता श्रेष्ठले द्वितीय पुरस्कार प्राप्त गर्नुभयो । यसअघि राष्ट्रपति पौडेलले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नुभयो भने नेपाली सेनाको टुकडीले उहाँलाई राष्ट्रपति सलामी प्रदान गरेको थियो ।
समारोहमा ब्यानर प्रदर्शनी गर्नुका साथै अश्वकलाअन्तर्गत टाँगन र चार्जर घोडा दौड, शो जम्प, क्याभलरी ड्रिल राइड र डग शो, घोडचढी आर्चरी, महिला सवार सिक्सवार, म्युजिकल राइड, हङ्गेरियन पोष्टवारलगायतका विविध रोमाञ्चक कला प्रदर्शन गरिएको थियो ।
टुँडिखेलमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र मन्त्रिगणलगायत विशिष्ट महानुभाव उपस्थित हुनुहुन्थ्यो । संवैधानिक निकायका प्रमुख, सरकारका उच्च पदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि पनि घोडेजात्रा हेर्न टुँडिखेल पुग्नुभएको थियो ।
समारोहमा सहभागी विशिष्ट पाहुनाहरूलाई प्रधानसेनापति प्रभुराम शर्माले स्वागत गर्नुभएको थियो । घोडेजात्रामा प्रयोग हुने ६६ वटा घोडामध्ये बग्गीका १०, दौडसहित अश्वकलाका लागि ४६ र दौड विशेषका लागि १० पोनी घोडा रहेको निर्देशनालयले जनाएको छ ।
Comments