आहुति •• नेपालको वाम आन्दोलनमा लामो समयदेखि क्रियाशील व्यक्तित्व रामबहादुर बुढाद्वारा लिखित “अन्तर्जातीय विवाह” एउटा जीवन्त र जरुरी पुस्तकका रूपमा देखा परेको छ । नेपालमा समाजशास्त्रका विभिन्न आयामसँग सम्बन्धित पुस्तकहरू आइरहेका छन् । तिनमा आकाश–पाताल एक पारेझैं विद्वताका घनघोर पोथाहरू पनि थुपारिएका हुन्छन् तर नेपाली समाज रूपान्तरणको सरोकारको द्वैनन्दिन अन्तरक्रियाका लागि भने तीमध्ये थोरैले मात्र सघाउने गरेका छन् । लेखक बुढाद्वारा तयार पारिएको यो पुस्तक भने आजको नेपाली समाजलाई नभइ नहुने सामग्रीको रूपमा मज्जाले प्रकट भएको छ । यो पुस्तक बढीभन्दा बढी नयाँ पुस्ताका युवाहरूलाई पढाउनु आवश्यक छ किनभने उनीहरूलाई नेपाली समाजको वास्तविक जात व्यवस्थामा आधारित कुरूप चरित्रबाट गुमराहमा राख्ने काम नेपालको राज्य र विश्वविद्यालयहरूले गरेका छन् । यो पुस्तकले नयाँ पुस्ताका युवालाई नेपाली समाजको वास्तविक रूपबारे अन्तर्जातीय विवाहको विषयलाई केन्द्रमा राखेर नाङ्गो यथार्थ बताउनेछ । राज्य र शिक्षा क्षेत्रले दमपच पारेर लुकाउन खोजेको विषयलाई भन्डाफोर गर्ने छ । आजको नेपाली समाजलाई यस्तै जीवन्त पुस्तकहरूको आवश्यकता छ । अन्तर्जातीय विवाह नेपाली समाजमा एउटा सामाजिक युद्ध सरह हो । युद्धमा विद्रोही हुनसम्म त थुप्रैले साहस गरेका छन् तर युद्धमा हार नस्विकार्ने बरू अन्तिमसम्म निरन्तर लडिरहने क्रान्तिकारी बन्ने सफलता अत्यन्तै थोरैले हासिल गरेका छन् । लेखक रामबहादुर बुढा पनि त्यस्तै एक योद्धा हुन् । उनी विद्रोही मात्र होइनन्, अन्तर्जातीय विवाहलाई आफ्नै जीवनमा समेत सफल परिणतिमा पु¥याउन व्यावहारिक रूपमै निष्ठापूर्वक क्रियाशील क्रान्तिकारी जोडीका एक सदस्य हुन् । सम्भवतः अन्तर्जातीय विवाहलाई सफल बनाउन अघि बढ्दा आइपरेका सहस्र कोपबाट घाइते हुँदा बगेको रगत र आँसुले समेत लेखिएको हुनाले पनि यो एक जीवन्त पुस्तक बन्न पुगेको हो ।
पुस्तकमा मानव समाजमा विवाह संस्था उत्पत्तिको ऐतिहासिक कारण, विभिन्न समाजमा विवाहका विभिन्न रूपहरू, धर्मशास्त्रहरूमा वर्णित विवाहका यावत् प्रसङ्गहरूसहित अन्तर्जातीय विवाहसम्म मानव समाजको यात्रालाई सिलसिलेवार ढङ्गले प्रस्तुत गरिएको छ । तिनलाई आधिकारिक बनाउन आवश्यक सन्दर्भ सामग्री र उद्धरणहरूलाई समावेश गरिएको छ । विवाह संस्थाको उत्पत्तिदेखि आजसम्म चित्रणमा पूर्वाग्रह वा अनुमान थोपर्ने काम गरिएको छैन । यो पुस्तकको एउटा सुन्दर पक्ष हो, त्यसैगरी वर्तमानमा घटेका अन्तर्जातीय विवाहका घटनाहरू, तिनमा भएका समस्या र व्यक्त समाजको प्रतिगामी, यथास्थितिवादी र प्रगतिशील चेतनाहरूको दिशा चित्रणबाट जात व्यवस्था भएको हाम्रो समाजमा अन्तर्जातीय विवाह कति आवश्यक तर कति डरलाग्दो विषय हो भन्ने यथार्थलाई उद्घाटन गर्ने कोसिस गरिएको छ ।
पुस्तकको यो अर्को सुन्दर पक्ष हो । परम्परागत नेपाली कम्युनिस्ट र वाम लेखनमा पटक्कै रुचि नराखिएको विषयमा कलम चलाएर लेखकले आफूलाई बासी वामपन्थी हुनबाट एक कदममाथि उठाएको भान हुन्छ, अनि अबको सिर्जनात्मक वामपन्थ यस्तो हुनुपर्छ भनेर साबित गर्न तम्सिएझैं अनुभूति हुन्छ । मलाई लाग्छ–समकालीन नेपालको समाजशास्त्रमा यो छुटाउन नमिल्ने एउटा पुस्तक बन्न पुगेको छ ।
नेपालमा फरकफरक जातिबिच अन्तर्जातीय विवाह हुँदै आएको छ तर त्यसबाट ठुलो सामाजिक उत्पीडन उत्पन्न हुने गरेको छैन । जस्तै, मगर र गुरुङबिच विवाह हुनु पुग्यो भने यसले कुनै ठुलो भेदभाव उत्पन्न गरेको छैन । अन्तर्जातीय विवाह दुई अवस्थामा समस्या बन्ने गरेको छ । हिन्दु फरकफरक जातबिच विवाह भएमा वा हिन्दु जात र जात नै नभएका जातिबिच विवाह भएमा । कथित हिन्दु उच्च जातहरू उपाध्याय ब्राÞमण र जैसीबिच, जैसी र झर्रो क्षेत्रीबिच, झर्रो क्षेत्री र क्षेत्रीबिच, क्षेत्री र घर्ती क्षेत्रीबिच अन्तर्जातीय विवाह भएमा समस्या छ । कथित हिन्दु उच्च जात र जनजाति वा मुस्लिमबिच विवाह भयो भने समस्या छ । सबैभन्दा डरलाग्दो समस्या चांहि कथित हिन्दु उच्च जात र दलितबिच अनि जनजाति र दलितबिच अन्तर्जातीय विवाह हुँदा रहँदै आएको छ । लामो समयदेखि जनजाति आन्दोलनले जात व्यवस्थालाई हिन्दुहरूको समस्याका रूपमा मात्रै बुझ्दै आयो । यो कुरा सही हो कि जात व्यवस्थाको उत्पत्ति हिन्दु समाजमा भयो तर हिन्दु शासन जनजातिमाथि समेत लाद्ने क्रममा जात व्यवस्थाको मूल्य मान्यता र संस्कृतिद्वारा जनजाति पनि प्रशिक्षित हुन पुग्यो । जनजातिभित्रै जात व्यवस्था बन्न नभ्याए पनि जात व्यवस्था भएको समुदायसँग रक्तसम्बन्ध हुँदा जात व्यवस्थाकै संस्कृति दृढतापूर्वक लागू गर्ने स्तरमा जनजाति चेतना विकृत हुनपुग्यो, संस्कार बद्ध भयो । त्यति मात्रै होइन, कथित हिन्दु उच्च जातलाईमाथि देख्ने र दलितलाई तल ठानेर दमन गर्ने स्तरमा जात व्यवस्थालाई जनजाति समाजले अभ्यास गर्दै आयो । त्यसैको परिणाम त हो – मगर महिला वा पुरुषले दलितसँग बिहे गर्दा त्यस व्यक्तिलाई दलित नै बनाई दिने प्रचलन । त्यसैले नेपालमा जात व्यवस्था केवल हिन्दु समाजको मात्र विषय रहेको छैन बरु जनजाति समाजको समेत विषय प्रस्ट रूपमा बनिसकेको छ ।
दक्षिण एसियामा जात व्यवस्था आफ्नो सुरुआती समयमा वर्गीय समाजकै विशिष्ट रूप थियो र अहिलेसम्म पनि यो राजनीति, अर्थतन्त्र र संस्कृतिको मेरुदण्डका रूपमा कायम छ । आज पनि वर्गहरूको निर्माण र चलायमान प्रक्रियामा जात व्यवस्थाले नै निर्णायक भूमिका खेलिरहेको छ । जात व्यवस्था नभएको समाजका वर्गहरू मूलतः आर्थिक स्वार्थ र रुचिहरूद्वारा क्रियाशील हुन्छन् तर दक्षिण एसियामा वर्गहरू सांस्कृतिक विशेषाधिकार वा बहिस्करणसहित आर्थिक स्वार्थ र रुचिहरूमा क्रियाशील हुन्छन् । अन्यत्रको वर्ग र दक्षिण एसियाको हिन्दु समाज र हिन्दु शासकद्वारा शासित समाजको वर्गको चरित्रबिच यही भिन्नता छ । अन्यत्रको वर्गीय संरचनालाई सिधा बुझ्न सकिन्छ तर जात व्यवस्था भएको समाजको वर्गीय संरचनालाई बुझ्न संस्कृतिको लेपनलाई समेत उधारेर हेर्नुपर्ने हुन्छ । जात व्यवस्था भएको समाजमा कोही पनि मान्छे अर्को मान्छेसँग समान हुन्नन् । फरकफरक जात त झन् कदापि समान हुन्न । एउटै वर्गका मानिसहरू पनि सांस्कृतिक रूपमा समान हुन्नन् । कतै कथित उच्च जातको गरीब कथित तल्लो जातको धनीभन्दा बढी शक्तिशाली रूपमा प्रकट हुन्छ, कतै आफू जस्तै गरिबलाई फरक जात भएका कारण निरन्तर दबाउन लागिपरेका हुन्छन् । कोही पनि आफूलाई दबाउने माथितिर फर्किरहेका हुन्नन् बरु आफूले कस्लाई दबाउने होला भनी तलतिर फर्केर खोजिरहेका हुन्छन् । यस्तो परिदृश्यले जात व्यवस्था भएको समाजमा आर्थिक विषयले वर्ग बनाउँछ कि सांस्कृतिक विशेषले भन्ने निकै ठुलो विभ्रम खडा गरिदिन्छ । यही भ्रमलाई चिर्न नसकेर दक्षिण एसियाका कम्युनिस्टहरू धेरै क्षेत्रमा असफल हुन पुगेका छन् । उनीहरू या त जात व्यवस्थातिर गम्भीरतापूर्वक प्रवेश नगरेर असफल भएका छन् या त वर्गीय समस्या समाधान भएपछि सुदूर भविष्यमा जातको समस्या स्वतः समाधान हुने जडसूत्रवादी निष्कर्ष बाँडेर असफल भएका छन् ।
मार्क्सवाद सुदूर भविष्यमा मात्र लागू हुने दर्शन र सिद्धान्त थिएन, त्यो त आजैदेखिको पथप्रदर्शक थियो । माक्र्सवादको सिद्धान्त जात व्यवस्था नभएको समाजमा जन्मिएको थियो, त्यसैले माक्र्सवादी दर्शन र सिद्धान्तको आलोकमा जात व्यवस्थासँग लड्ने राजनीतिक सिद्धान्त दक्षिण एसियाका कम्युनिस्टले प्रतिपादन गर्नुपर्ने थियो । जात व्यवस्था भएको समाजमा माक्र्सवादलाई विकास गरेर मात्र लागु गर्न सकिन्छ भन्ने कुरालाई आत्मसात् गर्नुपर्ने थियो जुन कुरा हिजो हुन सकेन । यस विषयको गम्भीरतातिर लेखक रामबहादुर बुढाले चिन्तन गर्न भ्याएको भेटिंदैन तर त्यसतिर अब ध्यान दिनैपर्छ । जात व्यवस्था भएको समाजको वर्ग विश्लेषण र वर्गसङ्घर्ष सञ्चालनका निम्ति माक्र्सवादको विकास नै गर्नुपर्दछ, प्रचलित माक्र्सवादको प्रयोगबाट मात्र काम चल्दैन भन्ने कुरा अब स्वीकार गर्नैपर्छ । यो नै यस विषयमा सर्वाधिक महत्वको हाम्रो सरोकार हुनु जरुरी छ ।
अन्त्यमा, आजको समयमा सम्पादन एउटा शास्त्र नै बनिसकेको छ तर नेपालको वामपन्थी लेखनले त्यस शास्त्रलाई आत्मसात गरिसकेको छैन । यो पुस्तक एउटा योग्य सम्पादकको हात हुँदै गुज्रनु जरुरी थियो, कमसेकम दोस्रो संस्करणमा लेखकको यसतिर पनि ध्यान जानेछ भन्ने आशा व्यक्त गर्नु म आफ्नो कर्तव्य ठान्दछु ।