चैत्र ९, काठमाडौं । सामाजिक सुरक्षाकोषमा सहभागी हुनेको संख्या दिनदिनै बढिरहेको छ । कोषमा हालसम्म चार लाख भन्दा बढीको सहभागिता भएको, झण्डै १८ हजार रोजगारताहरु सामाजिक सुरक्षाकोषमा सहभागी भएको, सामाजिक सुरक्षाकोषले २०७९/१२/८ मा प्रकाशन गरेको दैनिक रिपोर्टले बताएको छ । हाल सामाजिक सुरक्षाकोषमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा, अवस्था सुरक्षा योजना, साधारण अवकास कोष, विशेष सुविधा बचत, अवकासकोष, अतिरिक्त अवकासकोष, अवकास प्रतिफलकोष, निवृत्तिभरण कोष जस्ता योजनाहरु समावेश छन् ।
चैत्र ८ गते मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनौपचारिक क्षेत्रका कामदारलाई सामाजिक सुरक्षा कोषमा समेट्ने योजनाको शुरु गरेका थिए ।
हाल अनौपचारिक क्षेत्र, असंगठित क्षेत्रमा लाखौं मजदुरहरु छन् । उनीहरुले निकै दयनीय अवस्थामा काम गरिरहनु परेको छ । काम नपाउने, काम पाए पनि सम्मानजनक न्यूनतम तलब नपाउने, रोजगारविहीन बस्नु पर्ने जस्ता समस्याहरु मजदुरले झेलिरहेका छन् । मजदुरहरुलाई, मालिकहरुले बिना सम्झौता राख्ने, सम्झौतालाई कार्यान्वयन नगर्ने वा मन लाग्दा राख्ने, मनलाग्दा निस्काशन गर्ने गरिन्छ । यसबाट मजदुरको अवस्था कस्तो छ भन्ने जनाउँछ ।
यस अवस्थामा अनौपचारिक क्षेत्रका कामदारलाई पनि सामाजिक सुरक्षामा समेटिंदा मजदुरहरुले केही राहत पाउने छन् । सामाजिक सुरक्षामा सहभागी बनेमा अप्ठ्यारोमा सजिलो हुनेछ ।