काठमाडौं । गत चैत्र २ गने महोत्तरीको बर्दिबासबाट पैदल मार्च सुरु गरेका मिटरब्याज पीडितहरु बाह्रौं दिनमा चैत्र १३ गते बेलुकी ५ बजे काठमाडौको खुला मन्च आइपुगेका थिए् । तीन किसान सङ्गठनहरुले मिटरब्याज पीडितहरुको मार्चलाई खुलामन्चको पश्चिम गेटमा स्वागत गरेका थिए । नेकपा (मशाल) सम्बद्ध अखिल नेपाल किसान महासंघ ,नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) र नेकपा (बहुमत) सम्बद्ध अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) तीन किसान संगठनहरुले मिटर ब्याज पीडितहरुको आन्दोलन र माग प्रति ऐक्यबद्धता जाहेर गर्दै एक स्वागत कार्यक्रम गरेका छन् ।
तीन किसान सङ्गठनका नेता– कार्यकर्ताहरु रत्नपार्क शान्तिबाटिकामा जम्मा भइ जुलुस सहित खुला मन्चको पश्चिम गेट पुगेका थिए । किसान एकता – जिन्दावाद ! मिटर ब्याजीहरुलाई कार्बाही गर ! मिटर ब्याज पीडितहरुलाई न्याय दे! लगायतका नारा तीन किसान संगठनले आयोजना गरेको जुलुसमा लगाइएकोथियो । तीन किसान संगठनको जुलुस खुला मन्चको पश्चिम गेट पुगेको केही समय पछि मिटर ब्याज पीडितहरुको जुलुस आइपुगेको थियो । दिउँसो माता तिर्थबाट ढुङ्गे अड्डा ,कलंकी ,कालीमाटी , त्रिपुरेश्वर ,एनएसी हुँदै खुला मन्चमा आई धर्ना बस्न खोजेका मिटर ब्याज पीडितहरुलाई खुला मन्चमा प्रबेश गर्न नदिन गेटमा चापी लगाएर नगर प्रहरीहरुले छेकेका थिए । नगर प्रहरीलाई साथ दिन सरकारले सशस्त्र प्रहरी र दंगा प्रहरी परिचालन गरेको थियो। मिटर ब्याज पीडितहरु खुला मन्चमा बस्न पाउनु पर्छ भन्दै गेट खोल्न कोसिस गर्दा केही समय तनाबग्रस्त स्थिति सृजना भएको थियो ।
तीन किसान संगठनको तर्फबाट मिटरब्याज पीडितहरुलाई स्वागत गर्न पुगेको टोलीको तर्फबाट सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) बागमतीका सेक्रेटरी सुरेश श्रेष्ठले आफुले काठमाडौँका सिडियो, काठमाडौ महानगरपालिकाका प्रशासकीय अधिकृत सित समन्वय गरेर मिटर व्याज पीडितहरुले खुला मन्चमा बस्न पाउनु पर्दछ भनेको जानकारी गराउनु भयो । सिडियोले हुन्छ भनेका थिए । महानगरपालिकाले पहिले हुन्छ भनेको थियो । अहिले किन गेट थुनेको भनेर सचिब श्रेष्ठले आक्रोश व्यक्त गर्नु भएको थियो ।
तीन किसान सङ्गठनका तर्फबाट जारी गरिएको प्रेस वक्तव्यलाई नेकपा (बहुमत) सम्बद्ध अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष हरी श्रेष्ठले बाचन गरेर सुनाउनु भएको थियो । संयुक्त प्रेस वक्तव्यमा नेकपा (क्रान्तिकारी) माओवादी सम्बद्ध अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सिताराम तामाङ, नेकपा (बहुमत) सम्बद्ध अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष हरी श्रेष्ठ र नेकपा (मशाल) सम्बद्ध अखिल नेपाल किसान महासंघका अध्यक्ष चिन्तामणि पौडेलले हस्ताक्षर गर्नु भएको थियो ।
संयुक्त प्रेस विज्ञप्तिको पूर्ण पाठ यस प्रकार छ ,“हामी नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल) सम्बद्ध अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी),अखिल नेपाल किसान महासंघ मिटर ब्याजी ब्याजखोरहरुद्वारा ठगिएर घर जग्गा समेत गुमाउन पुगेका किसानहरु तराई÷मधेशका विभिन्न जिल्लाहरुबाट महोत्तरी जिल्लाको वर्दिबासमा भेला भइ सर्लाही, रौतहट, बारा, मकवानपुर हुँदै १२ दिनको कष्टपूर्ण पैदल यात्रा गरी देशको राजधानी काठमाडौमा न्याय माग्न आइपुग्नु भएकोछ । तपाईहरुको ७३ जनाको टोलीले जसमा धेरैजसो महिलाहरु छन् । त्यसका साथै स्कूले केटाकेटी र बच्चासमेत छन् । आफ्ना मागहरु पूरा गराएर मात्र फर्कने दृढता पनि जाहेर गरेकोछ । हामी तपाईहरुको साहस, दृढताको उच्च कदर गर्दै तपाईहरुको स्वागत गर्दछौं र साथै ऐक्यबद्धता पनि जाहेर गर्दछौं ।
आज भन्दा पहिले पटक पटक मिटरब्याजी ब्याजखोरहरुबाट पीडित किसानहरु काठमाडौंको सडकमा धर्ना ,जुलुस आदि संघर्षको कार्यक्रम सम्पन्न भएका थिए । त्यो कार्यक्रममा हाम्रो पनि ऐक्यबद्धता र सहभागिता थियो । त्यसपछि सरकारसँग सहमति भएको र सरकारले सो सहमति पूरा गर्ने वचन दिएपछि गाउँ फर्किएका थिए । हामीले पनि सो संघर्षहरुलाई ऐक्यबद्धता जनाएका थियौं र देशका गरिब किसानहरुको पेचिलो सवाल भएकोले सकेको सहयोग पनि गरेका थियौं । तर ती मागहरु पूरा भएनन् । त्यसबाट मिटरव्याजी साहुहरुले ‘अब केही नहुने’ बुझी ऋणि किसानहरुलाई थप पीडा दिएको र धेरैको उठीबास समेत लागिसकेको अवस्थाले गर्दा पुनः किसानहरुले तपाई किसानहरुले १२ दिन लामो कष्टपूर्ण यात्रा गर्नु परेको हो । हामी तीन किसान संगठनहरु सरकारले गरेको सहमतिप्रतिकोे गैर जिम्मेवारीको भत्र्सना गर्दछौं ।
हामी मिटर व्याजी व्याजखोरहरुले किसानहरुलाई फसाएर उनीहरुको जग्गा जमिनबाट उठीबास लगाउने र घरपरिवार बिचल्ली पार्ने घोर अपराधपूर्ण अमानवीय कार्यको घोर निन्दा र भत्र्सना गर्दछौं ।
साथै नेपाली किसानहरुमाथि खुलेआम ठगी विरुद्ध भैरहेको मिटरव्याजी व्याजखोरहरुबाट पीडित किसानहरुको यो संघर्षप्रति पुनः दृढ ऐक्यबद्धता जनाउँदै किसानहरुको ऋण मिनाहा गर्न, ठगीमा परेकाहरुका जग्गा जमिन फिर्ता गर्न र मिटर व्याजी व्याजखोरहरुमाथि कडाभन्दा कडा कार्वाही गर्न समेत जोडदार माग गर्दछौं । तपाई संघर्षरत मिटरव्याजी व्याजखोरहरुबाट पीडित किसानहरुको मागलाई तत्काल पूरा गर्न सरकारसँग जोडदार माग गर्दछौं । तपाईहरुको काठमाडौं बसाई फलदायी रहोस् । हामी तपाईहरुको साथमा छौं ।”
मशाल सम्बद्ध अखिल नेपाल किसान महासंघका प्रतिनिधि बलिभद्र शर्माले तीनसङ्गठनका तर्फबाट स्वागत मन्तब्य राख्नु भएको थियो। मिटरब्याज पीडितहरुको मार्चमा सङ्गसङ्गै आउनु भएका अभियानकर्मी रामरिझन यादवले तीन किसान सङ्गठनको स्वागत, ऐक्यबद्धता र सहयोग प्रति धन्यवाद मन्तब्य राख्नु भएको थियो ।
मिटर ब्याज पीडितहरुलाई खुला मन्चमा प्रबेश गर्न नदिए पछि पीडितहरु रातभरी खुलामन्चको गेटमा धर्ना बसेकाथिए ।
नेकपा (क्रान्तिकारी माओवादी)का बागमति सचिव सुरेश श्रेष्ठ सहितको टोलीले पार्टीको तर्फबाट उपलब्ध गराएको ब्लाङ्केट, मेट्रेस पनि प्रहरीले जफत गरि बिछ्याउन दिएको थिएन ।
सहयोगीहरुले उपलब्ध गराएको खाना समेत आन्दोलनकारीलाई दिन रोक्ने जस्तो अत्यन्त अमानवीय काम सरकारको प्रहरीहरुले गरेका छन् । चैत्र १३ गते रातभरी खुलामञ्चको गेटमा धर्ना बसेका उनीहरु १४ गते विहान बालुवाटार पुगेका थिए । दिउँसो माइतीघर मण्डला र नयाँ बानेश्वर पुगी संविधानसभा भवन अगाडि धर्ना बसेका थिए ।
सरकारले गृह मन्त्रालयको सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, संसदीय मामिला मन्त्रालयका जंगबहादुर डाँगी सदस्यहरु रहेको वार्ता टोली गठन गरेको छ । मिटर व्याज पीडितहरुसित वार्ता गरी उनीहरुको समस्या समाधान गर्ने भनिएको छ ।
यता तीन कम्युनिस्ट पार्टीहरु मशाल, क्रान्तिकारी माओवादी र बहुमतले एक वक्तव्य प्रकाशित गरी मिटर व्याज पीडितहरुको समस्या दलाल पुँजीवादी संसदीय व्यवस्थाले उब्जाएको समस्या भएकाले संसदीय व्यवस्थालाई नै अन्त्य गरी नयाँ जनवाद हुँदै समाजवादसम्म जाने प्रगतिशील व्यवस्थाको आवश्यकता रहेको बताएका छन् ।