काठमाडौं । बाह्र दिन पैदल मार्च गर्दै काठमाडौँ आएका मिटर व्याज पीडितहरुमाथि सरकारले गरेको दमनप्रति तीन पार्टीले विरोध गरेका छन् । चैत्र १४ गते नेकपा (क्रान्तिकारी माओवादी) का प्रवक्ता प्रतिक, नेकपा (बहुमत) का प्रवक्ता सुदर्शन र नेकपा (मशाल) का प्रवक्ता रामबहादुर बुढाले संयुक्त प्रेस वक्तव्य प्रकाशित गरी विरोध गरेका हुन् । वक्तव्यमा मिटर व्याज पीडितहरुको माग पूरा गर्न र पीडकहरुलाई कार्वाही गर्न माग गरिएको छ । वक्तव्यको पूर्णपाठ यसप्रकार छः “महोत्तरी जिल्लाको बर्दिवासबाट १२ दिनको पैदलयात्रा पछि मिटरब्याज पीडितहरु हिजो काठमाण्डु आइपुग्दा उनीहरुका समस्याको समाधान गर्न पहल गर्नुको साटो आन्दोलनकारीका लागि खाना तथा कपडाको सहयोग गर्न चाहनेहरुलाई सहयोग गर्न नदिने र आन्दोलनकारीलाई रातभर चिसो सडकमा भोकै सुत्न वाध्य पार्ने प्रचण्ड नेतृत्वको गठबन्धन सरकारको घोर अमानवीय तथा गैरजिम्मेवारपूर्ण व्यवहारप्रति हामी तीन कम्युनिस्ट पार्टीहरुको गम्भीर ध्यानाकर्षण भएको छ । सर्वप्रथम, हामी सरकारको यस प्रकारको व्यवहारको तीव्र विरोध तथा भत्र्सना गर्दै मिटरब्याज पीडितहरुको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दछौं ।
केही वर्षयता नेपालमा स्थानीय सुदखोर, बैङ्क तथा लघुवित्तीय संस्थाहरुबाट मिटरब्याजी शोषण चर्को गरी मौलाउँदै आएको छ । नेपाल सरकार र पीडितहरुका बीचमा समस्या समाधानका लागि सम्झौताहरु पनि भएका छन् । तर समस्या समाधान हुनुको साटो अरु बल्झिँदै गएको छ । यसका पछाडि संझौता गरेर पीडितहरुप्रति सहानुभूति रहेको देखाउने तर पीडकहरुलाई कार्वाही नगरी तिनको संरक्षण गर्ने नेपाल सरकारको द्वैध चरित्र जिम्मेवार छ । हामी यसको तीव्र विरोध गर्दै पीडितहरुलाई ऋण मुक्त गर्न, तिरेको बढी रकम फिर्ता गर्न र पीडकहरुलाई उचित कार्वाही गर्न जोडदार माग गर्दछौं ।
मिटरब्याजी शोषणका पछाडिको मूल कारण नेपालको प्रतिक्रियावादी राज्यसत्ता र दलाल पुँजीवादी संसदीय व्यवस्था हो । संसदीय व्यवस्थाको अन्त्य र नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादको स्थापना मिटरब्याजी लगायत सबै प्रकारका शोषण तथा उत्पीडिनबाट नेपाली जनतालाई सधैँका लागि मुक्त गर्ने एकमात्र बाटो हो । यही दिशामा अगाडि बढ्नका लागि हामी मिटरब्याज पीडित लगायत सम्पूर्ण शोषित तथा उत्पीडित जनतामा हार्दिक अपील गर्दछौं ।”