रक्सौल–काठमाडौं रेलमार्गको डिपिआर तयार पारिंदै

काठमाडौं । भारतको रक्सौलदेखि काठमाडौँसम्म रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण सुरु भएको छ । कूल एक सय ३६ किलोमिटर लम्बाइको रेलमार्गको सम्भाव्यता अध्ययन भई डिपिआर निर्माण सुरु भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।

“भारतीय रेल्वे कम्पनी कर्पाेरेसन (कोङ्कण)को प्राविधिक टोलीले रेलमार्गको डिपिआर तयार पारिरहेको छ”, नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक नीरञ्जनकुमार झाले भन्नुभयो, “एक महिनाभित्र डिपिआर तयार भइसक्छ ।”

नेपाल र भारतबीच २०७६ साल भदौ १५ मा रक्सौल–काठमाडौँ रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि सम्झादारी पत्रमा हस्ताक्षर भएपछि डिपिआर तयार पार्न नेपालले २०७७ सालमै भारतलाई औपचारिक प्रस्ताव पठाएको थियो । सोही प्रस्तावअनुसार डिपिआर निर्माण भइरहेको महाप्रबन्धक झाको भनाइ छ ।

“रेल्वे ट्र्याक हामीलाई हस्तान्तरण हुने तयारी भइरहेको छ”, महाप्रबन्धक झाले भन्नुभयो, “त्यो हस्तान्तरण भएसँगै हामी विजलपुरासम्म रेल गुडाउँछौंँ ।” केही दिनअघि कुर्थादेखि विजलपुरासम्म रेल गुडाएर परीक्षणसमेत गरिएको थियो । विजलपुरादेखि बर्दिबाससम्मको १८ किलोमिटर रेलमार्ग निर्माणमा जग्गा मुआब्जा विवाद बाधक बन्दा समस्या भएको छ ।

“जग्गा मुआब्जाको समस्यालगायतका कारण विजलपुरा भङ्गहादेखि बर्दिबाससम्म रेलमार्ग निर्माणको काम प्रभावित भएको”, नेपाल रेल्वे कम्पनीका इञ्जिनियर रवीन्द्र साहले भन्नुभयो, “कतिपय ठाउँमा व्यवहारिक रुपमा बाटो देखिएको छ, तर नक्शामा सडक छैन, यद्यपि स्थानीयले मुआब्जा मागिरहेका छन् ।”

कतिपय ठाउँमा ऐलानी जग्गामा दलित बस्ती भएको र उनीहरुसँग कुनै कागज नभएको उहाँको भनाइ छ । उहाँले स्थानीयले मुआब्जा मागेर विवाद गरिरहेको बताउनुभयो । जसका कारण रेल्वे ट्र्याक निर्माणमा समस्या भएको उहाँको कथन छ ।

“हामीहरुले चाहेर पनि समस्या समाधान गर्न सकेका छैनौँ ।”,  इञ्जिनियर साहले भन्नुभयो, “मुआब्जाको समस्या समाधान भएपछि दुई वर्षभित्र ब्रोडगेज रेलमार्ग निर्माण सकेर बर्दिबाससम्म रेल चल्न थाल्छ ।”

नेपालमा रेल सञ्जाल विस्तार गर्नेबारे नेपाल  र भारत सरकारबीच सन् २०१० मा भएको द्विपक्षीय सम्झौता भएको थियो । सोहीअनुसार २०११ देखि निर्माण थालनी भएको थियो ।

ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले प्राप्त गरी कम्पनीको निगरानीमा धनुषा र महोत्तरीमा दुईवटा निर्माण कम्पनीलाई ठेक्का दिएर काम अघि बढाइएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित