काठमाडौं । नेपाल सरकारले भर्खरै राष्ट्रिय जनगणना–२०७८ को नतिजा सार्वजनिक गरेको छ । भारतका विभिन्न मिडियाहरुमा नेपालले कालापानी क्षेत्रको गुँजी, नाबी र कुरी गाउँका तथ्यांक सार्वजनिक नगरेको त्यो क्षेत्र भारतको उत्तरखण्ड प्रदेशको पिथौरागढ जिल्ला अन्तर्गत रहेको भन्दै समाचार सम्प्रेषण गरेका छन् ।
नेपालले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रलाई नेपालको नक्सामा राखी संसदबाट पारित गरिसकेको छ । तर त्यस क्षेत्रमा जनगणना भएको नभएको र भारतीय मिडियाबारे नेपाल सरकारले स्पष्ट गरेको छैन ।
हाँक साप्ताहिकले नेपाल सरकारका तथ्यांक विभागका निर्देशक ढुण्डिराज लामिछानेसित भारतीय मिडियामा आएको कुरा बारे के भन्नुहुन्छ भन्ने प्रश्न राख्दा लामिछानेले भने–“बसेर छलफल गरेर मात्र आफूले त्यसबारे बताउन सकिने” प्रतिक्रिया दिए । आफ्नो भूगोलमा बसेका जनताको तथ्यांक लिनु सरकारको दायित्व हो । यतिधेरै प्रश्न उठिसकेपछि सरकारले त्यसबारे स्पष्ट गर्नुपर्दछ ।