कठमाण्डौ । नेकपा (मशाल)का महासचिव सन्तबहादुर नेपालीले “ठुला घरानियाहरूले देशको पुँजी कब्जा गरी राखेकाले बजारमा पैसाको अभाव भएको” बताएका छन् । उनीहरूले “सत्ता र शक्तिको आडमा मिटर ब्याज चलाएका छन् र बैंकमा पैसा अभाव भएकोछ” नेपालीले भने “अब यी लघु बित्त र मिटर ब्याजका समस्यालाई वर्गसंघर्षको रुपमा विकास गर्नु पर्दछ” नेपालीको थप कथन थियो । नेकपा (मशाल) काठमाडौ जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालीले सो कुरा बताएका हुन् ।
लघु वित्त र मिटर ब्याजका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रमका अर्कावक्ता नेकपा (बहुमत) का गुणराज लोहनीले वर्तमान व्यवस्थामा यी समस्या समाधान नहुने बताउँदै यी विषयलाई वर्ग संघर्षको विषय बनाउनु पर्ने र क्रान्तिकारी लाइन स्पिरिट्बाट मात्र सम्भव हुने बताए ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का आकाश महर्जन, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का अध्यक्ष नारायण सापकोटा, अखिल नेपाल वुद्धिजीबी संघका प्रतिनिधि सकस नायकले मन्तव्य राखेका थिए ।
कार्यक्रममा मशालका केन्द्रीय सदस्य लालबहादुर जाग्री र हाँक साप्ताहिकका व्यवस्थापक ओमबहादुर केसीको पनि आतिथ्यता रहेको थियो ।
एक मिनेट मौन धारण सहित अगाडि बढेको कार्यक्रममा विषयको प्रस्तुति नेकपा (मशाल)का प्रवक्ता रामबहादुर बुढाले गरेका थिए ।
कार्यक्रमको अध्यक्षता नेकपा (मशाल) बागमतीका इन्चार्ज चिन्तामणी पौडेल, सन्चालन टेकहरी न्यौपाने र स्वागत मशाल काठमाडौका प्रवक्ता बलिभद्र शर्माले गरेका थिए ।