काठमाडौ । नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपालीले आज एक बक्तब्य जारी गर्दै चैत्र २४ जनआन्दोलन दिवसका सन्दर्भमा शुभकामना दिएका छन् । वक्तव्यमा नेपालीले नेकपा (क्रान्तिकारी माओवादी ) र नेकपा ( बहुमत) का वीच पार्टी एकता घोषणा हुन गैरहेकोमा शुभकामना समेत व्यक्त गरेका छन् ।
मशाल पनि यो बार्ता प्रक्रियामा सामेल भएको र केही नीतिगत कुराहरु टुङ्गिन बाँकी रहेकाले हाललाई बार्ता प्रक्रिया स्थगन गर्ने सहमति भएको बक्तब्यमा उल्लेख छ ।
बक्तब्यको पूर्ण विवरण यसप्रकार छ : “चैत्र २४ गते नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनको सन्दर्भमा अत्यन्तै महत्व राख्ने दिन हो । यस महान् ऐतिहासिक अवसरमा हाम्रो पार्टी नेकपा (मशाल) को तर्फबाट जनआन्दोलनमा शहादत प्राप्त गर्नु भएका वीर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । यस सन्दर्भमा देश तथा विदेशमा रहनु हुने तमाम क्रान्तिकारी, वामपन्थी, लोकतान्त्रिक तथा प्रगतिशील जनसमुदायहरुप्रति क्रान्तिकारी शुभकामना प्रकट गर्दछौं ।
२०४६ साल चैत्र २४ गते नेकपा (मशाल) सहित ५ राजनैतिक दलहरुको मोर्चा,संयुक्त राष्ट्रिय जनआन्दोलनको नेतृत्वमा देशव्यापी हड्तालमा, विशेष गरी राजधानी काठमाडौंमा, ऐतिहासिक जनउभार उम्लियो । त्यो आन्दोलनबाट नेपालको सामन्ती अधिनायकवादी राजतन्त्रको राजगद्दी हल्लिन पुग्यो । त्यसको परिणामस्वरुप चैत्र २६ गते तात्कालीन राजा वीरेन्द्रले बहुदलीय व्यवस्थाको घोषणा गर्न बाध्य भए । जनताको विद्रोहबाट राजतन्त्र झुकेको पहिलो समय थियो । जनताको उभारबाट राजतन्त्र मात्र डराएन, वाममोर्चा र कांग्रेस समेत डराउन पुगे र रातारात भारतीय विस्तारवादको मध्यस्थतामा राजालाई संवैधानिक बनाउने सम्झौता हुन पुग्यो । जनतामाथिको त्यो धोकाले गर्दा राजतन्त्रको अन्त हुन सकेन । सीमित बहुदलीय प्रजातन्त्र मात्र आयो । त्यसै बेलादेखि चैत्र २४ गतेलाई हामीले जनआन्दोलन दिवस मनाउँदै त्यो क्रान्तिकारी परम्परालाई अगाडि बढाउने प्रतिबद्धता प्रकट गर्दै आएका छौं ।
चैत्र २४ को जनआन्दोलन दिवसलाई पहिले निर्धारित कार्यक्रम अनुसार नै एकल वा संयुक्त रुपमा मनाउने हाम्रो कार्यक्रम रहेको छ । ती कार्यक्रमहरुलाई विभिन्न ढंगले भव्यता र उत्साहजनक रुपमा सफल पार्न हाम्रो पार्टी सबैलाई अपिल गर्दछ ।
चैत्र २४ गते दुई वटा वामपन्थी क्रान्तिकारी पार्टीहरु, जोसित हाम्रो केही समयदेखि घनीभूत रुपमा वार्ता चल्दै आएको थियो ,ले पार्टी एकता सम्बन्धी पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन् । दुई पार्टी मात्र किन ? भन्ने प्रश्न उठिरहेको हुँदा यो स्पष्ट गर्न चाहन्छौं कि हाम्रा बीच केही नीतिगत प्रश्नहरु टुंगिन बाँकी रहन गएको हुँदा अहिले दुई पार्टीबीचको एकतालाई मूर्तिकरण गर्ने र तीन पार्टीको वार्ता प्रक्रिया हाललाई स्थगन गर्ने हाम्रो सहमति भएको छ । दुई पार्टीको बीचमा हुने पार्टी एकताप्रति हाम्रो पार्टी बधाई तथा शुभकामना प्रकट गर्न चाहन्छ ।”