चितवन । चितवनमा रहेका साना तथा ठूला सबै राजनीतिक दलहरु आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन लक्षित कार्यक्रम सुरु गरेका छन् । स्वतन्त्र उम्मेदवारसमेत तीब्र रुपमा प्रचारप्रसारमा लागेका छन् ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले औपचारिक रुपमा २०७९ चैत्र २४ गते बाट घरदैलो कार्यक्रम सुरु गर्दै छन् । कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलका अनुसार उम्मेदवारी दर्तासँगै प्रचारप्रसार सुरु गरेको भए पनि औपचारिक रुपमा आजदेखि घरदैलो गरिंदैछ ।
नेकपा (एमाले) चितवनले पनि आफ्नो घरदैलो कार्यक्रम सुरु गरेको छ । इच्छाकामना गाउँपालिका–१ हात्तीवाङबाट घरदैलो अभियान सुरु गर्न लागेको एमालेका जिल्ला उपाध्यक्ष कमल पाठकले जानकारी दिए । नेकपा एमालेले विगत एक महिनादेखि मिसन ग्रासरुट कार्यक्रम सञ्चालन गरेकाले घरदैलो कार्यक्रमलाई सहज हुने उनले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गरेसँगै घरदैलो तथा कार्यक्रम भेटघाटलाई तीव्र पारेका छन् । उनका निजी सचिव प्रकाश सिग्देलका अनुसार मनोनयन दर्ता गर्नुअघिदेखि नै निर्वाचनको तयारी गरिएको हो । मनोनयन दर्तासँगै दलका नेता कार्यक्रर्ता भेटघाटलगायत काममा व्यस्त भइरहेको उनले बताए । कालिका नगरपालिका–५ बाट घरदैलो कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिँदै सिग्देलले रास्वपाले घरदैलो कार्यक्रमलाई तीव्र बनाउने बताए ।
सत्तागठबन्धनसहित तीन दलहरु र अन्य साना दलहरुले समेत निर्वाचन लक्षित आफ्ना कार्यक्रमलाई तीब्र बनाएका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी जिल्लामा आएर आफ्नो पार्टीका चुनावी कार्यक्रममा सहभागी भएका छन् । अन्य साना दल र स्वतन्त्र उम्मेदवारले समेत प्रचारप्रसारमा जुटिरहेका छन् ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट निर्वाचित रास्वपाका केन्द्रीय सभापति लामिछाने नागरिकता मुद्दामा दोषी ठहरिएपछि सांसद पद खारेज भएको थियो । लामिछानेको सांसद पद खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा एक लाख २४ हजार छ सय ९५ जनाले मतदान गर्न पाउनेछन् । उनीहरुले ४३ स्थलका एक सय ३८ केन्द्रबाट मतदान गर्ने छन् ।
सबै राजनीतिक दल निर्वाचन लक्षित कार्यक्रम सहित चितवनमा
Comments