चैत्र २४, पोखरा । नेकपा (मशाल) कास्कीद्वारा २०७९ चैत्र २४ गतेका दिन कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ध्यान आकर्षण पत्र पठाइएको छ । नेकपा(मशाल) कास्कीका सचिव विक्रम थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारीलाई सो ध्यान आकर्षण – पत्र बुझाएको थियो । प्रतिनिधि मण्डलमा मशाल कास्कीका प्रवक्ता दिपक गुरुङ, प्रतिनिधिहरू आकाश गौतम, सागर कुँवर र ओम बहादुर केसी रहनु भएको थियो ।
ध्यान आकर्षण पत्र बुझे पछि प्रमुख जिल्ला अधिकारीको भनाई थियो–“स्थानीय स्तरमा हाम्रो तर्फबाट अनुगमन गर्ने काम हामीले गर्दछौं र यो ध्यान आकर्षण पत्रलाई प्रधानमन्त्री कार्यालयमा पठाईदिन्छौँ ।” ध्यान आकर्षण पत्रको पूर्ण पाठ यस प्रकार छ –
“सम्माननीय प्रधानमन्त्री
श्री पुष्पकमल दाहाल
नेपाल सरकार, मन्त्री परिषदको कार्यालय ,
सिंहदरबार, काठमाडौ , नेपाल ।
मार्फत, प्रमुख जिल्ला अधिकारी
जिल्ला प्रशासन कार्यालय, कास्की ।
विषयः ध्यानाकर्षण पत्र ।
अहिले मुलुक अत्यन्त गम्भीर समस्याहरूबाट ग्रस्त छ । नयाँ संविधान अनुसार आवधिक निर्वाचनहरु सम्पन्न भएर जननिर्वाचित केन्द्र, प्रदेश र स्थानीय सरकारहरु बनेका छन। त्यहाँ बाट जनताका समस्याहरु समाधान हुन्छन भन्नेमा आम जनसमुदाय आशावादी थिए तर आज मुलुकमा अझ बढी गम्भीर समस्याहरु पैदा भएका छन । यी समस्याहरूलाई समयमा नै पहिचान गरी राज्यले समाधान नगर्ने हो भने एकातिर जनता अझ बढी आक्रोशित हुने छन भने अर्कोतिर देशको राष्ट्रियता, अर्थतन्त्र अरु धरासायी बन्दै जानेछ । अहिले स्वास्थ्य क्षेत्रमा बिचौलियाहरुको बिगबिगी छ । शिक्षा क्षेत्रमा ब्यापारीकरण छ । लघुबित्त र मिटर ब्याजिहरुले नव सामन्तहरु जन्माइरहेको छ । जसको कारण गरिब, बिपन्न जनताहरु शोषित भैरहेका छन र आज त्यसको विरोधमा पीडित जनता सडकमा आएका छ ।
यसै बिचमा ने.क.पा. (मशाल ) कास्कीको बैठक यही चैत्र १८ गते सम्पन्न भएको छ । बैठकको स्वास्थ्य, शिक्षा ,बित्तीय क्षेत्र तथा जनजीवीका सम्बन्धमा देखा परेको समस्या प्रति गम्भीर हुँदै त्यस तर्फ राज्य संचालक र सरोकारवाला सबैलाइ सचेत गराउदै जिल्ला प्रशासन कार्यालय कास्की मार्फत नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाललाई यो ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका छौ ।
ध्यानाकर्षणका बुदाहरुः
१. स्वास्थ्य क्षेत्र अन्तर्गत सरकारी अस्पतालहरुमा बिचौलिया र अस्पतालकै आन्तरिक च्यानलको मिलेमतोमा प्राबिधिक श्रोत साधनको लापरबाही र म प्रकारको समस्या सृजना गरि कमिसनको धन्दा भैरहेको छ । त्यसलाई अबिलम्ब रोकी जनताको सर्बसुलभ स्वास्थ्य सेवा पाउने अधिकारको ग्यारेन्टी गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराउदछौ ।
२. नेपाल सरकारको स्वास्थ्य बिमा अन्तर्गतका बिमक बिरामीहरुले पाउने सबै प्रकारका औषधिहरुको उपलब्धताको लागि सरकार सङ्ग जोडदार माग गर्दछौ ।
३. सरकारी अस्पतालहरुमा तोकिएको समय सीमा भित्र चिकित्सकहरुको उपलब्धतामा अनियमितता देखिएकोले गम्भीर ध्यानाकर्षण गराउदछौ ।
४.निजी अस्पताल सन्चालन अनुमतिको समयमा गरिएको सर्तनामा जस्तै गरिब तथा बिपन्न बिरामिलाइ १०% छुट लगायतको सही कार्यान्वयन नभएकोले अक्षरस कार्यान्वयनको लागि जोडदार माग गर्दछौं ।
५. सर्ब प्रथमतः दुइखाले शिक्षा नीतिको बिरोध गर्दै शिक्षामा देखिएको कमिसनखोरी र माफियातन्त्रका कारण सृजित समस्याको बारेमा गम्भीर ध्यानाकर्षण गराउदछौ ।
६.विद्यार्थीहरुले पाउनु पर्ने पाठ्यसामाग्री शुलभ मूल्य र समयमा नै उपलब्ध गराउने बाताबरण सृजना गर्न माग गर्दछौ ।
७.नेपाल सरकार मातहतका रास्ट्र सेबक कर्मचारीका सन्तानलाईअनिवार्य रुपमा सामुदायिक विद्यालयहरुमा भर्ना गरी सामुदायिक विद्यालय सुधारमा टेवा पुर्याउनको लागि अनुरोधका साथ अपिल गर्दछौं ।
८. निजी विद्यालयहरुमा अनावश्यक शीर्षकमा लिइने चर्को शुल्क प्रति ध्यानाकर्षण गराउदै निजी क्षेत्रका विद्यालयले दिने छात्रवृत्ति कोटाको कार्यान्वयनमा पारदर्शीताको लागि ध्यानाकर्षण गराउदछौ ।
९. निजी विद्यालयहरुले एउटै विद्यार्थीहरुको प्रत्येक बर्ष लिइरहेको वार्षिक भर्ना शुल्क तुरुन्तै रोक्न जोडदार माग गर्दछौं ।
१०.लघुबित्त सस्थाहरुले गरिब जनताको कमजोरीको फाइदा उठाउदै नवसामन्ती प्रकारले लादिएको चक्रबृती ब्याज र मिटर ब्याज तुरुन्त नियन्त्रण गरी रिणिलाई दिइने अनावश्यक मानसिक यातना अन्त्य गर्नको लागि ध्यानाकर्षण गराउदछौ ।
११. बजारमा मौलाइरहेको बढ्दो महँगी, कालो बजारी र बिचौलिया धन्दालाइ नियन्त्रण गर्न माग गर्दछौं ।
१२.वास्तविक किसानहरुले भोगिरहेको समस्याहरु जस्तै बिचौलियाको बिगबिगी, मल बिउको समयमा नै उपलब्धता नहुनु,वास्तविक किसानहरु राज्यले प्रदान गर्ने अनुदानबाट बन्चित हुनु र बिचौलियाबाट दुरुपयोग हुनु,आफ्नो उत्पादनमा उचित मुल्य नपाउनु, बिमाको झन्झटिलो प्राबधान आदिबाट प्रताडित रहेकाले गम्भीर ध्यानाकर्षण गराउदछौ ।
बिक्रम थापा, सेक्रेटरी,नेकपा (मशाल), कास्की
दिपक गुरुङ, जिल्ला प्रबक्ता
सागर कुवर, प्रतिनिधि
आकाश गौतम, प्रतिनिधि
ओम बहादुर केसी, प्रतिनिधि ।”