साम्राज्यवादीहरुले प्रचण्डको हातबाट एसपीपी पारित गराउन चाहेका छन् – महासचिव नेपाली

चैत्र २४, काठमाडौ । नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपालीले साम्राज्यवादीहरुले प्रचण्डको हातबाट एसपीपी पारित गराउन चाहेकाछन् भन्नु भएको छ । नेकपा (मशाल) काठमाडौं जिल्ला समितिको आयोजनामा चैत्र २४ जनअन्दोलन दिवस मनाउने सन्दर्भमा प्रमुख अतिथिको आसनबाट बोल्दै महासचिव नेपालीले सो कुरा बताउनु भएको हो । अमेरिकी साम्राज्यवादले नेपालका दलाल पार्टीहरुलाई प्रयोग गरेर संसदबाट एम.सी.सी. पारित गरेका छन । उनीहरु आफ्नो मिसनमा लागिरहेका छन भन्दै महासचिव नेपालीले राष्ट्रिय स्वाधीनताको संरक्षणको लागि हामीले संघर्ष गर्नु पर्ने बताउनु भयो ।
नेपालीले २०४६ र ०६२÷०६३ को आन्दोलनमा काङ्ग्रेस जस्ता पुँजीवादी पार्टीले नेतृत्व गरेका थिए अबको आन्दोलनको नेतृत्व क्रान्तिकारी कम्युनिस्टहरुले गर्ने छन भन्नु भयो । उहँले चैत्र २४ ले सामन्तवाद र साम्राज्यवाद विरुद्ध संघर्ष गरेर स्वाधीन मुलुक निर्माण गर्न प्रेरणा दिने स्पष्ट गर्नु भयो ।
नेपालीले अगाडि भन्नु भयो–“जनताकोभित्रबाट जागेको चेतनालाई कुनै पनि शक्तिले रोक्न सक्दो रहेनछ । आत्मगत तयारी नभएकाले हामीले २०४६ को जन आन्दोलनलाई अगाडि बढाउन सकेनौं । काङ्ग्रेस र वाममोर्चाले आन्दोलनलाई राजा सित सम्झौतामा पुर्याएर टुङ्गाए । तर राजाले आफ्नो चरित्र देखाई छाडे । दरबार हत्याकाण्ड पछि देश प्रतिगमनमा गयो र ६२÷६३ को आन्दोलन गर्नु प¥यो ।”
नेपालीले अर्को सन्दर्भमा भन्नू भयो–“२०४६ को चैत्र २४ देखि आजसम्म आइपुग्दा हामी कहाँ पुग्यौ भन्ने कुराको समीक्षा गर्न आवश्यक छ । नेपाली जनता सडकमा उत्रिन सक्ने तर नेता चिन्न नसक्ने हाम्रो कमजोरी रहेकोछ । अब यो कमजोरीलाई सच्चाएर आन्दोलन अगाडि बढाउनु पर्दछ ।”
मशालका प्रवक्ता रामबहादुर बुढाले जनआन्दोलनको मूल मर्मलाई पक्रनु नै जनाअन्दोलन दिवसको महत्व अन्तर्निहित छ भन्नु भयो ।
चिन्तामणि पौडेल ( नेकपा मशाल बागमतीका इन्चार्ज ) ले स्वागत मन्तब्य राख्दै चैत्र २४ लाई आन्दोलनको ज्वारभाटा सृजना गर्न प्रेरणा लिने दिनका रुपमा लिनु पर्दछ भन्नु भयो । चैत्र २४ गतेबाटै ०६२÷०६३ को आन्दोलन सुरु भएको भन्दै पौडेलले जीवन, व्यबहारमा हामीले जनआन्दोलनको भावलाई अपनाउनु पर्दछ भन्नु भयो ।
अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय अध्यक्ष नारायण सापकोटाले २०४६ को जन आन्दोलन र ०६२÷०६३ को जनाअन्दोलनको स्मरण गर्दै यदि काङ्ग्रेस र वाममोर्चाले धोका नदिएको भए आन्दोलन गणतन्त्रसम्म पनि जान सक्दथ्यो । जनता जागे भने कुनै पनि शासकको केही पनि लाग्दैन भन्ने पाठ चैत्र २४ ले सिकाउछ – सापकोटाको कथन थियो । उहाँले अगाडि थप्नु भयो, “अहिले ब्यापक क्रान्तिकारी ध्रुवीकरण आवश्यक छ ।”

नारायण शर्मा (राष्ट्रिय क्रान्तिकारी मोर्चाका संयोजक) ले संयुक्त राष्ट्रिय जनआन्दोलन माओवाद÷माओविचारधारा मान्ने कम्युनिस्टहरुको आयोजनामा भएको थियो भन्दै जीवन, व्यबहारमा हामीले जनआन्दोलनको भावलाई अपनाउनु पर्दछ भन्नु भयो ।
अखिल नेपाल युवक संघका केन्द्रीय सचिव सागर भण्डारीले चैत्र २४ गतेको आन्दोलन एक्कासी अचानक आएको थिएन । २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना भएदेखि लगातारको संघर्षको परिणामस्वरूप चैत्र २४ आएको हो भन्नु भयो ।
कृष्ण प्रसाद आचार्य (हाँक साप्ताहिकका प्रतिनिधि) ले आफुले २०४६ मा काङ्ग्रेसका गिरिजा प्रसादको बिबिसीको अन्तर्वार्ता सुनेको स्मरण गर्नु भयो । भन्नू भयो, “आन्दोलनलाई एउटा पक्षले अगाडि बढाउने भनेको छ नि भन्ने पत्रकारको प्रश्नको उत्तरमा गिरिजाले ती सबैलाई आइसोलेशन गरिदिन्छौ भनेर उत्तर दिएका थिए ।” नेकपा मशाल काठमाडौका प्रबक्ता बलिभद्र शर्माको अध्यक्षता, टेकहरी न्यौपानेको सन्चालन र सहिदहरु प्रति एक मिनेट मौन धारण सहित कार्यक्रम अगाडि बढेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित