काठमाण्डौ। सत्ता गठबन्धन सँग सम्बन्धित दस दलका प्रमुख नेताहरूले हस्ताक्षर गरेको सरकारको न्युनतम साझा कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीको पनि हस्ताक्षर छ। त्यो साझा कार्यक्रममा सुरु देखि अन्तिम सम्म अधिकांस बुँदाहरू संघीयतालाई सुदृढ गर्ने, संस्थागत गर्ने, ब्यबस्थापन गर्ने विषयसँग सम्बन्धित छन् । उक्त तथ्यगत प्रमाणका आधारमा हाँकले “चित्रबहादुर केसी संघीयताकाे पक्षमा” शीर्षकमा समाचार बनाएको थियाे ।
हाँकले त्यो समाचार प्रकाशित गरे पछि केसी प्रति धेरै टिप्पणी आए “असलियत देखाइ छाडे, सत्ताको रसोस्वादनमा डुबेपछि हुने यहीँ नै हो”, “लाज सरम पोलेर खाएकाहरूले जनमोर्चाको लेटरप्याड, स्टेम्प, सही छाप सबै बालुवाटार लगेर बुझाए हुन्छ”, “बुढाले स्वर पाउन छाडे”, “दिनभरि माइतिघरमण्डलामा एम सी सीको बिरोध गर्ने साँझ बालुवाटार प्रधानमन्त्री निवासमा तातो चिसो खाँदै अप्रत्यक्षरुपमा एम सी सी पारित गराउन सहमति दिने यी लाज पचेका बुढाहरूले यसो गर्नु आश्चर्यकाे कुरा पनि हैन, “हिजो बर्ग दुस्मन हुन तिनीहरूसँग कुनै पनि हालतमा साठगाठ गर्नु हुन्न भन्नेले एउटै चुनाव चिन्ह रुख लिएर जनतामा जान ता लाज मानेनन् इनलाइ केको लाज छ”, “भित्र भित्र सहमति बाहिर बाहिर बिरोध दरिन्द्र चरित्र” । हाँक र हाँक सित सम्बन्धितहरूलाई केसीबारे त्यो समाचार प्रकाशितगरे पछि पितपत्रकारिता, नामर्द लगायतका अनेकौं आरोप लगाइएकोछ ।
स्मरणीय कुरा के छ भने सरकारको न्युनतम साझा कार्यक्रम चैत्र २३ गते नै नेपालका धेरै सन्चारमाध्यमहरूले प्रकाशन र प्रसारण गरिसकेका थिए र हाँकले पनि प्रकाशन गरेको थियो। २३ गतेको सोही समाचारका आधारमा हाँकले २४ गते बिहान ८ बजे “चित्र बहादुर केसी संघीयता पक्षमा” शीर्षकमा समाचार प्रकाशन गरेकोथियो। चैत्र २४ गते बिहान ११ बजे पछि राष्ट्रिय जममोर्चाले त्यो हस्ताक्षर बारे बक्तब्य निकालेको थियो। बक्तब्यमा भनिएकोछ, “प्रधानमन्त्री कार्यालयबाट अध्यक्ष चित्रबहादुर केसीको डिजीटल हस्ताक्षर कता राखिएको भन्ने सन्दर्भमा प्रधानमन्त्री र अध्यक्ष चित्रबहादुर केसी बिच सम्वाद भएको सत्य हो । तर त्यो हस्ताक्षर न्यूनतम साझा कार्यक्रमलाई स्वीकृत गर्न उपयोग गर्ने सवालमा भएको होइन । त्यसैले अध्यक्ष का चित्रबहादुर केसीको हस्ताक्षर भ्रमबस नै न्यूनतम साझा कार्यक्रममा परेको कुरा सम्बद्ध सबैलाई जानकारी गराउँदछु ।”
२४ गते नै पत्रकार संगठनको बुटवलको सम्मेलनमा दिउँसो २ बजेतिर के सीले बोल्ने क्रममा भनेकाथिए, “मेरो हस्ताक्षर चोरेर दुरुपयोग भयो भनेर मैले भन्दिन । म हिजो चितवनको उपनिर्बाचनमा थिएँ।पत्रकार सम्मेलन थियो। प्रधानमन्त्रीको फोन आएको थियो। न्युनतम कार्यक्रममा तपाइको विचार के छ भनेर सोध्नु भएको थियो। मैले केही ठीकैछ भनेको थिएँ। उहाँ (प्रधानमन्त्री) मैले केही ठीकै छ भनेको कुराले झुक्किनु भयो। मेरो हस्ताक्षर राखिदिनु भयो। मेरो सिग्नेचर बालुवाटारमा नै छ नि ।”
माथि केसीको बक्तब्य र बुटवलको मन्तब्यबाट कमजोरी हाँकको होइन केसीको हो भन्ने पुष्टि हुन्छ । आवश्यक पर्दा,चाहिदाका बखत मेरो सिग्नेचर चलाउनु भनेर काङ्ग्रेस र माओवादीकेन्द्रलाई बालुवाटारमै केसीले सिग्नेचर प्रयोग गर्ने अधिकार दिएर छोडेका रहेछन् भन्ने कुरा बुझ्न सकिन्छ । यति स्पष्ट भैसके पछि हाँकलाई गालीगलौज गर्नु हीनग्रन्थी, चरमपूर्बाग्रही मानसिकता बाहेक केही होइन।