यही २०७९ साल माघ १८ गते श्री विश्व माध्यामिक विद्यालय ढाकावाङ्ग, पिपलनेटा, (हाल भुमिकास्थान नगरपालिका–१ ),अर्घाखाँचीले ६३ औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । स्थापना भएको ६२ वर्षसम्म वार्षिकोत्सव नमनाएको विद्यालयले पहिलो पटक ६३ औं वर्ष गाँठको अवसर पारेर यो दिवस मनाउन सुरु गर्नु अत्यन्तै राम्रो र प्रशंसनीय काम गरेको छ । जसको लागि आयोजक टोलीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । साथै विद्यालयको उन्नति र प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छु र कार्यक्रममा उपस्थित सबैलाई स्वागत तथा अभिनन्दन गर्न चाहन्छु ।
यस विद्यालयलाई स्थापना गरी दिवंगत हुनुभएका संस्थापक प्रधानाध्यापक, शिक्षक र संचालक समितिका अध्यक्ष सहित सबै पदाधिकारीहरु र सदस्यहरु लगायत हालसम्म दिवंगत हुनुहुने सबै प्रधानाध्यापकहरु, शिक्षकहरू, विद्यार्थीहरु र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यज्युहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उच्च सम्मान प्रकट गर्न चाहन्छु । साथै हालसम्म जीवित रहनुभएका तत्कालीन सम्पूर्ण महानुभावहरु प्रति दीर्घजीवन सहित उच्च प्रगतिको लागि हार्दिक शुभकामना टक्राउन चाहन्छु ।
पूर्व शिक्षक तथा पूर्व प्रधानाध्यापक र पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम सहित मलाई पनि पूर्व प्रधानाध्यापक तथा शिक्षकको हैसियतले यस कार्यक्रममा आतिथ्यता ग्रहण गराउनुहुने यस कार्यक्रमका आयोजक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक र विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा सदस्यज्यु प्रति आभार प्रकट गर्दछु र धन्यवाद दिन चाहन्छु ।
यो विद्यालयको स्थापना २०१६ मा भएको भन्ने कुरा सबैलाई जानकारी भएपनि माघ १८ गते स्थापना दिवस भएको ब्यहोरा अहिले मात्र ६३ औं वार्षिकोत्सव मनाएर सार्वजनिक भएको छ । यो ढिलै भएपनि एउटा ऐतिहासिक कार्यको शुभारम्भ भएको छ । त्यसैले आयोजक टोली वर्तमान प्रधानाध्यापक तथा अध्यक्षको साथै शिक्षक, विद्यार्थी लगायत सम्पूर्ण विद्यालय परिवार नै धन्यवादको पात्र हुनुहुन्छ ।
यो विद्यालयको यो वार्षिकोत्सव कार्यक्रमले मेरा अतितका यादहरुको झल्को ल्याएको छ, जसले मलाई आफ्नो जीवनको एउटा लामो अवधिसम्म आफ्नो कर्म थलो बनाएर बसेको मेरो जीवनको आजसम्मको सबैभन्दा प्यारो ठाउँ र मेरो बारेमा केही कुराहरू लेख्न प्रेरणा मिलेको छ । मेरो यस विद्यालयमा आगमन र यस विद्यालयमा रहँदासम्म मैले गरेका कार्यहरुको बारेमा संक्षेपमा उल्लेख गर्ने प्रयत्न गर्ने छु ।
म शिक्षण सेवामा प्रवेश गरेको विद्यालय श्री सिद्धार्थ माध्यमिक विद्यालय (तत्काल सिद्धार्थ मिडल स्कुल) हंसपुर, रतनमारे हो । २०३० साल माघ ७ गते विद्यालय संचालक समितिद्वारा तत्कालीन व्यवस्था अनुसार कक्षा ६–८ को पठनपाठनको लागि मासिक रु ९०÷– खान पाउने गरी स्थायी नियुक्ति पाएको थिएँ । ६ महिनाको पठनपाठन पश्चात् २०३१ साल श्रावणदेखि तत्कालीन जिल्ला शिक्षा निरीक्षकको कार्यालयमार्फतु शिक्षाशास्त्र अध्ययन संस्थान नेपालगञ्ज क्याम्पसमा ५ महिने सेवा कालीन तालिममा जाने अवसर पाएँ । मंसिरमा तालिम सकियो । शैक्षिकसत्र २०३०÷३१ समाप्त भयो । पौष देखि नयाँ शैक्षिकसत्र २०३१÷३२ सुरु भयो । अर्घाखाँचीमा राष्ट्रिय शिक्षा योजना २०२८ यही शैक्षिकसत्र देखि लागू हुँदै थियो । जिल्ला शिक्षा निरीक्षकको कार्यालय जिल्ला शिक्षा कार्यालयमा परिणत भए । त्यहाँको हाकिम हुन जिल्ला शिक्षा अधिकारी आए । तालिम क्याम्पसले रमाना दिएर जिल्ला शिक्षा कार्यालयमा पठायो । जिल्ला शिक्षा अधिकारीबाट नयाँ नियुक्ति दिने ब्यवस्था अनुसार मेरो ठाउँमा अरु नै शिक्षक पठाइएको थियो । मलाई जिल्लामा खाली भएका मा. वि. र नि. मा. वि. मध्येबाट रोज्न लगाइयो । ती मध्ये मेरो रोजाइमा विश्व मा. वि. (तत्कालीन विश्व नि. मा. वि.) पर्न गयो ।
जिल्ला शिक्षा कार्यालय, अर्घाखाँची, नरपानीबाट नियुक्ति लिएर २०३१ साल पौष १० गते यस विद्यालयमा हाजिर हुन पुगेँ । विद्यालयमा (१–६) ६ वटा कक्षा संचालित थिए । शिक्षकहरू ६ जना उपस्थित हुनुहुन्थ्यो । जस मध्ये प्र.अ. विष्ण्ुा भाट हुनुहुन्थ्यो भने अन्य शिक्षकहरुमा भिम प्रसाद वेल्वासे, खडानन्द खनाल, राजेन्द्र प्रसाद बेल्वासे, लक्ष्मी नारायण खनाल र खड्गबहादुर थापा । खड्गबहादुर थापाले जिल्ला शिक्षा अधिकारीबाट नियुक्ति पाइसक्नुभएको थिएन । तर पुरानो सञ्चालक समितिले उहाँलाई प्र.अ.को काम गर्ने जिम्मा दिएको रहेछ । त्यसैले मलाई उहाँले हाजिर गराउनु भएको थियो । एक जना शिक्षक ठाकुर प्रसाद खनाल तालिममा जानुभएको थियोे ।
नयाँ शिक्षा योजना २०२८ अनुसार तत्कालीन समयमा विद्यालय सञ्चालक समितिको ब्यवस्था नभई विद्यालय सहयोग समितिको ब्यवस्था रहेको थियोे, जसको अधिकार विद्यालयलाई सहयोग गर्ने मात्र रहेकोे थियोे । विद्यालय संचालन,रेखदेख लगायत शिक्षक तथा प्र.अ. छ्नौट, नियुक्ति, सरुवा, बढुवा आदि सबै काम गर्ने अधिकार जिल्ला शिक्षा समितिको सिफारिश र सल्लाहमा जिल्ला शिक्षा अधिकारीलाई हुन्थ्यो ।
म यस विश्व नि.मा.वि. (हाल मा.वि.) मा हाजिर भएको महिना बित्न नपाउँदै जिल्ला शिक्षा कार्यालय अर्घाखाँची , नरपानीबाट मलाई यस विद्यालयको प्रधानाध्यापकको नियुक्ति पत्र हुलाक मार्फत् प्राप्त भयो । यो मैले नसोचेको र नचिताएको परिणाम थियो । अब म राष्ट्रिय शिक्षा पद्धति योजना सुरु भएपछिको यस विद्यालयमा पहिलो औपचारिक प्रधानाध्यापक बनें । मलाई एकातिर खुशी लाग्यो भने अर्कोतिर केही अनौठो पनि । किनकि मलाई पुरानो विद्यालयमा सरुवा हुने चाहना थियोे । जेहोस कार्यभार थपिएपछि सरुवातिर भन्दा विद्यालय संचालनतर्फ मेरो ध्यानाकषिर्त भयो ।
राष्ट्रिय शिक्षा योजना २०२८ लागु हुनु पूर्व कुनै शिक्षा ऐन तथा नियमावली थिएन । कहिलेकाहीँ आयोगका प्रतिवेदनहरु आउने गर्दथे । तर कार्यान्वयन भने खासै हुने गरेको थिएन । विद्यार्थीहरूको लागि उपयुक्त पाठ्यक्रम थिएन । शिक्षकहरुको तलव मानमा एक रुपता थिएन । सन्चयकोष , पेन्सन , उपदान,ग्रेड वृद्धि जस्ता वृत्ति विकासको प्रावधान थिएन । शिक्षकहरूको वृत्ति विकासको सुविधा प्राप्तिको लागि व्यापक रूपमा शिक्षक आन्दोलन गरी शिक्षक संगठन स्थापना भएपछि गरिएको निर्णायक आन्दोलनले मात्र गरेको हो ।
राष्ट्रिय शिक्षा योजना २०२८ (तत्कालीन नयाँ शिक्षा योजना) लागू हुने पञ्चवर्षिय योजना मध्येको यो चौथोवर्ष थियोे ता पनि यस जिल्लामा यही २०३१÷३२ को शैक्षिक सत्रको सुरु महिना पौष देखि लागु भएको थियोे । शिक्षाको ऐन , नियम र कानुन नयाँ थिए । नयाँ नियम अनुसार शिक्षकहरुलाई योग्यता र स्तर अनुसार तलब सुबिधा कायम भएको थियोे । शिक्षक विद्यार्थी अनुपात , भौतिक ब्यवस्थापन सम्बन्धी पूर्वाधार , शिक्षण सिकाइ सम्बन्धी नयाँ तरिका आदि सबै नयाँ कामहरुको सामना गर्नु पर्दथ्यो । अर्कोतिर यो नयाँ शैक्षिक ब्यवस्थाको सुरुमा शिक्षकहरू नियुक्ति लिएर आउने , हाजिर हुने र केही दिनपछि घरपायक मिलाएर जाने काम चलिरहन्थ्यो । शैक्षिक, भौतिक र जनशक्तिको ब्यवस्थापन गर्न चुनौतीपूर्ण नै थियोे । यो नयाँ शिक्षा प्रणालीको सुरुमा झेल्नुपरेको सबै समस्याहरुको बर्णन गरेर त सकिदैन । यद्यपि मोटामोटी यिनै र यस्तै सन्दर्भबाट पाठक वर्गले अनुभुति गर्न समर्थ हुनुहुने छ भन्नेमा विस्वस्त छु।
अब कक्षागत तथा तहगत संरचनाको कुरा गर्दा कक्षा १–३ प्राथमिक तह , कक्षा ४–७ नि.मा.बि. तह र कक्षा ८–१० मा. बि.तह मानिन्थ्यो । प्राथमिक तहमा आठ कक्षा उतीर्ण र नर्मल तालिम , अन्डर एस .एल.सी. वा दशम कक्षा उत्तीर्ण र तालिम प्राप्त शिक्षकहरु र एस.एल.सी पास गरेका पनि केही हुन्थे । नि.मा.वि.शिक्षकको शैक्षिक योग्यता प्रमाणपत्र तह र मा .वि.को स्नातक तह हुन्थ्यो । तालिम प्राप्तलाई बिशेष प्राथमिकता दिइन्थ्यो ।
नयाँ ऐन नियम अनुसार शिक्षकहरुलाई तलव सुविधाको कुरा गर्दा प्राथमिक तह आठ कक्षा वा अण्डर एसएलसी.र नर्मल तालिमको रु–१५०÷, एसएलसी उतिर्ण रु–१८२÷५०,एसएलसी र तालिम प्राप्त रु–२०१÷५०, नि.मा.वि.रु–२९०÷र मा.वि.रु–४००÷ तलब स्केल तोकिएको थियोे । तलव बाहेक प्र.अ.भत्ता बापत प्रा.वि.रु–२५÷, नि.मा.वि.रु–५०÷ र मा.वि.रु–१००÷पाउने व्यवस्था थियो । यो भन्दा अरु कुनै थप सुबिधा शिक्षकहरुलाई थिएन । विद्यालयलाई प्रशासनिक र मसलन्द खर्च बापत प्रा.वि.का विद्यार्थी संख्याको आधारमा प्रति विद्यार्थी मासिक रु–१÷५० का दरले निकासा हुने गर्दथ्यो । मा.वि.र नि.मा.वि.लाई भने केही थिएन । शिक्षकको तलव भत्ता बापतको रकम मध्ये प्राथमिक तहमा २५% र नि.मा.वि.र मा.वि.तहमा ५०% रकम विद्यालयले स्वयं नै व्यहोर्नु पर्दथ्यो । राष्ट्रिय शिक्षा योजना अघि विद्यार्थीको शुल्कको आधारमा सीमित रुपमा न्युनतम रु–५०÷–देखि अधिकतम रु–२००÷–सम्म तलब पाउने गरेका हामी शिक्षक अत्यन्त खुशी थियौं ।
निरीक्षण व्यवस्थामा प्राथमिक विद्यालय निरीक्षक (प्रा.वि.नि.)र माध्यमिक विद्यालय निरीक्षक (मा.वि.नि)को प्रावधान रहेको थियोे । प्रा.वि.नि. को तह ना.सु. सरह र मा.वि.नि.को तह अधिकृत स्तरको नै हुन्थ्यो । उनीहरुको काम विद्यालयको शैक्षिक , भौतिक र प्रशासनिक निरीक्षण , अनुगमन र फिडव्याक दिनुका साथै शिक्षक शिक्षण तालिम दिनु थियोे ।
२०२८ साल देखि राजा महेन्द्रको स्वर्गारोहण पछि राज्यारोहण गरिरहेका राजा विरेन्द्रको शुभराज्यभिषेक सम्पन्न हुने सिलसिलामा २०३१ साल फगुन १२ गते प्राथमिक शिक्षा निशुल्क घोषणा गरिएको दिन थियोे ।तत्काल शिक्षाको प्राथमिक तह भनेको १–३ कक्षा मात्र थियो । तैपनि पूर्ण निःशुल्क भने भएन । निःशुल्क हुनको लागि शुल्क र पाठ्यपुस्तक मात्र सरकारले व्यहोरेर पुग्दैन । कापी , कलम , पेन्सिल , झोला , खाजा , लगायत प्राथमिक कक्षाका बालबालिकाहरुको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीसमेत सरकारले व्यहोर्नुपर्ने थियो । त्यो नभए पनि यसलाई सकारात्मक रूपमा लिनुपर्दछ ।
अहिले पनि माध्यमिक शिक्षा सम्म निःशुल्क भनिएको छ ।पाठ्यपुस्तक र शिक्षण शुल्क मात्र सरकारले व्यहोर्ने गरेको छ। यसलाई पूर्ण निःशुल्क मान्न सकिन्न । राजतन्त्रात्मक पञ्चायती व्यवस्थामा भन्ने गरेको निःशुल्क शैक्षिक व्यवस्थापन र अहिले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा भएको निःशुल्क शैक्षिक व्यवस्थापनमा कुनै फरक छैन । मात्र तत्काल प्राथमिक तह र अहिले माद्यामिक तहसम्म । त्यो पनि व्यवस्थाले होइन कि समयले ल्याएको परिवर्तन हो ।
अब त्यस ताकको देशको राजनैनिक परिस्थितिको कुरा गर्दा निर्दलीय राजतन्त्रात्मक पन्चायती ब्यवस्था त्यसबेलाको राजनैतिक ब्यवस्था थियोे । राजनैनिक दलहरू थिए तर प्रतिबन्धित थिए । नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टीहरु भूमिगत रूपमा आफ्नो राजनैतिक गतिविधि गर्दथे । ती भूमिगत पार्टीहरुले पन्चायत विरोधी गतिविधि गरेको पन्चेहरुले थाहा पाएमा प्रमुख जिल्ला अधिकारी समक्ष उजुरीपुग्थ्यो। अनि उसलाई थुनुवामा राखी ब्यवस्था विरोधी वा देशद्रोही कसुर बापतको मुद्दा लगाइन्थ्यो ।
२०३४ साल असार ५ गते नेपाल कम्युनिस्ट पार्टीले राजतन्त्रको विरुद्धमा देशब्यापी पर्चा वितरण कार्य गरेको आरोपमा पन्चहरुको उजुरीको आधारमा मलाई प्रमुख जिल्ला अधिकारीले केही कुरा बुझ्ने बहानामा पत्रद्वारा बोलाई प्रहरी हिरासतमा राखेको अवस्थामा अर्घा गाउँ पन्चायतका तत्कालीन अगुवा र भद्र समाजसेवी कार्यकर्ता आदरणीय तोजबहादुर रायमाझीको जमानत र तत्कालीन जिल्ला शिक्षा अधिकारी र मा.वि.नि.को प्राबिधिक सल्लाह र सहयोगमा म थुनुवा मुक्त भएको थिएँ । आदरणीय तोजबहादुर रायमाझी अहिले जीवित नै हुनुहुन्छ । उहाँ अहिले ८९ वर्षको हुनुहुन्छ ।उहाँको सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्दछु । जि.शि.अ. काठमाडौ र मा.वि.नि. महोत्तरीका हुनुहुन्थ्यो । मलाई थुनुवा मुक्त गर्ने कार्यको लागि म उहाँहरू तिनै जना प्रति आभार प्रकट गर्दछु ।
२०३६÷३७ देखि नै यो विद्यालयलाई मा.वि.मा स्तर उन्नति गर्ने योजना बनाई रकम जुटाउने श्रोतको खोजीमा लागिएको थियो । शिक्षकहरुको तलब पनि सरकारी अनुदान पूरा नआउने भएकोले विद्यालयले ब्यहोर्नु पर्ने रकम सङ्कलन गर्नु पर्दथ्यो । त्यसको श्रोत भनेको चन्दा , भैलो , विद्यालयको जग्गामा खेती , सबैको सहमतिमा घडेरी बितरण आदि कार्यहरू बाट रकम सड्ढलन गरिएको थियोे ।
२०३६ सालमा पाकिस्तानको जुल्फिकर अलि भुट्टो लाई फाँसी दिएर हत्या गरेको विरुद्धमा सुरु भएको आन्दोलनबाट विकसित आन्दोलन नेपालमा उत्कर्षमा पुग्दा २०४६ सालमा ब्यवस्था नै परिवर्तन गर्न सफलभयो। आन्दोलनको त्यो अवधिमा मैले शिक्षक आन्दोलनको नेतृत्व गर्दै आएको थिएँ ।२०३६ साल देखि सुरु भएको आन्दोलनले २०३९ सालमा आफ्नो पेसागत सङ्गठन नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको स्थापना गर्न सफल भयो ।२०३९ साल चैत्र २९ गते भुटन देवी मा.वि.मकवानपुरमा भएको आन्दोलनकारी शिक्षकहरूको भेलाले सोही विद्यालयका प्रधानाध्यापक बद्री प्रसाद खतिवडाको अध्यक्षतामा गठन भएको केन्द्रीय समिति सोही दिन नै सार्वजनिक घोषणा गरिएको थियो । यो शिक्षक सङंगठन तमाम नेपाली शिक्षकहरूको प्रतिनिधित्व गर्दै कैयौं नेपाली शिक्षक सहिदहरुको रगत र बलिदानबाट निर्माण भएको हो । यद्यपि अहिले यो सङगठन नेकपा (एमाले)को भातृसंगठन बनेको छ ।
नेपालको शिक्षक आन्दोलनले आफ्नो पेसागत संगठन निर्माण गरे पश्चात् आफ्ना जाहेज मागहरू लिएर अगाडि बढ्दै जादा मैले यस संगठनको केन्द्रीय प्रतिनिधिमा रहेर आन्दोलनको नेतृत्व गर्दै आएको थिएँ । यसरी सक्रिय रूपमा आन्दोलनको नेतृत्व गरेकै कारण तत्कालीन पन्चायती सरकारले मलाई वारेण्ट जारी गर्ने , गिरफ्तार गर्ने , प्रहरी हिरासतमा राख्ने , अनेक पीडा र क्रूर यातना दिने ,
कथित राज्य ब्यवस्था बिरुद्धको अपराधको कसुरमा मुद्धा लगाउने समेत गरेको थियोे ।
२०३९ सालको चुनाव बहिष्कारको आरोपमा रजस्थल मा.वि.(तत्कालीन नि.मा.वि.) का शिक्षक टंक भुसाल सँगै मलाई पनि पंचायती प्रशासनले वारेन्ट जारी गरेको थियो । टङ्कजी र नेता खुबिराम आचार्य गुरुजीले गिरफ्तारी दिनुभयो । म भुमिगत भएँ । अर्घाखाँची जि.प्र.का.मा टङ्कजीलाई कुटेर हत्या भयो । खुबिराम गुरुलाई मरणासन्न हुने गरि कुटपिट गरियो । तत्कालै टङ्कजी सहिद घोषित हुनुभयो । श्रद्धेय सहिद टङ्क भुसाल प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्न चाहन्छु । आदरणीय गुरु खुबिराम आचार्य अहिले हामी संग रहनु भएन । उहाँ प्रति पनि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
यसरी विभिन्न बहानामा प्रशासनले दुःख दिईरहेकै बेला मेरो माग र विद्यालयको आवस्यकताको आधारमा विद्यालयले मलाई अध्ययन बिदामा पठायो ।२०४० साल देखि म अध्ययन बिदामा रहेर त्रिभुवन विश्व विद्यालय किर्तीपुर केन्द्रीय क्याम्पसमा अध्ययन सुरु गरें । अध्ययनमा रहंदा पनि शिक्षक र विद्यार्थी आन्दोलनको नेतृत्वमा मेरो निरन्तरता रह्यो ।
२०४१ सालको शिक्षक आन्दोलनको “काठमाडौ जाऔ“ कार्यक्रममा रत्नपार्कको धर्ना कार्यक्रमको नेतृत्व गरिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरी महेन्द्र पुलिस क्लवमा थुनुवामा राखेर लाठीचार्ज गरि टाउकोमा गम्भीर घाउ सहित मरणासन्न अवस्थामा पुर्याएको थियोे । प्रहरी हिरासतबाट मुक्त भएको केही दिन मै पन्चायती मण्डलले गुण्डाहरुको आक्रमणबाट नाक समेत भांचिने गरि भएको कुटाइ बाट शक्त घाइते भएको थिएँ । किर्तिपुरको होस्टेल काण्डमा ने.वि.संघको कुटाइबाट गम्भिर घाइते भएको थिएँ । यसरी पटक –पटकको कुटाइबाट स्वास्थ्य स्थिति गम्भीर भएको थियोे । स्वास्थ्य स्थिति सुधार्न वर्षौं लागेको थियो ।
अहिलेसम्म शिक्षक आन्दोलनको मात्र चर्चा गरियो । विद्यार्थी, किसान, मजदुर लगायत सम्पूर्ण नेपालीहरु आ–आफ्ना माग लिएर सडकमा उत्रिँदा आन्दोलनले राजनैतिक रुप लिएको थियोे । २०३६ देखि २०४६ सम्म आन्दोलनकारीले आ–आफ्ना मागहरु पुरा गर्न सफलता प्राप्त गर्दै आए । आन्दोलनको १० वर्षको अन्त्यमा राज्य ब्यवस्था नै परिवर्तन भयो । बहुदलीय ब्यवस्था स्थापना भयो ।
२०४२ सालमा मेरो अध्ययन बिदा समाप्त भयो र अध्ययन पनि पूरा भयो । तर पंचयती सरकारले मेरो अध्ययन बिदाको तलब दिन अस्विकार गरेकोले मैले नियमानुसार पाउनुपर्ने तलब पाउन मुद्दा गर्नु परेको थियोे । मलाई अध्ययन बिदा स्वीकृत गरी पठाउने र तलब खानको लागि मुद्दामा सहयोग गर्ने विद्यालय संचालक समितिका अध्यक्ष डिल्लीराज खनाल लगायत पुरै समिति प्रति कृतज्ञता प्रकट गर्दछु र पुनः धन्यवाद दिन चाहन्छु । अहिले हामी बीच नरहनु भएका तत्कालीन अध्यक्ष डिल्लीराज खनाल लगायत अन्य दिवङ्गत सदस्यहरु प्रति हृदयदेखि श्रद्धा सुमन अर्पण गर्दछु । जीवित रहनुहुनेहरु प्रति दीर्घ जीवनको शुभकामना ।
अध्ययन बिदाबाट फिर्ता आएपछि सट्टा शिक्षकबाट काम चलिरहेको हुनाले म मेरो गाउँको विद्यालयलाई स्तर उन्नति गर्नुपर्ने भएकोले अर्घा मेहलपानी मा.वि.मा काजमा बसें । करिब १ वर्षपछि स्तरोन्नतीको आधार तयार भएपछि म यही जिल्लाको जनप्रिय मा.वि.असुरकोट्मा जानुपर्ने आवश्यकता भएकोले एक वर्ष २०४३ साल भर काजमा त्यस विद्यालयमा रही अध्यापन कार्य गरें ।
२०४४ सालमा म विश्व मा.वि.मा काज फिर्ता भएँ । मा.वि.शिक्षकको विज्ञापन पनि खुल्यो । म मा.वि. स्तरमा अस्थायी थिएँ । दरखास्त दिएँ । २०४५मा लिखित परीक्षा भयो । २०४६ मा नतिजा प्रकाशन भयो । अन्तर्वार्ता पछि नतिजा प्रकाशित हुँदा नतिजा प्रकाशनको पहिलो सूचीको १ नम्बरमा मेरो नाम देख्न पाउँदा मलाई निकै खुशी लाग्यो ।२०४६ साल आषाढ ३० गतेदेखि लागु हुने गरी नियुक्ति पाउनु पर्नेमा नतिजा प्रकाशन सूचीको १ नम्बर मेरो ठेगान लाग्न नसकेको कारण अर्घाखाँचीका यो पटक स्थायी भएका शिक्षकहरूको नियुक्ति बितरणमा २ वर्ष ढीलोभई घाटा भएको थियोे । विश्व मा.वि.मा नयाँ मा.वि.भएकोले दरवन्दी पाएको थिएन । मैले रोजेका विद्यालयहरु (१)जनज्योति मा. वि. र (२) शिद्धार्थ मा.वि.थिए । मलाई ती विद्यालयहरुमा जानको लागि सहमति जुट्न नसक्नुका कारण यस पटक स्थायी हुने जिल्लाभरका शिक्षकहरूलाई २ वर्ष घाटा हुन गएको हो ।
२०४८ सालमा मलाई थाहा नै नदिएर नयाँ शैक्षिकसत्रकोसुरु श्रावण १ देखि लागू हुने गरि नियुक्ती वितरण गर्ने तयारी भएछ । मलाई माग अनुसारको विद्यालय नदिएर हुलाक मार्फत जनप्रिय मा.वि. असुरकोटमा नियुक्ति पठाएर नतिजा सूचीको २ नम्बर देखि नियुक्ति वितरण गरिएछ । मैले थाहा पाएँ । मैले नियुक्ति नबुझी फिर्ता पठाइदिएँ । मलाई शिक्षामा बोलाइयो र सोधियो । अधिकारको हनन भएकोले नियुक्ति नबुझी न्यायको खोजीमा जाने मेरो निर्णय सुनाएपछि म त्यहाँबाट घर फर्कें । अर्को दिन मैले मागेको दोश्रो विद्यालय सिद्धार्थ मा.वि.का आदरणीय प्र.अज्यूले मलाई बोलाएर हाजिर गराउनु भयो । नियुक्ति बुझ्दा जनप्रिय मा.वि.मा. दरवन्दी कायम गरी शिक्षा समितिको बैठकले काजमा यो सिद्धार्थ माध्यमिक दविद्यालयमा पठाएको रहेछ । २०५३ सम्म काजमा रही अध्यापन गरें ।२०५३ मा यसै विद्यालयमा पदस्थापन भयो । २०५८ सम्म पढाएँ । २०५८ देखि २०७० सम्म श्रोत ब्यक्ति भई काम गरें । २०७०साल मङ्सिर ६ गते सेवा निबृत्त भएँ ।
शिक्षण सेवाबाट सेवानिबृत्त भएपनि मैले मेरो जीवन रहुन्जेल समाजमा केही गर्न सकें भने शिक्षा सेवामा नै गर्ने छु । यही विद्यालयको प्र.अ.भएपछि २०३१ साल देखि नै मैले शिक्षा क्षेत्र र राजनीति क्षेत्रमा समेत गरेको संघर्षका केही अंश यसै सन्दर्भमा अघि नै उल्लेख गरिसकेको छु । यसै कार्यक्रममा सम्मानित हामी पूर्व शिक्षकहरूबाट यस विद्यालयको लागि प्रदान गरी स्थापना गरिएको अक्षयकोष नियमित र ब्यवस्थित हुन सकोस् । यो विद्यालय स्थापना काल देखि हालसम्मका प्र.अ. तथा शिक्षकहरूको नाम र ठेगाना सहित क्रमागत रूपमा अभिलेख ब्यवस्थित गरी राख्न कार्यरत प्र.अ. तथा शिक्षकहरूबाट पहल र प्रयत्न होस् । २०३१ साल देखि हाल सम्म कै यस विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, सहयोग समिति, संचालक समिति ,ब्यवस्थापन समिति र शिक्षा प्रेमी मित्रहरूबाट मैले पाएको न्यनो मायाँको साथै सहयोगको पुनः स्मरण गर्न चाहन्छु । र उहाँहरू सबै प्रति आभार प्रकट गर्दै दिवङ्गत हुनुहुने सबै प्रति श्रद्धाञ्जली अर्पण गर्दछु । हाल सम्म जीवित सबैलाई दीर्घ जीवनको कामना गर्दछु । यो कार्यक्रमको आयोजक टोलीलाई पुनः धन्यवाद दिंदै यो विद्यालयको प्रगति उच्च शिखरमा पुगोस् भन्दै शुभकामना ब्यक्त गर्दछु । धन्यवाद ! अभिवादन !!
पूर्व प्रधानाध्यापक श्री विश्व मा.वि.,ढाकावाङ्ग ,अर्घाखाँची मिति ः२०७९ चैत्र १८