निर्मल लामा •• विश्व कम्युनिस्ट आन्दोलनमा प्रभुत्त्व जमाउँदै गएको संशोधनवादको उग्र हावाबाट नेपाली कम्युनिस्ट आन्दोलन आज गहिरोसँग प्रभावित भइरहेको छ । क। स्टालिनको मृत्युपछि सोभियत संघमा निकिता ख्रुश्चेभले अघि सारेको सुधारवादी धार समेत सबै संशोधनवादी धारका विरुद्ध संघर्षरत माओविचारधारा र त्यस पक्षमा आन्दोलन गर्ने मस्कोपन्थीहरुको हाराहारीमा मा।ले। समूहको आजको घोषित पतनले यही कुरालाई पुष्टि गर्दछ ।
विश्व कम्युनिस्ट आन्दोलनमा देखापरेको संशोधनवादी सुधारवादी धारासहित नेपालमा क्रियाशील यस धाराका विरुद्ध वैचारिक संघर्षमा अग्रपंक्तिमा रहेर, दृढतासाथ संघर्ष गरेर मात्रै मार्क्सवाद–लेनिनवाद तथा माओ विचारधाराको क्रान्तिकारी धाराको रक्षा गर्न र यसलाई समृद्ध बनाउन सकिन्छ ।
संशोधनवाद तथा सुधारवादको मूल लक्ष्य मार्क्स, एंगेल्स तथा लेनिनका मूल शिक्षाहरुलाई ‘पुनर्निरीक्षण’ र ‘संशोधन’को निहुँमा मार्क्सवादका आधारभूत प्रस्थापनाहरुको अस्वीकृति र पुँजीवादी उदारवादको पक्षपोषण गर्नु रहने गरेको छ । यसले वर्ग संघर्षको मार्क्सवाद आधारलाई बुर्जुवा प्रजातन्त्र र सार्वजनिक मताधिकारले नष्ट गरिदिएको छ । र, सशस्त्र संघर्षको क्रान्तिकारी माध्यमबाट बुर्जुवा वर्गको सत्ता हस्तगत गर्नु र सर्वहारावर्गको अधिनायकत्त्व स्थापना गर्नु आवश्यक छैन भन्ने धारणालाई अघि सार्यो ।
दोस्रो इन्टरनेशनलका अवसरवादी नेता एडवर्ड वर्नस्टाइनले उन्नाइसौं शताब्दीको अन्तिम दशकमा ‘समाजवादका समस्याहरु’ शीर्षक लेखमाला अन्तर्गत वैज्ञानिक समाजवादका दार्शनिक, राजनीतिक एवं अर्थशास्त्रीय पक्ष जस्ता आधारभूत प्रस्थापनामाथि आक्रमण गरे । उनले वर्ग संघर्ष आफै समाप्त हुँदै जाने हुनाले सर्वहारावर्गको अधिनायकत्त्वको आवश्यकता छैन भन्ने तर्क ल्याए । दोस्रो इन्टरनेशनलका अर्का नेता कार्ल काउत्स्कीले पनि यसैको अनुकरण गर्दै ‘सर्वहारावर्गको अधिनायकत्त्व ’ नामक कृतिमा ‘भनाइमा पाखण्डपूर्ण समर्थन र व्यवहारमा त्यसको परित्याग’ पूर्णता गरेर ‘पूर्ण प्रजातन्त्र’ ‘शुद्ध प्रजातन्त्र’ का गलत कुराहरु प्रस्तुत गरी ‘मार्क्सवादलाई कुपमण्डकीय विकृतिमा ओह्राले’ । ‘वर्गीय आधिपत्यमा आधारित राज्यलाई जनताको राज्यमा परिणत गरिदिन पर्छ’ भन्ने अवसरवादी विचारको उत्थान तिनीहरुबाटै भएको थियो । हिजोको ख्रुश्चेभको ‘सबै जनताको राज्य’ वा ‘सोभियत प्रजातन्त्र’ आजको गोर्भाचेभले ल्याएको ‘पेरेस्त्रोइका र ग्लासनोस्त’ वा तेङका विचारहरुको स्रोत एउटै हो ।
यसरी, त्यो दोस्रो इन्टरनेशनलको अवसरवादी प्रवृत्तिसँग गाँसिएको छ । ‘नयाँ स्थिति’, ‘नयाँ युग’को निहुँ पारेर आजका रुस र चीनका नेताहरुले उही पुरानो षड्यन्त्रलाई पुनर्जागृत गराएको कुरामा शंका गर्ने ठाउँ छैन । वर्गसंघर्ष, राजनीतिक क्रान्ति, सर्वहारावर्गको राजनीतिक सत्ताको आवश्यकतालाई अस्वीकार गर्ने सुधारवादी धापबाट यिनीहरु सर्वथा मुक्त छैनन् । र, यिनीहरुले आफूलाई बुर्जुवा प्रजातन्त्रको दलदलमा पतन गराएका छन् । त्यसैले आज पूर्वी जर्मनी, चेकोश्लोभाकिया र अन्य पूर्वी युरोपेली देशहरुमा देखापरेको बुर्जुवा स्वतन्त्रता र प्रजातन्त्रको लहरको बाह्य कारण रुसमा गोर्भाचोभको अभ्युत्थानसँगै देखापरेको ‘पेरेस्त्रोइका’ र ‘ग्लासनोस्त’ बन्न पुगेको छ । त्यसको आन्तरिक कारण चाहिँ मार्क्सवादका आधारभूत विचारहरुको परित्याग, विचार एवं आर्थिक नीतिको विचलनवाट सृजित नोकरशाहीपन, नातावाद, भ्रष्टाचार, जनतालाई राज्यका सबै क्रियाकलापमा सहभागी बनाउने काममा निष्क्रियता, जनताका अधिकार र सुविधाप्रति बेवास्ता, समाजवादी आर्थिक समृद्धिप्रति अमान्य र सामूहिक स्वामत्विका आधारमा निर्मित संस्कृतिभन्दा व्यक्तिगत स्वामित्वप्रति समर्पित पुँजीवादी संस्कृतिप्रति मोह आदि बन्न पुगेको छ ।
पुँजीवादी संसद र बहुदलीय व्यवस्थालाई वर्तमान अवसरवादी नेतृत्वले सर्वहारा प्रजातन्त्रभन्दा माथि राख्ने सबै किसिमका प्रयत्नहरु गरिरहेको छ । उनीहरुका दृष्टिमा सर्वहारा वर्गको अधिनायकत्त्वमा प्रजातन्त्र पाइँदैन । यो सरासर मार्क्सवादको अस्वीकृति हो । ‘पुँजीवादी संसदीय व्यवस्थाको सार सत्तारुढ वर्गको कुन चाहिँ सदस्यले संसदमा गएर जनतालाई दमन र उत्पीडन गर्ने हो भन्ने प्रश्नमा केही वर्षमा एक पल्ट निर्णय लिनु हो । यो कुरा संवैधानिक राजतन्त्रमा मात्र होइन, सबभन्दा प्रजातान्त्रिक पुँजीवादी गणतन्त्रमा समेत लागु हुन्छ । त्यसैकारण लेनिनले मार्क्स, एंगेल्सझैं सबभन्दा प्रजातान्त्रिक पुँजीवादी गणतन्त्रमा पनि जनताको पुर्पुरोमा ज्यालादारी दासत्त्व मात्र हुन्छ भन्ने निष्कर्ष निकाल्नुभएको हो । त्यसैले बुर्जुवा प्रजातन्त्रले सर्वहारा जनतन्त्रको महत्त्वलाई भेट्न सक्तैन । किनभने लेनिनकै शब्दमा सर्वहारा जनतन्त्र ‘प्रजातन्त्रको ज्यादै उच्चस्तरतीय रुप हो । पुँजीवादी विकृतिबाट मुक्तिको द्योतक हो र समाजवादी प्रजातन्त्रतर्फको संक्रमण र राज्यको विलयको प्रारम्भको संभावनातिर डोर्याउने लक्षण हो ।’
पुँजीवादी प्रजातन्त्रले हरेक किसिमका स्वतन्त्रताहरु–अधिकारहरुको भव्य र शानदार घोषणा गर्नमा सारा शक्ति केन्द्रित गरे पनि यथार्थमा खास बहुसंख्यक सर्वहारा र किसान जनतालाई तिनको पर्याप्त मात्रामा प्रयोगको सम्भावना दिदैन । तर सर्वहारा प्रजातन्त्रले चाहिँ सम्पूर्ण जनताको निम्ति अधिकारहरु र स्वतन्त्रताको घोषणामा ध्यान दिनुका साथै पुँजीद्वारा उत्पीडन एवं सम्पूर्ण शोषित जनतालाई राज्यको सञ्चालनमा वास्तविक रुपमा सहभागी बनाउँछ र जनतालाई संस्कृति, सभ्यता र प्रजातन्त्रका सम्पूर्ण फलहरुको उपभोग गर्ने अवसर प्रदान गर्दछ । यसले प्रजातन्त्रको वास्तविक उपभोगमा संसारमा कतै नदेखिएको व्यापकता प्रदान गर्दछ ।
पुँजीवादी संसदीय व्यवस्थामा जनताका लागि नभएको प्रजातन्त्र र जनताका विरुद्ध लक्षित तानाशाही सँगसँगै रहन्छन् । सर्वहारा प्रजातन्त्रले चाहिँ नोकरशाहीको मूलोच्छेदन गर्न चाहने मात्र होइन, अन्त्यसम्म नोकरशाहीको पूर्ण उन्मूलन गर्न जनताका निम्ति पूर्ण प्रजातन्त्रको स्थापनामा अनवरत प्रयत्नहरु चलिरहन्छ । मार्क्सवादका यी गहनतम् नीतिलाई समाजवादी राष्ट्रहरुम नेतृत्वमा पुग्न सफल भएका संशोधनवादीहरुले पूर्णतः उपेक्षा गरे । लालफिताशाही वा नोकरशाहीपनका विरुद्ध रुसमा स्टालिनको समाययता कुनै प्रयत्न नचालिएको मात्र होइन, त्यहाँ र अन्यत्र नोकरशाहीले उग्र रुप धारण गरेको छ ।
जनतालाई राज्य सञ्चालनमा वास्तविक रुपमा सहभागी बनाउनुको साटो शब्दमा मात्र न त त्यहाँ निम्न पुँजीवादी संस्कृतिको विरुद्ध सांस्कृतिक क्रान्तिलाई परिचालित गरिएको छ । पूर्वी युरोपेली देशहरुबाट यस्तो प्रक्रियाबारे कहिल्यै सोच्ने गरिएन । यही कारण वर्ग संघर्षप्रति घृणा राख्ने वर्ग संघर्ष विना नै काम चलाउन इच्छा गर्ने र समाजवादी अर्थनीति एवं सर्वहारा अधिनायकत्त्व विना सर्वहारा जनतन्त्रको विद्यमानतामा नरहने जस्ता तीखा प्रश्नहरुलाई छोपछाप पार्ने आदि निम्न बुर्जुवा विशेषताबाट ग्रस्त गोर्भाचोभले ल्गासनोस्तको गलत निष्कर्ष नोकरशाहीबाट उब्जेका विसंगत प्रक्रियालाई हटाउन परेको यथार्थलाई स्वीकार्न बाध्य हुनुपरेको छ ।
नोकरशाहीका अतिरिक्त पुँजीवादी उदारवादप्रति समर्पित अर्थनीतिबाट उत्पन्न भ्रष्टाचार, कालाबजारी, अपराध बृद्धि, गुण्डागिरी, अनुशासनहीनता, स्वच्छन्दता, सांस्कृतिक अधोपतनबाट ग्रस्त यी देशका जनताको प्रतिरोध पनि मार्क्सवादको विरुद्ध नभएर यिनै त्रुटिहरुप्रति लक्षित छ । उनीहरु यी मार्क्सवादकै उपज मान्न पुगेका छन्, जबकि यी विकृतिहरु मार्क्सवादको पलायनबाट उत्पन्न भएका हुन् । र, पूर्णतः संशोधनवादका असफलताहरु हुन् । त्यसैले विश्वमा नयाँपनको नाममा गोर्भाचोभको अन्ध प्रशंसा वा पुँजीवादी साम्राज्यवादीहरुको मार्क्सवाद असफल भयो भनी बजाइने थपडी दुवैमा कुनै सत्यता छैन । आजको स्थिति वस्तुतः मार्क्सवादको असफलता नभएर मार्क्सवादको नाममा मार्क्सवादलाई विकृत पारेर गरिएको गलत क्रियान्वयनहरुबाट उत्पन्न विसंगतिप्रति जनताको प्रतिरोध मात्र हो ।
आज धडाधड पुँजीवादी जकडमा बाँधिदै जान थानेका हिजोका समाजवादी देशहरुले अर्थतन्त्रलाई राष्ट्रिय स्वामित्वबाट सामूहिकतामा र सहकारीताबाट व्यक्तिगत स्वामित्वमा ओह्रालेका छन् । यही व्यक्तिगत स्वामित्वले त्यहाँ निजी स्वामित्वको जन्म भएको हो र पुँजीवादी परिवर्तनको बाटोलाई फराकिलो पार्ने कार्य त्यसैले गरिरहेको छ ।
लेनिनले सोभियत सत्ताको विलयपछि सोभियत गणतन्त्रमा कार्यान्वयित गरिन थालिएको उच्च तहको प्रजातन्त्रको अवस्थामा पुँजीवादी संसदीय व्यवस्था र पुँजीवादी प्रजातन्त्रतिर फर्कने जुनसुकै कदम पनि अवश्यम्भावी रुपले शोषकहरुको हितको सेवा गर्ने प्रतिक्रियावादी कदम हुनेछ भनी उल्लेख गर्नुभएको थियो । लेनिनको उक्त पूर्वघोषणालाई आज पूर्वी जर्मनी र चेकोश्लोभाकियाले अति राम्ररी प्रमाणित गरिरहेका छन् । यस प्रसंगमा हामी लेनिनले प्रस्ट पार्नुभएको कुन कुरामा बढी जागरुक बन्नु आवश्यक छ भने ‘जबसम्म जग्गा जमीन र उत्पादनका अन्य साधनहरुमा व्यक्तिगत स्वामित्व रहनेछ, त्यहाँ पुँजीवादी वर्गको अधिनायकत्व नै रहिरहन्छ , त्यस्तो राज्य श्रमिकहरुलाई दबाउने यन्त्र नै बनिरहन्छ ।’
‘सर्वहारा अधिनायकत्त्व’ यस सुत्रमा मार्क्सले समस्त क्रान्तिहरुको ऐतिहासिक अनुभव, विश्वव्यापी आर्थिक तथा राजनीतिक शिक्षाहरुको सम्पूर्ण निचोड प्रस्तुत गर्नुभएको छ भन्ने लेनिनको दाबी छ । सर्वहारा अधिनायकत्त्व इस्पाती सत्ता हो, जुन क्रान्तिकारी तरिकाले साहसी र द्रुतगामी हुन्छ । यसले शोषकहरुको साथै गुण्डाहरुको पनि निर्मतापूर्वक दमन गर्छ तर यस इस्पाती सत्तालाई संशोधनवादीहरुले उग्रतापूर्वक विरोध मात्र गरेका होइनन्, नरम र फितलो सत्तामा नाममा जनताको तर काममा केही व्यक्तिहरुको निम्नबुर्जुवा अधिनायकत्त्वमा परिवर्तित गरेका छन् । र, आर्थिक, सांस्कृतिक एवं राजनीतिक पतनको सुरक्षा गर्ने सत्तामा रुपान्तरित गरेका छन् ।
सर्वहारा प्रजातन्त्र सर्वहारा अधिनायकत्त्वभन्दा फरक वस्तु होइन । ‘वास्तवमा सर्वहारा अधिनायकत्त्वअन्तर्गत प्रजातन्त्र एकदमै नयाँ अवस्थामा प्रवेश गर्छ र वर्ग संघर्ष अझ माथिल्लो खुड्किलोमा चढ्छ, यसका सबै प्रकारका रुपहरुलाई आफ्नो अधीनमा राख्छ । स्वतन्त्रता, समानता तथा प्रजातन्त्र सम्बन्धी कुरा गर्नु वास्तवमा ती धारणालाई रेट रटाएको तरिकाले दोहोर्याउनु हो, जुन वस्तु उत्पादनको साँचोमा ढालिएको हुन्छ । सर्वहारा अधिनायकत्त्व सम्बन्धी ठोस समस्याहरुलाई यस प्रकारका सामान्य कुराहरुद्धारा हल गर्न खोज्नु वास्तवमा सब कुरामा बुर्जुवा वर्गका विचारहरु एवं सिद्धान्तहरु स्वीकार गर्नु हो ।
सर्वहारा वर्गको दृष्टिले हेर्ने हो भने यस प्रश्नलाई मात्र निम्न तरिकाले राख्न सकिन्छ – कुन वर्गको उत्पीडनबाट स्वतन्त्रता रु कुन वर्गसँग समानता रु निजी स्वामित्वको आधारमा प्रजातान्त्रिक, निजी स्वामित्वको उन्मूलनका लागि संघर्षको आधारमा प्रजातन्त्र रु लेनिनको ज्वलन्त प्रश्नबाट हेर्दा आजका पुँजीपन्थी ‘कम्ययुनिस्टहरु’ निजी स्वामित्वको उन्मूलनका लागि संघर्षको आधारमा प्रजातन्त्रको माग गरिरहेका छैनन् भन्ने प्रस्ट छ । पुँजीको दासत्वको जुवा फाल्नको निम्ति गरिने संघर्षमा वर्गहरुको पूर्ण उन्मूलनको सम्पूर्ण संघर्षमा शोषक वर्गीय सत्ता हत्याउनु वा उनीहरुको स्वामित्व निर्मूल पार्नु मात्र पर्याप्त नभएर उत्पादनका साधनहरुमाथि जुनसुकै व्यक्तिगत स्वामित्व खत्तम गर्नु, शहर र गाँउका बिचको अन्तर मेटाउनु तथा शारीरिक एवं बौद्धिक श्रमका बिचको भेद पनि समाप्त पार्नुपर्छ । यस निम्ति सर्वहारा वर्गको अधिनायकत्त्व जरुरी शर्त हो र कुनै पनि किसिमको संगठित र व्यवस्थित बल प्रयोग मानवमाथि सबैखाले जोर जबर्जस्तीको समाप्ति अर्थात् राज्यको उन्मूलनको आफ्नो मूलभूत लक्ष्य पूरा गर्न मार्क्सवादीहरुका निम्ति सर्वहारा अधिनायकत्त्व अनिवार्य शर्त हो ।
राज्यको उन्मूलनको क्रममा सर्वहारा अधिनायकत्त्व अरु कुनै अधिनायकत्त्वमा रुपान्तरित नभई साम्यवादमा आफै विलोप भएर जानुपर्छ भन्ने मार्क्सवादको मूल तत्त्वलाई संशोधनवादीहरु पूर्णतः अपव्याख्या गरिरहेका छन् । मार्क्सवादको यस्ता थुप्रै गलत व्याख्या र विकृतिहरुको व्यवहारमा प्रयोगले गर्दा आज उत्पन्न भएको पुँजीपन्थी आँधीमा बग्नेहरुलाई समाजवादी ठान्ने तत्त्वबाट सावधान रहनु, तिनको पुँजीवादी चिन्तनधाराका विरुद्ध वैचारिक संघर्षमा सक्रिय सहभागी रहनु सबै क्रान्तिकारीहरुले आजको प्रमुख दायित्व ठान्नुपर्छ । निश्चय नै, विश्व संशोधनवादी चिन्तनधाराप्रतिको संघर्ष नेपालमा देखापर्ने संशोधनवादको राष्ट्रिय चरित्रबाट विमुख भएर पूरा हुन सक्तैन । विश्वस्तरमा देखापरेको संशोधनवादी हावाबाट नेपालको सन्दर्भमा कम्युनिस्ट आन्दोलनमा परेको प्रभावलाई ख्यालमा राखेर नै संशोधनवादविरोधी संघर्षलाई बढी लाभदायी ढंगले सञ्चालन गर्न सकिन्छ । दक्षिणपन्थी संशोधनवादको खतरालाई महत्त्व दिने क्रममा उग्रवामपन्थी अवसरवादबारे केही उल्लेख नगरिए पनि हामीले त्यस्तो अवसरवादले पनि अन्ततः दक्षिणपन्थी संशोधनवादकै ठाउँमा पुर्याउँछ भन्ने कुरा पटक्कै बिर्सनु हुन्न र यसप्रति पनि सदा सजग रहनुपर्छ ।
(निर्मल लामाद्वारा लिखित/प्रभुनारायण बस्नेतद्वारा सम्पादित “पार्टी र क्रान्तिका समस्याहरु” बाट साभार)