युवक संघले संगठनात्मक अभियान संचालन गर्ने

वैशाख १३, काठमाडौं । अखिल नेपाल युवक संघले वैशाख र जेष्ठ महिनामा संगठनात्मक अभियान संचालन गर्ने भएको छ । गत २०७९ चैत्र २९ र ३० गते पोखरामा सम्पन्न युवक संघको केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्र्दै समितिका अध्यक्ष जितामित्र सुनारले एक वक्तव्य मार्फत् सो कुरा जानकारी गराउनु भएको हो । बैठकले आगामी वैशाख १८ गते युवा श्रमशक्तिको पलायन र रोजगारी सिर्जनाका विषयमा अन्तक्र्रिया कार्यक्रम गर्ने लगायतका निर्णयहरु पनि गरेको छ । अध्यक्ष जितामित्र सुनारद्वारा २०८० वैशाख ३ गते जारी वक्तव्यको पूर्ण पाठ यसप्रकार छ –“अखिल नेपाल युवक संघ केन्द्रीय समितिको बैठक २०७९ चैत्र २९ र ३० गते कास्कीको पोखरामा सम्पन्न भएको छ । बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।
१) युवक संघले २०८० बैशाख र जेठ महिनाभरी देशव्यापी विशेष संगठनात्मक अभियान संचालन गर्ने भएको छ । यस अवधिमा युवक संघको संगठन निर्माण, पुनर्गठन, सदस्यता वितरण जस्ता कामहरूलाई देशव्यापी रुपमा संचालन गरिने छ ।
२) युवक संघको सबै ब्यूरोलाई पुनर्गठन गरिएको छ । सबै केन्द्रीय सदस्यहरुलाई एकल जिम्मेवारी रहने गरी एक केन्द्रीय सदस्य एक जिल्लाको जिम्मा तोकिएको छ ।
३)२०८० बैशाख १८ गते मे दिवसको दिन केन्द्रीय समितिको आयोजनामा बुटवलमा “नेपालमा युवा श्रम शक्तिको पलायनको समस्या र रोजगारीको संभावना !” विषयक अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।
४) स्वदेशमा रोजगारीको समस्याले लाखौं युवाहरु विदेश छन् । घरमा विभिन्न लघुवित्त वित्तीय संस्थाहरुले विभिन्न प्रलोभनमा पारेर ऋण लगानी गर्ने, चर्को ब्याज दर लाद्ने र वचत गरेको रकम भुक्तानी गर्न नमान्ने, अलमल गर्ने गरेको अवस्था छ । कैयौं परिवारहरूको बिचल्ली बनाउने, उठिबास गराउने र लघुवित्त संस्थाहरुको दवाव र सामाजिक रुपमा अपहेलित हुने वातावरण गरिदिनाले आत्महत्या गर्ने दुःखद् घटनाहरू पनि समाजमा व्यापक बढेर गएको छ । दण्ड जरिवाना गर्ने निकाय हुँदा हुँदै स्वयम् वित्तीय संस्थाहरुलाई हातपात गर्नेदेखि अमानवीय व्यवहार गर्ने छुट कसरी प्राप्त भयो ? बैठकमा यो विषयमा गम्भीर छलफल हुनुका साथै नेपाल सरकारलाई यो विषयमा ध्यानाकर्षण गराउने र अटेरी गरेमा आन्दोलन गर्ने निर्णय गरेको छ ।
५) नेपाल कृषिप्रधान देश हो । तर देशमा कृषक र कृषिलाई प्रोत्साहन गर्ने गरिएको छैन । ठूलो पैमानामा तरकारी भारत लगायत देशबाट आयात गरिएको छ । तर तरकारीको गुणस्तर र विषादीको समेत राम्रोसँग परीक्षण नगरी स्वास्थ्य माथि ठूलो खेलवाड गरिएको ठहर गरेको छ ।
६) देशमा मौलाउँदै गएको महङ्गी, कालाबजारी, भ्रष्टाचार र गुण्डा गर्दीले नेपाली जनताको जनजीवन कष्टकर बन्दै गएको छ । स्वदेशमा रोजगारीको संभावना छैन । नेपाली युवाहरुको जीवन यापनको माध्यम विदेशका गल्ली चाहार्ने भन्दा अरु केही उपाय रहेन । देश टाट पल्टने अवस्थामा पुगेको छ । बैठकले शासकहरूलाई यी विषयमा गम्भीर हुन ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।
७) नेपालको सार्वभौम अखण्डतामाथि आँच आउने गरी ल्याइएका एमसीसी लगायतका योजनाहरूको घोर विरोध गर्दै संघर्ष गर्ने निर्णय पनि गरेको छ ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित