काठमाडौं । राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालले आज रत्नपार्कमा मिटरब्याज पीडितमाथि प्रहरीद्वारा गरिएको दमनको निन्दा तथा भ्रत्सना गर्दै एक वक्तव्य प्रसारित गरेको छ ।
किसान–मजदुर संयुक्त संघर्ष समितिले जुलुसको तयारी गर्दै गर्दा निहत्था जनसमुदायमाथि दमन गरिएको प्रति वक्तव्यमा विरोध प्रकट गर्नुका साथै मिटर व्याज पिडितहरुका माग अविलम्ब पूरा गर्न, प्रहरीद्वारा गिरफ्तार गरिएकालाई तुरुन्त रिहा गर्न सरकारसित माग गरिएको छ ।
सरकारलाई आगामी दिनमा यस्ता कार्य नगर्न चेतावनी दिइएको छ । वक्तव्यमा भनिएको छ “अब उप्रान्त यसप्रकारका अपराधहरु नगर्न प्रचण्ड नेतृत्वको सरकारलाई गम्भीर चेतावनी दिन चाहन्छौं । यदि सम्बन्धित समस्याहरुलाई गम्भीरता र जिम्मेवारीपूर्वक हल नगरेमा हुने गम्भीर परिणामको जिम्मेवार स्वयं सरकार हुनेछ र वर्तमान दलाल सरकार र व्यवस्थाले अकल्पनीय क्षति बेहोर्नुपर्ने छ ।”
राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालका संयोजक नारायण शर्माद्वारा २०८० बैशाख ४ गते जारी गरिएको वक्तव्य :
“आज मिटरब्याज पीडित किसान–मजदुर संयुक्त संघर्ष समितिको आयोजनामा जुलुस को तयारी गर्दै गरेका निहत्था जनसमुदाय लगायत कतिपय राजनीतिक पार्टीका नेता, किसान संगठनका नेता, राष्ट्रिय क्रान्तिकारी मोर्चाका नेता तथा बाटो हिंड्दै गरेका बटुवाहरुमाथि सरकारले अत्यन्त क्रूर दमन गरेर दर्जनौं घाइते बनाएको छ भने कैयौंलाई गिरफ्तार गरेको छ ।
चित्र विडम्बना त के भयो भने शान्तिबाटिकाभित्र शिवीरमा बसेका पीडितहरुको पीडा, माग र आन्दोलनप्रति ऐक्यबद्धता जनाउन पुगेका सरोकारवाला सबैलाई बाहिबाट गेटमा ताला लगाई थुनेर निस्कन दिइएन । त्यतिले पनि नपुगेर गेट खोलेर बाहिर निस्कँदै गर्दा अन्धाधुन्द लाठी, अश्रुग्यास र पानीको फोहराद्वारा निर्लज्ज र निर्मम दमन गरेको छ । यसक्रममा लोकनारायण सुवेदी, सीताराम तामाङ, ज्योतिलाल वनलगायतका विभिन्न वरिष्ठ राजनैतिक र बौद्धिक व्यक्तित्वहरु एवं अकबर मियाँ, निर्ग नवीन, कुल बहादुर थापा, कृष्ण महतो, तिलकराम चौधरी, प्रदीप नेपाल आदि दर्जनौं मिटरब्याज पीडितहरुलाई टाउको फुट्ने, रगताम्मे हुने र बेहोश हुने गरी कुट्ने र गिरफ्तार गर्नेजस्तो चरम बर्बरता प्रदर्शन गरेको छ ।
शान्तिपूर्ण र वैधानिक रुपले आन्दोलन गर्ने पीडितहरु र ऐक्यबद्धता प्रकट गर्ने व्यक्तित्वहरुप्रति भएको यसप्रकारको मध्ययुगीन दमनको हामी पूर्ण निन्दा र भर्त्सना गर्दछौं । साथै वीर अस्पताललगायतमा उपचातरत सम्पूर्ण घाइतेहरुको निशुल्क उपचार, सानो गौचर र कालीमाटीलगायतका प्रहरी हिरासतहरुमा लगिएका आन्दोलनकारी मिटरब्याज पीडित जनसमुदायलाई तत्काल रिहाई गर्न र मिटरव्याजपीडितहरुका मागहरु अविलम्ब पूरा गर्न तथा भविष्यमा यसप्रकारका समस्याहरुको दीगो समाधान गर्नको लागि सरकारसंग जोडदार माग गर्दछौं ।
लोकतान्त्रिक गणतन्त्रमा जनताको विरोधप्रदर्शनको संवैधानिक अधिकारलाई कुल्चेर गरिएको यसप्रकारका कुनैपनि कुकृत्यहरुको सशक्त विरोध गरी प्राप्त जन अधिकारको रक्षा गर्न र मिटरव्याजपीडितहरुका मागहरु पूरा गराई न्याय दिलाउनको लागि आआफ्नो क्षेत्रबाट संयुक्त वा स्वतन्त्र रुपमा सहयोग पुराउनको लागि समेत देसका सम्पूर्ण सचेत र जिम्मेवार राजनीतिक शक्ति, बौद्धिक व्यक्तित्वहरु, पत्रकार बन्धुहरु र नागरिक अगुवाहरुलगायत सबै सरोकारवालाहरुसंग विनम्र अनुरोध गर्दछौं ।
अन्तमा अब उप्रान्त यसप्रकारका अपराधहरु नगर्न प्रचण्ड नेतृत्वको सरकारलाई गम्भीर चेतावनी दिन चाहन्छौं । यदी सम्बन्धित समस्याहरुलाई गम्भीरता र जिम्मेवारीपूर्वक हल नगरेमा हुने गम्भीर परिणामको जिम्मेवार स्वयं सरकार हुनेछ र वर्तमान दलाल सरकार र व्यवस्थाले अकल्पनीय क्षति बेहोर्नुपर्ने छ ।”