रक्तिम सांस्कृतिक अभियान सबैले माया गर्ने संगठन हो

लक्ष्मी रिजाल उदय, महासचिव, रक्तिम सांस्कृतिक अभियान •• लक्ष्मी रिजाल ‘उदय’ प्रगतिशील सांस्कृतिक आन्दोलनमा एउटा उदीयमान सर्जक हुन् । कक्षा ६ मा पढ्दा कैलालीको पहलमानपुरमा उनले रक्तिम सांस्कृतिक अभियानको “ठूली” गीति नाटक हेरेका थिए । उनले पढ्ने कान्ति माविमा गंगा योञ्जन, कमल खड्का संगठन बनाउन आए । उनमा “ठूली” गिती नाटकको प्रभाव परिसकेको थियो । २०५८ मा ८ कक्षामा पढ्दा अखिल (छैठौं) इकाइ कमिटीको अध्यक्ष भए ।

रक्तिमको तेस्रो सम्मेलनमा उनी सहभागी भए । २०७२ मा रक्तिम कैलालीको जिल्ला कोषाध्यक्ष भए । रक्तिमको जिल्ला उपाध्यक्ष हुँदै केन्द्रीय सदस्य भए । उनले २०६१ मा मसालको आवेदन फारम भरेका थिए र २०६२ मा पार्टी सदस्यता लिएका थिए । “नसानसामा यो देशको माया”, “यो देशलाई माया गर्ने जमात”, “लेकै फुल्ने लाली गुराँस बेसी सुनाखरी” लगायतका उनले गाएका गीतहरु प्रकाशित भएका छन् ।

उनी बुबा रविलाल शर्मा र आमा टिकादेवी रिजालको कोखबाट वि.सं. २०४४ साल भाद्र २५ मा जन्मिएका थिए । उनको जन्म स्थान कैलाली जिल्लाको पहलमानपुर हो । यसपटक हाँक साप्ताहिकले उनै प्रगतिशील सर्जक लक्ष्मी रिजाल ‘उदय’ सित कुराकानी गरेको छ । प्रस्तुत छ उदय सितको कुराकानी :

० संगीत अभियात्रा सकाएर काठमाडौ आइपुग्नु भएकोछ । लामो अभियान सम्पन्न भए पछि कस्तो महसुस हुँदो रहेछ ?

– गत चैत्र ४ गते धनगढीबाट शुरु भएको संगीत अभियात्राको पहिलो चरणको कार्यक्रम देशैभरी अत्यन्तै त्साहजनक रुपमा सम्पन्न भएको छ । पहिलो चरणको अन्तिम कार्यक्रम वैशाख २५ गते काठमाडौंमा सम्पन्न हुँदैछ । राष्ट्रका लागि संगीत अभियात्रा लिएर देशैभरी हिंड्दै गर्दा हामी जनवादी गीत, संगीतको क्षेत्रमा क्रियाशील कलाकारहरुलाई उत्साह अनि निरन्तरताका लागि प्रेरणा मिलेको छ । जनवादी गीत, संगीत, कला साहित्यलाई मन पराउने देश तथा विदेशका जनसमुदायहरुको मायाले अत्यन्तै हर्षित तुल्याएको छ ।

० संगीत अभियात्राको समीक्षा गर्नु पर्दा के भन्नू हुन्छ ?

–देशमा क्रियाशील सबै वामपन्थी, प्रगतिशील राजनीतिक दलहरुसँग आवद्ध जनवादी कलाकारहरुको साझामञ्च हो संगीत अभियात्रा । राष्ट्रलाई संकट पर्दा, राष्ट्रघात जनघात, बढ्दै जाँदा, वैदेशिक हस्तक्षेप हुँदा, देशमा भ्रष्टाचार, महंगी बढ्दै जाँदा, देश अस्थिरता र अराजकताले थिलो थिलो हुँदा हामी जनताका कलाकार चुप लागेर बस्न सक्दैनौं । हामी वैचारिक, सैद्धान्तिक रुपमा जुन सुकै दलहरुमा आस्थावान भए पनि राष्ट्र संकटमा परेका बेला हामी सबै एक ठाउँमा उभिएर देशैभरी एउटा आह्वान गर्दै हिंड्नुपर्छ भन्ने गर्बिलो उद्देश्य बोकेर जनवादी तथा प्रगतिशील गीत संगीत कला साहित्यको क्षेत्रमा लामो समयदेखि क्रियाशील र यस क्षेत्रमा लाग्छु भन्ने भावना बोकेका नयाँ प्रतिभाहरु सहितका तीन पुस्ता सँगसँगै हातेमालो गर्दै यो अभियानलार्ई शुरु गरेका हौं ।

हामी वैचारिक रुपमा विभन्नि स्कूलिङबाट आएका छौं । कोही स्वतन्त्र पनि हुनुहुन्छ तर पनि यो अभियानमा हामी राष्ट्रका लागि संगीत अभियात्राका अभियात्री भएर हिंड्यौं । यस अभियात्राका क्रममा हामीले वामपन्थीहरु विचार मिल्नेहरुलाई एकीकृत हुन्, ध्रुवीकृत हुन आह्वान ग¥यौं । राष्ट्रलाई संकट पर्दा सबै राजनीतिक दल एक ढिक्का हुन वैदेशिक हस्तक्षेपको सामना गर्न आह्वान ग¥यौं । राष्ट्रलाई समृद्धिको बाटोमा अगाडि बढाउन, महंगी, भ्रष्टाचार र अहिलेको यो आर्थिक संकटलाई सबै मिलेर अन्त्य गर्न एक ढिक्का बनुन भन्ने सन्देश पनि देशैभरी प्रवाह गर्दै हिंड्यौं । तसर्थ समग्रमा भन्नुपर्दा यो हाम्रो पहिलो अनि सुन्दर प्रयत्न पनि भएकाले केही प्राविधिक र व्यवहारिक त्रुटिहरु बाहेक देशैभरी अत्यन्तै उत्साहजनक रुपमा सम्पन्न भएको छ ।

० आगामी प्रगतिशील साँस्कृतिक आन्दोलनका लागि सङ्गीत अभियात्राले के शिक्षा प्रदान गर्यो भन्ने ठान्नु हुन्छ ?

– नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनमा यस अघि पनि संगीत अभियात्रा जस्तै साझा मञ्च बनाउने प्रयत्नहरु नभएका होइनन्, तर पनि तिनले सार्थकता पाउन सकेनन् । अहिले यो जुन प्रयत्न भएको छ । यसको ऐतिहासिक महत्व छ । यसका आगामी गतिविधिहरु के कस्तो रुपमा अगाडि बढ्छन् त्यसले पनि यसको महत्व र सार्थकतालाई थप पुष्टि गर्दै जाला तर एउटा कुरा चाहिं भन्न के सान्दर्भिक लाग्छ भने देशैभरी छरिएर रहेका जनवादी, प्रगतिशील कला र साहित्यका क्षेत्रमा क्रियाशील सांस्कृतिकर्मीहरु एक ठाउँमा आउने र एक ढिक्का भएर अगाडि बढ्ने हो भने देशमा मौलाउँदै गरेको पश्चिमा छाडा संस्कृति, वषौंंदेखि जरा गाडेको सामन्ती संस्कृति र विभिन्न विकृतिहरुलाई रोक्दै प्रगतिशील संस्कृतिलाई जनतामाझ स्थापित गर्न हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सकिन्छ जस्तो लाग्छ ।

० तपाईलाई कलाकारिता क्षेत्रमा प्रवेश गर्न के चिजले प्रेरित ग¥यो ?

– मलाई सानैदेखि गीत संगीतमा रुची थियो । विद्यालयमा हुने कार्यक्रमहरुमा होस् वा अरु बेला गीत गाउने पनि गर्थे । प्रगतिशील गीत संगीतको कुरा गर्दा मैले रक्तिमको २०५६÷०५७ तिर टिकट शोको कार्यक्रम कैलालीको पहलमानपुरको एउटा फिल्म हलमा हेर्ने अवसर पाएको थिएँ । त्यो कार्यक्रमबाट म अत्यन्तै प्रभावित भएँ । पछि जनगायक जीवन शर्माका गीतहरु रक्तिमका विभिन्न गतिविधिहरु हेर्दै गइयो, सुन्दै गइयो गीति एल्बमहरु सून्दै गइयो गाउँदै गइयो । ती सबै गतिविधिहरुले मलार्ई अहिलेसम्म यस क्षेत्रमा लाग्न प्रेरित ग¥यो र अविचलित रुपमा म यस पथमा हिंडिरहेको छु ।

० तपाईको पहिलो सृजना कुन हो? कुन पृष्ठभुमिमा तपाइले आफ्नो प्रथम सृजना गर्नु भयो ?

– म स्कूल पढ्दादेखि नै विभिन्न खाले गीत, गजल लेख्ने र गाउने गर्थे (जसलाई हामी बुर्जुवा पनि भन्ने गर्छौं) तर पछि जब मैले गर्ने हरेक क्रियाकलाप जनता र राष्ट्र प्रति समर्पित हुुनुपर्छ । जसले कुनै न कुनै रुपमा जनजागरणमा भूमिका खेल्नुपर्छ, असमानता, अन्याय, अत्याचारका विरुद्धमा हुनुपर्छ, न्याय र समानताका लागि हुनुपर्छ,राष्ट्रियताको पक्षमा हुनुपर्छ भन्ने भयो, त्यही सन्दर्भमा मेरो पहिलो सिर्जना नशा नशामा यो देशको माया उर्लेर बग्दछ भन्ने गीतको रुपमा तयार भयो जसलाई ढिलो गरी रेकर्ड गरियो ।

० तपाइका अरु सिर्जनाहरुबारे दर्शक,स्रोता र पाठकलाई जानकारी गराउनु पर्दा के भन्नू हुन्छ ?

– म प्रायः गीत र गजलका क्षेत्रमा कलम चलाउने गर्छु । म लामो समयदेखि रक्तिम सांस्कृतिक अभियानमा संलग्न रहेर त्यसका गतिविधिहरुमा क्रियाशील पनि छु । संस्थागत रुपमा रक्तिमका तर्फबाट त्यसैगरी रक्तिमका संस्थापक अध्यक्ष जनगायक जीवन शर्मा जनगायिका निलिमा पुन र देश तथा प्रवासमा रहनुहुने धेरै कलाकार साथीहरुसँग थुप्रै गीतहरुमा सहकार्य पनि गरिएको छ । एकल रुपमा पनि मेरो गीतहरु दर्शक स्रोताहरुका माझ आउने गरेका छन् ।

० तपाईंको आगामी सृजना बारे के कस्तो सोचाई वा योजना बनाउनु भएको छ ?

– सिर्जनाहरु सिर्जित छन् । सिर्जना भइरहेकै छन् । केही सिर्जनाहरु दर्शक स्रोताहरु माझ पस्कने तयारीमा पनि छु । धेरै सिर्जनाहरु बाहिरिनका लागि मार्ग खोजिरहेका छन् । हामी जनकलाकारहरुका केही परिस्थितिजन्य बाध्यताहरु छन् बढी भन्दा बढी सिर्जनाहरु चाहँदा चाहँदै पनि बाहिर ल्याउन सक्दैनौं । तर पनि सके जति कोशिश र प्रयत्न गरिरहेकै छु ।

० रक्तिम सांस्कृतिक अभियानको महासचिव हुनुहुन्छ । अन्य साँस्कृरिक सँगठनहरु सित के कस्तो सम्बन्ध छ ?

– हामी कलाकारहरु भएकाले होला अलि बढी भावनात्मक पनि हुन्छौं । व्यक्तिगत रुपमा होस् वा संस्थागत होस् मेरो र हाम्रो संगठनको सम्बन्ध अन्य सांस्कृतिक संगठन र संगठनका साथीहरुसँग सुमधुर नै छ । अर्कातिर रक्तिम सांस्कृतिक अभियान देशको जनवादी, प्रगतिशील गीत, संगीतको क्षेत्रमा क्रियाशील संगठनहरुमा सबैले माया गर्ने संगठन मध्ये पर्दछ ।

० कम्युनिस्ट पार्टीको प्रगतिशील सांस्कृतिक आन्दोलनसित वैचारिक, ब्यवहारिक सबै हिसाबले सम्बन्ध हुनु स्वभाविक हो । आफ्नो उद्देश्यमा अगाडि बढ्न कम्युनिस्ट पार्टीबाट सांस्कृतिक मोर्चाले कस्तो सम्बन्ध वा कस्तो सहयोगको अपेक्षा गर्दछ?

– देशमा क्रियाशील प्रगतिशील सांस्कृतिक संगठनहरु कुनै न कुनै रुपमा राजनीतिक दल र दलका विचारसँग जोडिएका छन् । जुन कुरा अस्वभाविक पनि हैन । तर एउटा कुरा चाहिं के हो भने हामी जुन उद्देश्य, लक्ष्य प्राप्तिका लागि कम्युनिस्ट पार्टीमा लाग्यौं, त्यो विचारसँग सहमति भयौं, आन्दोलनमा जोडियौं र अझै निरन्तरता दिइरहेकै छौं । त्यो उद्देश्य र लक्ष्य प्राप्तिका लागि जति हामी प्रतिबद्ध छौं, निस्वार्थ छौं । दृढ संकल्पित छांै । त्यही खालको प्रतिबद्धता, निस्वार्थता र दृढता आम कम्युनिस्ट नेता कार्यकर्ताहरुमा कमी देखिन्छ । विचार र व्यवहारमा भिन्नता देखिन्छ । यो धेरै ठूलो समस्या पनि हो । तसर्थ उद्देश्य प्राप्तिका लागि वास्तविक रुपमै अगाडि बढ्ने हो भने पार्टीहरुमा केही सुधारको जरुरी छ । जस्तै ः कलाकारहरु प्रतिको दृष्टिकोण, उद्देश्यप्रतिको प्रतिबद्धता, व्यक्तिगत गुटगत स्वार्थको त्याग, लक्ष्य प्राप्तिको विश्वास । यति भयो भने हामीले रोजेको कठिन यात्रा पनि सहज रुपमा पूरा गर्न सकिन्छ ।

० प्रगतिशील सँंस्कृति, प्रगतिशील कला र साहित्य प्रति वर्तमान सरकाले कस्तो रुख अपनाउने गरेकोछ ?

–प्रगतिशील संस्कृति, प्रगतिशील कला र साहित्यप्रति प्रायः सबै सरकार उदासिन नै देखिएका छन् । अहिले त झन तीन तहको सरकार छ । ती तिनवटै तह उदासिन छन् । विभिन्न कालखण्डका राजनैतिक परिवर्तनहरुमा कलाकारहरु सदैव अग्रिम मोर्चामा नै रहेका छन् । कैयौं साहित्यकार, कलाकारहरुले हाँसी हाँसी ज्यानको आहुति दिएका छन् । परिवर्तनका निम्ति जनतामा जागरण ल्याउने कार्यमा महत्वपूर्ण भूमिका निभाएका छन् । तिनै साहित्यकारहरु, कलाकारहरु जसका शब्दलाई, स्वरलाई, लाखौं लाख जनताको खुन र पसिनालाई भ¥याङ बनाएर कम्युनिस्ट भन्नेहरु नै सत्तामा पुग्छन् अनि सरकार संचालन गर्छन् । त्यसपछि तिनका मानसपटलबाट प्रगतिशीलता, प्रगतिशील कला, साहित्य र संगीत हराउँदै जान्छ । ती कलाकारहरु साहित्यकारहरुको योगदानलाई बिर्सदै जान्छन् । त्यो ठाउँमा तिनलाई बुर्जुवा छाडा, अश्लिल गीत, संगीत अनि त्यसै खालका पात्रहरु प्रिय लाग्दै जान्छ । तसर्थ यस विषयमा सरकार संचालकहरु त्यसमा पनि कम्युनिस्ट भनिनेहरु गम्भीर हुन जरुरी छ ।

० प्रगतिशील साहित्य र कलालाई बुर्जुवा साहित्य र कलाबाट भिन्नता छुट्टाउने आधारभूत तत्वहरु के हुन् ?

– प्रगतिशील साहित्य र कला र बुर्जुवा साहित्य र कलाका बीच भिन्तता छुट्टाउन निम्न कुराहरु बुझनै पर्ने हुन्छ । प्रगतिशील कला साहित्य समानताको पक्षपाती हुन्छ, निश्चित उद्देश्यबाट प्रेरित हुन्छ, विचारसँग जोडिएको हुन्छ, अन्याय, अत्याचार, विभेद, शोषण, दमनको विपक्षमा रहन्छ । मजदुर, किसान, दुःखी गरिब राष्ट्र राष्ट्रियता अनि सदैव जनताको सेवामा समर्पित हुन्छ । अर्कातर्फ बुर्जुवा साहित्य र कलाको कुरा छ जसको न गति छ न दिशा न उद्देश्य छ न विचार । प्रगतिशील कला र साहित्यले जनतालाई आशावादी भएर बाँच्न सिकाउँछ । जुन कुरा बुर्जुवा साहित्यले गर्न सक्दैन ।

० तपाईंको विचारमा प्रगतिशील र बुर्जुवा दुवै गीत गाउने कलाकारलाई प्रगतिशील कलाकारको कोटीमा राख्न मिल्छ कि मिल्दैन ?

– निश्चय नै यो गम्भीर विषय हो । प्रगतिशील सांस्कृतिक आन्दोलनमा यो विषय छलफल गरेर एउटा निश्चित धारणा निर्माण गर्न जरुरी छ ।

० संगठनको आगामी योजना के छ ?

– सांगठनिक रुपमा नयाँ योजनाका साथ गतिविधिहरु अगाडि बढाउने योजना बनेका छन् । तिनीहरुलाई छिट्टै नै कार्यान्वयन्य गर्ने छौं ।

० अन्त्यमा हाँक मार्फत भन्नूु केही छ कि ?

–जसले जहाँबाट जसरी सक्नुहुन्छ प्रगतिशील तथा जनवादी गीत, संगीत र कला साहित्यलार्ई अगाडि बढाउन भूमिका खेल्नुहोस् । जनवादी गीत संगीतलाई माया गर्नुहोस्, हामीलाई सल्लाह सुझाव दिनुहोस्, प्रोत्साहित गर्नुहोस् भन्न चाहन्छु । साथै प्रगतिशील तथा जनवादी गीत, संगीत, कला साहित्यका बारेमा मेरा विचारलाई आम जनसमुदायसम्म पु¥याउने अवसर प्रदान गर्नु भएकोमा हाँकलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित