मशाल लगायतका पार्टीहरुले उपनिर्वाचन बहिष्कार गर्दै

काठमाडौ । आगामी बैशाख दश गते तनहुँ जिल्लाको क्षेत्र नं. एक, बारा जिल्लाको क्षेत्र नं. दुई र चितवन जिल्लाको क्षेत्र न.ं दुई मा  संघीय संसदको लागि उपनिर्वाचन हुँदैछ । गत मंसिर चारको आम निर्वाचनमा तनहुँ एकबाट चुनिएका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि सांसद पद खाली भएकाले, बारा दुईबाट चुनिएका जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि सांसद पद खाली भएकाले र चितवन दुईबाट चुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेकाले ती तीनवटै क्षेत्रमा उपनिर्वाचन हुन थालेको हो । संसदवादी दलहरु चुनावको अस्वस्थ प्रतिस्पर्धामा जुटेका छन् भने नेकपा (मशाल) लगायतका क्रान्तिकारी पार्टीहरुले उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेका छन् ।

नेकपा (मशाल) केन्द्रीय कार्यालयले चैत्र २८ गते जनतालाई उपनिर्वाचन बहिष्कार गर्न आह्वान गर्दै एक अपील प्रकाशित गरेकोछ । अपीलमा मूल नारा राखिएको छ ,“आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनलाई सशक्त बहिष्कार गरौं । नयाँ जनवादी क्रान्तिको प्रचारात्मक कार्यलाई अगाडि बढाऔं ।” अपीलमा निर्वाचन बहिष्कारको औचित्य स्पष्ट गर्दै भनिएकोछ ,“प्रथम, संसदीय व्यवस्था जनविरोधी तथा प्रतिक्रियावादी व्यवस्था हो । त्यहाँ चुनिएर जाने सबै खराब हुँदैनन् । तर व्यवस्था नै प्रतिक्रियावादी भएपछि राम्रा मानिसहरू पनि नाकाम बन्न पुग्छन् । संसार मै बदनाम भएको संसदीय व्यवस्था अब नेपालका लागि आवश्यक नरहेको प्रमाणित हुँदै आएको छ । द्वितीय, देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताका लागि यो दलालहरूको व्यवस्था खतरा बन्दै गएको छ । तृतीय, संसदीय प्रणालीको छोटो इतिहास जनघाती, राष्ट्रघाती र मानवता विरोधी बनिसकेको छ । संघीयताका कारण जातिहरुको विचमा आपसी अन्तर विरोधहरु बढिरहेकाछन् ।

त्यसले गर्दा जनताले संघीयतालाई अस्वीकार गर्नेक्रम बढिरहेको छ । त्यसकारण आफ्नो आफ्नो स्थानबाट यो संघीय व्यवस्थाको अन्त्य र नयाँ जनवादको प्रचारात्मक कार्यलाई अगाडि बढाउन आगामी वैशाख १० गते सम्पन्न हुन गैरहेको उपनिर्वाचनलाई सशक्त र सक्रिय रुपले बहिष्कार गर्नका लागि आम जनसमुदायमा हाम्रो पार्टी अपील गर्दछ ।”

निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा चितवन दुईमा कुल मतादाता संख्या १,२४,६९५, बारा दुईमा मतदाता संख्या  १,०५,२४८ र तनहुँ एकमा  १,२३,३०५ मतदाता संख्या रहेकोछ ।

उपनिर्वाचनका लागि १९४ मतदान स्थल र ४२७ मतदान केन्द्र स्थापना गरिने बताइएकोछ ।

तनहुँ एकमा पार्टीका ९ जना, चितवन दुईमा दलका १२ जना र स्वतन्त्र १२ गरी २४ जना, बारा दुईमा दलका १२ जना र स्वतन्त्र २४ गरि ३६ जना उम्मेदवार चुनाबी मैदानमा उत्रिएका छन् ।

अस्वस्थ प्रतिश्पर्धा, पैसाको खोलो, मिडियाको दुरुपयोग, प्रशासनको दुरुपयोग, जनतालाई धम्की र त्रास जस्तै संसदीय फोहोरी गतिविधि उपनिर्वाचनमा पनि जनताले नजिकबाट महशुस गर्न पाएका छन् । परम्परागत पार्टीका पुराना नेताहरुले  लामो समयसम्म विस्तारवादी र साम्राज्यवादीहरुको सेवा गर्न नसक्ने हुँदा पुराना पार्टीभित्र  आफ्ना नीति बोक्ने नयाँ पात्रहरु तयार पार्ने र विकल्पको रुपमा नयाँ पार्टीलाई पनि अगाडि सार्ने गरेको विश्लेशकहरुको भनाइ छ। विगत मंसिरको निर्वाचनमा र यो उपनिर्वाचनमा प्रष्टरुपमा त्यसप्रकारका स्थिति देखिएको बताइन्छ ।

नयाँ पार्टी वा नयाँ व्यक्ति निर्वाचित भए केही सुधार हुन्छ कि भन्ने जनअपेक्षा छ । तर वामपन्थी विश्लेषकहरुले नयाँ अनुहारका पुरानै साम्राज्यवादी नवउदारवादका भरियाहरु हुन भनेर टिप्पणी गरेका छन् । नव उदारवादले संसारभरी के गरिरहेकोछ भन्ने कुरा दुनियाँका सामु स्पस्ट नै छ ।

राजनीतिक विश्लेषक नरेन्द्र जंग पिटर भन्छन, “नेपालका स्थापित राजनीतिक पार्टीहरु सिद्धान्तको राजनीतिलाई सुविधाको राजनीतिमा फेरेपछि आचार, विचार र व्यवहारमा कतै पनि सन्तोष लिने ठाउँ देखिएन । जनतामा ज्यादै निराशा देखियो । निराशाले आशा जगाउने मालिक खोज्दो रहेछ । यस्तो बेलामा जनतालाई भिडमा फेर्ने शक्ति उम्रिन्छन वा प्रायोजन गरिन्छ। निराशाले जन्मिएको शक्ति खहरे जस्तै हुन्छ । खहरे या छिटै सुकेर जान्छ वा अर्को ठूलो नदीमा गएर विलिन हुन्छ ।”

उपनिर्वाचनका सन्दर्भमा देखिएका घटनाहरुले संसदीय व्यवस्था कति धेरै भ्रष्ट र जन विरोधी हो भन्ने सिद्ध भएकोछ । तनहुँबाट हाँक संवाददाता सन्जु सुन्दासले बताए अनुसार दलहरुको चुनावी कार्यक्रम भैरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले युवाहरुलाई विदेश पलायन रोक्ने , आर्थिक समृद्धि ल्याउने आस्वासन दिएको छ । नवउदारवादी अर्थनीतिले संसारभरका उत्पीडित राष्ट्रहरुलाई तवाह बनाइरहेका बेला अर्थतन्त्र सुदृढ गर्ने सपना बाँड्नु भनेको झुटको खेती हो भन्ने टिप्पणी पनि गरिएको छ । गठन्धनको तर्फबाट गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सँगसँगै चुनावी सभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम राखिएको बताइन्छ । एमालेले पनि आफ्नो अन्तिम चुनावी सभाहरुमा प्रमुख नेताहरुलाई उतार्ने बताइएको छ ।

चितवनमा वामपन्थी नेता गंगा पौडेलको नेतृत्वमा कुल प्रशाद रिजाल ,शशिधर पौडेल,नवराज चापागाईं सहितको टोलीले  चितवन क्षेत्र नम्बर दुईमा पर्चा वितरण गरिरहेकोछ ।

टोलीले वैशाख ५ गते बेलचोक, कमलनगर, पोखरा बसपार्क, लाइन्सचोक, न्यूरोड, पुल्चोक, सहिद  चोक, पारस बसपार्क, चौविसकोटी, युथक्लब मार्ग लगायतका स्थानमा पर्चा वितरण गरेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित