बुटवल । निमुखा जनता, सर्वसाधारण मानिस एवं किसानको पक्षमा न त यो व्यवस्था छ न समाज नै छ न कुनै व्यापारी नत कानुन नै । कानुनले उच्च पदस्थ, उच्च वर्ग समुदायको पक्षधरता लिन्छ । वर्तमान कानुनले मिटर ब्याजीलाई दोषी देख्छ, निमुखा किसानलाई दोषी देख्छ र आम भुइँ मान्छेहरुलाई दोषी देख्छ । किसान जहाँ जान्छ त्यही ठगिन्छ । दाना खरिद गर्दा, विमारी परेका पशुको उपचार गर्दा, विमा गरेको पशु मृत्यु वापतको विमा भुक्तानी गर्दा होस् वा आफुले उत्पादन गरेको वस्तुको भाउ मूल्य निर्धारण गर्दा समेत ठगिन्छन किसान ।
त्यसरी ठगिँदै आएका किसानहरु आफ्नो वस्तुको मूल्य अरु (बिचौलिया) ले निर्धारण गरिदिदा त मुकदर्शक बन्नु परेको छ नै । त्यतिका बारबन्धन पार गरेर बजार पुगेको आफ्ना वस्तु बिक्री गरेको रकम भुक्तानी नपाएर बुटवलमा किसानहरुले धर्ना दिनु परेको छ । बुटवलको नामुद मिष्ठान पसल कस्तुरी मिष्ठान्न भण्डार र एउटा डेरी, पाठक दुध डेरीले दुध खरिद गरे वापतको किसानको रकम तिर्न आनाकानी गर्दै आएका छन् ।
जबकि उधारो खरिद गरेर बिक्री पश्चात मूल्य तिर्ने आम प्रचलन छ । खरिद मुल्य र बिक्री मुल्य बीचमा मनग्ये नाफा राखिएको छ । रुपन्देहीमा दुध बिक्रीको समेत कुनै समस्या छैन र पनि किसानलाई भुक्तानी दिन आनाकानी गर्नु पर्ने कारण देखिदंैन । तैपनि यसरी किसानहरुलाई दुख दिनु कुनै पनि हिसाबले उचित छैन ।
रूपन्देहीको सैनामैना नगरपालिकाको साल्झण्डीस्थित सालझण्डी दूग्ध उत्पादक सहकारी संस्थालाई दुध बेच्दै आएका किसानहरुले रकम नपाएपछि बुटवलका दुवै पसल अगाडि धर्ना दिन बाध्य भएका छन् । ‘पटक पटक पैसाको माग गरेपनि कस्तुरी र पाठकले पैसा तिर्न आनाकानी गरेपछि धर्ना दिन बाध्य भएका हौ’ सहकारी संस्थाका अध्यक्ष तिलकराम घिमिरेले भने । उनका अनुसार कस्तूरी मिष्ठान्न भण्डार र पाठक दुध डेरीले कुल २५ लाख ३० हजार ४ सय रकम किसानको दिन बाँकी छ ।
कस्तुरी मिष्ठान्न भण्डारले १३ लाख ७० हजार ४ सय र पाठक दुध डेरीले ११ लाख ६० हजार तिर्न बाँकी रहेको उनले बताए । पटक पटक चेक दिने तर पैसा नभएको चेक दिएर किसानलाई झुक्काउँदै आएकाले अनिश्चितकालीन धर्नामा उत्रिनुपरेको उनको भनाइ छ । पाठक डेरीका सञ्चालक नेत्र पाठकले किसानहरूले आफूसँग गरेको सम्झौता उल्लंघन गरेको भनेर विवाद झिकी रकम भुक्तानीमा बाधा हालेको कुरा स्वयंले एक मिडियामा बताएका छन् ।
‘हामीले किसानको पैसा नतिर्ने भनेको होइन’ पाठकले भने, ‘किसानले दुध पसलसम्म ल्याउने हामीबीच सहमति भएको थियो । सहकारीले बीच बाटोमै दुध छाडेर जान थालेपछि रोकेको हो । अब पैसा मैले तिरिदिए किसानको दुध खरिद गरिँदैन ।’