प्रहरी हस्तक्षेप निरङ्कुश तथा अधिनायकवादी कार्य : मशाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मशाल)ले आज तनहुँमा चार पार्टीको संयुक्त कार्यक्रममा प्रहरीद्वारा गरिएको हस्तक्षेपलाई “निरङ्कुश तथा अधिनायकवादी कार्य” बताउँदै एक वक्तव्य जारी गरेकाे छ ।

यही बैशाख १० गते हुन गइरहेको चितवन, बारा र तनहुँको उपनिर्वाचन बहिष्कार कार्यक्रम अन्तर्गत आज तनहुँको दमौलीमा विरोध कार्यक्रम राखिएको थियो । कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी मशालका नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेकोमा विरोध जनाउँदै उनीहरूलाई तत्काल बिना शर्त रिहा गर्न वक्तव्यमा माग गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (मशाल)का महासचिव सन्तबहादुर नेपालीले २०८० बैशाख ७ गते जारी गरेकाे वक्तव्य यस प्रकार छ : “आगामी वैशाख १० गते चितवन, बारा र तनहुँमा सम्पन्न हुने संसदीय उपनिर्वाचनलाई हाम्रो पार्टीले बहिष्कार गर्ने निर्णय गरेको थियो । यो बहिष्कारको नीति गत संसदीय निर्वाचन बहिष्कारको नै निरन्तरता हो । यो निर्वाचनमा पनि एकल वा संयुक्त रूपले बहिष्कार कार्यक्रमलाई जनताको बीचमा लैजाने हाम्रो कार्यक्रम थियो । उक्त कार्यक्रम अनुसार तनहुँको दमौलीमा नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र वैज्ञानिक कम्युनिस्ट पार्टी समेतको संयुक्त कार्यक्रममा घरदैलो, पर्चा वितरण, कोणसभा जस्ता शान्तिपूर्ण कार्यक्रम निर्धारित राखिएको थियो । आज वैशाख ७ गते शान्तिपूर्ण तरिकाले कोणसभा गर्ने कार्यक्रमको सिलसिलामा हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरूलाई प्रशासनले गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा नेकपा (मशाल) का केन्द्रीय प्रवक्ता रामबहादुर बुढा, गण्डकी व्यूरो प्रवक्ता पुष्पलाल श्रेष्ठ, जिल्ला सचिव नरबहादुर थापा र जिल्ला प्रवक्ता धनबहादुर परियार र एक जना समर्थक रहनु भएको छ ।

हाम्रो पार्टी यो दलाल पुँजीवादी संसदीय व्यवस्थाको विरोध गर्दछ । जनताको लागि यो पुरानो र सडेगलेको असफल व्यवस्था भएको सन्दर्भमा नेपालमा पनि यो व्यवस्था असफल भइसकेको छ । त्यसकारण हाम्रो पार्टीले जनतालाई निर्वाचन बहिष्कार गर्न अपील गरेको छ ।

शान्तिपूर्ण तरिकाले जनताबीच आफ्नो मत राख्न पाउनु संविधानप्रदत्त अधिकार हो । त्यो अधिकारलाई प्रयोग गर्दै तनहुँमा बहिष्कारको कार्यक्रम गर्न लाग्दा यसरी नेता र कार्यकर्ताहरूलाई गिरफ्तार गर्नु सरकारको कायरपना हो । जनताको मौलिक अधिकारमाथिको हनन् हो । सरकारको यस प्रकारको निरङ्कुश तथा अधिनायकवादी कार्यको हामी कडा शब्दमा भत्र्सना र निन्दा गर्दछौँ । आज गिरफ्तार भएका नेता तथा कार्यकर्ताहरूलाई विनासर्त तत्काल रिहाईको माग गर्दछौँ ।”

यसैगरी तनहुँको गिरफ्तारीको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टी (मशाल) जिल्ला समिति रुपन्देहीले समेत वक्तव्य प्रकाशित गरी विरोध प्रकट गरेको छ । वक्तव्यमा जिल्ला प्रवक्ता बाबुराम आचार्यको हस्ताक्षर रहेको छ ।

रुपन्देहीका प्रवक्ताद्वारा जारी गरिएको वक्तव्य यसप्रकार रहेको छ ः “हाम्रो पार्टी नेकपा (मशाल)को निर्वाचन बहिष्कार अभियान अन्तरगत तनहुँको दमौलीमा आयोजित कोणसभाबाट हाम्रो पार्टीका केन्द्रीय प्रवक्ता कमरेड राम बहादुर बुढालाई गिरफ्तार गरेर यो सरकारले स्वयंले संरक्षण गर्नुपर्ने संविधानको खिल्ली उढाउने काम गरेको छ।

वाक स्वतन्त्रताको लागि नेपालीहरुले लामो लडाइँ लड्नु परेको इतिहास छ । यसरी लडेर प्राप्त गरेको अधिकारलाई यो सरकारले कुण्ठित गर्ने काम गरेको छ। बिरोध गर्न पाउने संबैधानिक ब्यवस्थाका विरुद्ध, अपहरण शैलीमा प्रहरी द्वारा गरिएको गिरफ्तारी को हाम्रो पार्टीले कडा शब्दमा निन्दा एवं भत्र्सना गर्दछ ।

तनहुँको दमौलीबाट गिरफ्तार गरिएका कमरेडहरु केन्द्रीय प्रवक्ता कमरेड रामबहादुर बुढा, गण्डकी ब्युरो प्रवक्ता कमरेड पुस्पलाल श्रेष्ठ, पार्टी जिल्ला सचिव नर बहादुर थापा, मशाल नेता धन बहादुर परिवार लगायतका कार्यकर्ता एवं जनसाधारण लाई प्रहरीले गरेको गिरफ्तारी प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। प्रचण्ड नेतृत्वको दश दलीय रास्ट्रघाती सरकारले झन् पछि झन् जन विरोधि कार्य गर्दै गएको हुँदा यस प्रकारका गतिविधि तत्काल बन्द गर्न चेतावनी दिन चाहन्छौ। गिरफ्तार गरिएका सम्पूर्ण कमरेडहरु को बिना सर्त रिहाइको माग गर्दछौं ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित