आज उपनिर्वाचन हुँदै, मशाल लगायतका पार्टीले चुनाव बहिष्कार गर्ने

काठमाडौं । चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं. २ मा उपनिर्वाचन सुरु भएको छ । तीनवटै क्षेत्रका सबै मतदानस्थलमा पूर्वतयारी अनुसार मतदान सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चितवन क्षेत्र नं. २ मा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने सहित २४ जना उम्मेदवार छन् ।

तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको ठाउँमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि कांग्रेसबाट गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार मुख्य उम्मेदवार रहेका छन् ।

बारा क्षेत्र नं. २ मा नेकपा एमालेका पुरुषोत्तम पौडेल, जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवाली सहित ३६ जना उम्मेदवार रहेका छन् ।

उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा सार्वजनिक बिदा दिइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (मशाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र वैज्ञानिक कम्युनिस्ट पार्टीले आज हुन गइरहेको उपनिर्वाचन बहिष्कार गर्ने जनाएका छन् । विगत केही दिनदेखि उनीहरुले चुनाव बहिष्कार कार्यक्रमलाई तीब्रता दिएका थिए । तनहुँमा गरिएको चुनाव बहिष्कार कार्यक्रममा प्रहरी हस्तक्षेप गरी कैयौं नेतालाई गिरफ्तार समेत गरेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित