साम्यवाद र व्यक्तिगत स्वतन्त्रता

राहुल साङ्कृत्यायन ••
साम्यवाद के चाहन्छ ?

शोषक र शोषितको भेदलाई मेटेर उत्पादनको साधन मेशीन, भूमि, कच्चा पदार्थ तथा उत्पादित वस्तुहरूको स्वामी व्यक्तिलाई होइन्, समाजलाई बनाउनु, सबै व्यक्तिहरूलाई योग्यता अनुसार काम गराउनु, जीवनका लागि आवश्यक वस्तुहरू, यन्त्रहरूको उपयोगबाट मिल्ने अवकाश र मानसिक विकासको अवसरलाई अपेक्षा अनुसार सबैलाई समान रुपले बाँड्नु ।

माथिका प्रथम र दोस्रो जबाफ हेरेर कैयौँ मानिसहरू भन्छन्–

“उफ्फ ! त्यसो भए साम्यवाद व्यक्तिगत स्वतन्त्रताको ठूलो शत्रु हो । त्यसको लागि व्यक्ति त यन्त्रको पुर्जा भन्दा बढी होइन रहेछ । त्यसैले व्यक्ति समाजको हातको कठपुतली मात्र हो ।”

यसको उत्तरमा साम्यवादीहरूले भन्ने छन्–

साम्यवादले पुँजीवादको कैयौँ गुना बढी व्यक्तिगत स्वतन्त्रता दिन्छ । यो कुरा बताउनका लागि पुँजीवादको सक्कली रुप हेर्नुपर्दछ ।

पुँजीवादीहरू जुन व्यक्तिगत स्वतन्त्रताको ढोल पिट्छन्, त्यसको सक्कली रुप के हो ? त्यो स्वतन्त्रता समाजका कतिलार्ई प्राप्त भइरहेको छ त ?

स्मरणीय छ– सम्पूर्ण स्वतन्त्रताहरूको जननी हो– आर्थिक स्वतन्त्रता । त्यो आर्थिक स्वतन्त्रता कतिलाई प्राप्त छ त ? केवल उनीहरूलाई मात्र प्राप्त छ, जोसँग धन छ, अर्थात् जो पुँजीपति हो । के यो कुरा होइन र ?

पुँजीपतिले हजारौँ मजदुरहरूलाई किन्न सक्दछ, हो, दासलाई जस्तो होइन, बरु त्यसभन्दा पनि नराम्ररी किन्न सक्दछ । दासको लागि हरेक हालतमा पनि मालिक खाना कपडा दिनको लागि बाध्य थियो, किनकि त्यसो नगर्ने हो भने उसको त्यस व्यक्तिमाथि परेको पुँजी डुब्ने भय हुन्थ्यो ।

तर मजदुरको लागि ?

जबसम्म मजदुर स्वस्थ हुन्छ, काम गर्न सक्दछ, तबसम्म उसबाट काम लिंदा नाफा हुन्छ, तबसम्म उसको श्रमको आधी तिहाई मजदुरी दिएर उसबाट काम लिइन्छ । यदि बजार मन्द भयो भने र मजदुरी घाटा व्यापार हुन थाल्यो भने पुँजीपतिले त वस्, कारखानाको ढोकामा ताला लगाइहाल्छ । हजारौँ मजदुर जसबाट उनीहरूको घरबार खोसिएको हुन्छ, जसबाट उनीहरूको हातको काम खोसिएको हुन्छ–ती भोकै किन नमरुन् !

यदि मजदुर विरामी भयो भने वा बुढो भयो भने तापनि स्वस्थ अवस्थाको एक एक थोपा रगत पनि चुसेर पिउने मालिक त्यस मजदुरलाई बेरङ्ग जबाफ दिनका लागि पूरै स्वतन्त्र छ । हजारांै मजदुर तथा उनीहरूको परिवारले यो कस्तो व्यक्तिगत स्वतन्त्रताको स्वर्गीय आनन्द लुटिरहेको ! शायद तपाई उनीहरूलाई यसकारणले स्वतन्त्र भन्नुहुन्छ, किनकि आँखा छलेर उनीहरू आत्महत्या गर्न सक्छन् ! मजदुरहरूलाई छाडौँ, खोज्दै जाने हो भने–अरु पनि कतिपय व्यक्तिहरूले यस्तो व्यक्तिगत स्वतन्त्रताको उपयोग गरिरहेको पाउनु हुनेछ ।

के तपाई भन्न सक्नुहुन्छ । संसारमा कुन चाहि साधन वा व्यक्ति पुँजीपतिहरूद्वारा किनिएका छैनन् ? के समाचार पत्रहरूले जनताको अगाडि स्वतन्त्र विचार राख्न सक्छन् ? के बेलायत र अन्य मुलुकका करोडपतिहरूले, पत्र पत्रिकाका मालिकले पत्रकारिता कलालार्ई आफ्नो हातको कठपुतली बनाएका छैनन् ? अखवारहरूलाई पहिले अलिकति केही स्वतन्त्रता थियो होला, तर आजभोलि त त्यो पुँजीपतिहरूको गुलाम भएको छ ।

भारतमा पनि जुन अखरवारहरूले स्वतन्त्रता र क्रान्तिकारी विचारहरूको वकिल बनी आफ्नो जग मजबुत गरे, ती अखवारहरूले पनि सफलता प्राप्त भएपछि नै आप्mनो प्रवृत्ति बदल्नमा ढिला गरेनन् । अब त्यो समय त्यति धेरै टाढा छैन, जब यहाँका अखवारहरूले पनि अन्य देशका जस्तै पुँजीपतिहरूको हातमा गई, उनीहरूकै भलाइको कुरा गर्नु नै आफ्नो कर्तव्य ठान्नेछन् । हामी कहाँ अहिले पुँजीपतिहरूको यस कुरामा धेरै कम मात्रै ध्यान जानुको कारण थियो–लाभको काम सम्भावना र पुँजी डुब्ने डर । जुन अखवारको अधिक भन्दा अधिक आम्दानी पुँजीपतिहरूको लागि विज्ञापनबाट हुन्छ, ती अखवारहरूले कहाँसम्म आफ्नो स्वतन्त्रता कायम गरिराख्न सक्छन् ? अहिले भारतीय पुँजीपतिहरू अखवारहरू र प्रेसहरूमाथि अधिकार जमाउनका लागि अति नै धेरै अग्रसर भइससकेका छन् ।

के लेखक र कविहरूलाई पुँजीपतिहरूले किनेका छैनन् त ? संसारमा त्यस्ता मानिसहरूको सङ्ख्या अति नै नगन्य छ, जसले आफ्नो प्रतिभा र कलम बेचेर नखाएको होस् । जे जति अौँलामा गन्न पनि गाह्रो हुने गरी केही स्वतन्त्र कलमका धनीहरू यस स्ंसामा पाइन्छन्, ती सैकडौँ व्यक्ति मानिसहरूको जीवनमा भएको स्वतन्त्रता सङ्ग्रामका अवशेषहरू हुन्, जो असफल भएर, कुनै प्रख्याती र उल्लेखविना नै यस संसारबाट विलिन भएका थिए ।

र राजनीतिज्ञ ?

राजनीतिज्ञहरू त अझ बढी पुँजीपतिहरूका दासहरू हुन् । संसारका राजनीतिज्ञहरूलाई हेर्नुस् त, तपाईलाई यो कुरा राम्ररी नै थाहा हुनेछ । सबै देशका मन्त्रीमण्डलहरूमा कारखाना, बैङ्क र प्रेसका मालिकहरूकै वर्चश्व त भरमार रुपमा छ ।
राजनीति त शक्तिको स्रोत हो । त्यसैले त्यसलाई पूरै रुपमा हत्याउनु पुँजीपति मालिकहरू आफ्नो अत्यन्त आवश्यक कर्तव्य ठान्दछन् । पँुजीवादी देशहरूको संसदका चुनावहरू केवल पैसाकै भरोसामा लडिन्छन् । जहाँ मतदाताहरूलाई रुपियाँ पैसा घुसको रुपमा दिइदैन–त्यस्ता देशहरू अत्यन्त कम छन्– त्यहाँ पनि बोली र प्रेसलाई किनेर राखिन्छ । यातायातको साधनहरू मोटर, हावाई जहाज, रेलहरूमा पानी झैं पैसा बगाइन्छन् ।

के जोसँग पैसा छैन, केवल आफ्नो योग्यता, त्याग र सेवाको भरोसामा तिनीहरूले चुनावमा कहिले पनि सफलता प्राप्त गर्न सक्दैनन् ? गाउँका अनपढ, अज्ञान मानिसलाई पनि थाहा छ–चाँदीका मोहरहरूको वर्षा नगरिकन कुनै पनि व्यक्ति चुनावमा जित्न सक्दैन !

“प्रजातान्त्रिक”संस्थाहरूका लागि यही मतदान नै व्यक्तिगत स्वतन्त्रताको उदाहरणको रुपमा बताइएको छ । जबसम्म एक व्यक्तिको हातमा अपार धनराशी हुन्छ र हजारौँ व्यक्तिहरू गरिब र आश्रयहीन हुन्छन्, तबसम्म मतसम्मतिको खरिद बिक्री नभइरहन सक्दैन ।

के पण्डित, मौलवी, पादरीहरू व्यक्ति स्वतन्त्रताका मालिक हुन् ? उनीहरूको त अस्तित्त्व समेत पुँजीपतिको कृपामाथि निर्भर छ । उनीहरूका ठूला ठूला मन्दिर, आश्रम घर, लामा लामा धोतीहरू विलाशी बस्त्र र आभूषण , सबै सबै पुँजीपतिहरूकै देन हुन् । जहाँ सबै भन्दा कम स्वतन्त्रताको आशा गर्न सकिने ठाउँ छ हो, ती यही धर्मका ठेकेदारहरू र उनीहरूका धार्मिक संस्थाहरू हुन् ।

देशका राजा महाराजाहरू कहाँ त प्रजाको लागि व्यक्तिगत स्वतन्त्रताको शब्द नै प्रयुक्त हुन सक्दैन । त्यहाँ त जनताको ज्यान माल, इज्जत–आवर सबै अन्नदाता–राजा महाराजाहरूको मुठ्ठीमा हुन्छ ।

तपाई धप्प बल्दो–मशाल लिएर संसारको कुना काप्चामा खोजेर आउनुस् । तपाईले व्यक्तिगत स्वतन्त्रता कुनै पनि पुँजीवादी देशमा खोजेर पनि पाउन सक्नु हुन्न, तब यो केवल एउटा व्यर्थको शब्द मात्र हो भनेर तपाईलाई थाहा हुनेछ । अथवा यदि त्यो शब्द कही कतै सार्थक रहेछ भने त्यो पनि मुठ्ठीभरका धनी मानी पुँजीपतिहरूको लागि मात्रै सार्थक हुन्छ । त्यहाँ यस्ता लम्बाचौडा शब्दहरूबाट जनतालाई बहकाउने भड्काउने उद्देश्य पूर्ति गर्ने गरिन्छ र सोझा सीधा मानिसहरू “कागले कान लग्यो” भनेर प्रचार गरेपछि आ–आफ्नो कान नछामीकन कागको पछिपछि दौड्ने गर्दछन् । उनीहरूले सम्झनु बुझ्नु पर्दछ –जबसम्म संसारको सबैभन्दा ठूलो शक्ति–धन केवल मुठ्ठीभर मानिसहरूको हातमा केन्द्रित रहिरहन्छ, तबसम्म उनीहरूले उनीहरूभन्दा ठूला सपना सबै प्रकारको मानिसहरूलाई किनबेच गर्ने काम गरिरहन्छन्, किनबेच गरिएको मानिस कहिले स्वतन्त्र हुन सक्दछ र ?

हो, अब त थाहा भयो होला, तपाईको “व्यक्तिगत स्वतन्त्रता” धोखा दिनलाई प्रयोग गरिएको पर्दा हो । साम्यवादले धनलाई व्यक्तिको हातमा रहन दिंदैन र आर्थिक दृष्टिले सबैलाई समान बनाउँदछ । त्यसैले साम्यवाद निश्चित रुपमा व्यक्तिगत स्वतन्त्रताको ठूलो सहायक हो ।

(राहुल साङ्कृत्यायनद्वारा लिखित “साम्यवाद ही क्यौँ ?” पुस्तकबाट सान्दर्भिक अंशको अनुवाद)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित