शशिधर भण्डारी •• आज भारतमा नेपालीहरूको सङ्ख्या कति छ ? भन्ने विषयमा एकिन तथ्याङ्क छैन । यस विषयमा अहिलेसम्म गम्भीर ढङ्गले अध्ययन र अनुसन्धान पनि भएको छैन । रोजगारीका निमित्त भारतको भूमिमा गएका नेपालीहरू भारतको काश्मीरदेखि कन्याकुमारीसम्म छरिएर रहेका छन् । अधिकांश भारतस्थित नेपालीहरूले निम्नस्तरको काम गर्दछन् । भारत सरकारबाट उपेक्षित र भारतका पूँजीपतिहरूबाट अपहेलित जीवन बाँचेर परिवार चलाएका छन् । एकआध सीमित लेखकहरूले भारतस्थित नेपाली र तिनले भोग्न परेका समस्याहरूका विषयमा कलम चलाएका छन् ।
भारतमा क्रियाशील भारतस्थित नेपालीहरूका विभिन्न सामाजिक सङ्गठनहरूले प्रकाशित गर्ने रिपोर्ट र केही लेखकहरूका अनुसार आज पनि भारतमा करिब ८० लाख नेपालीहरू रहन्छन् भन्ने अनुमान छ । भारतका ठूला–ठूला शहरहरूमा रहने अधिकांश नेपालीहरूले अत्यन्त शोषित, उत्पीडित र दोस्रो दर्जाको नागरिकहरूका रुपमा जीवन व्यतित गरेको पाइन्छ । आज पनि कतिपय स्थानमा नेपालीहरूलाई बहादुर गोर्खा र कान्छा आदि भनेर हेयपूर्णरुपमा सम्बोधन गर्ने परम्परा सम्पूर्णरुपमा हराएको देखिन्न । भारतमा नेपालीहरू ठगीमा पर्दछन् ।
नेपाली चेलीबेटीहरूको बलात्कार र हत्या सम्मका घटनाहरू हुने गर्दछन् । तर दु:खको कुरा यस विषयमा नेपालको राजनीतिक बृत्त, सामाजिक सङ्घसंस्था तथा प्राज्ञिक तहमा समेत खास चर्चा, वास्ता र विमर्शसम्म भएको पाइन्न । तिनीहरूले पठाएको रेमिट्यान्सबाट देशको ढुकुटी निर्माण हुने, ठूला बडाहरूको भात भान्सा चल्ने तर ती आफ्नो देशका नागरिकहरूले भोग्नु परेका समस्याप्रति बेखबर हुने र दिल्लीको बाह्रसम्बास्थित नेपाली राजदूताबास समेत त्यति गम्भीर नभइदिने परिदृश्य डायस्पोरिक जीवन बॉँचिरहेका भारतस्थित लाखौँ शोषित पीडित नेपालीहरूका लागि धेरै नै पीडादायक छ । रोजगारीका निमित्त नेपालीहरू कहिलेदेखि भारततिर जान थाले ? भन्ने प्रश्नको उत्तर सहज छैन । किनभने यस विषयमा ठोस ऐतिहासिक दस्तावेजहरू भएको पाइँदैन । तर नेपाल र भारतका बीचमा आवतजावतको प्रक्रिया भने प्राचीनकालदेखि नै चल्दै आएको देखिन्छ ।
नेपालका किराँतकालीन राजा जितेदास्तीले भारतको कुरुक्षेत्रको लडाईमा भाग लिएका थिए भन्ने भनाइ छ । त्यसो त रामायण र महाभारतमा नेपाल र भारतका सन्दर्भहरू आइरहन्छन् । भारतको प्राचीन इतिहासमा पाटलीपुत्रको बजार नेपालको राडी पाखी र कम्बलका लागि प्रख्यात भएको कुरा कौटिल्यको अर्थशास्त्रमा उल्लेख भएको पाइन्छ । यसबाट भारत एक समय नेपालको व्यापारिक केन्द्र भएको आभास पाइन्छ । मुगलकालमा भारतलाई मुग्लान भनिन्थ्यो । मुगलकालमा पनि नेपाल र भारतका जनताका बीचमा आवतजावत थियो । धार्मिक, सामाजिक, सांस्कृतिक र भौगोलिक सम्बन्ध र निकटताका कारण नेपाल र भारतका जनताका बीचमा आवतजावत भइरहनु स्वाभाविक हो । तेह्रौँ चौधौँ सताब्दीतिर भारतमा पोर्चुगिज र डचहरू नाचेका थिए । सन् १६०२ मा एउटा व्यापारिक कोठी खोल्ने निहुँले अङ्ग्रेजहरू भारत पसेका थिए । सन् १६१५ मा मुगल सम्राट जहाँँगिरले अङ्ग्रेजहरूलाई कैयन व्यापारिक सुविधाहरू प्रदान गरे । विस्तारै अङ्ग्रेजहरूले भारतको ठूलो भूभागमा आफ्नो साम्राज्य कायम गरे र भारतलाई औद्योगिकीकरणको दिशामा अगाडि बढाए । त्यसपश्चात कृषिप्रधान र सामन्ती पिछडिएको बन्द समाजको अवस्थामा रहेको नेपालका जनताको श्रमबजार औद्योगिक मार्गमा हिडेको भारत हुन पुगेको झलक पाइन्छ ।
भारतमा साम्राज्य विस्तार गर्ने सिलसिलामा अङ्ग्रेजहरूले नेपालमाथि पटक–पटक हमला गरे । सन् १८१४ देखि १८१६ सम्म नेपाल र अङ्ग्रेजका बीचमा घनघोर युद्ध भएको थियो । त्यतिबेला नेपालको सिमाना पूर्वमा टिष्टा नदी र पश्चिम किल्ला काँगडा वा सतलज नदीसम्म फैलिएको थियो । सो युद्धमा अङ्ग्रेजी साम्राज्यवादका विरुद्धमा नेपालीहरू अत्यन्त वीरतापूर्वक लडेका थिए । तर आधुनिक हतियारले सुसज्जित विश्व थर्काएको अङ्ग्रेजी साम्राज्यवादसँगको लडाईंमा नेपालको पराजय भयो । सन् १८१६ मा नेपाल र अङ्ग्रेजका बीचमा भएको सुगौली सन्धिले नेपालको सिमाना पूर्वमा मेची र पश्चिम महाकालीमा सीमित गराइदियो ।
ग्रेटर नेपालको अवस्थामा रहेको नेपालले तराईको ठूलो समतल भूभाग समेत गुमाउनुपर्यो । लडाईंमा नेपालीहरूले प्रदर्शन गरेको बहादुरीबाट छक्क परेका अङ्ग्रेजहरूले सन्धि पश्चात नेपालसितको सम्बन्धलाई प्राथमिकतामा राखे । गोर्खालीहरूलाई आफ्नो सेना बनाउन स्वतन्त्र बटालियनको स्थापना गरे । युद्धबन्दी र पराजितहरूलाई भर्ति गरेर मलाउ, सिरमोर, कुमाऊ, नुसरी आदि बटालियन खडा गरे । त्यसपछि अङ्ग्रेजी पल्टनमा भर्ति हुन भारत जाने, भर्ति हुन नसकेमा त्यतै केही काम गरेर घर फर्कने प्रचलनको शुरुवात भयो । नेपालीहरू कामको खोजीमा आजको पाकिस्तानमा पर्ने लाहोरसम्म पुग्न थाले । त्यसपछि नेपालको दक्षिणमा पर्ने भारतमा काम गर्ने सबैलाई लाहुरे भन्न थालियो ।
नेपालमा राजाशाही र राणा शाहीको निरङ्कुश शासनको बोलवाला कायम भइरहयो । देशले उद्योग र प्रगतितिर मुण्टो फर्काउन सकेन । श्री ३ राणाजीहरूले भारतमा उपनिवेश कायम गरी बसेको अङ्ग्रेजी साम्राज्यवादसित जी हजुरी कायम राखेर आˆनो शासन सत्ता टिकाउने काम गरे । राणाहरूले नेपाली नौजवानहरूलाई भारतीय स्वतन्त्रता सङ्ग्रामको विरुद्धमा र अङ्ग्रेजको पक्षमा उभ्याउने काम गरे । सन् १८५७ को भारतको अङ्ग्रेज विरोधी सिपाही विद्रोहलाई दबाउन राणाहरूले नेपालबाट भारतमा सेना पठाए सो सेना लखनउ लुटमा समेत सामेल भयो । सन् १९१४ देखि सन १९१८ सम्म चलेको प्रथम विश्वयुद्ध र सन् १९३९ देखि सन् १९४५ सम्म चलेको द्वितीय विश्वयुद्धमा हजारौँ नेपाली युवाहरूले अङ्ग्रेजको पक्षमा लड्दा ज्यान गुमाए । कैयौ वेपत्ता भए र हजारौँले अन्धा अपाङ्गको जीवन बिताउन विवश भएका थिए । यसरी रोजीरोटीको निमित्त विदेशी पल्टनमा भर्ति हुने र विदेशमा काम खोज्न जाने प्रचलनको सूत्रपात भयो । आफ्नो मातृभूमिको रक्षाको निमित्त अङ्ग्रेजसँग जीवनमरणको लडाईं लडेका नेपाली पुर्खाका सन्तानहरू समय क्रममा तिनै अङ्ग्रेजहरूका सबभन्दा हितैषी र भरपर्दा सैनिकका रुपमा परिणत हुनु पनि सामान्य कुरा थिएन ।
नेपालको निरङ्कुश राज्य सत्ताको बागडोर सम्हालेका शाहवंश राणावंशले नेपाली जनतालाई सामान्य शिक्षा आर्जन गर्ने अवसरबाट समेत बञ्चित गराए । अङ्ग्रेजहरूसँग त्यति हितैषी कायम गरेका राणाहरूले नेपाली जनतालाई आधुनिक शिक्षाबाट पूरै बञ्चित नै बनाए । झारा टण्टा लगाउने, बेठवेगारी उठाउने, जनतालाई करको ठूलो भार थोपरेर महलहरू बनाए । विलासपूर्ण जीवन बाँचे । देशको ढुकुटीमाथि ब्रम्हलुट मच्चाए । जनता गरिब हुँदै गए । शासकहरू अति सम्पन्न हुँदै गए । देश सामन्तवाद, निरङ्कुशता र पछौटेपनबाट मुक्त हुन सकेन । त्यस्तो अवस्थामा नेपाली गरिब परिवारका जनताको जीवन गुजाराको गन्त्व्य भारत भयो । भारतमा अङ्ग्रेजहरूले औद्योगिक पूँजीवादको जग बसालेका थिए । त्यसकारण भारत नेपालका निर्धन र बेरोजगार शोषित पीडित जनताको श्रम बेच्ने गतिलो गन्त्व्यका रुपमा परिणत हुँदै गयो ।
इतिहास हेर्दा सन् १८१६ पश्चात नेपालीहरू भारतमा जाने सिलसिलामा निकै ठूलो बढोत्तरी भएको देखिन्छ । नेपालीहरूलाई शासकहरूले अनपढ र अयोग्य अवस्थामा रहन बाध्य पारेका थिए । त्यसकारण अलि हट्टाकट्टा भएमा विदेशी पल्टनमा भर्ति हुने, भर्ति हुन नसकेको अवस्थामा भारतमा चौकिदार, कुल्ली, दरवान तथा पूँजीपतिहरूका घरको नोकर आदि काममा लाग्न नेपालीहरू विवश हुँदै गए । नेपालमा खराब व्यवस्था र निरङ्कुश शासकहरू भएको कारणले पनि नेपालीहरू भारतलाई श्रमबजार बनाउन विवश हुनुपरेको हो । आज भारतको हिमाञ्चल प्रदेशमा स्याउको भारी बोक्ने, काठको काम गर्ने, त्यहाँका भीर पाखाहरूमा बाटो र कुलो खन्ने, पाइप बिच्छ्याउने, भवन निर्माण गर्नेदेखि चौकीदारी गर्नेसम्म नेपालीहरू नै छन् । उत्तराखण्डमा सुरुङ खन्ने, कृषि मजदुर, सिकर्मी, डकर्मीलगायत कैयन अप्ठ्यारा कामहरूमा नेपालीहरूले भूमिका निर्वाह गरिरहेका छन् ।
भारतका ठूला शहरहरू दिल्ली, बम्बै, कलकत्ता, चेन्नै, केरल, हैदराबाद, बेङ्गलोर आदि शहरहरूमा होटल, कोठी, कम्पनीका गेट, खाना बनाउने काम आदि ठाउँमा नेपालीहरू नै भेटिन्छन् । भारतमा अधिकांश नेपालीहरूलाई निम्नस्तरको र सस्तो तलबमा काम लगाइएको देखिन्छ । भारतको गोर्खा पल्टनमा हजारौँ नौजवान नेपालीहरू भर्ति भएका छन् । तिनीहरूलाई चीन र भारतका बीचमा तथा पाकिस्तान र भारतका बीचमा द्वन्द्व चलिरहेका स्थानहरूमा अग्रमोर्चामा खटाइएको पाइन्छ । ती खतरनाक मोर्चाहरूमा नेपाली युवाहरूले सैनिक धर्म र कर्तव्य नछाडिकन जीवनमरणको लडाईं लडिरहेका छन् ।
भारतमा एकथरी मेचीकाली सीमा भित्रका वास्तविक नेपाली नागरिकहरू छन् । अर्कोथरी ग्रेटर नेपाल भित्रका सुगौली सन्धिले भारततिर धकेलेका नेपालीहरू छन् । ती सिक्किम, दार्जलिङ लगायतका स्थानमा रहेका नेपालीहरू नागरिकताका हिसावले भारतीय भए पनि कथा व्यथा र पीडाहरू उस्तै उस्तै छन् । केही महिना अगाडि भारतको सर्वोच्च अदालतले सिक्किमका नेपाली भाषीहरूलाई विदेशीको ट्याग भिराएर एउटा नोटिस जारी गर्यो । त्यसका विरुद्धमा सिक्किम र दार्जलिङका नेपालीहरूले ठूलो सङ्घर्षको राँको बालेका थिए । भारतको उत्तराखण्ड र हिमाञ्चल प्रदेशका जनतालाई भारतका कतिपय स्थानहरूमा पहाडे आलु भनेर अपहेलना गरेको पनि देखिन्छ । तसर्थ हिजोको ग्रेटर नेपालको भूगोलमा बस्ने जनता आजसम्म कुनै न कुनै रुपमा सुगौली सन्धिले निर्माण गरेको घाउको दुखाइमा परिरहेका छन् । दार्जलिङका जनताले तिसौ वर्ष अगाडिदेखि अलग राज्यको माग गरेर आन्दोलन गरिरहेका छन् तर भारत सरकारले सो मागलाई पटक्कै सम्बोधन गर्दैन ।
सन् १९४७ मा अङ्ग्रेजी साम्राज्यवादबाट मुक्त भए पश्चात १४ वटा प्रान्तमा बाँडिएकोृ भारत आज २८ वटा प्रान्तहरूमा बाँडिएको छ । भारतको केन्द्र सरकारले अन्य क्षेत्रका जनताले उठाएको मागलाई सम्बोधन गर्दै आएको छ र तर दार्जलिङमा चल्दै आएको गोर्खाल्याण्ड आन्दोलनको मागलाई सम्बोधन गर्दैन । सिक्किम, दार्जलिङलगायतका ठाउँमा भारतीय नागरिकका रुपमा रहेका नेपालीहरू सनु १८१६ को सुगौली सन्धिको मातहतमा छन् । अहिलेसम्म भारतमा रहेका नेपालीहरू सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धिका मातहतमा छन् । नेपालको भौगोलिक अखण्डता, स्वाधीनता र सार्वभौमिकताका हिसावले ती दुवै सन्धिहरू नेपालका लागि असमान र घातक छन् तर दु:खको कुरा नेपाली र भारतीय नेपाली दुवैले ती असमान सन्धिले प्रदान गरेका अधिकारहरूलाई समेत व्यवहारमा उपयोग गर्न पाइरहेका छैनन् । यो भारतमा रहेका दुवैथरी नेपालीहरूका अगाडि उपस्थित अत्यन्त ठूलो समस्या हो ।
दार्जलिङ र सिक्किमका जनता तथा जनप्रतिनिधिहरूले सडकदेखि सदनसम्म आफ्ना समस्याहरूलाई कुनै न कुनै रुपमा लगातार उठाइरहेको पाइन्छ । तर भारतस्थित नेपालीहरूले भोग्नुपरेका समस्याहरूका विषयमा नेपालका सरकारहरूले आवश्यक गम्भीरता प्रदर्शन गरेको पाइन्न । केही वर्ष अगाडि आसाम र मेघालयबाट नेपालीहरू लखेटिएका थिए । नेपालीका कैयौँ वस्तीहरू नै उजाड भएका थिए । एक दशक अगाडि पूर्वोत्तर भारतमा रहने नेपालीहरूलाई इलिजिविटी सर्टिफिकेट खोजेर सताइयो । नेपालीहरूमाथि भारतका कैयन स्थानमा गुण्डागर्दी हुन्छन् । नेपालमा सरकार फेरिदासाथ नयाँ प्रधानमन्त्रीले पहिलो भ्रमण भारतको नै गर्दछन् ।
भारत सरकारले नेपालमा पढाउने केही शिक्षकहरू स्थायी हुन नसकेको कुरासम्म उठाउँछ तर नेपाल सरकारका प्रधानमन्त्रीले भारतस्थित नेपालीहरूले भोग्नुपरेका यति गम्भीर समस्यालाई प्रस्तावका रुपमा उठाएको देखिन्न । सन् १९५० को सन्धि विपरीत भारत सरकारले नेपालीहरूलाई सरकारी नोकरीमा राख्दैन । अब भारतमा नेपालीले सरकारी नोकरी पाउने सम्भावना घट्दै गएको छ । संक्षिप्तमा भन्नुपर्दा भारतस्थित नेपालीहरूले साँझ विहानको समस्या र बेरोजगारीका कारण प्रवासमा अत्यन्त दु:खदायी कथा व्यथा र पीडाहरू सहेर दिन गुजारेका छन् । तिनीहरूको मुक्ति देशभित्र रोजगारीको सिर्जना, आत्मनिर्भरता, प्रगति, विकास र समृद्धिमा निर्भर छ । तर विडम्बना यो देशमा जुन व्यवस्था र सरकार आए पनि मुलुकलाई त्यो दिशामा अगाडि बढाउने प्रयत्न भएको देखिन्न । यति धेरै प्राकृतिक स्रोत, साधन र सम्भावनाहरू भएको देशमा सरकारले तीन करोड पनि पुग्न नसकेको जनसङ्ख्यालाई व्यवस्थापन गर्न नसक्नु चिन्ताजक दृष्य हो ।