भारतीय चलचित्र ‘आदिपुरुष’ विवादमा : संस्कृतिकर्मीहरूको धारणा

काठमाण्डौ । भारतीय चलचित्र “आदिपुरुष” को विवादित संवादका कारण नेपालमा प्रदर्शनमा नआउने भएकोछ । “सीता भारतकी छोरी हुन्” भन्ने फिल्मको संवादका कारण नेपालमा यो चलचित्र विवादित बनेको हो । ६ सय करोड भारतीय रुपैयाँ लगानी गरिएको भनिएको यस चलचित्रलाई नेपालको चलचित्र जाँच समितिले उक्त संवाद हटाएर पर्दर्शन गर्न भनेको थियो तर नेपाल चलचित्र सङ्घले यसलाई पर्दर्शन नै नगर्ने निर्णय गरे पछि अहिले तत्काल उक्त चलचित्र प्रदर्शनमा नआउने भएकोछ । भारतमा पनि यो फिल्म कमजोर संवाद र रामायणको कथा तोडमरोड गरेको भनेर विरोध भइरहेकोछ । आदिपुरुषबारे हाँक साप्ताहिकले नेपालका केही प्रगतिशील संस्कृतिकर्मीहरूको धारणा माग गरेकोछ । प्रस्तुत छ संस्कृतिकर्मीहरूको धारणा–

“आदिपुरुष” को संवादले नेपालीको भावनामा चोट पुर्‍याएको छ
– नारायण शर्मा,केन्द्रीय अध्यक्ष ,रक्तिम साँस्कृतिक अभियान
प्रगतिवादी संस्कृतिकर्मीहरूको धर्म र संस्कृति प्रतिको बुझाई द्वन्द्वात्मक भौतिकवादमा आधारित हुन्छ । तसर्थ धर्म भित्र भएका कुराहरू कति सत्य हुन् र कति असत्य हुन् भन्ने कुरा छलफलको विषय हुँदै आएका छन् । त्यो बेग्लै कुरा हो। हामीले देखेका छौँ कि शासकहरूले धर्म र संस्कृतिलाई पनि आˆनो स्वार्थको अनुकुलतामा प्रयोग गर्दै आएका छन् । दक्षिणी छिमेकी भारतले नेपाल प्रति विस्तारवादी नीति अपनाउँदै आएकोछ । “आदिपुरुष” मा राखिएको संवाद “जानकी भारतकी छोरी हुन्” भन्ने संवाद भारतीय शासकहरूको विस्तारवादी स्वार्थ अनुरुप आएकोछ । यसले नेपालीहरूको स्वाभीमानी भावना माथि चोट पुर्‍याएकोछ । हरेक स्वाभिमानी नेपालीले आदिपुरुषले दिन खोजेको झुठो सन्देशको विरोध गर्नु पर्छ ।

हिन्दुवादी निरङ्कुश सत्तालाई बलियो बनाउने उद्देश्यले “आदिपुरुष” बनाइएको हो
– नारायण योगी ,पूर्व केन्द्रीय अध्यक्ष ,रक्तिम सांस्कृतिक अभियान
रामायण धार्मिक,साँस्कृतिक ,ऐतिहासिक सबै दृष्टिकोणले उच्च स्तरको साहित्य हो । सन् १९८७ तिर रामानन्द सागरले धाराबाहिक सिरियल रामायण बनाएका थिए । त्यो सिरियल बन्नु भन्दा पहिले पनि भारत र नेपालको तराईमा रामायणमा आधारित “रामलिला“ मन्चन गरिन्थ्यो । मुख्यत: दशैको बेलामा रामलिला प्रदर्शन गरिन्थ्यो। मेरो गाउँ दाङ देउखुरीको लमही – ६ बलरामपुरमा मैले पनि वि.सं. २०३६ सालको दशैमा रामलिलामा रामको भूमिकामा अभिनय गर्ने अवसर पाएको थिएँ ।
वाल्मिकीले लेखेको रामायण उच्च प्रकारको साहित्य हो । सोही रामायणलाई आधार बनाएर रामानन्दले टेलि सिरियल बनाएका हुन् । रामायण वीरता, पुरुषार्थ ,स्नेह, उच्च नैतिकता, सङ्घर्षको कथाले भरिएकोछ। रामायण हिन्दुको धर्म ग्रन्थ भने पनि मुस्लिम लगायत सबै समुदायले हेर्दछन। मनोरञ्जनको अन्य माध्यम नभएको बेला रामलिला मनोरञ्जनको साधन थियो । रामायणले नाट्य परम्परा पनि बोकेको छ। भारत र नेपालको तराईका जनतामा रामलिलाले मनोरञ्जन मात्र हैन एक प्रकारको संस्कृति निर्माणमा टेवा पुर्याएको थियो । रामानन्दले रामायण सिरियल बनाए पछि मानिसहरूले करिब ३५ वर्ष देखि लगातार त्यो सिरियल हेर्दै आएका छन् । राम, लक्ष्मण,रावण, हनुमान ती पात्रहरूको आकृति र चरित्रको छाप मानिसहरूको मन मष्तिष्कमा छ । एक प्रकारको नैतिकता रामायणका पात्रहरूले बोकेका छन् । सामान्यतया शत्रुको श्रीमतीलाई अपहरण गरे पछि फिल्महरूमा उस माथि अनैतिक व्यवहार गरेको कथा हुन्छ । तर रावण जस्तो खल पात्रले पनि रामकी श्रीमती सितालाई अपहरण गरे पछि कुनै अनैतिक हरकत गर्दैन । रामले आˆनो शत्रु रावणलाई वाण हानी सके पछि मर्ने बेलामा रावण विद्वान भएकाले उसबाट शिक्षा लिन भाइ लक्षमणलाई पठाउँछन् । भाइ लक्ष्मण शिर तिर गएर उभिन्छन र रावण बोल्दैनन् । लक्ष्मणले आएर दाजु रामलाई आएर त्यो कुरा सुनाउछन । रामले लक्ष्मणलाई भन्छन् ज्ञान आर्जन गर्ने ब्यक्ति सधै गुरुको शिर तिर हैन पाउ तिर बस्नु पर्दछ । त्यस पछि उनी रावण कहाँ गएर पाउ तिर बसेर ज्ञान गुनका कुरा सोध्छन् । रावण बल्ल बोल्छन् र उनलाई कैयौँ ज्ञान दिन्छन् । हनुमान रामभक्त हुन्छन् । उनी जतिसुकै बलवान् भए पनि अत्यन्त नम्र स्वभावका हुन्छन् ।

“आदिपुरुष“ फिल्म भारतीय जनता पार्टीका मान्छेहरूले बनाएका हुन् । मलाई के लाग्दछ भने रामानन्दले बनाएको टेलि श्रृङ्खला रामायणले स्थापित गरेको नैतिकता ,आचरण अहिलेको भारतीय जनता पार्टी, आर.एस.एस. र बज्रË दल ( भारतीय जनता पार्टीको धार्मिक भातृ सङ्गठन) लाई मेल खाएन । भाजपा अहिले अन्य धर्म प्रति अत्यन्त असहिष्णु, विरोधी प्रति दमनात्मक स्वभाब भएको कार्यकर्ताहरू निर्माण गर्न चाहन्छ । बाबरे मस्जिद हटाएर राम मन्दिर बनाउँदाको हिंसात्मक घटनाको पृष्ठभूमिबाट विकास भएको पार्टीको मनोवृत्ति द्वैषपूर्ण हुने नै भयो । हिन्दु धार्मिक निरङ्कुश सत्तालाई बलियो बनाएर लान चाहन्छ । त्यसका निम्ति रामानन्दको रामायणले बोकेको नैतिक मूल्य मान्यतालाई बिस्थापित गरेर अन्य धर्म ,अल्पसङ्ख्यक समुदाय प्रति अपमानित गर्ने चरित्र सहितको नैतिकता भारतीय समाजमा निर्माण गर्न चाहन्छ । भद्र स्वभावको हनुमान भएर भएन अब रुखो स्वभाबको हनुमान चाहियो। त्यसैले पुरानो रामायणलाई बिस्थापित गरेर नयाँ रामायण स्थापित गर्न खोजिएको हो ।

जानकी (सीता) भारतकी हुन् भन्ने कुरा वर्तमान भारतीय शासकको विस्तारवादी दृष्टिकोण अनुसार आएको हो । उता भारतको नयाँ संसद भवनमा नेपालको लुम्विनी र कपिलवस्तु समेतको नक्सा राख्नु र उता कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन नमान्नु सबै भारतको विस्तारवादी रबैया हुन् । अहिले फिल्ममा सीता भारतकी छोरी भन्ने संवादलाई पनि यही सन्दर्भमा बुझ्नु पर्दछ । नेपालमा यसको विरोध भएकोछ । काठमाडौ महानगरपालिका, पोखरा महानगरपालिका, धरान नगरपालिकाले त्यो संवादका कारण त्यो फिल्मलाई प्रतिबन्ध गर्नु ठीक छ । तर सबै हिन्दी फिल्म नै बन्द गर्ने कुरा सही छैन । भारतमा पनि नेपाली भाषीहरू छन । उनीहरूले नेपाली फिल्म हेर्छन। भारतमा फेरि उनीहरूले नेपाली फिल्म बन्द गर्ने भन्लान । यो राम्रो हुँदैन ।

मूल कपीबाट नै त्यो संवाद हटाउनु पर्दछ
– के .एल . पीडित ,प्रवक्ता ,चलचित्र विकास बोर्ड
नेपाल सरकारको सन्चार मन्त्रालय अन्तरगत चलचित्र जाँच समिति हुन्छ ।चलचित्र विकास बोर्डले चलचित्रहरूको सेन्सरका लागि जाँच समितिलाई सिफारिस गर्दछ। जाँच समितिमा एक जना बोर्डका सदस्य पनि हुन्छन् । चलचित्र जाँच समितिले “सीता भारतकी छोरी हुन्” भन्ने संवाद हटाएर मात्र चलचित्र चलाउन भनेको थियो। जाँच समितिले ठीकै निर्णय गरेको हो । तर नेपालमा मात्र त्यो संवाद हटाएर हुँदैन । मूल कपीबाट नै त्यो संवाद हटाउनु पर्दछ ।त्यसका लागि नेपाल सरकारले भारत सित कुटनैतिक पहलकदमी अगाडि बढाउनु पर्दछ ।

भारतीय शासकहरूको नेपाल प्रतिको दृष्टिकोण गलत छ
–राम गैरे पाल्पाली, गजलकार,रामपुर, पाल्पा
भारतीय शासकहरूको नेपाल प्रतिको दृष्टिकोण सुरुदेखि नै गलत छ । उनीहरू नेपाल प्रति विस्तारवादी र साम्राज्यवादी स्वार्थ लाद्न चाहन्छन् । अहिले फिल्ममा सीता भारतकी छोरी भन्ने कुरा राखियो। यो भारतको नेपाललाई हेप्ने पुरानो प्रबृतिकै निरन्तरता हो । यस्ता कुराको सरकारले नै विरोध गर्नु पर्दछ । तर नेपालको सरकारमा बस्ने पार्टी र व्यक्तिहरू बोल्न सक्दैनन् । जनताले भारतको यो गलत तरिकाको विरोध गर्नु पर्दछ ।
प्रस्तुति : मनु वि.क.

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित