बोहरागाउको बहिष्कार (२०४८)

ओम बहादुर के.सी. ••
बागलुङको पश्चिम भेग बोहोरा गाउँमा शिक्षक हुँदा एकातिर शिक्षक भएकोले निर्वाचन टोलीलाई मद्दत गर्नुपर्ने र अर्कोतिर पार्टीको बहिष्कार आन्दोलन सफल पार्नुपर्ने दोहोरो खालको भूमिकामा रहनु पर्दाको क्षण मेरो जीवनमा स्मरणीय घटना हो ।

भारतको शोहरतगढको पढाइपछि म गाउँमा आएको थिएँ । मलाई एक जना गाउँलेले दैलेख शिक्षक बनाएर लान थालेका थिए । तर भारतमा पढ्दाखेरीका सङ्गठनका साथी कृष्ण अधिकारीले मलाई मनाउने गरी लामो चिठी सहित एक जना मानिसलार्ई लिन पठाउनु भएको थियो । मेरो घर दाङ देउखुरीको गढवा गा.पा. ४, हडैया टोल हो । म भन्दा पहिले बागलुङको बोहोरा गाउँमा पढाउँदै आएका वामदेव गौलीले कृष्ण अधिकारीको चिठी लिएर मेरो घरै पुग्नुभयो । उहाँलाई स्कूल संचालक समितिले एउटा शिक्षक लिएर छाडेर मात्र यहाँबाट तलव लिएर जानु भनेका रहेछन् । त्यही भएर उहाँले मलाइ लिन घरै पुग्नु भयो ।

दाङबाट–बुटवल हुँदै गाडीमा तम्घास पुग्यौँ । तम्घासबाट हिंड्दै गौली र म बोहोरा गाउँ पुग्यौँ । २०४५ साल मंसिर ७ गते दाङ घरबाट हिंडेको मान्छे ९ गते बागलुङको बोहोरा गाउँ पुगियो । म २०४९ माघ १५ सम्म ४ वर्ष ३ महिना तत्कालीन प्रस्तावित प्रभा मावि बोहोरा गाउँमा पढाएँ । म त्यहाँ पुग्दा वित्तिकै पार्टीको सम्पर्कमा आएँ । पश्चिम बागलुङमा पढाउने मसाल समर्थक सरहरू भागिरथ भट्टराई, गजाधर अर्याल, भूमिराज आचार्य लगायतका शिक्षकहरूको सम्पर्कमा आएँ । स्कूलको शिक्षक भए पनि म पार्टी काममा पनि जोडिएँ । मलाई साथीहरूले सेल कमिटीमा राख्नु भएको थियो ।

बोहोरागाउँमा मैले पढाउने स्कूलका हेड सर भूमिराज आचार्य मसाल नै हुनुहुन्थ्यो । ०४८ को निर्वाचन बहिष्कार गर्ने मसालको निर्णय थियो । त्यो निर्णय अनुसार बोहोरा गाउँका टोल टोलमा चुनाव हुनु भन्दा अघिल्ल्लो बेलुकी मशाल जुलुश राखिएको थियो ।

निर्वाचनको बुथ हाम्रै स्कूलमा परेको थियो । कर्मचारी, प्रहरीहरू आइसकेका थिए । म स्कूलको नजिकै बस्ने हुनाले हेडसरले मलाई निर्वाचनका कर्मचारी, प्रहरीलाई कोठा, कुर्सी, टेवुल, बेन्चको व्यवस्था गर्न भनेर विद्यालयको चापीको जिम्मा लगाउनु भएको थियो । अर्कोतिर पार्टीका साथीहरूले मलाई बोहरागाउको वडाचौर भन्ने ठाउँमा मशाल जुलुशमा सहभागी हुन जाने जिम्मा लगाउनु भएको थियो । अर्को जिम्मा मलाई हाम्रो पार्टीका विरुद्ध अरु पार्टी र प्रशासनले के षडयन्त्र गर्दछन् । त्यो कुराको सूचना पार्टीमा पुर्‍याउने थियो । त्यसबाहेक मलाई पार्टीका साथीहरूले अर्को पनि जिम्मा लगाउनु भएको थियो । त्यो के भने निर्वाचन अधिकृतलाई भेटेर हाम्रा मसाल समर्थक मतदाताहरूको नाममा अन्य पार्टीका कार्यकर्ताले भोट नहालुन् भनेर एक प्रकारको चेतावनी दिने जिम्मा पनि मलाई नै दिएका थिए । कर्मचारी, प्रहरीहरू मतदान केन्द्रमा आएर बसी सकेपछि मैले निर्वाचन अधिकारीलाई अलग्गै बोलाएर पार्टीले भन्न भनेको कुरा सुनाए । हाम्रो मान्छेको नाममा अरुले भोट हाले भने स्थिति गम्भीर हुनेछ । मैल चेतावनीको भाषामा पार्टीको निर्णय सुनाएँ । उनी बागलुङ गल्कोटका संयुक्त जनमोर्चा समर्थक रहेछन् । उनले भने, “यहाँ म कर्मचारी भएर आएका छ । तर आस्थाका हिसावले म पनि वामपन्थी नै हुँ । संयुक्त जनमोर्चा समर्थक हुँ । मैले चुनावमा अन्यथा हुन दिन्न ।”उनले प्रतिज्ञा व्यक्त गरे ।

म प्रहरी र कर्मचारीको आँखा छलेर मशाल जुलुशमा गएँ । राती आएर कोठामा सुतें ।

निर्वाचनको दिन दिउँसो म बुथ मै थिएँ । विभिन्न ठाउँबाट मशालहरूले मान्छे रोकेका छन् । धारा, छापखानीबाट आएका मतदातालाई रोकेका छन् भन्दै काङ्ग्रेसका १०-१५ जना युवाहरू हुल बाँधेर गए । मैले एउटा विद्यार्थीलाई मसालको टोलीसम्म सूचना पुर्‍याएँ ।

मतदाता लिन भनेर उनीहरू गए । मेरो सूचना पाएपछि मसालका साथीहरू अझ अगाडि आएर बुथ तिरै उनीहरूलाई फर्काइदिए । काङ्ग्रेसका युवाहरू रिसाएर बसेका थिए । मतदाताहरू अत्यन्त कम आएका थिए । दिउँसो करिब १ बजेतिर बोहरागाउको थापा गाउँमा जम्मा भएर बसेका मसालका कार्यकर्तालाई देखेर काङ्ग्रेसका युवाहरू मतदाता लिन भनेर त्यतैतर्फ लागे । त्यो सूचना पनि कुनै विद्यार्थी मार्फत् मैले बोहरागाउ साथीहरूको टोलीमा पुर्‍याएँ । त्यो सूचना पाएपछि बोहरागाउका युवाहरू सबैले लठ्ठी बोकेर बुथको बाटो गरी काङ्ग्रेसका युवाहरूलाई फर्काउन भनी थापा गाउँतिर लागे । रमाइलो कुरा के छ भने लाठी उचालेर पंक्तिबद्ध भएर हिंडेका युवाहरू देखेर प्रहरी र कर्मचारीहरू सबै बुथ छोडेर भागे । तर त्यहाँका पार्टीको बुथ कब्जा गर्ने योजना थिएन । माथिपट्टी थापा गाउँमा मसालका कार्यकर्ता बसेका र तल झिवाखोलाबाट मसालका कार्यकर्ता उकालो लागेकोले बीचमा काङ्ग्रेसका युवाहरू परे । भीडन्त हुन सक्छ भनेर रोक्नका लागि म, तुलसी रेग्मी, शिक्षक राम बहादुर चन्द लगायत उनीहरूको पछि उकालो लाग्यौँ ।

माथिबाट मसालका कार्यकर्ताले काङ्ग्रेसका युवाहरूलाई फर्काउन खोजे र तलबाट गएका मसालका युवालाई देखेपछि काङ्ग्रेसका युवाहरू घेरामा परेको ठानेर भागे । भाग्दा केहीलाई चोटपटक लाग्यो । सामान्य झडप पनि भयो । चोट पटक लाग्यो । हामी सबै खोला र जङ्गलको बाटो भएर बोहोरा गाउँमा गएर मोर्चा कसेर बस्यौँ । हामीलाई देखेर बुथमा दुईजना विद्यार्थीहरू बलबहादुर चन्द र अर्का एक जनालार्ई सूचना प्रवाह गरेको भनेर सेनाले समाएर राख्यो । विद्यार्थीहरूलाई दिनभर नाङ्गै बनाएर यातना दियो । साँझसम्म छाडेन ।

सबै खाना खाएर प्रहरी ठाना घेर्न जाने भनेर तयारी गरेका थियौँ । तर राति ९ बजे बोहोरागाउँ प्राविमा जुट्दा जुट्दै उनीहरू छुटेर पुगे । काङ्ग्रेसले मार्न भनेका थिए । लौ मार्छौं भोलिको स्थिति सम्हाल्न सक्छौँ त भनेर सेनाले भने पछि उनीहरू हच्किए ।

म आफ्नो कोठामा जान्छु भन्दा मलाई हिराबहादुर शाही र नन्दबहादुर चन्दले लगेर छोड्न आउनु भयो । तर झिवाखोला झर्दा काङ्ग्रेसका युवाहरू जाँड खाएर होटलमा बर्बराइरहेका थिए । त्यसपछि हामी दिउँसो चोट लागेका तुलसी रेग्मीलाई भेट्न जाने निधो गर्‍यौँ । त्यहाँ जाने क्रममा राति ११ बजे झिवाखोला पारी ठानाबाट मतपेटिका लिएर अगाडि सेना त्यसपछि पछाडि प्रहरी समेतको टोली अगाडि बढिरहेको थियो । हामी जम्काभेट हुन लाग्यौँ । संयोगले दश हातको फरक रहँदा एक जना सेनाले झिपिक्क लाइट बाल्दा ताँती देखियो । पछाडि फर्के लुक्यो ।

अर्को दिन आफ्नो नियमित पठनपाठनको काममा लागियो । तर काङ्ग्रेसले मसालमा १३ जना कार्यकर्ताको ज्यान मार्ने उद्योगको मुद्दा दिए । पछि त्यो मुद्दा साथीहरूले जिते । चुनावका दिन उता पश्चिमतिरको निसी गाउँमा मसालका कार्यकर्ताहरूले मतपेटिका र अन्य सामाग्री कब्जा गरेर हिंडाले छन् । हाम्रा साथीहरू र चुनाव गराउने दुवै दिउँसै बोहरागाउ आइसकेका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित